Author: Nabin Bhattarai

  • मोरङको मुसहर बस्तीमा भीषण आगलागीः १५ भन्दा बढी घर जलेर नष्ट

    मोरङको मुसहर बस्तीमा भीषण आगलागीः १५ भन्दा बढी घर जलेर नष्ट

    विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित मुसहर बस्तीमा बुधबार दिउँसो भीषण आगलागी भएको छ। दिउँसो करिब २ बजे अचानक सुरु भएको आगोले १५ भन्दा बढी घरहरू क्षणभरमै खरानी बनाएको छ।

    ​बस्तीका घरहरू फुसको छाना र टाटीले बनेका कारण आगो तीव्र गतिमा फैलिएको स्थानीयले बताएका छन्। विराटनगर महानगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको करिब ४५ मिनेटको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो। आगलागीको स्पष्ट कारण अझै खुल्न सकेको छैन।

    ​आगलागीबाट घरसँगै अन्नपात र लत्ताकपडा नष्ट भएपछि दैनिक ज्यालादारीमा निर्भर विपन्न मुसहर परिवारहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन्। इलाका प्रहरी कार्यालय नेमुवा र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ। पीडितहरूले तत्काल राहत र बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    काठमाडौँ । नेपाली कांग्रसले आगमी शुक्रबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । पार्टी मुख्यालय सनेपामा दिउसो १ बजे बस्ने गरी बैठक बोलाइएको कर्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

    यस बैठकका औपचारिक एजेन्डाहरु स्पष्ट नगरिए पनि गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा हुने अनुमान गरिएको छ । यस अघिका बैठकहरुमा समानुपतिक सांसद छनोट लगायतका विषयमा छलफल भए पनि निर्वाचनको समग्र समीक्षा बाँकी नै थियो ।

    बैठकमा पार्टीको आन्तरिक रणनीति र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन् ।

  • निर्यात बढ्दा जापान अधिशेषमा फर्कियो

    निर्यात बढ्दा जापान अधिशेषमा फर्कियो

    कमजोर आन्तरिक तथा चिनियाँ मागबीच पनि निर्यातमा सुधार आउँदा जापानको व्यापार स्थिति फेब्रुअरीमा उल्लेखनीय रूपमा उल्टिएको छ । सरकारी तथ्याङ्कअनुसार एक महिनाअघि घाटामा रहेको जापानले फेब्रुअरीमा ५७ अर्ब ३० करोड येन (करिब ३६ करोड डलर) को व्यापार अधिशेष हासिल गरेको छ ।

    वित्त मन्त्रालयले सार्वजनिक गरेको मौसमी रूपमा समायोजित प्रारम्भिक तथ्याङ्कले निर्यात ४.२ प्रतिशतले बढेर ९५ खर्ब ७० अर्ब येन पुगेको देखाएको छ । यसले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको सङ्केत गरेको छ । यसैबीच, जनवरीमा २.५ प्रतिशतले घटेको आयात फेब्रुअरीमा १०.२ प्रतिशतले बढेर ९५ खर्ब १० अर्ब येन पुगेको छ । यसले ऊर्जा लागत र कच्चा पदार्थको मूल्य वृद्धिको प्रभाव झल्काउँछ ।

    अघिल्लो महिना जापानले ठूलो व्यापार घाटा व्यहोरेको अवस्थामा फेब्रुअरीको अधिशेषलाई सुधारको सङ्केतका रूपमा लिइएको छ । तर विश्लेषकहरूका अनुसार यो सुधार दीर्घकालीन रूपमा टिकाउ हुनेमा अझै अनिश्चितता कायमै छ ।

    मध्यपूर्वमा इरानसँगको युद्धका कारण होर्मुज जलडमरूमध्यमा अवरोध उत्पन्न हुँदा तेल आपूर्तिमा जोखिम बढेको छ । जापानले आफ्नो लगभग सम्पूर्ण तेल आयात गर्ने भएकाले बढ्दो ऊर्जा मूल्यले आयात लागत थप बढाउने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य हालै प्रति ब्यारेल करिब १०० डलरसम्म पुगेको छ ।

    भूराजनीतिक तनावबीच पनि कमजोर येनले जापानलाई केही राहत दिएको देखिन्छ । अमेरिकी डलरको तुलनामा येन कमजोर भई करिब १५९ येनसम्म पुगेको छ । यो एक वर्षअघि १५० येनभन्दा कम थियो । यसले निर्यात प्रतिस्पर्धात्मकता बढाएको विश्लेषण गरिएको छ ।

    यद्यपि प्रमुख व्यापार साझेदार चीनतर्फको निर्यात १०.९ प्रतिशतले घटेको छ । चन्द्र नयाँ वर्षका कारण माग असामान्य रूपमा कमजोर भएको यसका कारणमध्ये एक मानिएको छ । संयुक्त राज्य अमेरिकातर्फको निर्यात पनि आठ प्रतिशतले घटेको छ । यसमा अटो निर्यातमा आएको कमी मुख्य कारण हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सवारी साधनमा लगाएको १५ प्रतिशत भन्सार शुल्कले अटो उद्योगमा दबाब कायम राखेको छ ।

    यसको विपरीत, युरोपतर्फको निर्यात भने उल्लेखनीय रूपमा बढेको  । यो एक वर्षअघिको तुलनामा १७ प्रतिशतले वृद्धि भएको छ । एसियाका अन्य देशहरूतर्फको निर्यात पनि २.८ प्रतिशतले बढेको छ ।

    अब लगानीकर्ताहरूको ध्यान बैंक अफ जापानको मौद्रिक नीतितर्फ केन्द्रित भएको छ । दुई दिने बैठकपछि ब्याजदरसम्बन्धी निर्णय सार्वजनिक हुने अपेक्षा गरिएको छ । केसिएम ट्रेडका प्रमुख बजार विश्लेषक टिम वाटररले बढ्दो तेल मूल्य अस्थायी हो कि दीर्घकालीन प्रवृत्ति बन्ने हो भन्ने मूल्याङ्कनपछि मात्र केन्द्रीय बैंकहरूले कडा नीति अवलम्बन गर्ने सङ्केत देखिन सक्ने बताउनुभएको छ ।

    यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री साने ताकाइचीबीच हुने शिखर वार्ताले पनि आर्थिक र व्यापारिक सम्बन्धमा नयाँ दिशा दिन सक्ने भएकाले लगानीकर्ताहरू त्यसतर्फ पनि चासोपूर्वक हेरिरहेका छन् । रासस

  • समर्थकलाई रवि लामिछानेको निर्देशन “अराजक र असहिष्णु नबन्नु”

    समर्थकलाई रवि लामिछानेको निर्देशन “अराजक र असहिष्णु नबन्नु”

    काठमाडौं । ​राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई सामाजिक सञ्जालमा संयमित र जिम्मेवार हुन निर्देशन दिएका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले पार्टी समर्थकहरूमाथि लाग्ने गरेको ुअराजकु र ुअसहिष्णुु भन्ने आरोपलाई चिर्नुपर्ने बताए।

    ​उनले विजयी हुनुको अर्थ विपक्षीलाई गाली गर्ने अधिकार पाउनु नभएको प्रष्ट पारे। ूरास्वपालाई छुनै हुँदैन, गाली गरिहाल्छन् भन्ने जुन छवि बनेको छ, अब त्यसबाट बाहिर निस्कनुपर्छ,ू लामिछानेले भने।

    ​स्थापनाको छोटो समयमै विभिन्न चुनौती र आक्रमण झेल्नु परेकाले कार्यकर्तालाई पर्याप्त प्रशिक्षण दिन नसकिएको स्वीकार गर्दै उनले अबदेखि सार्वजनिक मञ्च र सामाजिक सञ्जालमा सभ्य भएर प्रस्तुत हुन सबैलाई अपिल गरेका छन्।

  • प्रतिनिधिसभामा राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रविले मागे माफी

    प्रतिनिधिसभामा राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रविले मागे माफी

    ​काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीबाट प्रतिनिधिसभामा राई र लिम्बू समुदायको प्रतिनिधित्व हुन नसकेकोमा सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्। ललितपुरको ग्वार्कोमा आयोजित पार्टीको दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    समापन मन्तव्यका क्रममा सभापति लामिछानेले समावेशीताको सवालमा पार्टीबाट कमजोरी भएको स्वीकार गरे। “हाम्रो पार्टीबाट यसपटक राई र लिम्बू समुदायको प्रतिनिधित्व गराउन नसकेकोमा म सभापतिको हैसियतले माफी माग्छु,” उनले भने।

    ​साथै, उनले आगामी दिनमा पार्टीभित्र समावेशीतालाई अझ बढी प्राथमिकता दिने र यो महत्त्वपूर्ण कडीलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।

  • रास्वपाको अभिमुखीकरण कार्यक्रमः समापन मन्तव्य दिन ग्वार्को पुगे सभापति लामिछाने

    रास्वपाको अभिमुखीकरण कार्यक्रमः समापन मन्तव्य दिन ग्वार्को पुगे सभापति लामिछाने


    ललितपुर । ​राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा नवनिर्वाचित सांसदहरूका लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रम आज समापन हुँदैछ। ललितपुरको ग्वार्कोमा हिजोदेखि जारी उक्त कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्न पार्टी सभापति रवि लामिछाने कार्यक्रमस्थल पुगेका छन्।

    ​सभापति लामिछानेले कार्यक्रमको समापन मन्तव्य राख्ने कार्यतालिका रहेको छ। रास्वपाले आफ्ना सांसदहरूलाई संसदीय प्रक्रिया र पार्टीको आगामी कार्यदिशाबारे प्रशिक्षित गराउन यो कार्यक्रम आयोजना गरेको हो।

    ​यसैबीच, पार्टीका वरिष्ठ नेता बालेन शाह भने उक्त अभिमुखीकरण कार्यक्रममा उपस्थित भएका छैनन्।

  • खोटाङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाः एक जना घाइते

    खोटाङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाः एक जना घाइते

    खोटाङ । खोटाङको केपिलासगढी गाँउपालिका वडा नम्बर २ मा बुधबार एक हेलिकोप्टर दुर्घटना भएको छ । काठमाडौँबाट शव लिएर उडेको एयर डाइनेस्टीको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो ।

    जिल्ला प्रशासन कार्यलयका अनुसार हेलिकोप्टरमा शव र मृतकका आफ्न्तहरु सवार थिए । प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा परी एक जना यात्रुको खुट्टा भाँचिएको छ ।

    घटनाको थप विवतरण र दुर्घटनाको कारणबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रशासनले जनाएको छ । अहिले घटनास्थलमा स्थानीय र सुरक्षाकर्मीको टोली पुग्ने क्रममा रहेको छ ।

  • नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले गरेको अध्ययनअनुसार उच्च जोखिम भनिएको तुइन खोला अति उच्च जोखिम रहेको छ ।

    कार्यालयका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनसँगै काली र नाम्सी खोला उच्च जोखिममा छन् । यस्तै तुइन खोलाबाट चिसेन्जीको बीचको भाग, चार किलोको दुई ठाउँ, मौरी खोला र सेती दोभान पहिरोको उच्च जोखिममा रहेका उहाँले जानकारी दिनुभयो ।

    “तुइन र चिसेन्जीको बीचमा ढुङ्गा झर्ने समस्या छ । तुइन, काली र नाम्सी खोलाको छेउमा पहिरोको उच्च जोखिम छ । चार किलोको दुई ठाउँमध्ये एउटामा पहिरो र अर्कोमा लेदो झर्ने समस्या रहेको छ । मौरी खोला र सेती दोभानमा लेदोसहितको पहिरोको उच्च जोखिम छ”, इञ्जिनियर घिमिरेले भन्नुभयो । साथै १६ किलो, १७ किलो, डुम्रे खोला, सिमलताललगायत ठाउँ जोखिममा रहेका उहाँले जानकारी दिनुभयो ।

    गत वर्षदेखि ती ठाउँमा पहिरोको जोखिम थियो । कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार तुइन, काली र नाम्सी खोलामा पहिरो रोकथाम गर्न खरिद गुरुयोजना स्वीकृतिका लागि माघ २३ गते सडक विभाग पठाइसकिएको छ । विभागले डिजाइन कार्यसमेत अन्तिम चरणमा पुर्‍याएको उहाँले बताउनुभयो । ती ठाउँमा विपद्मार्फत विनियोजित रु २५ करोडबाट पहिरो रोकथामको तयारी गरिएको उहाँले उल्लेख गर्नुभयो ।

    प्रमुख लामिछानेका अनुसार तीबाहेकका अन्य ठाउँमा पहिरो रोकथामका लागि रु २० करोड बजेट विनियोजन भएको छ । बोलपत्र आह्वानका लागि तयारी गरिएको जनाउँदै उहाँले नक्साङ्कन पूरा भएकाले केही दिनमा बोलपत्र आह्वान गरी बर्सातअघि जोखिम रहेका ठाउँमा पहिरो रोकथाम तथा न्यूनीकरणका काम गरिने बताउनुभयो । वर्षा सुरु भएसँगै सडक पहिरोको जोखिममा पर्नसक्ने भएकाले आवश्यक तयारीसमेत कार्यालयले गरेको जनाएको छ ।

    केही वर्षअघि सडक विस्तारका क्रममा भित्तो काटिएको थियो । भित्तो काटिएका र नयाँ ठाउँमा समेत लेदोसहितको पहिरो खस्दा बर्सातको समयमा यस सडकमा समस्या हुने गरेको छ । यही सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् । राजधानी काठमाडौँका लागि यो सडक लाइफ लाइनका रूपमा लिने गरिन्छ । रासस

  • निर्वाचन सफल भएपछि प्रधानमन्त्री कार्कीद्धारा नेकपा नेताहरुलाई धन्यवाद

    निर्वाचन सफल भएपछि प्रधानमन्त्री कार्कीद्धारा नेकपा नेताहरुलाई धन्यवाद

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विशेष धन्यवाद दिएकी छन् । बुधबार बालुवाटार स्थित प्रधानमन्त्री निवासमा आयोजित भेटघाटमा उनले नेकपाका शीर्ष नेताहरुसँग समसामयिक राजनीतिक विषयमा छलफल गरेकी हुन् ।

    भेटको क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनको पक्षमा सकारात्मक वातावरण बनाउन र लोकतान्त्रिक विधिबाट मुलुकलाई निकास दिन नेकपाले खेलेको भूमिकाको प्रशंसा गरिन् । उनले भनिन् “तपाईँहरुले निर्वाचनमा भाग लिएर र सहयोगी भूमिका खेलेर मुलुकलाई शान्तिपूर्ण मार्गमा ल्याउन ठुलो मद्दत गर्नुभयो ।” उनले विजयी नेताहरुलाई बधाई र अन्यलाई आगमी यात्राको शुभकामना समेत दिइन् ।

    नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको साहस र मेहेनतका कारण मुलुक ठुलो राजनीतिक दुर्घटनाबाट जोगिएको बताए । यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनौतीपुर्ण अवस्थामा ६ महिनाभित्रै चुनाव गराउन सफल भएकोमा प्रधानमन्त्रीको इमान र दृढताको प्रशंसा गरे ।

    भेटमा नेकपाका नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायतको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

  • निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री कार्कीद्धारा पशुपतिनाथमा पूजा–अर्चना

    निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री कार्कीद्धारा पशुपतिनाथमा पूजा–अर्चना

    काठमाडौँ । हालै सम्पन्न निर्वाचन सफलतापूर्वक र शान्तिपूर्ण रुपमा सकिएपछि प्रधानमन्त्री सुुशीला कार्कीले पशुपतिनाथ मन्दिरमा पुगेर विशेष पुजा गरेकी छन् । बुधबार विहान पशुपति क्षेत्र पुगेकी प्रधानमन्त्रीले आराध्यदेव पशुपतिनाथको दर्शन गर्दै रुद्राभिषेक समेत गराएकी हुन् ।


    प्रधानमन्त्रीको सचिवालयका अनुसार, मुलुकमा ठुलो लोकतान्त्रिक अभ्यास (निर्वाचन) सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएकोमा कृतज्ञता प्रकट गर्न उनी मन्दिर पुगेकी हुन् । सो अवसरमा उनले देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गरेकी छन् ।


    पूजापछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले भनिन्, “निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैप्रति म आभारी छु । आगामी दिनमा देश विकासको बाटोमा अघि बढोस् भन्ने मेरो कामाना छ ।”