Author: Nabin Bhattarai

  • सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु दुई हजार २०० र चाँदी रु १८५ ले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १५० कायम भएको छ ।

    हिजो मङ्गलवार एक तोला छापावाल सुन रु तीन लाख नौ हजार ९०० र एक तोला चाँदी रु पाँच हजार ३३५ कारोबार भएको थियो । गत सोमवार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख नौ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार २६५ निर्धारण भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार र त्यति नै परिमाणको चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

  • ग्यास लुकाउनेलाई कडा कारवाही गर्ने विभागको चेतावनी, उजुरीका लागि ११३७ मा फोन गर्न आग्रह

    ग्यास लुकाउनेलाई कडा कारवाही गर्ने विभागको चेतावनी, उजुरीका लागि ११३७ मा फोन गर्न आग्रह

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र अवैध कारोबार गर्नेलाई कडा कारबाही गर्ने चेतवानी दिएको छ । बजारमा ग्यास लुकाउने कालो बजारी गर्नेबारे जानकारी भएमा तत्काल पैसा नलाग्ने नम्बर ११३७ मा फोन गरेर सुचना दिन विभागले नागरिकलाई अनुरोध गरेको छ ।

    अनुगमनको क्रममा कैफियत फेला परेमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार तत्काल कारबाही गरिने विभागले जनाएको छ । सोमबार मत्रै ललितपुरको हरिसिद्धिमा ६ हजार ३७७ वटा सिलिन्डर लुकाएर राखेको अवस्थामा फेला पारेपछि विभागले श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपौयाँ जरिवाना गरेको छ ।

    ग्यासको आपुर्ति सहज बनाउन विभागले देशभर अनुगमन तीव्र पारेको छ । विभागले सबै उद्योगी र वितरकहरुलाई कानुनसम्मत व्यवसाय गर्न र कृत्रिम अभाव सिर्जना नगर्न सचेत गराएको छ ।

  • फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुर महानगरले छुट्यायो ३ करोड

    फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुर महानगरले छुट्यायो ३ करोड

    ​चितवन । भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। महानगरले वडा नं। ११ स्थित राष्ट्रिय वन क्षेत्रको करिब १६ बिगाहा जग्गा भोगाधिकार लिन आवश्यक ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।

    ​महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार जग्गा प्राप्ति र रुख कटानका लागि आवश्यक प्रक्रिया र बजेट सुनिश्चित भइसकेको छ। मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत हुनासाथ काम अघि बढ्नेछ।

    ​यसअघि नै जग्गा भोगाधिकार र वृक्षरोपणका लागि ५ करोड १९ लाखभन्दा बढी रकम भुक्तान गरिसकेको महानगरले अहिले थप रकम विनियोजन गरेको हो। हाल महानगरमा दैनिक ८० टनभन्दा बढी फोहोर सङ्कलन हुने गरेको छ, जसलाई हाल आँपटारी नजिकैको खोल्सामा व्यवस्थापन गरिँदै आएको छ।

  • रास्वपाको प्रशिक्षण सुरुः किन आएनन् रवि र बालेन?

    रास्वपाको प्रशिक्षण सुरुः किन आएनन् रवि र बालेन?

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूका लागि आजदेखि ललितपुरमा सुरु भएको दुई दिने अभिमुखीकरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू नै अनुपस्थित भएका छन्। उपसभापतिद्वयले उद्घाटन गरेको कार्यक्रममा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह नदेखिएपछि धेरैले चासो व्यक्त गरेका छन्।

    ​पार्टी स्रोतका अनुसार स्वास्थ्य समस्या र कार्यव्यस्तताका कारण रवि र बालेन उद्घाटन सत्रमा सहभागी हुन नसकेका हुन्। समापन समारोहमा सभापति लामिछाने सहभागी हुने कार्यतालिका भए पनि वरिष्ठ नेता बालेन शाहको उपस्थितिबारे भने अझै निश्चित गरिएको छैन।

    ​सांसदहरूलाई संसदीय अभ्यास सिकाउन आयोजित यस कार्यक्रमको मुख्य आकर्षण मानिएका दुई शीर्ष नेताहरूको अनुपस्थितिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

  • दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

    दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

    बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ ।

    फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको दादुराका १२६ जना बिरामीलाई बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा आइसोलेसनमा राखेर उपचार गरिएको थियो । दादुराबाट बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँ प्रभावित भएका थिए ।

    प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माका अनुसार बुर्तिबाङ अस्पतालमा १६ र बोबाङ स्वास्थ्यचौकीमा चार गरी २० बिरामीको उपचार भइरहेको छ ।

    काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गरिएकामा सात जनामा दादुरा सङ्क्रमण पुष्टि भएपछि युद्धस्तरमा बिरामीलाई खोजेर उपचार थालिएको हो ।

    यसैबीच, जनस्वास्थ्य कार्यालयका खोप ‘सुपरभाइजर’ राजु खत्रीका अनुसार पाँच हजार ७६७ जनालाई दादुराविरुद्धको खोप लगाइएको छ । नगरपालिकाका सबै वडाका १० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप लगाइएको हो । रासस

  • बेल्जियमको इयू टी–२० लिगमा नेपाली खेलाडीको सहभागिता निश्चित, जेबी ब्रुजेजले डुसेनलाई भित्र्यायो

    बेल्जियमको इयू टी–२० लिगमा नेपाली खेलाडीको सहभागिता निश्चित, जेबी ब्रुजेजले डुसेनलाई भित्र्यायो

    काठमाडौँ । बेल्जियममा आयोजना हुन लागेको पहिलो फ्रेन्चाइज क्रिकेट ‘इयू टी–२० लिग‘मा नेपाली खेलाडीहरूले पनि प्रतिस्पर्धा गर्ने भएका छन्। जनकपुर बोल्ट्स (एनपिएल) को मुख्य लगानीकर्ता ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको ‘जेबी ब्रुजेज’ टोलीले नेपाली खेलाडीलाई आबद्ध गरेको हो।

    ​टोलीले दक्षिण अफ्रिकी स्टार ब्याटर रासी भान डर डुसेनलाई अनुबन्ध गरिसकेको छ भने आबद्ध गरिएका नेपाली खेलाडीहरूको नाम केही दिनमै सार्वजनिक गर्ने जनाएको छ। जेबी ब्रुजेजका अनुसार भर्खरै सम्पन्न टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय टोलीका खेलाडीहरू यसमा सहभागी हुनेछन्।

    ​आगामी जुन ६ देखि १४ सम्म चल्ने यो लिगमा ६ टोलीले प्रतिस्पर्धा गर्दैछन्। २४ मार्चमा हुने ड्राफ्टका लागि नेपालका कप्तान रोहित पौडेल र सन्दीप लामिछानेसहित १५ भन्दा बढी नेपाली खेलाडीहरूले नाम दर्ता गराएका छन्।

    लिगमा एन्जेलो म्याथ्युज, वानिन्दु हसरंगा र एलेक्स हेल्स जस्ता विश्वचर्चित खेलाडीहरू समेत देखिनेछन्।

  • पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ सुरु

    पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ सुरु

    काठमाडौँ । लिचीबारी घुस प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सो निर्णय बदरको माग गर्दै गुप्ताले सर्वोच्चमा निवेदन दिएका हुन्।

    ​न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा उक्त निवेदनको पेसी तोकिएको छ। पोखराको मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्का गर्ने र भूमि आयोगमा नियुक्ति मिलाइदिने बहानामा ५३ लाख रुपैयाँ घुस लिएको अभियोगमा उनीमाथि मुद्दा चलिरहेको छ।

    ​यसअघि विशेष अदालतले प्राप्त प्रमाणका आधारमा गुप्तालाई निर्दोष मान्न नसकिने भन्दै जेल पठाउन आदेश दिएको थियो। गुप्ताले भने आफूमाथि लागेको आरोप झुटो भएको दाबी गर्दै आएका छन्।

  • समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिइने, निर्वाचन प्रक्रियाले पूर्णता पाउने

    समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिइने, निर्वाचन प्रक्रियाले पूर्णता पाउने

    काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा निर्वाचित भएका उम्मेदवारहरूलाई भोलि चैत ५ गते आधिकारिक प्रमाणपत्र वितरण गर्ने भएको छ। आयोगका अनुसार भोलि बिहान ११:३० बजे कान्तिपथस्थित आयोगको कार्यालयमा एक विशेष कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरिनेछ।

    ​प्रमाणपत्र ग्रहणका लागि निर्वाचित सदस्यहरूले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र र दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य बुझाउनुपर्नेछ। ११० जना समानुपातिक सांसदहरूले प्रमाणपत्र पाएसँगै यस वर्षको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण प्रक्रिया औपचारिक रूपमा समाप्त हुने आयोगले जनाएको छ।

    ​गत फागुन २१ को निर्वाचनबाट ६ वटा दलले राष्ट्रिय दलको हैसियत बनाएका छन्। जसमा रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९ तथा श्रम संस्कृति र राप्रपाले ४–४ सिट प्राप्त गरेका छन्।

  • उदयपुरमा हुरीबतासले रुख ढाल्दा दुई जनाको मृत्यु, ६ जना घाइते

    उदयपुरमा हुरीबतासले रुख ढाल्दा दुई जनाको मृत्यु, ६ जना घाइते

    उदयपुर । उदयपुरको कटारी नगरपालिकामा सोमबार साँझ आएको भीषण हुरीबतासका कारण रुख ढलेर लाग्दा दुई जनाको ज्यान गएको छ । घटनमा अन्य ६ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार कटारी नगरपालिका–८ थालियाटारकी ४९ बर्षीय मीनामाया तामाङको रुखको हाँगाले लागेर मृत्यु भएको हो । त्यस्तै, कटारी–५ तीनकुने चोकस्थित राधाकृष्ण मन्दिर नजिकै सखुको रुख ढलेर लाग्दा ६४ बर्षिय वीरेन्द्र चौधरीको मृत्यु भएको छ ।

    हुरीबतासका कारण घाइते भएका ६ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा लगिएको छ । अन्य चार जना भने कटारी अस्पतालमा सामान्य उपचारपछि घर फर्किसकेका छन् ।

    प्रहरीका अनुसार हुरीबतास र वर्षाले कटारीको पहाडी क्षेत्रमा घरका छाना उडाउनुका साथै भौतिक क्षति समेत पुर्‍ययाएको छ । मृतकहरुको शव परीक्षणका लागि अहिले कटारी अस्पतालमा राखिएको छ ।

  • रास्वपाका नवनिर्वाचित सांसदहरुको दुई दिने अभिमुखीकरण सुरु

    रास्वपाका नवनिर्वाचित सांसदहरुको दुई दिने अभिमुखीकरण सुरु

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आज बिहान १० बजेदेखि कार्यक्रम सुरु भएको हो । चैत ३ र ४ गते चल्ने यस प्रशिक्षणको उद्धाटन पार्टीका शीर्ष नेताहरुबाट हुने कार्यतालिका छ ।

    अभिमुखीकरणमा सांसदहरुलाई संसदीय अभ्यास, नीति निमार्ण, संसद्को कार्यप्रणाली र जनप्रतिनिधिको जिम्मेवारीबारे प्रशिक्षण दिइनेछ । साथै, पार्टीले निर्वाचनका क्रममा जनतामाझ गरेको ‘करार’ र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिका विषयमा पनि छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

    हालै सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल १८२ सिट हासिल गरेको छ । महामन्त्री कबिन्द्र बुर्लाकोटीले ६ बुँदे निर्देशन जारी गर्दै सबै नवनिर्वाचित सांसदहरुलाई यस प्रशिक्षणमा अनिवार्य उपस्थित हुन आह्वान गर्नुभएको छ ।