Blog

  • सिड्नीबाट शेष घलेले गरे एकता महाधिवेशनमा सहभागी हुन आह्वान

    सिड्नीबाट शेष घलेले गरे एकता महाधिवेशनमा सहभागी हुन आह्वान

    सिड्नी – गैर आवासीय नेपाली संघ उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेले एनआरएन अभियन्ता तथा प्रबुद्ध प्रवासी नेपालीहरुलाई आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनमा सहभागी भएर संघलाई एकताबद्ध बनाउन योगदान गर्न अपिल गरेका छन्।

    कर्मभूमि अष्ट्रेलियामा रहेका घलेले सिडनीमा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै संघका पूर्व अध्यक्ष समेत रहेका डा घलेले लामो समयदेखि विवादमा अल्झिएको एनआरएनएलाई लोकतान्त्रिकरण गर्ने एक अपूर्व अवसर आएको बताए।

    “गत अप्रिल २०२४ मा सर्वोच्च अदालतले संक्षिप्त फैसला दियो र पछि पूर्ण पाठ पनि प्राप्त भयो। अदालतको फैसलाको ६ महिना पछि अक्टोबर २०२४ मा उच्चस्तरीय समितिलाई परराष्ट्र मन्त्रालयबाट निर्देशन प्राप्त भयो। उक्त निर्देशन प्राप्त भएको ३० दिन भित्र १९ नोभेम्वर २०२४ मा उच्चस्तरीय समितिको पहिलो बैठक बस्यो। त्यस संगसंगै ६ महिना भित्र अन्तरराष्ट्रिय साधारण सभा आयोजना गर्नु पर्ने समयावधि पनि शुरु भयो,” घलेले भने।

    नोभेम्वर २०२४ यता उच्चस्तरीय समितिको झन्डै एक दर्जन बैठकहरु बसेर सदस्यता खोल्ने, वेबसाइट बनाउने, एनसीसीहरुसंग समन्वय गर्ने काम भै रहेको पनि उनले जानकारी दिए। “तपाईं हामीले ठूलो योगदान दिएर बनाएको संघको भवनमा हामीलाई बैठक गर्न दिइएन। सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले सचिवालय उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न दुइ, दुइ पटक पत्र लेखेता पनि अटेर गर्ने काम भै रहेको छ। हामीले निकै असहज परिस्थितिमा पनि महाधिवेशनको तयारी गरिरहेका छौं। म केही पाउनको लागि होइन, संस्थालाई फेरी ट्रयाकमा ल्याउनको लागि सर्वोच्च अदालतको निर्देशन बमोजिम यो जिम्मेवारी बहन गर्न तयार भएको हुँ,” उनले भने।

    उच्चस्तरीय समितिका अध्यक्ष डा घलेले आफुहरुको जिम्मेवारी सर्वोच्च अदालतले दिएको म्यान्डेट भन्दा पनि बढी भएको बताए । “यो कानूनी निर्देशन पुरा गर्ने विषय मात्रै नभएर एउटा दीगो तथा प्रजातान्त्रिक संस्था निर्माण गर्नका लागि दरिलो ढांचा बनाउने अवसर पनि हो। यो महाधिवेशनमा एनआरएनए सम्बन्धी ऐन अनुसार सदस्य बन्न योग्य सबै पंजीकृत सदस्य काठमाडौँमा आएर तोकिएको शुल्क तिरेर डेलिगेट्स बन्न पाउँछन्, आफ्नो नेतृत्व चयन गर्न पाउँछन्। नयाँ विधान बनाउन पाउँछन्। यस्तो अवसर फेरी आउंदैन। त्यसैले अलिकति समय खर्च गरेर, समयमै ट्राभेल बुक गरेर मे महिनामा काठमाडौँ आउन म सबै साथीहरुलाई अनुरोध गर्दछु,” घलेले भने। उनले तोकिएको मितिमै महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गरे।

    अध्यक्ष घलेले ३१ मार्च २०२५ भित्र सदस्यता लिएर अप्रिल महिनाभित्र प्रतिनिधिका लागि नाम दर्ता गराउन र मे ३,४ र ५ मा काठमाण्डौमा हुने महाधिवेशनमा भागलिन सबैलाई अनुरोध पनि गरे ।

    कार्यक्रममा बोल्दै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले एमआईएसबाट वितरण हुने सदस्यतामा एनसीसीहरुले प्रमाणिकरण गर्न सक्ने अधिकार भएकाले सो प्रविधिलाई उच्चस्तरीय समितिको मातहतमा ल्याएमा सदस्यता वितरण गर्न सहज हुने बताए । उनले सबै एनसीसीले उच्चस्तरीय समितिसंग सहकार्य गर्नु पर्ने पनि बताए ।

    एनसिसि अष्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीले डा. घले लगायत उच्चस्तरिय समितिलाई पूर्णरुपले साथ समर्थन गर्न आह्वान गरे। उनले सम्भव भएसम्म सबै पक्षलाई मिलाएर लान सुझाव पनि दिए । एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष ध्रुव सुवेदीले वर्तमान परिस्थितिमा उच्चस्तरीय समितिले महाधिवेशन गर्नु बाहेक अन्य कुनै विकल्प नभएको बताए। उनले सम्भव भएसम्म सबैलाई साथ लिन अधिकतम प्रयास गर्ने तर तोकिएको समयसिमा भित्रै एकताको महाधिवेशन गर्न सुझाव पनि दिए ।

    एनसिसि अष्ट्रेलियाका निवर्तमान अध्यक्ष नन्द गुरुङले टुक्रा टुक्रामा विभाजन भएको एनआरएनएलाई सहि दिशामा ल्याउन सर्वोच्च अदालतले दिएको परमादेश अनुरुप बनेको उच्चस्तरीय समितिलाई काम गर्न सबैले सघाउनु पर्ने बताए। हामी सबैले मिलेर बनाएको संस्था र भवन कसैले कब्जा गर्दैमा काम रोकिनुहुदैन भन्दै उनले आगामी मे महिनामा काठमाण्डौमा हुने महाधिवेशनमा भागलिन सबैलाई अनुरोध गरे ।

    एनआरएनए अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसीले गैर आवासीय नेपाली संघ सबैको लामो संघर्ष, मेहनत र परिश्रमले गर्दा आजको दिनसम्म आईपुगेको स्मरण गर्दै संस्थालाई बचाउन सम्भव भएसम्म लचकता अपनाएर निकास खोज्न सुझाव दिए। उनले संस्थाको साख जोगाउने यो अवसर पनि भएकाले डा. घले नेतृत्वको समितिलाई साथ दिएर अघि बढ्न सबैलाई आग्रह गरे ।

    कार्यक्रममा अष्ट्रेलिया एनएसडब्लुका लागि नेपालका मानार्थ वाणिज्यदूत संजीव शर्मा, एनआरएनएकी पूर्व संरक्षक इन्द्रा बन, एनआरएन अभियन्ताहरु भोमा लिम्बु, कुशल केसी, जानकी पौडेल, बिमल भट्टराई, इर्शाद अहमद, भिम खरेल, बिशाल पोखरेल, अच्यूत थपलिया, शेषमणि पाठक, इथान शाक्य लगायत ५० जना भन्दा बढि सहभागीहरुले आफ्नो धारणा राखेका थिए। उच्चस्तरीय समितिका अध्यक्ष घलेले सहभागीहरुका जिज्ञासाको जवाफ दिएका थिए।

    अन्तरक्रिया कार्यक्रमको सहजीकरण तथा संचालन एनआरएनए आईसीसीका पूर्व युवा संयोजक एवम् उपमहासचिव कृष्ण गिरीले गरेका थिए।

  • वनमन्त्री शाही बेलायत प्रस्थान

    वनमन्त्री शाही बेलायत प्रस्थान

    वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी संयुक्त अधिराज्य बेलायत प्रस्थान गर्नुभएको छ ।

    उहाँ बेलायतको राजधानी लण्डनमा आयोजना हुने जलवायु–प्रकृति विकास सम्बन्धमा पानी सुरक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन आज साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

    कार्यक्रम सम्पन्न गरी उहाँ आगामी चैत ३ गते स्वदेश फर्कनुहुने तालिका छ ।

  • पुरूष र महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्वजनिक

    काठमाडौँ, २८ फागुन : नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय पुरूष र महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ । 

    क्यानले आज सार्वजनिक गरेको नयाँ सूचीअनुसार पुरूषतर्फ ग्रेड ‘ए’ र ‘बी’ मा समान पाँच, ‘सी’ मा चार, डी’ मा १२ तथा इमर्जिङ प्लेयरमा सात खेलाडीलाई छनोट गरेको छ । 

    केन्द्रीय सम्झौताअनुसार ग्रेड ‘ए’ मा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख परेका छन् । उनीहरूले मासिक जनही रू एक लाख प्राप्त गर्नेछन् । ग्रेड बी मा करण केसी, कुशल भुर्तेल, गुल्सन झा, ललित राजवंशी र अनिल साह छन् । यी खेलाडीहरूले मासिक रू ७० हजार प्राप्त गर्नेछन् । ग्रेड सी’ मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल छन् । उनीहरूले रू ५५ हजार पाउनेछन् ।  

    त्यस्तै ग्रेड डि मा सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सुर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसीर अहमद, प्रतिस जिसी, अभिनाश बोहरा र मयन यादव छन् । उनीहरूले मासिक रू ३५ हजार प्राप्त गर्नेछन् ।

    यसैगरी अर्जुन घर्ती, हेमन्त धामी, दिपेश कँडेल, रूपेश सिंह, अर्जुन कुमाल, शुभ कंशाकार र सन्तोष यदावलाई इमर्जिङ प्लेयसमा राखिएको छ । उनीहरूले रू २५ हजार प्राप्त गर्नेछन् । 

    त्यसैगरी महिला खेलाडीको नयाँ केन्द्रीय सम्झौताअनुसार चार खेलाडीलाई ग्रेड ‘ए’ मा समवेश गरिएको छ । जसमा कप्तान इन्दु बर्मा, रूविना क्षेत्री, सीता रानामगर र पूजा महतो छन् । उनीहरूले मासिक रू ५० हजार प्राप्त गर्नेछन् । 

    ग्रेड ‘बी’ मा कविता जोशी छन् । उनले मासिक ३५ हजार पाउनेछिन । ग्रेड सी’ मा कविता कुँवर र सम्झना खड्का छन् । उनीहरूले रू २५ हजार प्राप्त गर्नेछन् । 

    यस्तै ग्रेड डि मा विन्दु रावल, अलिशाकुमारी यादव, रिया शर्मा, साना प्रविन, सीमान केसी, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, कृस्मा गुरूङ, ज्यात्निका मरासिनी, रचनाकुमारी चौधरी र मनिषकुमारी उपाध्याय छन् । उनीहरूले मासिक २० हजार पाउनेछन् ।

    उक्त केन्द्रीय सम्झौतामा रहने खेलाडीहरूको सम्झौता अवधि छ महिनासम्म हुनेछ । छमहिनापश्चात् खेलाडीहरूको प्रदर्शनका आधारमा बाँकी छ महिनाका लागि खेलाडीहरूको पुनःवर्गीकरण गरी केन्द्रीय सम्झौता गरिने क्यानले जनाएको छ । 

  • अमेरिका पठाइदिन्छु भन्दै ५३ लाख ठगेको आरोपमा ताप्लेजुङका दुई जना काठमाडौंमा पक्राउ

    अमेरिका पठाइदिन्छु भन्दै ५३ लाख ठगेको आरोपमा ताप्लेजुङका दुई जना काठमाडौंमा पक्राउ

    काठमाडौं – वैदेशिक रोजगारीको लागि अमेरिका लैजाने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजंघा गाउँपालिका-१ का ४० वर्षीय ललितबहादुर इवारम र सोही ठाउँका ३३ वर्षीय दिपेश सुब्बा लिम्बू रहेका छन्।

    काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ मा बस्दै आएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो।

    उनीहरूलाई बसेकै स्थानबाट प्रहरी टोलीले पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

    उनका अनुसार उनीहरूले दुई जनालाई अमेरिका लैजाने आश्वासन दिएर ५३ लाख रुपैयाँ लिएका थिए।

    तर, लामो समयसम्म झुक्यानमा राखेर सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा गएका थिए। पक्राउ परेका दुबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ।

    यस्तै, प्रहरीले विभिन्न देश लैजाने बहानामा पीडितबाट रकम ठगी गरेको आरोपमा अन्य चार जनालाई पक्राउ गरेको छ।

    गोरखा आरूघाट गाउँपालिका-४ की २४ वर्षीया सरु परियार, कञ्चनपुर बेलौरी नगरपालिका-३ का ३२ वर्षीय जेम्स राना, कीर्तिपुर नगरपालिका-६ काठमाडौंकी ३४ वर्षीया रेखा तुलाधर र धादिङ निलकण्ठ नगरपालिका-९ का २७ वर्षीय रवि खनाललाई पक्राउ गरिएको कार्यालयले जनाएको छ।

    परियारले अष्ट्रेलिया पठाइदिने भन्दै एक जनाबाट दुई लाख ५० हजार, क्रोएसिया पठाइदिने बहानामा रानाले एक जनाबाट तीन लाख, जापान पठाइदिने भनी तुलाधरले चार जनाबाट १३ लाख दुई हजार र खनालले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट १४ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

  • राजावादीहरुको प्रदर्शनले केही हल्लाएको छैन- प्रचण्ड

    राजावादीहरुको प्रदर्शनले केही हल्लाएको छैन- प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरुको प्रदर्शनबाट नडराउने बताएका छन् । सोमबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले राजावादीहरुको प्रदर्शनले डराउनुपर्ने आवश्यकता नरहेको टिप्पणी गरेका हुन् । 

    ‘राजावादीहरुको प्रदर्शनले मुटु हल्लिएको हो ?’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘प्रदर्शनले केही हल्लाएको छैन, केही भएको छैन । त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन ।’

    प्रचण्डले राजावादीहरुको गतिविधिको जिम्मा सरकारले लिनुपर्ने बताउदै जनतामाझ सरकारप्रति निकै ठूलो आक्रोश रहेको प्रतिक्रिया दिए । साथै उनले राजावादीहरुको गतिबिधिविरुद्ध सडकमा उत्रिने बारेमा आफुहरु छलफलमा रहेको समेत बताए ।

  • नेपाल हङकङ चाइनासँग २ रनले पराजित

    नेपाल हङकङ चाइनासँग २ रनले पराजित

    काठमाडौँ । नेपाल हङकङ चाइनासँग २ रनले पराजित भएको छ ।  

    युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत हङकङले दिएको १०१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै ९८ रन मात्र बनाएपछि नेपालले खेल २ रनले हारेको थियो ।

    नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक ३२ रन बनाएकी थिइन् भने पुजा महतोले १९ बिन्दु रावलले १४ र साना प्रविनले १० रन बनाएकी थिइन् । 

    यस अघि टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १०० रन बनाएको थियो । हङकङका लागि कप्तान नताशा माइल्सले सर्बाधिक ३५ रन बनाएकी थिइन् भने मारिको हिलले २१ रन बनाएकी थिइन् ।  

    त्यस्तै नेपाली बलर इन्दु बर्मा र इश्वरी विष्टले २-२ विकेट लिए भने पुञ्ज महतो र रचना चौधरीले एक एक विकट लिएका थिए ।   

    यस सिरिजमा नेपालले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ । त्यस्तै हङकङले भने ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

    नेपालले अर्को खेल मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

    त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।   

  • राजावादी सक्रिय भएपछि माओवादीको जागरण अभियान स्थगित

    राजावादी सक्रिय भएपछि माओवादीको जागरण अभियान स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गरेको छ ।  पछिल्ला दिनहरुमा राजावादीहरु सक्रिय भएको भन्दै माओवादी केन्द्रले अभियान स्थगित गरेको बताइएको छ । 

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकै अलोकप्रिय र लोकतन्त्रविरोधी कदमको कारण गणतन्त्रमाथि प्रहार हुन थालेको निष्कर्ष निकालेका छन् । 

    प्रचण्ड आजै सिमाराबाट काठमाडौं आउने पनि बताइएको छ ।  त्यस्तै माओवादी केन्द्रले राजावादीहरुको पछिल्लो गतिविधि बारे छलफल गर्न आइतबार पदाधिकारी बैठक समेत बोलाएका छन् । फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको माओवादीको जागरण अभियान आज रौतहट पुगेको थियो ।

    राजावादीहरुले आइतबार पूर्वराजा पोखराबाट काठमाडौँ फर्किने कार्यक्रमलाई भव्य बनाउन र ठुलो जनउपस्थिति देखाउन तयारी गरिरहेका छन् । 

  • तिब्बत भूकम्पको धक्का काठमाडौँमा

    तिब्बत भूकम्पको धक्का काठमाडौँमा


    काठमाडौँ, २४ फागुन: चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भएको भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न १४ः३५ बजे उक्त स्थान केन्द्र भएर ५ दशमलव ९ रिक्टर स्केलको भूकम्प भएको हो ।

    यसअघि गत पुस २३ गते सोही स्थानमा ७ रिक्टर स्केलको भूकम्प भएको थियो ।

    आज बिहान ६ बजेर २० मिनेटमा बागलुङको खुखानी केन्द्रबिन्दु भई ४ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको केन्द्रले जनाएको छ । आजै बिहान ०३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रबिन्दु भएको ४ रिक्टरको भूकम्प भएको थियो ।

  • एमालेलाई बलियो बनाउन जरा अभियान

    एमालेलाई बलियो बनाउन जरा अभियान


    राँझा(बाँके),२४ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई बलियो बनाउनका लागि वडा केन्द्रित ‘जरा अभियान’ सञ्चालन गरिएको बताउनुभएको छ ।

    नेकपा (एमाले)स्थानीय विकास विभागले शनिबार नेपालगञ्जमा आयोजना गरेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट प्रत्यासी उम्मेदवारलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रममा उहाँले जरा केन्द्रित अभियान र मिसन–२०८४ ले एमालेलाई अझ सशक्त शक्तिका रूपमा स्थापित गर्ने बताउनुभयो ।

    महासचिव पोखरेलले नेकपा एमालेलाई निर्णायक शक्ति निर्माण गर्ने यात्रामा स्थानीय तहका पूर्वजनप्रतिनिधिका साथै तहका युवा वर्गको योगदान हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । सुदृढ राजनीतिक दलबाट नै राष्ट्र निर्माण हुने उहाँको तर्क थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफ्नो दल क्रियाशी रहेको उहाँको अभिमत थियो ।

    नेकपा (एमाले) बाँके स्थानीय विकास विभाग प्रमुख मीन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्यसूर्य ढकाल, दीपा शर्मा, शान्ति ढकाल,मोहम्मद हारुन हलवाई, पशुपतिदयाल मिश्रा सहभागी हुनुहुन्थ्यो ।

  • ‘स्रोत र साधनले भ्याएसम्म भूकम्पपीडितलाई सहयोग जारी छ’

    ‘स्रोत र साधनले भ्याएसम्म भूकम्पपीडितलाई सहयोग जारी छ’

    अछाम, २४ फागुनः गृहमन्त्री रमेश लेखकले भूकम्पपछिका पुनर्निर्माण र पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको  बताउनुभएको छ । 

    अछाम जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना भएको जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको आज उद्घाटन गर्दै उहाँले स्रोत र साधनले भ्याएसम्म सरकारले भूकम्पपीडितलाई सहयोग गरिरहेको बताउनुभयो । 

    गत वर्षको कात्तिकमा भएको भूकम्पबाट प्रभावित भएकालाई सहज ढङ्गले सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना भएको उक्त एकाइले अछाम, बाजुरा र डोटीका नागरिकलाई सघाउने छ । 

    नवस्थापित एकाइमार्फत पीडितलाई आवास निर्माण तथा मर्मतससम्भारका काम गर्न सहज हुने विश्वास व्यक्त गर्दै लाभग्राहीलाई द्रुत सेवा प्रवाह गर्न उहाँले प्रमुख जिल्ला अधिकारीलगायत सम्बद्ध कर्मचारीलाई निर्देशन पनि दिनुभयो । 

    भूकम्पबाट क्षति भएका अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ र ४ का ४ जना लाभग्राहीलाई आवास पुनर्निर्माणअन्तर्गत पहिलो किस्ता बापत  प्रतिघर रु ५० हजार प्रदान गरिएको छ । एकाइ स्थापनासँगै लाभग्राहीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो । 

    त्यस अवसरमा प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, राष्ट्रिय  विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख  भीष्मकुमार भुसाल, प्रदेशसभा सदस्य मानबहादुर रावल, तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी उपस्थित हुनुहुन्थ्यो । 

    जाजरकोट भूकम्पमा परी एक सय ५७ जनाले ज्यान गुमाएका थिएभने तीन सय ७५ जना घाइते भएका थिए । विसं २०७९ कात्तिकमा २३ गते बिहान डोटीको पूर्वीचौकी गाउँपालिका ३ को गैरगाउँ केन्द्रबिन्दु  भएर ६ दशमलव ६ म्याग्नेच्युडको भूकम्प भएको थियो । 

    उक्त भूकम्पमा उक्त गाउँका ६ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते हुनु भएको थियो। डोटीका नौवटा स्थानीय तहबाट ५४१ वटा निजी आवास पूर्ण रुपमा क्षति भएका र चारहजार एक हजार ४६ घरहमा आंशिक क्षति भएको छ थियो । त्यस्तै ४७ विद्यालय, आठ  स्वास्थ्य चौकी, नौ  सरकारी भवन र चार  सांस्कृतिक संपदामा पनि क्षति भएको थियो ।