Category: शिक्षा

  • दुई सय बढी बालबालिका विद्यालय जान छाडे

    दुई सय बढी बालबालिका विद्यालय जान छाडे


    जलेश्वर, ५ माघ : महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् ।

    मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ ७५ घर मुसहर समुदायका छन् । यहाँका २०० बढी बालबालिका गत मङ्सिर महिना सुरू भएदेखि नै विद्यालय जान छाडेका छन् । मुसहरी (मुसहर बस्ने) टोलभन्दा केवल तीन सय मिटर दूरीमा रहेको श्री माध्यमिक विद्यालय मझौरामा बाल कक्षादेखि विभिन्न कक्षामा पढ्दै आएका मुसहरका बालबालिकाले मङ्सिर र पुस महिना एक दिन पनि विद्यालय टेकेनन् ।

    स्थानीय मुसहर अगुवा अघनु सदाका अनुसार गरिब र विपन्न यस बस्तीका बालबालिका जाडोकै कारण दुई महिनादेखि विद्यालय नगएका हुन् । स्थानीय ६० वर्षीया सुनैनादेवी सदाले बालबालिकाको जीउमा पर्याप्त न्यानो लुगाफाटा नभएको, खानेकुराको अभाव र जीउ न्यानो बनाउन आगोसमेत अभाव भएको बताउनुभयो । जाडो महिना सुरू भएदेखि नै उनीहरू विद्यालय नगएको सोही ठाउँकी ६५ वर्षीया महिला बासोदेवी सदाले बताउनुभयो ।

    खर, पराल र पात पतिङ्गर सोहोरेर जेनतेन खाना पकाएर खाइरहेका मुसहरलाई जाडोको महिना निक्कै कष्टकर हुने गरेको भन्दै स्थानीय ७२ वर्षीया कोशिलादेवी सदाले घर बाहिर गएमा स्वास्थ्य बिग्रने डरले बालिबालिकालाई विद्यालय जानबाट रोकेको पीडा सुनाउनुभयो ।

    चाँडैतिर झिक्राझिक्री र खरपातले बनाएको घर, छाना चुहिने, शीत र ओस आउने ह्वाङ्ग र त्यसमै एक अर्कासँग टाँसिएर बसेका मुसहरका बालबालिका जाडो छल्नकै लागि विद्यालय नगएका हुन् ।

    नबस्ने घर, न खाने अन्न र त्यसमाथि कठ्याङ्ग्रिँदो जाडोले उनीहरूको रोजगारी पनि बन्द भएको छ । उनीहरूलाई परिवार पाल्न निक्कै कठिनाइ भएको छ । त्यसमाथि बालबालिकाको पठनपाठन झन बोझझैँ भएको छ ।

    स्थानीय ५४ वर्षीय रामसेवक सदाले जाडोको बेला कामकाज गर्न नसकिने, पैसाको अभाव हुने र लुगाफाटोको समस्या रहेको कारण यस बस्तीमा राम्ररी खानपान पनि पुर्‍याउन सबैलाई हम्मेहम्मे भएको बताउनुभयो । बालबालिकाहरूलाई कठ्याङ्ग्रिँदो जाडोमा घुर ताप्न लगाएर ज्यान जोगाउने गरेको उहाँले सुनाउनुभयो ।

    यस बस्तीमा जाडोयाममा सबैलाई न्यानो लुगाफाटा, पोषिलो खानपिन र चिसो हावा छल्ने घरको अभाव बर्सेनि हुने गरेको स्थानीय ३९ वर्षीय वीरेन्द्र सदाले बताउनुभयो । उहाँले यस्तो अभावको बेला आफूहरूलाई कसैले कहीँबाट कुनै सहयोग नगरेपछि झन बढी समस्या भएको दुखेसो पोख्नुभयो ।

    बस्ती नजिकै अर्को टोलमा घर रहेको वडाध्यक्ष अब्दुल गफार राईनलाई मुसहरी बस्तीको बासिन्दाको पीडाबारे सोध्दा उहाँले आफू पनि मुसहरको पीडासँग पीडित रहेको बताउनुभयो । तर, उनीहरूको समस्याको निदान आफ्नो हैसियतले गर्न नसकिने वडाध्यक्ष राईनले बताउनुभयो ।

    वडाध्यक्ष राईनले मुसहरी बस्तीमा घर निर्माणको योजना पनि अगाडि सार्न खोज्दा त्यहाँ मुसहरसँग जग्गा अभाव रहेको, सबैसँग पर्याप्त जग्गा नरहेको कारण बाहिरी सहयोगले बनाइने एकै खालको घरको परियोजना चाहेर पनि लागू गर्न नसकिएको बताउनुभयो ।

    मुसहर बस्तीका दुई सय बढी बालबालिका विद्यालय नगइरहेको सबालमा वडाध्यक्ष राईनले आफूले विद्यालय पठाउन मात्रै आग्रह गर्ने बताउनुभयो । तर उनीहरूको बालबालिकाहरूको अभावलाई पूरा गर्नसक्ने अवस्था नरहेको कारण जबर्जस्ती गर्न नसकिने बताउनुभयो ।

    पुस र माघ महिनाको चिसो स्याँठले निम्त्याएको कठ्याङ्गिँ्रदो जाडोबाट बच्न गत साता यस बस्तीमा नेपाली सेनाले प्रतिपरिवार एक एक थान कम्बल बाँडेको सुनाउँदै बस्तीकी ७२ वर्षीया कोशिलादेवी सदाले यो सहयोग अपुग र अपर्याप्त रहेको बताउनुभयो । उहाँले दाताले प्रतिपरिवार नभएर आवश्यक भएका सबैलाई दिनुपर्ने धारणा राख्नुभयो । उहाँले एउटा कम्बल बूढापाखा राख्ने कि महिलाले ओढ्ने कि बालबालिकालाई दिने भनी प्रतिप्रश्न गर्नुभयो ।

    यस मुसहर बस्तीमा अहिले बूढापाखा ठाउँठाउँमा खर, पराल र पातपतिङ्गर ल्याएर ठूलठूला घुर बालेर आगो ताप्दै दिन बिताउने गरेको देख्न सकिन्छ भने महिला तथा बालबालिका घरभित्र आगो बालेर आगोकै वरिपरि बसिरहेको देख्न सकिन्छ ।

    यस्तो अवस्थामा त्यस बस्तीका बालबालिकालाई ज्यान जोगाउनु नै मुस्किल छ । यस बस्तीका मुसहरहरू देशमा तीन तहको सरकार आएको र सङ्घीयताले देश विकासको दिशा लिइरहेको बेला आफूहरूले सङ्घीयता र लोकतन्त्रको अलि कति पनि अनुभूति गर्न नसकेको बताउँछन् ।

  • नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघमा विजेन्द्र विक्रम शाह सर्वसम्मत

    नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघमा विजेन्द्र विक्रम शाह सर्वसम्मत


    काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औं वार्षिक साधारण सभा तथा चौथो राष्ट्रिय अधिवेशनले विजेन्द्र विक्रम शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

    अधिवेशनले नौ जना पदाधिकारी र १० सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
    १९ सदस्यिय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मेखबहादुर अधिकारी, प्रथम अध्यक्षमा केशवराज खनाल र द्वतीय उपाध्यक्ष प्रकाश श्रेष्ठ सर्वसम्मत भए ।

    यस्तै राकेश मेहता महासचिव, गोपाल खेतान उपमहासचिव, गणेशप्रसाद अधिकारी कोषाध्यक्ष, गंगाबहादुर अधिकारी सचिव, सुरेशकुमार भट्टराई सहकोषाध्यक्ष पनि निर्विरोध निर्वाचित भए ।

    सदस्यहरुमा रञ्जितकुमार अग्रवाल, दिलिपकुमार अग्रवाल, कमल नेपाल, राजेन्द्र डंगोल, पंकज अग्रवाल, प्रदिपकुमार घिमिरे, राजकृष्ण दाहाल, किरण खरेल, हेमराज खनाल र विचित्र ढुंगाना चुनिएका छन् । यो कार्यसमितिको कार्यावधि दुई वर्षको रहनेछ । नव निर्वाचित अध्यक्ष शाहले आफ्नो कार्यकालमा मसलन्द उद्योगको विकासका लागि सदैव लाग्ने प्रतिवद्धता जनाउँदै सर्व सम्मत बनाउन पहल गर्ने सबैलाई धन्यवाद दिए ।

    अधिवेशनको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरेका थिए । मन्त्री लेखकले सरकारले बढि मुल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने निति लिएको बताउदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

  • सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द

    सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द

    सोलुखुम्बु, २९ पुसः जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । 

    चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् । 

    जिल्लामा दुई सय ८९ सामुदायिक विद्यालय छन । तीमध्ये ९३ विद्यालयको पठनपाठन हालका लागि बन्द गरिएका हुन् । आठ स्थानीय तह मध्ये सोताङ गाउँपालिका बाहेक सबै स्थानीय तहले जाडो बिदा दिएको कार्यालयले जनाएको छ । 

    जिल्लाको माथिल्लो क्षेत्रमा तापक्रम माइनस २० डिग्रीसेल्सियससम्म पुगेको छ भने सल्लेरी क्षेत्रमासमेत तापक्रम माइनसमा झरेको हावापानी मापन केन्द्र सल्लेरीका कर्मचारी नवराज पराजुलीले जानकारी दिनुभयो । 

    चिसो अत्यधिक बढेसँगै बालबालिका विद्यालय जान नसकेको गार्माका स्थानीय पशी शेर्पाले बताउनुभएको छ । पिके मावि लोदिङ्का प्रधानाध्यापक चेतबहादुर मगरका अनुसार चिसोका कारण पठनपाठनमा असर गर्ने भएपछि विद्यालयले सोहीअनुसार पात्रो तयार गरेर जाडो विदाको निर्णय गरेको हो । 

    उच्च हिमाली क्षेत्रमा मङ्सिर दोस्रो साताबाटै पानी जम्न थालेपछि जाडो बिदा दिइएको खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङका शिक्षक तिलक रसाइलीले बताउनुभयो । “यतिखेर खुम्जुङ पुरै सुनसान छ, त्यहाँ स्थानीयसमेत जाडो छल्न अन्यत्र गएपछि हामीले विद्यालयमा जाडो बिदा दिएका हौँ ।” 

  • चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द

    चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द


    कञ्चनपुर, २५ पुसः एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।

    शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् । चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताउनुभयो ।

    उहाँका अनुसार नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २५ गतेदेखि पुस २८ गतेसम्मका लागि बिदा दिइएको छ । कृष्णपुर नगरपालिकाले जाडो बिदाबाट मिलान हुने गरी विद्यालयमा पुस २३ गतेदेखि २८ गतेसम्म बिदा दिएको जनाएको छ ।

  • विद्यार्थीलाई पञ्चैबाजा बजाउने तालिम

    विद्यार्थीलाई पञ्चैबाजा बजाउने तालिम

    त्रिवेणी (नवलपरासी), २३ पुसः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ स्थित देवचुली माध्यमिक विद्यालयले विद्यार्थीलाई पञ्चैबाजा बजाउने तालिम प्रदान गरेको छ । तालिम लिएपछि अहिले यहाँका विद्यार्थी फुर्सदमा बाजा बजाएर आम्दानी गर्न थालेका छन् । 

    दुई महिनाअघि विद्यालयले कक्षा ६ देखि ९ सम्मका बाजा बजाउन इच्छुक ११ जना विद्यार्थीलाई तालिम प्रदान गरेको थियो । पञ्चेबाजा बजाउने तालिममा सहभागी १० वर्षीय विद्यार्थी होम थापाले बाजा बजाउन सिकेसँगै गाउँमा भएका तीन वटा कार्यक्रममा पञ्चेबाजा बजाएर आम्दानी गरेको बताउनुभयो । 

    ढोलक, सनही र नरसिंहा बाजा बजाउन सिक्नुभएका थापाले भविष्यमा संस्कृति संरक्षणसँगै व्यावसायिक रूपमा यसलाई निरन्तरता दिने उल्लेख गर्नुभयो । 

    शिक्षालाई सीपसँग जोड्ने योजनाअनुसार विद्यालयका विद्यार्थीलाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तोपराज कोइरालाले बताउनुभयो । देवचुली नगरपालिकाको समन्वयमा विद्यार्थीलाई तालिम प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।  

    पञ्चेबाजा तालिमले शिक्षासँगै सीपलाई जोड्ने काम गर्नुका साथै सङ्कटमा रहेको पञ्चेबाजाको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने अध्यक्ष कोइरालाले विश्वास व्यक्त गर्नुभयो । “तालिम लिएपछि “विद्यार्थीहरूमा सांस्कृतिक र कलासम्बन्धी सीप विकास भएको छ, साथै नयाँ पुस्तालाई पुरानो संस्कृतिसँग जोड्ने प्रसाय भएको छ, यसले पञ्चेबाजा संरक्षण र कला, संस्कृतिमा प्रवर्द्धनमा सहयोग पुग्ने छ”, उहाँले भन्नुभयो । 

    पहिलो चरणमा केही विद्यार्थीलाई मात्रै तालिम प्रदान गरिएको बताउँदै अध्यक्ष कोइरालाले क्रमशः अन्य विद्यार्थीको आवश्यकता र इच्छाअनुसार तालिम प्रदान गरिने जानकारी दिनुभयो । 

    विद्यार्थीहरू अहिले समूह बनाएर बाजा सिक्ने र अध्ययनसँगै वरपरका  कार्यक्रममा बाजा बजाउन जाने गरेका छन् । “नियमित रूपमा आफ्नो अध्ययनको काम भइरहेको छ, यसबाहेक फुर्सदमा नेपालको मौलिकता बोकेको पुरानो बाजालाई अगाडि बढाउनुपर्छ भन्ने लागेर बाजा बजाउने तालिम लिएका हौँ”, विद्यार्थी सम्राट नेपालीले भन्नुभयो, “साथीहरू भएर कार्यक्रममा बाजा बजाउन जाँदा रमाइलो हुनुका साथै आम्दानी पनि भइरहेको छ ।” 

    विद्यार्थीहरूले अहिले पनि बाजा बजाउन सिक्ने कामलाई निरन्तरता दिइरहेका छन् । विद्यालयको प्रशिक्षकका रूपमा खटिनुभएका भीमबहादुर परियारका अनुसार विद्यार्थीले राम्रोसँग पञ्चेबाजा बजाउने गरेका छन् । साना विद्यार्थीलाई आफूले जानेको सीप सिकाउन पाउँदा खुसी लागेको पउहाँले बताउनुभयो । 

    विद्यार्थीले बाजा बजाउन सिकेसँगै बाजा, कला, संस्कृतिको संरक्षण, प्रवर्द्धन हुनुका साथै पुस्तान्तरण समेत भइरहेको प्रशिक्षक परियारले उल्लेख गर्नुभयो । साना बालबालिकाले पञ्चेबाजा बजाएको देख्दा विद्यालयका अभिभावक उत्साहित भएका उहाँको भनाइ छ । “सबैले यो फरक कार्य भयो, सानो उमेरमा राम्रो बाजा बजाए भनेर उत्साहित हुँदै प्रशंसा गर्नुभएको छ”, परियारले भन्नुभयो । 

  • स्थापनाको चार वर्षपछि गण्डकी प्राविधिक शिक्षालयको भवन बन्दै

    स्थापनाको चार वर्षपछि गण्डकी प्राविधिक शिक्षालयको भवन बन्दै

    अन्नपूर्ण (कास्की), २० पुस :  गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जिटिर्इिभटिइ) अन्तर्गतको गण्डकी प्राविधिक शिक्षालय स्थापना भएको चार वर्षपछि भवन बन्ने भएको छ । 

    गण्डकीमा दक्ष जनशक्ति उत्पादन गरी युवालाई रोजगारीमा आबद्ध गर्ने उद्देश्य लिएर गण्डकी प्रदेश सरकारले २०७७ सालमा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान ( जिटिइभिटिइ ) स्थापना गर्ने निर्णय गरेको थियो । 

    स्याङ्जाको फेदीखोला गाउँपालिका–१ स्थित गुर्धुममा बन्ने प्रशासनिक भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गर्नुभएसँगै जिटिइभिटिइ आफ्नै भवनबाट सञ्चालनमा आउने भएको हो । 

    शिक्षालयको पूर्वाधारका लागि कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)सँग सम्झौता भएलगत्तै शुक्रबार भवन शिलान्यास गरिएको हो । गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका सचिव राजेन्द्रदेव पाण्डे र कोइकाका नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङबीच सम्झौता भएको हो । परियोजना अन्र्तगत कोइकाले करिब नौ मिलियन अमेरिकी डलर (करिव सवा अर्ब रुपैयाँ)को सहायता अनुदान उपलब्ध गराउने छ । 

    सोही सम्झौतापछि गुर्धुममा ‘नमुना प्राविधिक संरचना’ बनाउने कामको थालनी भएको हो । उक्त कामको शिलान्यासपछि मुख्यमन्त्री पाण्डेले पाण्डेले प्राविधिक शिक्षा आजको मुल आवश्यक भएको बताउनुभयो । प्राविधिक शिक्षालय स्थापनापछि नेपालमै प्राविधिक क्षेत्रमा सीप र ज्ञान वृद्धि गर्ने अवसर प्राप्त हुने उहाँले सुनाउनुभयो । 

    देशमै रोजगारी गर्न वा विदेशमा रोजगारीका लागि जान चाहनेका लागि यसले टेवा पु¥याउने मुख्यमन्त्री पाण्डेको भनाइ थियो । “अहिले नेपालमा केही पनि गर्न सकिदैन भन्ने नकरात्मक सोंच छ । अब यसबाट उत्पादन भएका विद्यार्थीले स्वरोजगार सिर्जना वा रोजगारका लागि आफूलाई स्थापित गर्न दक्ष सीपयुक्त व्याक्ति निर्माण गर्छ,” उहाँले भन्नुभयो, “यहाँबाट ज्ञान, सीप प्राप्त गरेकामा भोलिका दिनमा नेपालकै केही सकिन्छ र यही गर्नुपर्छ भन्ने भावना पनि जगाउँछ भन्ने मलाई लाग्छ ।”

    कार्यक्रममा कोईका नेपाल कार्यालयका देशीय निर्देशक  कङले परियोजनाले युवा, महिला र असक्षम व्यक्तिलाई गुणस्तरीय प्राविधिक शिक्षा प्राप्त गर्न अवसर प्रदान गर्ने बताउनुभयो । पछिल्लो समय तीव्ररूपमा विकास भइरहेको रोजगारी बजारमा अघि बढ्न आवश्यक सीपले सुसज्जित गर्ने उहाँको भनाइ थियो । कोइकाले नेपालमा प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिएको पनि उल्लेख गर्दै सोहीअनुसार शिक्षालयलाई सहयोग गरेको उहाँले सुनाउनुभयो । 

    गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक डा सोमनाथ सापकोटाले प्रदेशका लागि आवश्यक पर्ने जनशक्तिको प्रक्षेपणअनुसार तालिम सञ्चालन गर्नका लागि पूर्वाधारका लागि कोइकाबाट प्राप्त सहयोगले ठूलो महत्व राख्ने बताउनुभयो । प्रदेश शिक्षा नीतिले प्रदेशभित्र सञ्चालन हुने सबै खालका प्राविधिक शिक्षा तथा तालिम यसै संस्था मातहत रहनुपर्ने परिकल्पना पनि गरेको छ ।

    सम्झौताअनुसार परियोजना सन् २०२५ बाट सुरु भई पाँच वर्षसम्म सञ्चालन हुने छ । यो परियोजना कोइका र गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले संयुक्तरूपमा कार्यान्वयन गर्नेछ । यसमा कक्षाकोठा, कार्यशाला, छात्रावास (छात्राका लागि)लगायतका आवश्यक उपकरण, फर्निचर र शैक्षिक सामग्री हुनेछन् । साथै, कोइकाले प्राविधिक शिक्षालयको मास्टर प्लान, स्थानीय आवश्यकताअनुरूप छोटो समय तालिम, सञ्चालन योजना, करियर सेवा प्याकेज र उद्योगसँगको सहकार्य विकासका लागि प्राविधिक मार्गदर्शन तथा सहयोग प्रदान गर्नेछ । 

    गुर्धुममा पहिलो चरणमा प्रशासनिक भवन, महिला छात्रावास, तीन ल्याब भवन, परीक्षा भवन, शैक्षिक भवन बन्ने प्रतिष्ठानका कार्यकारी निर्देशक डा सापकोटाले जानकारी दिनुभयो ।

    भवन निर्माणको काम सकिएपछि ईलेक्ट्रोनिक्स÷ईलेक्ट्रिकल, अटोमोबाइल्स र टुरिजम÷हस्पिटालिटी विषयमा पठनपाठन हुने उहाँले बताउनुभयो । 

  • नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता

    नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता


    काठमाडौँ, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमतिपत्र आदानप्रदान भएको हो । समझदारी अनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्यसञ्चालनका लागि काम गर्नेछन् । यसैगरी बेइजिङमा नेपाल इन्स्टिच्युट र लुम्बिनीमा चाइना इन्स्टिच्युट स्थापना हुनेछन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको गत मङ्सिर १७ गतेदेखि २० गतेसम्म भएको औपचारिक भ्रमणका क्रममा चीनसँग स्वयंसेवी चिनियाँ भाषा शिक्षणसम्बन्धी समझादारी भएको थियो ।

    सो अवसरमा प्रधानमन्त्री एवं लुुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि जनस्तरमा समेत सम्बन्ध रहेको उल्लेख गर्दै दुुई देशबीच प्राज्ञिक र शैक्षिक सम्बन्ध र सहकार्य विस्तार भएकामा खुसी व्यक्त गर्नुभयो ।
    कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारी, लुुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्य र नेपालस्थित चीनियाँ दूतावासका अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

  • अखिल (क्रान्तिकारी)मा ३२ वर्ष उमेर हद

    अखिल (क्रान्तिकारी)मा ३२ वर्ष उमेर हद

    काठमाडौँ, १५ पुस : नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ । 

    अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ । मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ बर्ष उमेर हद लाग्ने भएको हो । 

    उमेर हद राख्ने कि नराख्ने भन्नेबारेमा क्रान्तिकारीमा फरक मत रहँदै आएको थियो । प्रमुख निर्वाचन अधिकृत प्रधानका अनुसार, अब ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीमा आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ । 

  • प्राप्त ज्ञानलाई मुलुकको समृद्धि र सुखका लागि प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

    प्राप्त ज्ञानलाई मुलुकको समृद्धि र सुखका लागि प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समद्ध र सुखीरुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।

    त्रिभुवन विश्वविद्यालयद्वारा आज दरशथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयलका कुलपति ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिस्कृत गर्न पनि आग्रह गर्नुभयो । “आफैसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्याको काम लाग्दैन । ज्ञानलाई व्यवहारिकरुपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ ।”

    प्रधानमन्त्री ओलीले नेपाल ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गर्दै पूर्खाको ज्ञानप्रति कृतज्ञ भएर उहाँहरुबाट सिक्नुपर्नेमा जोड दिनुभयो । 

    कार्यक्रममा कुलपति ओलीबाट विभिन्न संकाय र तहका १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित भएका थिए । समारोहमा प्रमुख अतिथि अर्थशास्त्री डा  रामप्रकाश यादवले जीवनमा संघर्ष र इमानदारितालाई पछ्याउन सकेमा सफलता हासिल हुने बताउनुभयो ।

    सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षण सिकाइमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजंग बरालले विश्वविद्यालयका क्याम्पसहरु एकापसमा गाभ्ने नीति लिइएको जनाउनुभयो ।

  • प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ

    प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ


    काठमाडौँ, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाको सपथ भएको हो ।

    प्रधानन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरुलाई कार्यकाल सफलताको कामना गर्नुभयो । सो अवसरमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।