Category: स्थानीय

  • चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने

    चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने

    काठमाडौं ।

    चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन्।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो।

    आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ।

    सहुलियत मूल्य पसलमा सबै किसिमको चामलमा प्रतिकिलो रु पाँच छुट पाइने छ। कर्णालीका रैथाने उत्पादनहरु जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र तितेफापरमा प्रतिकिलो रु सात छुट पाइने छ। सबै प्रकारका दाल तथा गेडागुडीमा प्रतिकिलो रु पाँच, गहुँको पिठो, चिउरा, चिनी, गहुँलगायत वस्तुमा प्रतिकिलो रु सात, सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर रु सात र डिडिसी घ्यूमा प्रतिलिटर रु १० छुट तथा च्याङ्ग्रा, खसी, बोकाको मासुमा प्रतिकिलो रु १० छुटको व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

  • काठमाडौँ उपत्यकाका नदी मापदण्डको विरोधमा स्थानीयको प्रदर्शन

    काठमाडौँ उपत्यकाका नदी मापदण्डको विरोधमा स्थानीयको प्रदर्शन

    काठमाडौं ।

    सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि ठाउँ  ठाउँमा स्थानीयहरू विरोधमा उत्रिएका छन्।

    सर्वोच्च अदालतको आदेशसँगै काठमाडौँ महानगरले  २० मिटर मा कुनै पनि संरचना निर्माण गर्न नपाइने भन्दै रोक लगाएपछि यो मुद्दा थप चर्किएको हो । 

    आज गोकर्णेश्वर नगरपालिकाका स्थानीयले मापदण्डको विरोध गर्दै जोरपाटीमा  प्रदर्शन गरेका छन्। सर्वोच्चको फैसला न्यायिक नभएको भन्दै उनीहरुले जोरपाटी क्षेत्रमा प्रदर्शन गरेका हुन् । 

    काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भने नयाँ मापदण्ड अनुसार बनेका संरचना नभत्काइने भन्दै यो विषयमा सङ्घीय सरकारले दोहोरो नीति लिउका कारण समस्या भएको बताएका छन् ।

  • बागलुङ निसीखोलाका एक हजार तीन सय घर बिजुलीविहीन

    बागलुङ निसीखोलाका एक हजार तीन सय घर बिजुलीविहीन

    काठमाडौं ।

    पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका एक हजार तीन सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।

    निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको ३५ मिटर नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो ।

    आयोजनाबाट उत्पादन बन्द भएसँगै सो बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायत ठाउँमा विद्युत् आपूर्ति बन्द भएको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । निरन्तर वर्षासँगै खसेको पहिरोले आयोजनाको नहरमा ठूलो क्षति गरेको उनले बताए ।

  • आज साँझ १ घण्टा २३ मिनेट खग्रास चन्द्रग्रहण लाग्ने

    आज साँझ १ घण्टा २३ मिनेट खग्रास चन्द्रग्रहण लाग्ने

    काठमाडौं : आज कार्तिक शुक्ल पूर्णिमाका दिन ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ।

    बेलुकी ०५ : ११ मा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्ने छ ।

    ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्ग’ मा उल्लेख छ ।

    बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ । त्यस्तै बेलुकी ०५ : २७ बजे ग्रहणको उन्मीलन हुनेछ ।

    नेपालबाट एक घण्टा २३ मिनेट ग्रहण देखिए पछि बेलुकी ०६ : ३४ बजे भने ग्रहण सकिन्छ । चन्द्रग्रहणको नौ घण्टा अघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको छ।

    ग्रहणका बेला जप, स्नान,ध्यान,पाठ लगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

  • निर्वाचन व्यवस्थित गर्न संयुक्त निर्वाचन सञ्चालन केन्द्र सुरु

    निर्वाचन व्यवस्थित गर्न संयुक्त निर्वाचन सञ्चालन केन्द्र सुरु

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन, सुरक्षा र अनुगमनका कार्यमा समन्वय बढाउन निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा आएको छ ।

    आयोगले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग पुर्‍याउन सो केन्द्र सञ्चालनमा ल्याएको हो ।

    आयोगले आजदेखि पहाडी जिल्लाका मतदान केन्द्रमा कर्मचारी खटाउन सुरु गरेको छ ।

    आयोगका सचिवको संयोजकत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका रापत्राङ्कित प्रथम श्रेणी वा सो सरहका नेतृत्व तथा आयोगका आवश्यक कर्मचारीहरु रहने छन् ।

    निर्वाचन सुरक्षा व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०७९ तथा निर्वाचन अनुगमन ९पहिलो संशोधन० निर्देशिका, २०७९ अनुसार स्थापित केन्द्रले देशभर निर्वाचनबारे भइरहेका व्यवस्थापन, सुरक्षा र अनुगमनका कामलाई अझ प्रभावकारी बनाउन समन्वय बढाउने विश्वास गरिएको छ ।

  • अर्घाखाँचीदेखि दिल्लीसम्म बस सेवा सञ्चालन

    अर्घाखाँचीदेखि दिल्लीसम्म बस सेवा सञ्चालन

    अर्घाखाँची – अर्घाखाँची जील्लाको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म वातानुकूलित, सुविधा सम्पन्न नेपाल भारत मैत्री बस सेवा सञ्चालन भएको छ ।

    बस सन्धिखर्क, गोरुसिंगे, नेपालगञ्ज, लख्खिनपुर हुँदै दिल्ली पुग्नेछ ।

    ३६ सिट रहेको बसमा २ चालक, २ परिचालक रहने बसको भाडादर ३ हजार २ सय नेपाली रहेको छ ।

    हालका लागि हप्ताको ३ दिन बस सेवा सञ्चालन हुनेछ ।

    सोमवार, बुधवार र शुक्रवार सन्धिखर्कबाट ११ बजे दिल्ली र बुधवार, शुक्रवार र आइतवार दिल्लीबाट ८ बजे सन्धिखर्कका लागि छुट्ने छ ।

  • स्याङ्जामा देखियो अफ्रिकन स्वाईन फिभर

    स्याङ्जामा देखियो अफ्रिकन स्वाईन फिभर

    स्याङ्जा : स्याङ्जामा अफ्रिकन स्वाईन फिभर देखिएको छ ।

    पुतलीबजार नगरपालिकामा पालिएका बंगुरमा अफ्रिकन स्वाईन फिभर देखिएको हो ।
    यो रोग स्याङ्जामा पहिलो पटक देखिएको हो।

    फिभरका कारण पुतलीबजारका झण्डैं ३ सय वटा बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र स्याङ्जाले जनाएको छ।


    बंगुर झोक्राउने, खान खान रुची नदेखाउने, ज्वरो आउने, शरीरमा ढब्बा तथा निलो दागहरु देखिने, नाक र मुखबाट रगत र पानी र र्‍याल बग्ने लक्षण संक्रमित बंगुरमा देखिएको छ ।

  • ५१ वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी जारी

    ५१ वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी जारी

    काठमाडौँ : निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ ।

    मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको छ ।

    यसक्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

  • विश्वकप फुटबल प्रसारण हिमालय टीभीबाट हुने

    विश्वकप फुटबल प्रसारण हिमालय टीभीबाट हुने

    काठमाडौं : विश्वकप कतार २०२२ का सबै खेलहरु हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुने भएका छन् ।

    हिमालय टेलिभिजनको दुईवटा च्यानलबाट खेलहरु प्रसारण गर्ने गरी तयारी थालिएको छ ।

    फिफाले यसपटक दक्षिण एशियाली देशहरुमा जियो लक सहितको एक्सक्लुसिभ प्रसारण अधिकार दिएपछि नेपालमा विदेशी च्यानलले खेल देखाउन पाउने छैनन् ।

    फिफाले आधिकारिकता दिएको नेपाली च्यानलबाट मात्र विश्वकपका खेलहरु हेर्न पाइने छ । नेपालको प्रसारण अधिकार मिडिया हबले खरिद गरेको छ ।

    विदेशी च्यानलमा हेर्न नमिल्ने गरी नेपालभित्र एक्सक्लुसिभ अधिकार लिँदा ठूलो लगानी गर्नुपरेका कारण यसपटक ‘पे पर भ्यू’ मोडलमा विश्वकप देखाउन लागिएको हो ।

    नेपालमा विश्वकप देखाउन चाहने टेलिभिजन सिग्नल वितरक कम्पनीहरुलाई मिडिया हबले आह्वान गरिसकेको छ । जसअनुसार अहिलेसम्म नेट टीभी र भायनेटले विश्वकप प्रसारणका लागि सम्झौता गरिसकेका छन् ।

    विश्वकप हेर्न चाहने दर्शकले अहिलेदेखि नै आफ्ना केबल वितरक वा सेवा प्रदायकसँग कुरा गरेर ग्राहक बन्न सक्ने मिडिया हबले जनाएको छ ।

    सन् १९९८ देखि नेपालमा विश्वकप प्रसारणको अधिकार निरुन्तर रुपमा मिडिया हबले लिँदै आएको छ ।

  • कात्तिक ८ गते लाग्दैछ सूर्यग्रहण

    कात्तिक ८ गते लाग्दैछ सूर्यग्रहण

    काठमाडौं : कार्तिक कृष्ण औँसी मङ्गलबारका दिन लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्ग अनुसार कात्तिक ८ गतेको ग्रहण फल अनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्री प्राप्तिको योग रहेको छ ।

    यसैगरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल रहेको छ ।

    कुम्भ राशिकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ ।

    दिउँसो ४ : ५२ बजेदेखि ग्रहणले स्पर्श गर्ने छ । ग्रहणकै अवस्थामा बेलुकी ५ : २४ बजे सूर्यास्त हुनेछ । नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ ।

    बेलुकी करिब साढे ७ बजेसम्म ग्रहण रहने जनाइएको छ ।