
काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी भएको छ। राजावादी समूहले तोडफोड र आगजनी सुरु गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले जानकारी दिएकी छन्।
‘साढे २ बजेतिर भित्र काम गरिरहेका थियौँ,’ यादवले भनिन्, ‘अचानक बाहिरबाट ढुंगामुढा सुरु भयो। कार्यालय अगाडि सबै सिसाको ढोका र झ्याल छन्, त्यसैले सुरक्षित बस्न कठिन भयो। बाहिर पार्किङ गरिएका गाडीहरूमा आगजनी गर्न थालियो।’
मुख्य भवनमा पनि आगो लाग्ने डर भएपछि स्टोरको पछाडिको बाटो हुँदै बाहिर निस्कनुपरेको उनले बताइन्।
आगजनी सुरु भएलगत्तै प्रहरी, वन कार्यालय लगायत सम्बन्धित निकायहरूसँग सहयोग मागिए पनि आगो नियन्त्रणका लागि तत्काल पहल नभएको यादवको गुनासो छ।
स्टोरमा ज्वलनशील पदार्थहरू रहेकाले आगो नियन्त्रणमा नलिएमा ठूलो विस्फोट हुने र जडीबुटी क्षेत्रमै गम्भीर क्षति हुनसक्ने यादवले चेतावनी दिएकी छन्। हालसम्म आगलागी नियन्त्रणमा आएको छैन भने क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
Leave a Reply