काठमाडौं महानगरका १ सय १६ जनप्रतिनिधिले दिए राजीनामा

काठमाडौं महानगरपालिकामा एक सय १६ जनप्रतिनिधिले राजीनामा दिएका छन्।

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका लागि उनीहरूले हाल बहाल रहेको पदबाट राजीनामा दिएका हुन्।

आइतबार ५ बजेसम्ममा वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जनाले राजीनामा दिएका छन् भने ८७ वडा सदस्यहरूले पनि राजीनामा दिएका महानगरका सहायक प्रवक्ता महेश काफ्लेले जानकारी दिए।

स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता गर्न सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा बुझाउनुपर्ने कानुनी मान्यताअनुसार जनप्रतिनिधिले राजीनामा दिएका हुन्।

महानगरका वडा ५, ६, ७, १०, १४, २५, २६ र ३१ गरी ८ वटा वडाका अध्यक्षबाट राजीनामा आउन बाँकी छ।

सोमबारसम्म उम्मेदवारी दर्ता गर्ने समय बाँकी रहेकाले अरू जनप्रतिनिधिबाट राजीनामा आउन सक्ने महानगरको भनाइ छ।

निर्वाचनमा उम्मेदवारी नदिने हो भने राजीनामा दिनुपर्दैन। काठमाडौं महानगरमा मेयर, उपमेयरसहित १६० जनप्रतिनिधि छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts