
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको खुला प्रतिस्पर्धाको पदपूर्ति प्रक्रिया अघि बढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले २०७७ फागुन ९ गते प्रकाशित सूचनाअनुसारको पदपूर्ति प्रक्रिया अघि बढाउन आदेश गरिएको हो ।
त्रिविले खुला प्रतिस्पर्धाबाट सहप्राध्यापक र उपप्राध्यापकको पदपूर्ति गर्ने गरी उक्त सूचना जारी गरेको थियो ।
अदालतले विश्वविद्यालय सभाले २०७८ मङ्सिर १४ को निर्णयबाट संशोधित शिक्षक कर्मचारी सेवासम्बन्धी नियमले पनि सूचना भइसकेको खुला प्रतिस्पर्धालाई असर नगरेको भन्दै प्रक्रिया अघि बढाउन आदेश गरेको हो ।
आदेशमा भनिएको छ, “त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ६ को संशोधनमा अघि नै विज्ञापन भइसकेको खुला प्रतियोगितासम्बन्धी विज्ञापनलाई असर पर्ने कुनै बेहोरा उल्लेख नभएको हुँदा त्रिवि सेवा आयोगबाट मिति २०७७र११र०९ मा जारी सूचनाबमोजिमको कारबाहीलाई लामो समयसम्म स्थगित नगरी सो विज्ञापनसम्बन्धी आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउनू भनी अन्तरिम आदेश जारी गरिदिएको छ ।”

Leave a Reply