नक्कली डाक्टर बनेर लुटपाट गर्ने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरी आफूलाई डाक्टरको रूपमा चिनाई लुटपाटमा संलग्न भएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ परेका व्यक्ति जितेन्द्र मण्डल हुन्, जसले आफूलाई डा. आलोक भनेर परिचय दिएर पीडितसँग भेटघाट गरेका थिए। उनले सुगर रोगको उपचार गर्ने बहानामा औषधि खुवाई बेहोस बनाएर घरमा रहेका सुन-चाँदीका गहनाहरू र नगद चोरी गरेको अनुसन्धानबाट खुलेको छ।

पीडितलाई फेसबुकमार्फत साथी बनाई भेटघाट गर्दै घरमा सुगर रोगको उपचार गर्ने बहाना बनाएर गए। औषधि खुवाई पीडितलाई बेहोस बनाएपछि उनले सुनका सिक्री, औंठी, झुम्का, टप, मंगलसूत्र लगायतका गरगहनाहरू र नगद रु. ३,००,०००।– (तीन लाख) चोरी गरेका थिए।

वारदात स्थलमा रहेको CCTV फुटेजको अध्ययनपछि पक्राउ परेका व्यक्तिको पहिचान भएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा, ललितपुर (PRCB) बाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा उनलाई जिल्ला नुवाकोट, पञ्चकन्या गा.पा. वडा नं. ०४, आरुखर्क स्थित पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts