नेकपाभित्र खैलाबैलाः ५० प्रतिशत नेताले अर्कै पार्टीलाई भोट दिएको प्रचण्डको दाबी

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभाको नतिजा सार्वजनिक भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चर्किएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै ५० प्रतिशत केन्द्रीय नेताहरूले पार्टीलाई धोका दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मतदान गरेको सनसनीपूर्ण दाबी गरेपछि पार्टीभित्र तरंग पैदा भएको हो।

प्रचण्डले जनवर्गीय संगठनका प्रमुखहरूको बैठकमा आफ्नै नेताहरूबाट अन्तरघात भएको बताउँदै त्यस्ता व्यक्तिहरूको पहिचान गरी कारबाही गर्ने चेतावनी दिएका छन्। हाल नेकपामा करिब २५ सय सदस्यीय जम्बो केन्द्रीय कमिटी छ, जसमा धेरै नेताहरूबीच आपसमा चिनजान समेत नभएको बताइन्छ।

निर्वाचनको परिणाम आएको आधा महिना बित्न लाग्दा पनि पार्टीले आधिकारिक समीक्षा बैठक बोलाउन सकेको छैन। नेता बेदुराम भुसालका अनुसार १६५ वटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिवेदन माग गरिएको र ती रिपोर्टहरू आएपछि मात्र सचिवालय बैठक बस्ने तयारी छ।

गत फागुन २१ को निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट मात्र जित्न सफल भएको छ। संयोजक प्रचण्ड र वर्षमान पुन विजयी भए पनि माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरू भने पराजित भएका छन्। पार्टीभित्रैबाट अहिले हारको गम्भीर समीक्षा हुनुपर्ने माग उठिरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts