नेपाली कांग्रेसको १५औँ महाधिवेशन भोलिदेखि, खुलामञ्चमा तयारी पूरा

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौँको खुलामञ्चमा भव्य रूपमा सुरु हुँदैछ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प: समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।

आइतबार दिउँसो २ बजे खुलामञ्चमा महाधिवेशनको औपचारिक उद्घाटन हुने कार्यक्रम छ। उद्घाटनका लागि मञ्च निर्माण, कुर्सी व्यवस्थापन, पार्टीका चारतारे झण्डा तथा ब्यानर सजाउने लगायतका कामहरू सकिएका छन्।

केन्द्रीय निर्वाचन समितिका अनुसार उद्घाटनपछि सोमबार र मंगलबार -असोज १९ र २० गते_ बन्दसत्र तथा अन्य छलफल हुनेछन्। नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन कार्यक्रम तय गरिएको छ।

महाधिवेशन प्रतिनिधिहरूको नामावली दर्ता (रजिस्ट्रेशन) शुक्रबार र शनिबार सम्पन्न भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार प्रति महाधिवेशन प्रतिनिधि दर्ता शुल्क ३,५०० रुपैयाँ तोकिएको छ। बाँकी रहेका केही क्षेत्रहरूको अधिवेशन पनि सम्पन्न भइसकेकाले आइतबार बिहानसम्म देशभरका सबै प्रतिनिधिहरू काठमाडौँ आइपुग्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *