चाडपर्वमा तोकिएको भन्दा बढी भाडा नलिन यातायात व्यवसायी महासङ्घको चेतावनी

काठमाडौँ । नजिकिँदै गरेका ठूला चाडपर्वहरूलाई लक्षित गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक सवारी साधनमा सरकारले तोकेभन्दा बढी भाडा नलिन व्यवसायी तथा कर्मचारीहरूलाई कडा निर्देशन दिएको छ।

शुक्रबार काठमाडौँको नयाँ बसपार्कमा आयोजित ‘यात्रु सहायता कक्ष’ को शुभारम्भ कार्यक्रममा बोल्दै महासङ्घका अध्यक्ष सरोज सिटौलाले यातायात व्यवस्था विभागको नियमानुसार मात्रै भाडा दर कायम गर्न आग्रह गरे। महासङ्घले देशका १५ विभिन्न प्रमुख स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्न लागेको जानकारी दिँदै उनले चाडपर्वको मौका पारेर यात्रुसँग थप एक रुपैयाँ पनि असुल नगर्न स्पष्ट पारेका छन्।

यस वर्षको मनसुनका कारण भोटेकोशीमा आएको भीषण बाढी तथा देशभर भएका प्राकृतिक विपद्ले सडक सञ्जालमा ठूलो क्षति पुर्‍याएको भन्दै अध्यक्ष सिटौलाले यात्रा निकै चुनौतीपूर्ण रहेको बताए। विशेष गरी काठमाडौँ भित्रिने र बाहिरिने नागढुङ्गा, बल्खु, बीपी राजमार्ग, अरनिको राजमार्ग र पासाङ ल्हामु राजमार्गको अवस्था नाजुक रहेकाले सवारी आवागमन सहज बनाउन सुरक्षा निकाय र स्थानीय तहको विशेष सहयोग आवश्यक रहेको उनको भनाइ छ।

चाडपर्वमा सर्वसाधारणको सहज आवागमनका लागि निजी सवारी साधनको तुलनामा धेरै यात्रु बोक्ने सार्वजनिक सवारी साधनलाई सडकमा प्राथमिकता दिनुपर्ने महासङ्घको माग छ।

राजमार्गमा हुने दोहोरिने र झन्झटिलो सुरक्षा चेकजाँचका कारण गाडी समयमै गन्तव्यमा पुग्न नसक्ने भन्दै अध्यक्ष सिटौलाले यसलाई व्यवस्थित बनाउन आग्रह गरे। नागढुङ्गा वा कोटेश्वरजस्ता मुख्य नाकामा एक पटक चेकजाँच गरी हिँडेको सवारीलाई बाटोमा शङ्कास्पद अवस्था बाहेक बारम्बार नरोक्न उनले सुरक्षा निकायको ध्यानाकर्षण गराए।

साथै, उनले यात्रुहरूलाई अनधिकृत व्यक्ति वा बिचौलियाबाट टिकट नलिन र आधिकारिक काउन्टरबाट मात्रै टिकट काटेर मिति तथा गन्तव्य राम्रोसँग जाँच्न अपिल गरेका छन्। काउन्टरका कर्मचारी र चालक(सहचालकलाई पनि यात्रुसँग नम्र व्यवहार गर्न र थप भाडाको बार्गेनिङ नगर्न निर्देशन दिइएको छ।

महासङ्घका अनुसार शनिबार बिहान यातायात कर्मचारीहरूलाई चाडपर्वलक्षित सेवा र व्यवहारसम्बन्धी प्रशिक्षण दिइँदैछ भने केही दिनमै सरकारसँगको छलफलपछि दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *