पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा तीनकुने घटनाप्रति दु:ख व्यक्त, राष्ट्रिय एकता र आत्मनिर्भरतामा जोड

नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीलाई शुभकामना सन्देश दिँदै पछिल्लो समय तीनकुनेमा राजसंस्था पुनःस्थापनाको मागसहित भएको आन्दोलनबारे धारणा सार्वजनिक गरेका छन्। चैत १५ गते भएको प्रदर्शनमा दुई जनाको ज्यान गएकोप्रति दु:ख व्यक्त गर्दै शाहले हिंसा, तोडफोड र आगजनीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

पूर्वराजाले आफ्नो सन्देशमा भने, “केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जस प्रकारको मानवीय एवम् भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लाग्यो।”

उनले प्रजातन्त्रमा सबै नागरिकले आफ्ना धारणा व्यक्त गर्न पाउने भएपनि संयम र जिम्मेवारी आवश्यक हुने बताए। साथै नागरिक स्वतन्त्रतामाथि बल गरे पनि जनगुनासो सुन्ने परम्परा नभएसम्म वास्तविक प्रजातन्त्र नहुने धारणा राखे।

शाहले मुलुकमा बढ्दो अशान्ति, अराजकता र असन्तुष्टिबाट जनतालाई मुक्त गर्न राजसंस्थाले ऐतिहासिक रूपमा योगदान पु-याउँदै आएको स्मरण गराउँदै वर्तमानमा बदलिंदो जनचाहनालाई कदर गर्नु आवश्यक रहेको बताए।

उनले आत्मनिर्भर नेपालको अवधारणा अघि सारे। “नेपाल जस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनु पर्ने समय आएको छ,” सन्देशमा उल्लेख छ।

देशभित्रै रोजगारी सिर्जना गर्न, युवा पलायन रोक्न र स्वदेशमै अवसरहरू निर्माण गर्नुपर्नेमा उनले जोड दिए। विदेशमा रहेका नेपालीलाई पनि देशमा लगानी गर्न र “स्वदेश फर्क, स्वदेश नै स्वर्ग” भन्ने अभियानमा जोडिन आह्वान गरे।

पूर्वराजाले शिक्षा, स्वास्थ्य लगायतका प्रणालीमा आमूल सुधारको आवश्यकता औंल्याउँदै, सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको मागसमेत राखे। राष्ट्रका सामूहिक मुद्दामा एकता आवश्यक रहेको बताउँदै उनले भने, “हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौं।”

अन्त्यमा, उनले सम्पूर्ण नेपालीलाई नयाँ वर्षले नयाँ आशा र उत्साह ल्याओस् भन्ने शुभकामना व्यक्त गरे र राष्ट्रको समुन्नत भविष्यका लागि एकतामा जोड दिए। “श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्, जय नेपाल!” भनी उनले आफ्नो सन्देश समापन गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts