प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश


मकवानपुर, २० पुसः बागमती प्रदेश सरकारले आफ्नो सीमा प्रवेश गर्ने नाकामा अत्याधुनिक ‘चेकपोस्ट’ निर्माण गर्ने भएको छ । पहिलो चरणमा मधेस प्रदेशसँग सीमा जोडिएको मुख्य प्रवेशविन्दु पूर्वपश्चिम राजमार्गको रातोमाटेमा ‘चेकपोस्ट’ निर्माण गर्नुभएको हो ।

शुक्रबार हेटौँडा–१४ स्थित रातोमाटेमा मुख्यमन्त्री बहादुरसिंह लामा, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, मन्त्रालयका सचिव पूर्णबहादुर दर्जी, सुरक्षाप्रमुखहरूले ‘चेकपोस्ट’ निर्माणस्थलको अनुगमन गरेका छन् । मुख्यमन्त्री लामाले स्थानीय तहसँग समन्वय गरेर ‘चेकपोस्ट’ निर्माण गरिने जानकारी दिनुभयो ।

पूर्वपश्चिम राजमार्गको प्रवेशविन्दु भएका कारण पनि रातोमाटे नाका बढी संवेदनशील रहेका कारण पहिलो चरणमा रातोमाटेमा अत्याधुनिक ‘चेकपोस्ट’ निर्माण गर्न लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले राससलाई जानकारी दिनुभयो ।

दोस्रोचरणमा चितवनको मुग्लिनमा, तेस्रोचरणमा सिन्धुलीको नागथान, रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको कोदारी र दोलखाको लामाबगरमा ‘चेकपोस्ट’ निर्माण गर्न लागेको बताइएको छ । ‘चेकपोस्ट’मा सवारीसाधानको चेकिङका लागि अत्याधुनिक मेसिनसहित सीसीक्यामेरा र सुरक्षाकर्मी परिचालन गर्ने योजना प्रदेश सरकारको छ ।

“बागमती प्रदेशको प्रवेशविन्दुमा हामीले ‘चेकपोस्ट’ निर्माण गर्न लागेका हौँ । यसबाट आन्तरिक सुरक्षा अवस्था थप बलियो हुने अपेक्षा हामीले लिएका छौँ”, मुख्यमन्त्री लामाले भन्नुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts