
काठमाडौँ । गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड हुँदा प्रतिकार गर्ने सुरक्षाकर्मी दुलप्रसाद पराजुली सम्मानित भएका छन् ।
बुधवार भाटभटेनीले एक कार्यक्रमका बिच उनलाई चैत १५ गतेको घटनामा देखाएको बहादुरीको कदर गर्दै सम्मान गरेको हो । उनको योगदानका लागि भाटभटेनीले ५ लाख १ हजार १११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवासहित सम्मान गरेको छ । उनीसँगै घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका अन्य कर्मचारीहरूलाई पनि सम्मानित भएका छन् ।
सोही क्रममा पराजुलीले चैत्र १५ प्रदर्शनकारीहरू आएर फलफूल, बियर, वाइनहरू सबै बोकेर हिँड्न थाले त्यसपछि सबै जना मिलेर उनीहरूलाई रोक्न भनेर गएको भन्दै प्रतिकार गर्दै गर्दा आफूलाई डर नलागेको पनि बताए ।
उनले भने, ‘चैत्र १५ गतेको कुरामा आतङ्ककारी आए, ढुंगामुढा गर्न थाले, त्यसपछि भित्र पसेर फलफूल, बियर, वाइनहरू सबै बोकेर हिँड्न थाले त्यसपछि भएन भनेर सबै जना साथीहरू मिलेर उनीहरूलाई रोक्न थाल्यौँ, अरू साथीले भित्रबाट लखेट्ने गरेका थिए भने मैले बाहिर बसेर हानेको थिए । मलाई डर भने लागेन ।’
यस्तै, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले भाटभटेनीको तर्फबाट चैत्र १५ को घटनामा ज्यान गुमाएका एभिन्यूजका क्यामेरा म्यान सुरेश रजतको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
उनले भने, ‘चैत्र १५ को घटनामा ज्यान गुमाएका एभिन्यूजका क्यामेरा म्यान सुरेश रजतको परिवारलाई ५ लाख रुपैयाँ भाटभटेनीको तर्फबाट सहयोग गर्ने छौ र अर्को सविन महर्जनको परिवारलाई पनि ३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दछु ।’
उनले एउटा व्यवसायी र नेपालीको हैसियतले अब नेपालमा राजा आउन सम्भव नभएको भन्दै उद्घोष पनि गरेका थिए ।
उनले भने, ‘हामीलाई राजा गयो अब फेरि आउँछ भन्ने छ अब आउँदैनन् । राजा आउँदैनन् मैले उद्घोष गरे, म एउटा व्यवसायी र एउटा नेपाली भएर भन्दै छु राजा आउँदैनन् । भाटभटेनीमा ढुङ्गा हान्ने काम गर्नु हुँदैन । नेपाल सरकारलाई के भन्न चाहन्छु भने कुनै एउटा डनले थर्काउँदा थर्किनु पर्ने त्रासको वातावरणबाट हामीलाई मुक्त गर्नु ।’
Leave a Reply