काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ बेस क्याम्पमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये थप २ जनाको शव फेला परेको छ । यससँगै हालसम्म ४ जनाको शव उद्धार गरिएको छ ।
भदौ ३० गते विभिन्न ट्रेकिङ एजेन्सीमार्फत हिम्लुङ बेस क्याम्प स्थापना गर्न गएका २२ जना नेपाली नागरिकमध्ये १० जना आइतबार साँझ सकुशल फु-गाउँमा बसेका थिए ।
सम्पर्कविहीनमध्ये यसअघि २ जनाको शव उद्धार गरी प्रदेश अस्पताल चामे, मनाङमा ल्याइएको प्रहरीले बताएको छ ।
संखुवासभा भोटखोला गाउँपालिका ३ का ५२ वर्षीय छेबि भोटे र सोही पालिकाको वडा नम्बर २ का ३१ वर्षीय पासाङ भोटेको शव टिचिङ अस्पताल, काठमाडौं ल्याइएको एको हो ।
यसैबिच सोमबार बिहान ११ बजे कैलाश हेलिकप्टरमार्फत हिम्लुङ बेस क्याम्पबाट थप २ जनाको शव प्रदेश अस्पताल चामे, मनाङमा ल्याइएको छ ।
हिम्लुङ बेस क्याम्प जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब ३ दिन उत्तरतर्फ पर्ने स्थानमा रहेको छ । बाँकी सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
