काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग (पासपोर्ट डिपार्टमेन्ट) को सर्भर अचानक डाउन हुँदा सेवा पूर्ण रूपमा प्रभावित भएको छ।
विभाग स्रोतका अनुसार इन्टरनेट सेवामा प्राविधिक गडबडी आएपछि विशेष गरी पासपोर्टका लागि आवश्यक बायोमेट्रिक विवरण संकलनलगायतका अनलाइन प्रणालीसँग जोडिएका कामहरू ठप्प बनेका हुन्।
कार्यालयका एक वरिष्ठ अधिकारीका अनुसार इन्टरनेट प्रणालीमा आएको समस्या समाधानका लागि सेवाप्रदायक सुबिसुका प्राविधिक टोलीलाई बोलाइएको छ। इन्टरनेटमा एक्कासि समस्या देखिएपछि अनलाइन प्रणालीका काम रोकिएका हुन्। सुबिसुका प्राविधिकहरू आएर मर्मतको काम गरिरहनुभएको छ, अधिकारीले भने ।
अहिले बायोमेट्रिक प्रणाली ठप्प भए पनि अनलाइन प्रणाली आवश्यक नपर्ने अन्य प्रशासनिक र अफलाइन कामहरू भने सुचारु नै रहेको विभागले जनाएको छ।
इन्टरनेट र सर्भरमा आएको खराबीका कारण दूरदराजबाट राहदानी बनाउन त्रिपुरेश्वर पुगेका सयौँ सेवाग्राही भने मर्कामा परेका छन्। यद्यपि, सेवा कहिलेसम्म पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्ने विषयमा राहदानी विभागले अहिलेसम्म कुनै आधिकारिक सूचना वा वक्तव्य जारी गरेको छैन।
