
अमेरिकी विदेश मन्त्रालयले यसअघि जारी गरिएका भिसामाथि पनि छानबिन गरिने बताएको छ। मन्त्रालयले विगतमा जारी भिसाहरूको अनुसन्धान गर्ने क्रममा अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना नगरिएको पाइएमा ती भिसा रद्द गरी सम्बन्धित व्यक्तिलाई देश निकाला गर्ने चेतावनी दिएको छ।
सोमबार अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरेको सन्देशमा भनिएको छ,”अमेरिकी भिसा स्क्रिनिङ भिसा जारी भएपछि मात्र रोकिँदैन। हामी भिसा धारकहरूले अमेरिकी कानुन र आप्रवासन नियमहरूको पालना गरिरहेका छन् कि छैनन् भनी निरन्तर जाँच गर्छौं। यदि कसैले उल्लंघन गरेको पाइएमा, भिसा रद्द गरी देश निकाला गरिनेछ।”
आप्रवासी नीति कडा गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले आप्रवासीहरूलाई अमेरिकी कानुन र आप्रवासन नियमहरूको पालना गर्न बाध्य बनाउने नीति लिएको छ। यस नीतिले भिसा दुरुपयोग गर्ने वा गैरकानुनी गतिविधिमा संलग्न हुनेहरूलाई सचेत गराएको छ।
यसअघि, ट्रम्प प्रशासनले ग्रीन कार्ड प्राप्त गरेका आप्रवासीहरू पनि स्थायी रूपमा अमेरिकामा बस्न नपाउने सम्भावना रहेको संकेत गरेको थियो।
Leave a Reply