युक्रेन बिना नै साउदीमा अमेरिका र रुसका विदेश मन्त्री बिच युद्धविरामका बारेमा छलफल

युक्रेन युद्धको समाधानका लागि साउदी अरबमा रुस र अमेरिकाबिच भएको उच्चस्तरीय बैठक सकिएको छ ।

उक्त बैठकमा अमेरिकी विदेश मन्त्री मार्को रुबियो र रुसी विदेश मन्त्री सर्गेई लाभरोभ सहभागी रहेका थिए । उनीहरू दुवै सोमबार राजधानी रियाद पुगेका थिए ।

लाभरोभका साथै  रुसको तर्फबाट पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ पनि उपस्थित थिए भने उता अमेरिकी विदेशी मन्त्री रुबियोका साथै राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज र मध्यपूर्वका लागि वाशिङटनका विशेष दूत स्टिभ विटकफ पनि अमेरिकी प्रतिनिधिमण्डलमा सामेल रहेको जनाइएको छ ।

यसैबिच क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘आवश्यक परेमा राष्ट्रपति पुटिन युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको बताएका छन्। यद्यपि, प्रश्न यो छ कि जेलेन्स्की साँच्चै युक्रेनको राष्ट्रपति हुन् ?’ उनले जेलेन्स्कीलाई मान्यता नदिने सङ्केत गरेका छन् ।  

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग कुरा गर्दै रुस युक्रेनलाई युरोपेली सङ्घमा सामेल गर्ने पक्षमा नभएको बताए । रुसले यस सङ्गठनलाई आफ्नो सुरक्षाको लागि खतरा मानेको पनि छैन। पेस्कोभले भने,  ‘यो युक्रेनले युरोपेली युनियनमा सामेल हुने वा नपर्ने निर्णय गर्ने हो, यस संस्थाको हिस्सा बन्न पाउनु कुनै पनि देशको ‘सार्वभौम’ अधिकार हो ।’ तर नाटोजस्ता रक्षा सङ्गठनहरूप्रति रुसको फरक धारणा रहेको उनले जनाए ।

उता, युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई युक्रेन युद्धमा शान्ति वार्तामा निमन्त्रणा भने गरिएको छैन। युक्रेनी सरकारका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बिबिसी न्युजले यो कुरा पुष्टि गरेको छ । यसअघि अमेरिकी विशेष दूत किथ केलोगले युक्रेनको संलग्नताबारे कुरा गरेका थिए ।

यो बैठकमा युरोपेली देशका नेताहरूलाई समेत निमन्त्रणा गरिएको थिएन । युरोपलाई वार्ताबाट बाहिर राख्ने डरले फ्रान्सेली राष्ट्रपतिले एक दिनअघि नै शिखर सम्मेलन स्थगित गरेका थिए, जहाँ युरोपेली देशका नेताहरूको सहभागिता रहेको थियो ।

साउदीमा रुस र अमेरिकाका बिचमा उच्चस्तरीय वार्ता हुने अघिल्लो दिन युक्रेनी राष्ट्रपति जेलेन्स्की भने मध्यपूर्वको अर्को देश संयुक्त अरब इमिरेटस पुगेका थिए । तर, उनको भेटवार्ता र छलफलका बारेमा भने कुनै जानकारी दिइएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts