सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

काठमाडौँ, २७ पुसः निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ ।

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार आचारसंहितामा निर्वाचनाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कोही कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा नक्कली साइट खोल्न नपाइने व्यवस्था गरिएको छ । आचारसंहिताले सामाजिक सञ्जालमा ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई) को प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यका साथ होच्याउने, दुष्प्रचार गर्ने काम गर्न नपाउने प्रबन्ध गरेको छ । त्यस्तै, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषणजस्ता भ्रामक टीकाटिप्पणी गर्न वा गराउन नपाइने व्यवस्था आचारसंहितामा समावेश गरिएको छ ।

त्यसैगरी, कुनै प्रयोजनका लागि  प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग गरी वा नगरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी सामाजिक सञ्जालमा पोष्ट, रिपोस्ट, कमेन्ट प्रतिकमेन्ट, लाइभ स्टिमिङ, ट्याग वा मेन्सनलगायतका कार्य गर्न वा गराउन पाइने छैन ।

निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्नेगरी अवाञ्छित लान्छना लगाउन नपाइने प्रबन्ध आचारसंहितामा गरिएको छ । कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न, त्यस्ता सामग्री कुनै पनि माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नपाइने आयोगले तयार पारेको आचारसंहितामा समावेश छ ।

मतदाता र मतदाताको गोप्यता भङ्ग गर्न, निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित पार्ने कुनै पनि कार्य गर्नसमेत पाइने छैन । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts