
खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहालाई बन्धक बनाई दुव्र्यवहार गर्ने जनमत पार्टीका कार्यकर्ताविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । सीके राउत नेतृत्वको पार्टीका १७ जनाविरुद्ध प्रहरीले शुक्रबार आपराधिक प्रवेश र आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा चलाएको हो ।
‘स्वतन्त्र मधेस’ नारा त्यागेर सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरेर उत्छृङख्ल गतिविधिमा लागेका सिके राउतका १७ जना कार्यकर्तालाई मुद्दा चलाइएको छ ।
बिहीबार दिउँसो कुशवाहालाई कुटपिट गर्दै कार्यालयबाटै उठाएर अर्धनग्न बनाई शरीरमा हिलो छ्यापेर जनकपुर परिक्रमा गराएको आरोपमा जनमत पार्टीका १७ जना नेता र कार्यकर्तामाथि सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार कर्मचारीलाई अभद्र व्यवहार र कार्यालयमा तोडफोड गर्ने अधिकांश सिरहा, सर्लाही र महोत्तरीका छन्।
मुद्दा दर्ता गरिएकामा जनमत पार्टी धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेता सञ्जय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, सञ्जयकुमार सिंह, सञ्जय साह, महेशकुमार यादव, अमरनाथ साह र सुन्दर छन् । ‘यो मुद्दामा अधिकतम ४ वर्ष कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ,’ डीएसपी बस्नेतले भने ।

Leave a Reply