पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मी नेपाली भूभागभित्रै प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएपछि सीमा क्षेत्रमा तनाव बढेको छ।
स्थानीय बासिन्दाहरूले बताए अनुसार, आज दिउँसो करिब साढे ३ बजेको समयमा सादा पोसाक र हतियारसहित आएका ठूलो संख्याका भारतीय एसएसबीका जवानहरू नेपाली भूमिमा प्रवेश गरेका थिए। उनीहरू सुस्ता गाउँपालिका वडा नम्बर–५ स्थित थारु टोलमा पुगेर वर्षायामको बाढीबाट बस्तीलाई सुरक्षित राख्न स्थानीयको पहलमा निर्माण गरिँदै गरेको माटोको कच्ची बाँध भत्काएर नष्ट गरेका हुन्।
१३२ मिटर लामो बाँध भत्काइयो
स्थानीय बासिन्दाका अनुसार वर्षाको समयमा डुबान र कटानबाट गाउँबस्ती जोगाउने उद्देश्यले करिब १३२ मिटर लम्बाइको उक्त अस्थायी बाँध बनाइँदै थियो। भारतीय सुरक्षाकर्मीहरू बल प्रयोग गर्दै हतियारसहित बाँध भत्काउन थालेपछि स्थानीयले तत्काल त्यसको कडा विरोध गरेका थिए। तर, उनीहरूसँग हतियार रहेकाले सामान्य नागरिकले रोक्न नसकेको पीडित स्थानीयको गुनासो छ।
सीमा स्तम्भभन्दा ३ सय मिटर नेपालतर्फ हस्तक्षेप
सुस्ता बचाउ युवा अभियानुका संयोजक योगेन्द्र गौतमले भारतीय एसएसबीले दुई देशबीचको सीमाको मुख्य संकेत मानिने सिमलको रुखबाट करिब ३०० मिटर नेपालतर्फको आन्तरिक भूभागमा प्रवेश गरेर यस्तो अनाधिकृत गतिविधि गरेको गम्भीर दाबी गरेका छन्।
घटनापछि त्रसित र आक्रोशित बनेका सीमा क्षेत्रका बासिन्दाहरूले यसलाई नेपाली सार्वभौमिकता र भूमिमाथिको ठाडो हस्तक्षेपको रूपमा लिएका छन्। उनीहरूले राज्यका जिम्मेवार निकाय र सरकारले यस विषयमा तत्कालै गम्भीर कूटनीतिक पहल गरी दोषी पक्षलाई कानुनी दायरामा ल्याउन जोडदार माग गरेका छन्।
