Author: Dwarika Pokhrel

  • एसियाली संघ गठनदेखि राष्ट्रिय नीति सुधारसम्म: स्वामी आनन्द अरुणको सात बुँदे साझा राष्ट्रिय एजेन्डा

    एसियाली संघ गठनदेखि राष्ट्रिय नीति सुधारसम्म: स्वामी आनन्द अरुणको सात बुँदे साझा राष्ट्रिय एजेन्डा

    काठमाडौँ — काठमाडौँस्थित ओशो तपोवनका संस्थापक तथा आध्यात्मिक गुरु बोधिसत्व स्वामी आनन्द अरुणले नेपालका सबै राजनीतिक दललाई दीर्घकालीन राष्ट्रिय हित केन्द्रमा राख्दै साझा नीति अवलम्बन गर्न आग्रह गरेका छन्। उनले युरोपेली युनियनको अवधारणाबाट प्रेरित हुँदै एसियाली संघ (Asian Union) गठनको पहल नेपालले लिनुपर्ने र त्यसको सम्भावित राजधानी नेपाल हुन सक्ने धारणा अघि सारेका छन्।

    विभिन्न दलको निर्वाचन घोषणापत्र र आगामी सरकारको नीति कार्यसूचीका लागि समेत लक्षित गरी सार्वजनिक गरिएको सात बुँदे प्रस्तावमा स्वामी अरुणले नेपालको सभ्यतागत पहिचान, आर्थिक सम्भावना, सामाजिक न्याय, ऊर्जा कूटनीति, स्वास्थ्य प्रणाली, पर्यटन र क्षेत्रीय शान्तिसँग सम्बन्धित दूरगामी एजेन्डा प्रस्तुत गरेका छन्।

    “नेपाल अहिले निर्णायक संक्रमणकालबाट गुज्रिरहेको छ। युवापुस्ताको बढ्दो सक्रियता, परम्परागत राजनीतिक संरचनामाथि उठेका प्रश्न, नयाँ राजनीतिक शक्तिहरूको उदय र सहकार्यमा सरकार बन्ने सम्भावनाले देशलाई नयाँ दिशातर्फ डोर्‍याइरहेको छ। “यो समय केवल सत्ता परिवर्तनको होइन, राज्यको सोच, प्राथमिकता र दीर्घकालीन दृष्टिकोण पुनःपरिभाषित गर्ने ऐतिहासिक अवसर हो,” स्वामी अरुणको प्रस्तावमा उल्लेख छ।

    योग, ध्यान र वैकल्पिक स्वास्थ्यका लागि पृथक मन्त्रालय

    स्वामी अरुणले नेपाललाई योग, ध्यान, आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य प्रणालीको ऐतिहासिक केन्द्रका रूपमा व्याख्या गर्दै यस क्षेत्रलाई समेट्ने पृथक मन्त्रालय गठन गर्न प्रस्ताव गरेका छन्। विश्वभर मानसिक तनाव, जीवनशैलीजन्य रोग र स्वास्थ्य खर्च बढिरहेको सन्दर्भमा यी ज्ञान प्रणालीहरू रोकथाममुखी, कम खर्चिला र समग्र स्वास्थ्यका लागि प्रभावकारी रहेको उनको तर्क छ।

    उनले योग, ध्यान, आयुर्वेद, होमियोपैथी, यूनानी, प्राकृतिक चिकित्सा, तिब्बती उपचार प्रणाली, अकुपन्चर, अकुप्रेसर, झारफुक, मन्त्रतन्त्र तथा धामीझाँक्रीजस्ता परम्परागत उपचार विधालाई अनुसन्धान, अभ्यास, सार्वजनिक स्वास्थ्य सेवा र स्वास्थ्य–पर्यटनसँग एकीकृत गर्नुपर्ने बताएका छन्। भारतमा ‘आयुष मन्त्रालय’ रहेको उदाहरण दिँदै नेपालमा पनि यस्तै संरचना आवश्यक भएको उनले उल्लेख गरेका  छन् ।

    बाँदर आतंक बन्यो राष्ट्रिय संकट

    प्रस्तावको दोस्रो बुँदामा बाँदर नियन्त्रण तथा मानव वन्यजन्तु सहअस्तित्व नीतिलाई राष्ट्रिय प्राथमिकतामा राख्न आग्रह गरिएको छ। स्वामी अरुणका अनुसार बाँदर आतंक अहिले केवल वन्यजन्तु समस्या नभई कृषि, आवास, जनसुरक्षा र ग्रामीण अर्थतन्त्रसँग जोडिएको गम्भीर संकट बनेको छ।

    उपलब्ध तथ्याङ्क उद्धृत गर्दै उनले बाँदरका कारण नेपालमा करिब २५ प्रतिशत भूमि बाँझो भएको र मध्य पहाडी जिल्लाका करिब ६० प्रतिशत किसानले गम्भीर बाली नोक्सानी भोग्नुपरेको बताएका छन्। बाँदरद्वारा मानिसमाथि आक्रमण, रेबिजको जोखिम र पर्यटनमा परेको नकारात्मक असरप्रति पनि उनले ध्यानाकर्षण गराएका छन्।

    हालको बाँदर बन्ध्याकरण नीति प्रभावकारी नभएको ठहर गर्दै श्रीलंका तथा भारतका केही प्रदेशमा अपनाइएका उपाय अध्ययन गरी वैज्ञानिक र दीर्घकालीन समाधान, आवश्यक परे नियन्त्रित निर्यात पुनःखोल्ने विकल्पसमेत विचार गर्न उनले प्रस्ताव गरेका छन् ।

    दान र सामाजिक सुरक्षामा कर सुधारको माग

    धार्मिक तथा आध्यात्मिक संस्थाहरूलाई राज्यको विकल्प नभई राज्यका सहयोगी सामाजिक सेवा संस्थाका रूपमा व्याख्या गर्दै स्वामी अरुणले दानराशिमा लाग्ने कर प्रणाली पुनरवलोकन गर्न माग गरेका छन्। सार्वजनिक हितका लागि संकलित दान बैंकमा राख्दा प्राप्त ब्याजमा १५ प्रतिशत कर लाग्नु दानको मूल भावना विपरीत भएको उनको भनाइ छ।

    उनले दानराशिलाई आम्दानी नभई सामाजिक सेवा कोषको रूपमा कानुनी मान्यता दिनुपर्ने, धार्मिक तथा आध्यात्मिक संस्थाको ब्याजमा कर खारेज गर्नुपर्ने र ६५ वर्षमाथिका नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विधवा/एकल महिलाको ब्याज आम्दानीमा कर नलगाउन प्रस्ताव गरेका छन्।

    पर्यटन र स्थायी बसोबासमा नयाँ सोच

    नेपाल प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक गन्तव्यका रूपमा विश्वमै आकर्षक रहेको उल्लेख गर्दै स्वामी अरुणले विदेशी लगानीकर्तालाई स्थायी बसोबास अनुमति (PR) दिने विषयमा स्पष्ट नीति बनाउन सुझाव दिएका छन्। विकास, पर्यटन र पूर्वाधार क्षेत्रमा लगानीसहित नेपालमा बसोबास गर्न चाहने विदेशीको संख्या बढ्दो भए पनि नीतिगत अस्पष्टताले अवसर खेर गएको उनको भनाइ छ। उचित मापदण्ड र सुरक्षासहित यस्तो नीति लागू गर्न सकिए पूँजी भित्र्याउने, रोजगारी सिर्जना गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र स्थानीय अर्थतन्त्र सुदृढ बनाउने उनको विश्वास छ।

    नेपाललाई क्षेत्रीय ऊर्जा केन्द्र बनाउने भिजन

    ऊर्जा क्षेत्रलाई स्वामी अरुणले नेपालको भविष्यसँग जोडिएको प्रमुख शक्ति मानेका छन्। करिब ५० वर्षअघि नै ८४ हजार मेगावाट जलविद्युत् क्षमता रहेको तथ्य सार्वजनिक भइसकेको र आज प्रविधिको विकाससँगै सौर्य र वायु ऊर्जासमेत जोड्दा २ लाख मेगावाटभन्दा बढी सम्भावना रहेको उनको दाबी छ।
    भारत, चीन र बंगलादेशजस्ता छिमेकी मुलुकको बढ्दो ऊर्जा मागलाई ध्यानमा राख्दै आन्तरिक खपत सुनिश्चित गरी निर्यात रणनीति अपनाउन सके नेपाल क्षेत्रीय ऊर्जा केन्द्र (Energy Hub) बन्न सक्ने उल्लेख प्रस्तावमा छ। यसले राष्ट्रिय आम्दानी, व्यापार सन्तुलन र कूटनीतिक हैसियत बलियो बनाउने उनको तर्क छ।

    अष्टावक्र महागीता राष्ट्रिय पुस्तक घोषणा गर्ने प्रस्ताव

    सांस्कृतिक पहिचानको सन्दर्भमा स्वामी अरुणले अष्टावक्र महागीता (अष्टावक्र संहिता) लाई नेपालको राष्ट्रिय पुस्तक घोषणा गर्नुपर्ने प्रस्ताव गरेका छन्। मिथिला क्षेत्रमा ऋषि अष्टावक्र र राजा जनकबीच भएको बोध–संवादमा आधारित यो ग्रन्थ नेपाली भूमिमा जन्मिएको मौलिक दार्शनिक सम्पदा भएको उनको भनाइ छ।
    अन्य देशले आफ्नो सभ्यतागत ग्रन्थलाई राष्ट्रिय प्रतीक बनाएको उदाहरण दिँदै अष्टावक्र महागीतालाई शपथ ग्रहणमा प्रयोग गर्न, विदेशी पाहुनालाई उपहारका रूपमा दिन र सांस्कृतिक कूटनीतिक माध्यम बनाउन पनि उनले  सुझाव दिएका छन् ।

    एसियाली संघ गठनमा नेपालको पहल

    प्रस्तावको अन्तिम बुँदामा स्वामी अरुणले सबैभन्दा महत्वाकांक्षी अवधारणा प्रस्तुत गरेका छन्—एसियाली संघ (एयु) निर्माणको  । युरोपेली संघ (इयु) बनेपछि युरोपमा शान्ति र आर्थिक एकीकरण बढेको उदाहरण दिँदै एसियामा पनि साझा सभ्यता र सांस्कृतिक आधारमा यस्तो संघ आवश्यक भएको उनको तर्क छ।
    एसियाका धेरै देश गरिब भए पनि ठूलो हिस्सा सैन्य तयारीमा खर्च भइरहेको, आणविक जोखिम बढी रहेको उल्लेख गर्दै उनले हिन्दु–बौद्ध सांस्कृतिक बहुलता भएको  देशबाट पहल सुरु गर्न सकिने बताएका छन्। सबै एसियाली देशसँग राम्रो सम्बन्ध रहेको नेपालले यो प्रस्ताव अघि सारेमा संघको राजधानी नेपालमै रहने सम्भावना रहेको पनि उनले दावी गरेका छन् ।

    स्वामी आनन्द अरुणले यी सबै प्रस्ताव कुनै दल, विचारधारा वा वर्गविरुद्ध नभई नेपालको दीर्घकालीन सामाजिक, आर्थिक, सांस्कृतिक र मानवीय हितका लागि भएको स्पष्ट पारेका छन्। उनले सबै राजनीतिक दललाई यी सुझाव उपयुक्त लागेमा निर्वाचन घोषणापत्रमा समावेश गर्न, सार्वजनिक प्रतिबद्धता जनाउन र सरकार गठनपछि कार्यान्वयन प्रक्रिया अघि बढाउन समेत आह्वान गरेका छन्।

  • काठमाडौंमा मतदातालाई ढाँट्न नसकेपछि बालेन झापा झरेका हुन् : ओली

    काठमाडौंमा मतदातालाई ढाँट्न नसकेपछि बालेन झापा झरेका हुन् : ओली

    झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको जनताले नपत्याउने अवस्था भएपछि बालेन(बालेन्द्र शाह) झापातिर आएको बताएका छन् ।

    सोमबार झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था नभएको कारण काठमाडौंमा जिति सकेको मान्छेले, त्यहाँबाट फेरि उठ्ने आँट नगरेको बताए ।

    उनले भने, ‘हामीले थाहा पाउनुपर्छ, आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैँन् । आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था छैन् । त्यहाँ ढाँट्न सकिदैँन् । काठमाडौंमा जितिसकेको मान्छेले, त्यहाँबाट किन आँट गर्दैन् फेरि लड्नको लागि । किन यहाँ आउनुपर्यो । यो कुरा साथीहरुले बुझ्नु भएको छ ।’

    यस्तै, उनले सामाजिक न्याय र समानताको आधारमा सामाजिक सद्भावको कुरा आउने र सामाजिक सद्भावको आधारमा राष्ट्रिय एकताको कुरा गर्नुपर्ने ठाँउमा अहिले कता कता मधेशी र पहाडी भन्ने कुरा सुन्न आएको बताए ।

    उनले भने, ‘अर्को कुरा मैंले कता कता मधेशी–पहाडी भन्ने सुनिरहेको छु । त्यस्तो कुरा गर्नु हुदैँन् । सामाजिक न्याय र समानताको कुरा गर्नुपर्छ । त्यसको आधारमा सामाजिक सद्भावको कुरा गर्नुपर्छ, सामाजिक सद्भावको आधारमा राष्ट्रिय एकताको कुरा गर्नुपर्छ । हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाँउ, गाँउ, जिल्ला बनाउने हो ।’

    देश जातले होइन्, विचार, दृष्टिकोण, नीति, योजना, संकल्प र प्रयासले बन्ने पनि उनको भनाई छ ।

    उनले भने, ‘कुन जातको उम्मेदवार छ भनेर देश बन्दैँन् । देश बनाउन जातले होइन्, विचारले, दृष्टिकोणले, नीति, योजना, संकल्पले र प्रयासले बन्छ । त्यसकारण जातका कुरा गरेर हिड्नु हुँदैन् ।’

  • सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

    सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०६ रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३५ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ २१ पैसा र बिक्रीदर नौ रुपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८६ पैसा र बिक्रीदर २० रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।

    यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९० पैसा र बिक्रीदर २२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ०२ र बिक्रीदर ३७७ रुपैयाँ ५८ पैसा कायम गरेको छ ।

    यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

  • मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ ।

    सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।

    आज राती भने तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

  • ‘रिब्राण्डिङ्ग रोडम्याप’ सहित एनआरएनए अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा

    ‘रिब्राण्डिङ्ग रोडम्याप’ सहित एनआरएनए अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा

    निर्विरोध अध्यक्ष बनाउन एनआरएनएका अगुवाहरुको अपिल

    लण्डन । गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा डा. हेमराज शर्माले उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । डा. शर्माले एनआरएनएको रिब्राण्डिङ्ग लागि १३बुँदे रोडम्यापसहित नेपाली डायस्पोराको साझा शक्तिशाली संस्था बनाउने परिकल्पना गर्दै आइतबार भर्चुअल कार्यक्रम  मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

    गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वको लागि आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा १२औं महाधिवेशनमार्फत निर्वाचन हुने कार्यतालिका तय गरिएको छ ।

    बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिक शास्त्रका प्राध्यापक डा. शर्माले विगतमाभन्दा फरक पृष्ठभूमिको नेतृत्वलाई हेरौं भन्दै आसन्न १२औं महाधिवेशनमार्फत अध्यक्ष पदमा निर्वाचित भई फरक र नवीन दृष्टिकोणसहित एनआरएनएको रिब्रान्डिङ गर्ने प्रतिबद्धता व्यक्त गरे । गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि संस्थामा सक्रिय डा. शर्माले संघको अभियानकै परिणामस्वरूप नेपाल सरकारले गैरआवासीय नेपाली सम्बन्धी ऐन, नागरिकता, लगानी, आप्रवासी श्रमिकसँग सम्बन्धित सामाजिक सुरक्षालगायत महत्त्वपूर्ण मुद्दाहरू सम्बोधन गरेको बताए ।

    संघका करिब ५० भन्दा बढी राष्ट्रिय समितिहरुलाई साक्षी राखेर आफ्नो उम्मेदवारी घोषणा गर्दै डा. शर्माले संस्थापनाकालको दांजोमा प्रविधिको तीव्र छलाङ, देशको बदलिएको राजनीतिक परिदृश्य, विश्व अर्थतन्त्रको रूपान्तरण, दोस्रो पुस्ताका एनआरएनहरूको बढ्दो संख्या र उनीहरूको नेपालप्रतिको संभावित दूरी, साथै नयाँ गन्तव्य देशमा जाने नेपालीहरूको निरन्तर वृद्धिले आफूहरुलाई नितान्त फरक परिस्थितिमा ल्याएको बताए । उनले गैरआवासीय नेपाली संघको वर्तमान चुनौतीहरूलाई आत्मसात गर्दै आगामी कार्यकालका लागि एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेको बताए । आफ्नो १३ बुँदे घोषणापत्रमार्फत एकीकृत, समावेशी, प्रविधियुक्त, परिणाममुखी, दिगो, गतिशील, उत्तरदायी, पारदर्शी र निष्ठावान एनआरएनए, बहुआयामिक ज्ञान, सीप, एनआरएनका लागि एनआरएन, नेपाल सरकारको भरपर्दो साझेदार र नव प्रवर्तनका लागि एनआरएनए बनाउने उनले  प्रतिबद्धता जनाए  ।

    उम्मेदवारी घोषणा सभाको सञ्चालन चेक रिपब्लिकबाट डा. चिरञ्जिवी खड्का, कोरियाबाट डा बिमल सुवेदी लगायतले  गरेका थिए ।

    एनसीसी युके अध्यक्ष राजेन्द्र पुडासैनीले स्वागत मन्तव्य राख्दै एनआरएनएको साख राख्नेगरी अघि बढ्न शुभकामना दिए । यसका लागि विधानमा रहेका छिद्रहरु संशोधन गरेर अघि बढ्न उनले सुझाए । संस्थालाई राजनीतिभन्दा सामाजिक र परोपकारी भूमिकामा अगाडि बढाउनुपर्ने र गैरआवासीय नेपालीको समस्या सम्बोधन गर्नेगरी अगाडि जानुपर्ने उनको भनाइ थियो । विग्रेको छवि सुधारेर संस्थाको भूमिका प्रभावकारी बनाउने, अध्यक्षको रुपमा पारदर्शी, अनुशासित र सबैको एउटै अपनत्व हुने संस्था हुन सकोस् भनेर शुभकामना दिँदै एनआरएनएलाई एक ढिक्का बनाएर लैजाने टिम बनाउन उनले सुझाव दिए  । हङकङबाट आईसीसी महिला सचिव टिका गुरुङ (राधिका)ले सबैलाई समेटेर अगाडि बढ्न शुभकामना दिइन् ।

    पूर्वसांसद डा  सूर्य पाठकले विधि विधान बनाउन मेहनत गर्ने तथा विधानको अक्षरश: पालना गर्न कटिबद्ध रहने शर्मालाई एनआरएनएले अध्यक्षको रुपमा  पाउँदा संस्थाको गरिमा बढ्ने बताए । उनले संस्थामा आशा, भरोसा र विश्वास जगाउन सकेका शर्मालाई सर्वसम्मत अध्यक्ष पाउँदा अझ बलियो र एकताबद्ध एनआरएनए बनाउन सकिने भन्दै शुभकामना दिए । एनआरएनएलाई रिब्राण्डिङ गर्ने नवीन सोच राखेर आएको शर्माको घोषणापत्रले एनआरएनएलाई गौरवशाली संस्थाको रुपमा विकास गर्ने उनले विश्वास व्यक्त गरे । साझा हितको लागि उपयुक्त व्यक्ति, ३० वर्षदेखि संस्थामा काम गरेको व्यक्ति  भएकाले पनि उनी  १२औं महाधिवेशनबाट निर्वाचित हुने विश्वास व्यक्त गरे ।

    पूर्वमन्त्री दिनानाथ शर्माले एनआरएनएलाई अगाडि बढाउन डा. शर्माको एजेण्डा उपयोगी भएको बताए । डा. शर्मालाई आफूले पढाएको इमान्दार, लगनशील विद्यार्थी भन्दै अध्यक्ष पदमा निर्वाचित हुन शुभकामना दिए । एनआरएनएलाई सम्हालेर लैजाने, सबै विचारलाई समेटेर छाता संस्थाको रुपमा अगाडि बढाउन, संयोजन र समायोजन गरेर लैजान शर्मा सक्षम रहेको उनको भनाइ थियो ।

    एनआरएनएका संस्थापक महासचिव भीम उदासले डा शर्माको घोषणापत्र एनआरएनए आन्दोलनका लागि ‘कम्प्रिहेन्सिभ रोडम्याप’ भएको बताए । यति राम्रोसँग अहिलेसम्म कुनै उम्मेदवारले घोषणापत्र  नल्याएको उनको भनाइ थियो । घोषणापत्रमा उल्लेखित सबै एजेण्डा शर्माको कार्यकालमा पूरा हुन सकोस् भन्ने  शुभकामना दिंदै उनले  अन्तरराष्ट्रिय  स्तरमा एनआरएनएको छवि बनाउन शर्मालाई निर्विरोध अध्यक्ष बनाउन आह्वान पनि गरे ।

     गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीले पनि शर्मा नेपालको विकासका लागि सधैं चिन्तनशील रहने एक अब्बल र योग्य व्यक्तित्व  रहेको भन्दै  शुभकामना दिए ।

    कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले संघको आगामी निर्वाचन परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार नै सम्पन्न हुने स्पष्ट पारे  ।

    गैरआवासीय नेपाली संघका अध्यक्ष पदका प्रत्यासी डा. हेमराज शर्माको उम्मेदवारी घोषणा सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अधिकतम प्रतिनिधिहरूलाई काठमाडौँमा उपस्थित गराई निर्वाचन सम्पन्न गर्ने प्रयास गरिने बताएका हुन् । उनले परराष्ट्र मन्त्रालयले एनआरएनएको १२औँ महाधिवेशन तथा निर्वाचन प्रक्रियाबारे स्पष्ट निर्देशन दिएको उल्लेख गर्दै सोही निर्देशनअनुसार कार्यविधि तयार गरी निर्वाचन गरिने बताए ।

    “परराष्ट्र मन्त्रालयले अधिकतम उपस्थितिका साथ निर्वाचन गर्न निर्देशन दिएको छ,” अध्यक्ष श्रेष्ठले भने, “हामी सोही अनुसार कार्यविधि बनाएर निर्वाचन सम्पन्न गर्छौँ ।”

    डा. हेमराज शर्माको उम्मेदवारीप्रति शुभकामना व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले डा. शर्माको उम्मेदवारी सकारात्मक र ऊर्जाशील रहेको बताए । उनले डा. शर्मासँगको लामो सहकार्य स्मरण गर्दै लोकतान्त्रिक अभियानमा उहाँको योगदान उल्लेख गरे ।

    उम्मेदवारी घोषणासभामा जोडिएका विश्वभरका एनआरएनए प्रतिनिधि तथा सदस्यहरुले पनि शर्मालाई शुभकामना दिएका थिए ।

    ८ घण्टा बढी लामो चलेको सो कार्यक्रममा संघका ५० भन्दा बढी देशका ६ सय भन्दा बढी प्रतिनिधिको उपस्थिति थियो ।

    एनआरएनएका ६३ वटा एनसीसीले १२ औं महाधिवेशनका लागि  डेलिगेट्स छनोट प्रक्रिया सुरु गरि सकेका छन् ।

    कार्यक्रममा पत्रकारहरुसंग अन्तरक्रिया पनि राखिएको थियो।  पत्रकारहरुका जिज्ञासाको जवाफ दिंदै डा. शर्माले संस्थालाई समय सान्दर्भिक बनाउन र संघमा रुपान्तरण आवश्यक छ भनेर महासचिव हुँदादेखि नै सक्रिय रहेको र त्यसलाई मूर्त  रुप दिन अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

    संस्थालाई बलियो बनाउने र ब्राण्डिङ गर्ने, संस्थाको संरचना, निर्वाचन प्रणाली र राजनीतिक हस्तक्षेप नै अहिले समस्या रहेको भन्दै आइसिसीमा प्रत्यक्ष तथा विद्युतीय माध्यमबाट मतदान गर्न पाउने, गैरआवासीय नेपाली ऐन संशोधन, सदस्यता वितरण र नवीकरण एआईबाट गर्नेलगायतका  एजेण्डा उनले अघि सारेका छन् ।

    रिब्राण्डिङका लागि संस्थागत पुनर्संरचना

    संघमा गैरआवासीय नेपालीहरूको न्यून सहभागिताको कारण हालको संस्थागत संरचना, निर्वाचन प्रणाली र राजनीतिक हस्तक्षेप हुन्। त्यसैले सबैलाई समेट्ने प्रतिनिधिमूलक संस्था बनाउन निम्न संरचनात्मक परिवर्तन प्रस्ताव गरिन्छः

    •          संघको घट्दो सार्वजनिक छविलाई सुधार्दै एनआरएनएको विश्वसनीयता पुनर्स्थापना गर्न, हालै भएको बृहत् एकताको सहमतिलाई तार्किक निष्कर्षमा पुर्याउनु ईमानदार र रचनात्मक पहल गरिनेछ।

    •          संघलाई आर्थिक, राजनीतिक तथा अन्य बाह्य नकारात्मक प्रभावबाट जोगाउन अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को नेतृत्व चयन सम्पूर्ण पञ्जीकृत सदस्यहरूले अनलाइनमार्फत प्रत्यक्ष मतदानबाट गरिनेछ। सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरूको योगदानको कदर गर्दै ‘इलेक्टोरल कलेज’ पद्धति अपनाइनेछ।

    •          संघका आन्तरिक मामलामा परराष्ट्र मन्त्रालयको राजनीतिक प्रभाव कम गर्न गैरआवासीय नेपाली सम्बन्धी ऐनमा संशोधनको पहल गरिनेछ, साथै अन्य वैकल्पिक उपायहरूको खोजी पनि गरिनेछ।

    •          एनआरएनए फाउण्डेसन विदेशमा दर्ता गरी परोपकारी कार्यक्रमहरू यसै फाउण्डेसनमार्फत सञ्चालन गरिनेछ।

    •          संस्थाको विभागीय संरचना थप प्रभावकारी बनाइनेछ। युवा, महिला, वैदेशिक रोजगार, लगानी, मानव कल्याण, एनआरएन हक हित, तथा नेपाल प्रवर्द्धन विभागहरूको नेतृत्व उपाध्यक्षहरूले गर्ने व्यवस्था गरिनेछ। पदाधिकारी तथा सदस्यहरूलाई उनीहरूको दक्षताअनुसार विभागीय सदस्य बनाइनेछ।

    •          सम्बन्धित क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तिहरू विभागीय उपाध्यक्षको नेतृत्वमा चयन हुने सुनिश्चित गर्न विभागीय उपाध्यक्षको छुट्टाछुट्टै निर्वाचन गरिनेछ। साथै, वैदेशिक रोजगार विभागको नेतृत्व वैदेशिक रोजगारीमा रहेका मध्यपूर्व लगायतका देशका व्यक्तिहरूले गर्ने सुनिश्चित गरिनेछ।

    •          हालको विधानअनुसार संसारभरि रहेका पेशागत गैरआवासीय नेपालीहरू (जस्तै: डाक्टर, नर्स, इन्जिनियर, वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता आदि) लाई समेटेरपेशागत तथा प्राज्ञिक परिषद् (Professional and Academic Council, PAC) गठन गरिनेछ। यस परिषद्को मुख्य उद्देश्य उनीहरूले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र बौद्धिकता नेपाल र विश्वभरका गैरआवासीय नेपालीहरूको हितमा उपयोग गर्नु हुनेछ। यस परिषद्को अधिकारएनसीसी सरह हुनेछ तथा स्वायत्त ढंगले कार्य गर्नेछ, र यसको अध्यक्ष (संयोजक) आइसीसी उपाध्यक्ष तथा प्राज्ञिक विभाग प्रमुखहुने व्यवस्था गरिनेछ।

    •          एनआरएनएको अन्तर्राष्ट्रिय उपस्थितिलाई मजबुत बनाउन नेपालस्थित विदेशी कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थाहरूसँग संवाद र सहकार्य गर्ने जिम्मेवारीसहित ‘अन्तर्राष्ट्रिय सम्बन्ध विभाग’ गठन गरिनेछ।

    •          हाल कायम रहेको आफैं सदस्यता प्रमाणिकरण गर्ने, आफैं निर्वाचन समिति गठन गर्ने र आफैं उम्मेदवार बन्ने परिपाटीले संघमा गुटबन्दी र दलगत राजनीतिको प्रभाव बढाएको छ। यसलाई अन्त्य गर्न सदस्यता प्रमाणिकरण पूर्ण रूपमा Artificial Intelligence Technology को प्रयोगबाट गरिनेछ भने निर्वाचन र सदस्यता व्यवस्थापन (Membership Management System, MIS सहित)का लागि एक स्थायी र स्वायत्त निकाय गठन गरिनेछ।

    •          निर्वाचन समिति, अनुशासन समिति, विधान समिति, न्यायीक समिति जस्ता स्थाई प्रकारका समितिहरु स्वतन्त्र रहुन भन्ने उद्देश्यले यी समितिहरु साधारणसभाबाट गठन गर्ने व्यवस्था गरिनेछ।

    २) गैरआवासीय नेपालीका हक, हित र अधिकार

    एनआरएनका लागि एनआरएन’ भन्ने मुलमर्मका साथ गैरआवासीय नेपाली समुदायको हकहितसँग जोडिएका निम्न योजनाहरू प्रस्ताव गरिन्छः

    •          वंशजको नागरिकता कायम राख्न र हालको संविधानअनुसार गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिहरूले राजनीतिक अधिकारबाहेक अन्य सबै अधिकार आम नेपाली सरह प्राप्त गर्न र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न सरकारसँग निरन्तर पैरवी गरिनेछ।

    •          सर्वोच्च अदालतको फैसला अनुसार नेपालको आम निर्वाचनमा विदेशमा बसोबास गर्ने साविकका नेपाली नागरिकहरूलाई विदेशबाटै मतदान गर्न सक्ने व्यवस्था गर्न सरकारसँग सहकार्य गरिनेछ।

    •          थाइल्याण्ड, बर्मा, फिजी, मलेसिया लगायतका देशमा रहेका नेपालीमुलका व्यक्तिहरू (People of Nepali Origin)लाई नेपालसँग जोड्ने प्रावधान प्रस्तावित गैरआवासीय नेपाली सम्बन्धी ऐन समावेश गर्न पैरवी गरिनेछ।

    •          विदेशमा बस्ने साविकका नेपाली नागरिकका केही अधिकार सीमित गर्ने नेपालको संविधानको धारा २९१ संशोधन गर्न पहल गरिनेछ।

    •          ब्रिटिश गोर्खा सैनिकका हकहितसम्बन्धी मुद्दाहरू नेपाल सरकार र बेलायत सरकारसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न संघले गोर्खा सैनिकका अभियानमा संलग्न संघ–संस्थासँग सहकार्य बढाईनेछ।

    •          गैरआवासीय नेपालीहरूलाई नेपालका अड्डा–अदालत तथा प्रशासनिक निकायहरूसँग सम्बन्धित कानुनी, प्रक्रियागत तथा व्यवहारिक समस्यामा प्रभावकारी परामर्श, सहजीकरण र सहयोग प्रदान गर्न‘एनआरएनए कानुनी तथा प्रशासनिक परामर्श केन्द्र’स्थापना गरिनेछ।

    ३) सुरक्षित, मर्यादित र सिपमूलक वैदेशिक रोजगारी

    वैदेशिक रोजगारमा जाने नेपालीहरूको सामाजिक सुरक्षा, राहत र सीपको विकासका लागि निम्न कार्यक्रमहरू सञ्चालन गरिनेछन्:

    •          आकस्मिक मृत्यु, दुर्घटना वा अन्य विपद्मा परेका श्रमिकका परिवारलाई कानुनी सहयोग उपलब्ध गराउनतथा श्रमिकको समस्याको संवोधनका लागि काठमाडौँ सचिवालयमा छुट्टै कर्मचारीको व्यवस्था गरिनेछ।

    •          गन्तव्य मुलुकको कानुनी ज्ञान र सचेतनाको अभावका कारण धेरैजसो कामदारले आफ्ना हक–अधिकार, न्याय र क्षतिपूर्ति पाउन सकेका छैनन्, साथै विभिन्न दुर्घटनामा परेर ज्यानसम्म गुमाउन परेको छ। यी समस्यालाई सम्बोधन गर्ने उद्देश्यले नेपाल सरकार र सम्बन्धित निकायहरूसँग सहकार्यमा, वैदेशिक रोजगारीमा जानु अघि कामदारहरूलाई गन्तव्य मुलुकबारे जानकारी दिने ‘ओरिएन्टेशन कार्यक्रम’ सञ्चालन गरिनेछ।

    •          Smart NRNA Apps मा LLM-powered chatbot एकीकृत गरी वैदेशिक रोजगारमा गएका कामदारहरूको जिज्ञासा र समस्याको रियल-टाइममा सुझाव उपलब्ध गराइने व्यवस्था गरिनेछ, जसले गर्दा नेपालस्थित कार्यालय समय र कर्मचारीमा मात्र निर्भर रहन नपरोस्।

    •          वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा जेल परेका नेपाली कामदारहरूको समस्या समाधान गर्न पहल गरिने छ। साथै,मध्यपूर्वमा मृत्युवरण गरेका कामदारहरूको शव छिटो र सहज रूपमा स्वदेश ल्याउने तथा उनीहरूले पाउनुपर्ने क्षतिपूर्ति शीघ्र उपलब्ध गराउने सुनिश्चितताका लागि विशेष ‘श्रमिक राहत कार्यदल’तुरुन्त गठन गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ।

    •          मध्यपूर्व, पूर्व–एशिया र पूर्वी युरोपमा अदक्ष तथा अर्ध–दक्ष कामदारको चाप बढ्दै गएको छ। केही कामदार कुलतमा फस्दा नेपाली कामदारको छवि मात्र होइन, उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य दुवैमा नकारात्मक असर परेको छ। यसलाई रोक्न ‘सचेतना कार्यक्रम’ सञ्चालन गरिनेछ।

    •          असुरक्षित तथा अवैध मार्गबाट वैदेशिक रोजगारीमा जाने प्रवृत्ति न्यूनीकरण गर्न नेपाल सरकारसँग सहकार्य गरिनेछ।

    •          हाल सञ्चालनमा रहेको ‘वैदेशिक रोजगार राहत कोष’ वृद्धि गरिनेछ। यसका लागि पञ्जीकृत सदस्य शुल्कबाट १ डलर छुट्याउने व्यवस्था गरिनेछ।

    •          सामाजिक सुरक्षाकोषमा बढीभन्दा बढी गैरआवासीय नेपालीहरूलाई समाहित गर्न ‘रोडसो कार्यक्रम’सञ्चालन गरिनेछ।

    •          प्रस्तावित रु १० अर्बको संयुक्त लगानी कोषमा Initial Public Offering (IPO) मार्फत थोरै आम्दानी हुने र वैदेशिक रोजगारमा रहेका नेपालीहरूले पनि लगानी गर्न सक्ने वातावरण तयार गरिनेछ।

    •          मध्यपूर्व, मलेसिया, कोरिया लगायतका मुलुकमा कार्यरत नेपाली कामदारहरूको सीप र दक्षताको अभिलेखिकरण गर्न एनआरएनए रअन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (IOM) को सहकार्यमा नेपाल फर्किने गैरआवासीय नेपालीहरूकोSkill Mappingको पाइलट प्रोजेक्ट विस्तार गरिनेछ।साथै, उनीहरू स्वदेश फर्केपछि रोजगारीको सुनिश्चितताका लागि सम्बन्धित संस्थाहरुसँग सहकार्य गरी ‘रिटर्नी इमिग्रान्ट कार्यक्रम’ सङंचालन गरिनेछ।

    •          अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) जस्ता अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै श्रमिकहरूको समस्याको समाधानमा पहल गरिनेछ। साथै, नेपाली कामदारका लागि बढी आम्दानी र सुरक्षित गन्तव्य देशहरूको खोजी तथा ‘आप्रवासी श्रमिकहरूको क्षमता अभिवृद्धि’गर्न सहयोग प्रदान गरिनेछ।

    •          मानव ओसारपसार र अवैध धन्दामा संलग्न व्यक्तिहरूलाई संघको कुनै पनि निकायमा पदाधिकारी बन्नदुरुत्साहित गरिनेछ।

    ४) नेपालमा आर्थिक लगानी

    गैरआवासीय नेपालीहरूले आर्जन गरेको पुँजी र वैदेशिक लगानी आकर्षित गर्न निम्नानुसार  पहल गरिनेछः

    •          दोहोरो कर प्रणाली अन्त्यका लागि नेपाल सरकार र सम्बन्धित मुलुकबीच समझदारी गराउन एनआरएनएले सेतुको भूमिका खेल्नेछ।

    •          नेपालमा लगानी भित्र्याउने उद्देश्यले नेपाल सरकारको समेत लगानी रहेको रु. १० अर्बको ‘नेपाल डेभलपमेन्ट फण्ड’लाई आगामी दिनमा अझ बृहत् बनाउन सहयोग गरिनेछ।

    •          नेपालमा लगानीमैत्री वातावरण सिर्जना गर्न, गैरआवासीय नेपालीहरूले पूँजी बजारमा सजिलै लगानी गर्न सक्ने वातावरण बनाउन र समष्टिगत आर्थिक स्थिरता हासिल गर्न नेपाल सरकारको मौद्रिक नीति व्यवहारिक बनाउन पैरवी गरिनेछ।

    •          नेपालमा रोजगारी, उद्यमशीलता र पूर्वाधार विकासमा गैरआवासीय नेपालीको लगानी, ज्ञान, सीप र प्रविधि प्रोत्साहन गर्न कानूनी र नीतिगत सुधार गरी लगानी सहजीकरण, धितोपत्र बजारमा पहुँच र वैदेशिक रोजगारीबाट आउने विप्रेषणमा अनुदान सुनिश्चित गर्न नेपाल सरकारसँग पैरवी गरिनेछ।

    •          गैरआवासीय नेपाली विज्ञ र उद्यमीहरूलाई परिचालन गरेर नेपालमा AI क्षेत्रमा लक्षित लगानी गर्न प्रोत्साहन गरिनेछ। AI सम्बन्धी ज्ञान, नवप्रवर्तन र पूर्वाधारलाई सुदृढ बनाउन नेपाल सरकार र निजी क्षेत्रसँग साझेदारी निर्माण गर्ने वातावरण तयार गर्न पहल गरिनेछ, जसले गर्दा नेपाल विश्वव्यापी AI विकाससँग कदम मिलाएर अघि बढ्न सकोस्।

    •          स्टार्टअप गर्न चाहने स्वदेशी युवाहरूलाई सम्भावित गैरआवासीय नेपाली लगानीकर्तासँग समन्वय गराइनेछ।

    ५) महिला अधिकार, अवसर र सशक्तिकरण

    गैरआवासीय नेपाली महिलाको अवसर विस्तार, अधिकार सुनिश्चितता र सामाजिक सुरक्षाका लागि निम्न कार्यक्रमहरू अघि सारिनेछन्–

    •          गैरआवासीय नेपाली महिलाको नेतृत्व र सहभागिता सुनिश्चित गर्न, एनआरएनएको सबै संरचनामा न्यूनतम ३३% महिला प्रतिनिधित्व कायम गरिनेछ।

    •          विदेशी नागरिकसँग विवाह गरेका नेपाली आमाबाट जन्मिएका सन्तानले नागरिकता सहज रूपमा प्राप्त गर्न सकून् भन्ने सुनिश्चितताका लागि नेपाल सरकारसँग पैरवी गरिनेछ।

    •          वैदेशिक रोजगार वा अन्य कारणले समस्यामा परेका महिलालाई तत्काल सहयोग, कानुनी सहायता र संरक्षण उपलब्ध गराउन‘वैदेशिक रोजगार राहत कोष’परिचालन गरिनेछ।

    •          वैदेशिक रोजगारमा गएका महिलाले भोग्न सक्ने मानसिक स्वास्थ्य समस्या, महिला हिंसा र घरेलु हिंसामा सहयोग गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ। यसअन्तर्गत ‘मनोवैज्ञानिक परामर्श, सपोर्ट ग्रुप रसाइको–एजुकेशनकार्यक्रम’उपलब्ध गराइनेछ।

    ६) युवा र दोस्रो पुस्ताको सहभागिता

    युवा तथा दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूको सक्रिय सहभागिता वृद्धि गर्ने र उनीहरूको नेपालसँगको सम्बन्धलाई दिगो रूपमा मजबुत बनाउन निम्न कार्यक्रमहरू प्रस्ताव गरिएको छः

    •          दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूलाई संघ र नेपालसँगको सामीपत्यता कायम राख्न हरेक राष्ट्रिय समन्वय परिषद (NCC) मा छुट्टै निकायको व्यवस्था गरिनेछ।

    •          दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूलाई नेपालका विश्वविद्यालय, शैक्षिक तथा व्यवसायिक संस्थाहरूमा ‘इन्टर्नशिप (Internship)’र शैक्षिक भ्रमण गर्ने अवसर उपलब्ध गराइनेछ। साथै, ‘Youth Volunteer for Nepal (YV4N)’परियोजना अन्तर्गत उनीहरूलाई नेपालको विभिन्न क्षेत्रमा स्वेच्छिक सेवामा संलग्न हुने अवसर प्रदान गरिनेछ।

    •          नेपाली भाषाको डिजिटलाइज पाठ्यक्रम तयारी गरी दोश्रो पुस्तालाई भाषा कक्षा सञ्चालन गरिनेछ र उनीहरूलाई नेपालसँग जोड्न विभिन्न सांस्कृतिक तथा शैक्षिक कार्यक्रम आयोजना गरिनेछ।

    •          हाल विभिन्न एनसीसी र अन्य संघद्वारा विदेशमा सञ्चालन गरिएका फुटबल, भलिबल लगायतका खेलकूद प्रतियोगितालाई एकीकृत गर्दै, एनआरएनए स्पोर्ट्स एकेडेमीमार्फत‘एनआरएनए लिग’आयोजना गर्ने पहल गरिनेछ।

    •          दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूलाई नेपालको राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिने व्यवस्था मिलाइनेछ।

    •          विदेशमा अध्ययन गर्ने विद्यार्थीहरूको सहयोगका लागि एनआरएनए सचिवालयमा ‘परामर्श केन्द्र’स्थापना गरिनेछ।

    ७) ज्ञान, सिप तथा प्रविधि हस्तान्तरण

    गैरआवासीय नेपालीहरूले विदेशमा आर्जन गरेको ज्ञान, सिप र प्रविधि नेपालमा प्रभावकारी रूपमा सदुपयोग गर्न निम्न योजना प्रस्ताव गरिन्छ:

    •          माथि उल्लेख गरेझैँ, संसारभरका पेशागत गैरआवासीय नेपालीलाई समेटी ‘पेशागत तथा प्राज्ञिक परिषद्’ गठन गरिनेछ।

    •          हाल सञ्चालनमा रहेका NRNA Academy, Nepal Policy Forum, NRN Science Foundation, Nepal Library Foundation, Vocational Education र प्राविधिक समितिहरूलाईSkill, Knowledge, and Technology Transform (SKTT)विभागमा समन्वय गरी प्रभावकारी बनाइनेछ।

    •          NRN Global Knowledge Conventionलाई निरन्तरता दिदै यसले सिफारिस गरेका सुझावहरूको कार्यान्वयन गराउन सरकारसँग पहल गरिनेछ। सम्मेलनमार्फत नेपालमाKnowledge-based Economyको विकासका लागि गैरआवासीय नेपालीहरूलाई उत्प्रेरित गरिनेछ।

    •          Global Knowledge Conventionमा प्रस्तुत शोधपत्रहरू, सिफारिस गरिएका नीतिहरू तथा कार्यक्रमहरूलाई ‘AI-based Electronic Archive’मा राखिनेछ, जसले सदस्यहरू, सरकार, र अनुसन्धानकर्ताहरूलाई नीति निर्माण र नवप्रवर्तनका लागि आवश्यक जानकारी तुरुन्त प्राप्त गर्न सक्षम बनाउनेछ।

    •          नेपाल सरकार, नेपाली विश्वविद्यालयहरू, अनुसन्धान केन्द्रहरू, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, र नेपालभित्र तथा बाहिर रहेका पेशागत संस्थाहरूसँग सहकार्य गरिनेछ।

    •          नेपाल सरकारको नीति तथा योजना निर्माण तहमा गैरआवासीय नेपालीहरूलाई प्रतिनिधित्व गराउन पैरवी गरिनेछ।

    •          नेपाल सरकारले सुरु गरेको Brain Gain Centre र National Academy of Science ले सञ्चालनमा ल्याएकाWho Is Who जस्ता कार्यक्रममा सहकार्य गरिनेछ। साथै, यसमार्फत बढीभन्दा बढी दक्ष तथा विज्ञ गैरआवासीय नेपालीहरुको AI-enabled Electronic Databaseसंकलन गरीउनीहरूको ज्ञान, सीप र अनुभवलाई नेपाल विकासमा प्रभावकारी रूपमा उपयोग गर्ने आधार तयार पारिनेछ।

    •          ज्ञान, सीप तथा प्रविधिको क्षेत्रमा नेपालमा स्वयंसेवामार्फत योगदान गर्न इच्छुक अवकाशप्राप्त तथा सबाटिकल लिन चाहने विज्ञहरूको सहभागिता सुनिश्चित गर्न सम्बन्धित सरकारी तथा निजी निकायहरूसँग आवश्यक समन्वय गरिनेछ। साथै, उनीहरूको कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न काठमाडौंस्थित सचिवालयमार्फत आवश्यक कार्यकक्ष, बैठक तथा तालिमस्थल, कार्यालय उपकरण, सूचना–प्रविधि सुविधा तथा प्रशासनिक–व्यवस्थापन सहयोग उपलब्ध गराइनेछ।

    ८) प्रविधियुक्त एनआरएनए

    गैरआवासीय नेपाली संघलाई अत्याधुनिक डिजिटल प्रविधियुक्त बनाउन निम्न योजना प्रस्ताव गरिएको छ:

    •          ‘हात हातमा एनआरएनए’ अभियान अन्तर्गत सबै संघीय गतिविधि Smart NRNA Appमा समावेश गरिनेछ।

    •          Smart NRNA App मार्फत संघ, पञ्जीकृत सदस्यहरू र गैरआवासीय नेपालीहरूबीच सिधा सम्पर्क स्थापना गरिनेछ।

    •          अनलाइन भोटिङमा Blockchainप्रविधि प्रयोग गरिनेछ र Face Verificationनिरन्तर अपनाइनेछ।

    •          संघसँग सम्बन्धित सबै दस्तावेजहरूको ‘AI-based Electronic Archive’ तयार गरिनेछ।

    •          Membership Benefitकार्यक्रमSmart NRNA Apps मार्फत सञ्चालन गरिनेछ।

    •          संघको वेब्साइटलाई अत्याधुनिक बनाइनेछ।

    •          Smart NRNA Apps मार्फत Crowd Fundingको व्यवस्था गरिनेछ।

    •          संसारभर रहेका गैरआवासीय नेपालीहरूले सञ्चालन गरेका व्यवसायहरूको ‘AI-enabled Electronic Database’तयार गरि Smart NRNA Apps मा उपलब्ध गराइनेछ।

    •          संघका गतिविधि र कार्यक्रमलाई बढीभन्दा बढी आम गैरआवासीय नेपालीसम्म पुर्याघउन आधुनिक प्रविधि प्रयोग गरी सामाजिक सञ्जालको अधिकतम उपयोग गरेर real-time अपडेट उपलब्ध गराइनेछ।

    ९) आर्थिक दीगोपन

    सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नु पर्ने स्थितिको अन्त्य गरी, आर्थिक दीगोपन सुनिश्चित गर्न प्रविधि र ज्ञानमा आधारित वैकल्पिक स्रोतहरूको खोजी गर्न निम्न योजना प्रस्ताव गरिन्छ:

    •          गैरआवासीय नेपाली संघको सञ्जाल प्रयोग गरी सञ्चालनमा आएका वा सञ्चालन गर्न चाहने व्यवसायबाट लाभांशको न्यूनतम प्रतिशत(Corporate Social Responsibilityअन्तर्गत)एनआरएनका लागि छुट्याउने व्यवस्था गरिनेछ।

    •          माथि उल्लेख गरेझै,संसारभर छरिएका गैरआवासीय नेपालीले सञ्चालन गरेका व्यवसायकोAI-enabled Electronic Databaseतयार गरी, ती व्यवसायलाईSmart NRNA Appsमार्फत नेभिगेट गराएर गैरआवासीय नेपालीसँग जोडिने व्यवस्था गरिनेछ र यसबापत व्यवसायिक संस्थाबाट न्यूनतम शुल्क लिइनेछ।

    •          संघले हाल सञ्चालन गरेकोMembership Benefitकार्यक्रमलाई प्रभावकारी बनाइ, यसबाट प्राप्त हुने सुविधाको केही अंश संघले प्राप्त गर्ने व्यवस्था गरिनेछ।यसले चुनावबाट प्रेरित भएर मात्र सदस्य बन्ने प्रचलन कम गर्नेछ।

    •          विगतमासंयुक्त राष्ट्र संघ अन्तर्गतका संस्थासँगको अनुभव उपयोग गर्दै, कल्याणकारी तथा अध्ययन/अनुसन्धान परियोजनाका लागिएनआरएनए फाउण्डेसनमार्फत अन्तर्राष्ट्रिय दातृ निकायसँग सहकार्य गरिनेछ।

    •          संघले विभिन्न परियोजनामा लगानी गर्दा प्राप्त हुने लाभांश संघले प्राप्त गर्न सक्ने खालको कानून बनाउन नेपाल सरकारसँग पैरवी गरिनेछ।

    •          Smart NRN Apps मार्फतCrowd Fundingको व्यवस्था गरेर अतिरिक्त स्रोत जुटाइनेछ। 

    •          काठमाडौंस्थित सचिवालय भवनबाट हुने आयश्रोतलाई अझ प्रबावकारी बनाईनेछ। साथै, भवनलाई डायस्पोरा नेपाली र स्वदेशमा बस्ने नेपालीहरूबीच ज्ञान, संवाद र सहकार्यको सेतुका रूपमा विकास गरिनेछ। यस उद्देश्यका लागि ‘एनआरएनए पुस्तकालय’, बैठक तथा अन्तरक्रिया कक्ष, र क्याफेको व्यवस्था गरी ‘NRNA Community Building’ को रुपमा विकसित गरिनेछ।

    •         

    १०) परोपकारर मानवकल्याणका लागि एनआरएनए

    परोपकार र मानवकल्याणका कार्यक्रमहरुलाई संस्थागत र दीगो बनाउन गैरआवासीय नेपाली संघले निम्न कार्यक्रमहरू अघि सारिएकोछ:

    •          परियोजना छनोटसम्बन्धी नीति बनाईएनआरएनए फाउण्डेसनमार्फत कार्यान्वयन गरिनेछ। परियोजनाको पुनरावलोकन र मूल्याङ्कनका लागि विज्ञहरूको समिति गठन गरिनेछ।

    •          नेपालमा सञ्चालन हुने ‘एक एनसीसी एक परियोजना’जस्ता कार्यक्रममा एनसीसीहरूबीच सहकार्यको वातावरण तयार गरिनेछ। आवश्यक परे यस्ता परियोजनामा आइसीसीले आर्थिक सहयोग प्रदान गर्न सक्ने व्यवस्था गरिनेछ।

    •          परियोजनाहरू नेपालका स्थानीय र संघीय सरकारसँग समन्वय र सहकार्यमा सञ्चालन गरिनेछन्।

    •          नेपालका सातै प्रदेशमा‘मोबाइल ब्लड बस’सञ्चालनमा ल्याइनेछ र ‘सडक बालबालिलाई सहयोग’लगायतका चालु परियोजनाहरूलाई निरन्तरता दिइनेछ।

    •          हालसम्म नेपालमा बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक विपद् व्यवस्थापन कार्यहरू आवश्यकताको आधार (ad hoc basis) मा सञ्चालन हुँदै आएका छन्। यसलाई रणनीतिक र दीगो बनाउन ‘Relief, Response and Recovery (3Rs)’ अवधारणा अनुसार नीति तयार गरी कार्यान्वयन गरिनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्था, स्थानीयसरकारहरुसँग सहकार्य गरिनेछ र सचिवालयमा ‘विपद् व्यवस्थापन फोकल युनिट’को व्यवस्था गरिनेछ।

    ११) अन्तर्राष्ट्रियस्तरको बहुआयामिक एनआरएनए

    गैरआवासीय नेपाली संघलाई अन्तर्राष्ट्रियस्तरको बहुआयामीक संस्थामा विकास गर्न निम्न कार्यक्रम प्रस्ताव गरिन्छ:

    •          माथि उल्लेख गरेझै, एनआरएनएको अन्तर्राष्ट्रिय उपस्थितिलाई मजबुत बनाउन कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थासँगको संवाद तथा सहकार्यका लागि ‘अन्तर्राष्ट्रिय सम्बन्ध विभाग’ गठन गरिनेछ।

    •          एनआरएनएलाई संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषदको सदस्यताका लागि पहल गरिनेछ, जसबाट एनआरएनएलाई विश्व मञ्चमा स्थापित गराउन सहयोग पुग्नेछ।

    •          अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) सँगको सहकार्य निरन्तरता दिइनेछ।Global Diaspora Confederation (GDC) सँगको आबद्धता हुँदै अन्तर्राष्ट्रिय आप्रवासी समुदायमा अनुभवको साटासाट गर्दै आप्रवासीका साझा मुद्दाहरूमा सहकार्य गरिनेछ।

    •          नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायबीच समन्वयको पुलको रूपमा एनआरएनएले काम गर्नेछ।भुमण्डलीकरण (Globalisation) रजलवायु परिवर्तन (Global Warming) जस्ता नेपाललाई प्रत्यक्ष नकारात्मक असर पार्ने विषयमा गैरआवासीय नेपाली र नेपालसँग सरोकार राख्ने विदेशी विज्ञहरू मार्फत सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चमा आवाज पुर्यासइनेछ।

    १२) नेपाली सामान, कला, संस्कृति र पर्यटन प्रवर्द्धन

    नेपालमा उत्पादन भएका सामान, नेपाली कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्न निम्न योजनाहरू प्रस्ताव गरिन्छः

    •          ‘सांस्कृतिक दूत’को रूपमा नेपाली पहिचान, कला र पर्यटनलाई विश्वस्तरमा चिनाउने काममा सबै एनसीसीलाई परिचालन गरिनेछ।

    •          विदेशमा नेपाली सामान प्रवर्द्धन गर्न संघको संयन्त्र प्रयोग गरिनेछ।

    •          नेपालीहरूको बसोबास भएका देशमा नेपाली ‘सांस्कृतिक केन्द्र (नेपाल हाउस)’स्थापना गर्न पहल गरिनेछ।

    •          वार्षिक रूपमा ‘नेपाल फेस्टिवल’ आयोजना गर्ने कार्यमा सबै एनसीसीलाई परिचालित गरिनेछ।

    •          यसका लागि नेपाल पर्यटन बोर्ड र सम्बन्धित निकायहरूसँग समन्वय गरिनेछ।

    १३) परिणाममुखी, उत्तरदायी र पारदर्शी एनआरएनए

    संघलाई परिणाममुखी, उत्तरदायी र पारदर्शी बनाउन निम्न योजना रहेकाछनः

    •          संघको अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गरिनेछ।

    •          दुईवर्षे कार्ययोजनाको क्यालेन्डर तयार गरिनेछ। आइसीसी र एनसीसीका गतिविधिहरू यिनै कार्ययोजनामा केन्द्रित हुनेछन्।

    •          संघको काठमाडौँस्थित सचिवालयलाई व्यवस्थित र प्रविधियुक्त बनाइ, कर्मचारीहरूको दक्षता अभिवृद्धि गरिनेछ।

    •          गैरआवासीय नेपालीहरूले आफू बसेको देशका स्थानीय समुदाय तथा सरकारसँग सहकार्य गर्न सकून् भन्ने हेतुले एनसीसीको क्षमता अभिवृद्धि गरिनेछ।

    •          आइसीसी र यससँग आवद्ध निकायहरू (एनसीसी, समिति, टास्कफोर्स, क्षेत्रीय संयोजकआदि) बीच प्रभावकारी संवाद र समन्वय सुनिश्चित गरिनेछ।

    •          संघलाई दीर्घकालीन असर पार्ने र अन्य महत्वपूर्ण निर्णयहरू गर्दासंघका पञ्जीकृत सदस्यहरू,साथैएनसीसी रआइसीसीका कार्यकारी सदस्यहरूसँग परामर्श गर्दै उत्तरदायी बनाइनेछ।

    •          आर्थिक पारदर्शिता सुनिश्चित गर्नसंघको अनुमानित वार्षिक आय–व्यय तय गरी, खर्चको विवरण प्रत्येक ३ महिनामा वेबसाइटमार्फत सार्वजनिक गर्ने कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ।

    मेरो गैरआवासीय नेपाली अभियानमा संलग्नताः

    • उपाध्यक्ष तथा परोपकार विभाग प्रमुख अन्तर्राष्ट्रि समन्वय परिषद (२०२३–२०२५)

    • उपाध्यक्ष तथा सीप, ज्ञान र प्रविधि हस्तान्तरण विभाग प्रमुख, अन्तर्राष्ट्रि समन्वय परिषद (२०२१–२०२३) – सर्वोच्च अदालतबाट खारेज

    • महासचिव, एनआरएनए अन्तर्राष्ट्रि समन्वय परिषद (२०१९–२०२१)

    • संयोजक, पहिलो र दोस्रो विश्व ज्ञान सम्मेलन, काठमाडौँ, नेपाल (अक्टोबर २०१८ र अक्टोबर २०२०)

    • संयोजक, संविधान संशोधन सल्लाहकार समिति, एनआरएनए अन्तर्राष्ट्रि समन्वय परिषद (२०११–२०१९)

    • सल्लाहकार, एनआरएनए अन्तर्राष्ट्रि समन्वय परिषद (२०१३)

    • प्रवक्ता तथा सञ्चार र प्रकाशन समिति संयोजक अन्तर्राष्ट्रि समन्वय परिषद (२०११–२०१३)

    • प्रधान सम्पादक, ग्लोबल नेपाली, एनआरएनएको आधिकारिक पत्रिका (२०११–२०१३)

    • सम्पादक, एनआरएनएका ऐतिहासिक दस्तावेजहरूको सङ्ग्रह (२०१३)

    • निर्देशक/स्क्रिप्ट लेखक, एनआरएनए वृत्तचित्र (२०१३)

    • नागरिकता, मतदान अधिकार जस्ता डायस्पोरा नेपालीको अधिकारको लागि राष्ट्रिय सञ्चार माध्यममा पैरवी (लगभग १०० लेख, टिभी र समाचार पत्र अन्तर्वार्ता सहित)

    • निर्वाचन समितिका सदस्य, अन्तर्राष्ट्रि समन्वय परिषद (२०११, २०१३, २०१५)

    • सदस्य, एनआरएनए अन्तर्राष्ट्रि समन्वय परिषद (२००७–२०११)

    • विधान समिति सदस्यएनआरएनए अन्तर्राष्ट्रि समन्वय परिषद (२००७–२०११)

    • महासचिव, राष्ट्रिय समन्वय परिषद्, एनआरएनए जापान (२००६–२००७)

    • सम्पादकीय सल्लाहकार, मातृभूमी, एनआरएनए जापानको वार्षिक प्रकाशन (२००७)

    • काठमाडौंमा एनआरएनए विश्व सम्मेलनमा सहभागी (२००७, २००९, २०११, २०१३, २०१५, २०१७, २०१९, २०२१, २०२३) र क्षेत्रीय सम्मेलन/बैठकहरूमा सहभागी (२००६–२०२५ प्रत्येक वर्ष)

    पेशागत पृष्टभूमि

    www.hemrajsharma.com

  • विश्वकप क्रिकेटमा नेपाल पराजित

    विश्वकप क्रिकेटमा नेपाल पराजित

    मुम्बई । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपाल दुई पटकको विश्वकप विजेता इङ्ल्यान्डसँग पराजित भएको छ ।

    भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार भएको खेलमा इङ्ल्यान्डसँग नेपाल चार रनले पराजित भएको हो । झिनो अन्तरले पराजित हुदाँ नेपाली क्रिकेट इतिहासमा नयाँ कीर्तिमान कायम गर्ने अवसरबाट नेपाल बञ्चित भयो ।

    जितका लागि १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १८० रनमा समेटियो । नेपालका लागि दीपेन्द्र सिह ऐरीले सर्वाधिक ४४ रनको योगदान दिए र उनले २९ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ४४ रन जोडे ।

    यसैगरी कप्तान रोहित पौडेल र लोकेश बमले समान ३९/३९ रन बनाए भने कुशल भुर्तेलले २९ रन जोडे । आरिफ शेखले १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । आसिफ शेख सात रनमा आउट भए भने गुल्सन झा एक रनमा आउट भए ।

    बलिङमा इङ्ल्यान्डका लियम डसनले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको इङल्यान्डले निर्धारित २० ओरभमा सात विकेट गुमाउँदै १८४ रनको योगफल बनाएको थियो ।

    इङ्ल्याडका लागि ज्याकब बेथेल र कप्तान ह्यारी ब्रूकले अर्धशतक बनाए । ज्याकबले ३५ बलमा चार चौका र चार छक्काको सहयोगमा सर्वाधिक ५५ रन जोडे । यसैगरी कप्तान ह्यारीले ३२ बल खेल्दै चार चौका र तीन छक्का प्रहार गर्दै ५३ रन बनाए । विल ज्याक्सले अविजित ३९ रनको योगदान दिँदा जस बटलरले २६ रन बनाए ।

    बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान दुई÷दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले समान एक÷एक विकेट झारे ।

    शनिबारदेखि सञ्चालन भएको विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छ । नेपालले आफ्नो दोस्रो खेल यही माघ २९ गते इटालीसँग खेल्नेछ ।

  • रहेनन् अभिनेता सुनिल थापा

    रहेनन् अभिनेता सुनिल थापा


    काठमाडौँ, २४ माघः अभिनेता सुनिल थापाको आज ६८ वर्षको उमेरमा निधन भएको छ ।

    आज बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि अभिनेता थापालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले अभिनेता थापाको हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको बताउनुभयो ।

    “बिहान चलचित्रको छायाङ्कनमा जानुपर्ने भएकाले आफूसँगै रहेका सहयोगीलाई चाँडै उठाउन भन्नुभएको रहेछ, ती सहयोगी बिहान उठाउन जाँदा अभिनेता थापालाई अचेत पाएपछि अस्पताल ल्याइएको रहेछ । अस्पतालले प्रारम्भिक जाँच गरेपछि मृत घोषणा गरेको हो”, अध्यक्ष निरौलाले भन्नुभयो ।

    अभिनेता थापाका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । “उहाँको परिवारका सदस्यहरु भारतको मुम्बईमा बस्नुहुन्छ, उहाँहरू आउँदै हुनुहुन्छ”, अध्यक्ष निरौलाले भन्नुभयो ।

    लामो समयदेखि नेपाली तथा भारतीय चलचित्रमा अभिनयमा सक्रिय रहनुभएका थापाको असामयिक निधनले सम्पूर्ण नेपाली कला जगत् स्तब्ध बनेको छ । चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेता सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत् विशेष रूपमा लोकप्रिय हुनुहुन्थ्यो । उहाँ शङ्खमूलस्थित अपार्टमेन्टमा बस्दै आउनुभएको थियो ।

  • अबकी बार सय पारको नारा लगाउनुस् : सभापति गगन थापा

    अबकी बार सय पारको नारा लगाउनुस् : सभापति गगन थापा

    कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने नै भए अबकी बार सय पारको नारा लगाउन आग्रह गरेका छन् । 

    कास्कीको पोखरामा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले अब कांग्रेसले नै मुलुकको एकल नेतृत्व सम्हालेमात्र देश बन्ने दाबीसहित अबको सरकार कांग्रेसको मात्र नभनी अब सय पार गर्ने गरी मत माग्नुपर्ने बताएका हुन् । 

    उनले यो सम्भव भएको दाबीसहित भने, ‘मैले साथीहरूलाई भनेको छु मधेसका जाँदै गर्दा अबकी बार कांग्रेसको सरकार भन्ने नारा लगाउन छोडिदिनुस् नारै लगाउने भए अबकी बार सय पार भनेर नारा लगाउनुस् ।’

    उनले अगाडि भने, ‘त्यहाँ पुर्याउने हो यसपालि । मज्जाले जाने हो । सकिन्छ पुग्न । मज्जाले सकिन्छ । बहुमतसम्म पुग्न सकिन्छ ।’

    सभापति थापाले यसका लागि नेता कार्यकर्ताले दुःख भने गर्नुपर्ने बताए । उनले भने, ‘मेहनत गर्नुपर्नेछ । पार्टीको प्रत्येक सदस्यले म उम्मेदवार हुँ भन्ने ठानेर ल मेहनत गरौँ त एकपटक । १० लाख क्रियाशील भएको पार्टी हो यो । वडा वडा टोल टोलमा संगठन गर्ने पार्टी हो यो ।’

    उनले अन्तिममा फेरि आग्रह गर्दै भने, ‘हामी आफ्नो तागत, हामीसँग भएको तागतलाई सम्झौँ बुझौँ । तल्लो तहसम्म जाऔँ र गएर भनौँ हामी देश सम्हाल्छौँ पनि हामी व्यवस्थालाई सुधार्छौँ पनि । हामी बदलिएर आएका छौँ । बदलिएर आएको कांग्रेसले देशलाई बदल्छ पनि । यही विश्वास लिएर तल्लो तहसम्म तपाईंहरू तल्लो तहमा जानुहुन्छ भन्ने विश्वास छ ।

  • ओली पुगे गृहजिल्ला झापा

    ओली पुगे गृहजिल्ला झापा


    झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । शुक्रबार उनी हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् । उनलाई भद्रपुर विमानस्थलमा भव्यताका साथ स्वागत गरिएको छ ।

    सोही क्रममा उनले आफूसँग कोही भिड्न आउँछु भन्छ भने त्यो कुरालाई सधैँ स्वागत गर्ने बताएका छन् ।

    उनले नयाँ भाई, भतिजा, छोराहरुको पुस्ता सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा नभएको बताए ।
    उनले भने, ‘युवाहरु निर्वाचनको प्रचारमा लागेका छन् सूर्यलाई जिताउँ भनेर, सूर्यको जित निश्चित छ । भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु, खुसी लाग्छ । नयाँ हाम्रा भाई, भतिजा, छोराहरुको पुस्ता सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा छ र ?’

    साथै, उनले झापालाई सूर्यमय बनाउनुपर्ने भन्दै त्यसका लागि योगदान गर्न सबै जिल्लाबासीलाई आग्रह गरेका छन् ।

  •  प्रजातन्त्र र लोकतन्त्रको मार्गमा अघि बढ्न निरन्तर अभ्यास आवश्यक : प्रधानमन्त्री

     प्रजातन्त्र र लोकतन्त्रको मार्गमा अघि बढ्न निरन्तर अभ्यास आवश्यक : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले देशमा पछिल्लो समय केही सकारात्मक परिवर्तन देखिन थालेको बताएकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को मूल समारोह समिति गठन तथा कार्यक्रममा बोल्दै उनले भदौ २३ र २४ गते भएको आन्दोलनले मुलुकमा परिवर्तन ल्याएको उल्लेख गरिन् ।

    उनले भनिन्, ‘अलिकति देशमा परिवर्तन पनि आएको छ । भदौ २३ र २४ को आन्दोलनले मुलुकमा परिवर्तन ल्याएको छ । हरेक ठाउँमा नयाँ युवाहरुलाई, अहिलेको युवतिहरुलाई ठाउँ दिनुपर्ने भावना आएको छ मुलुकमा ।’

    प्रधानमन्त्री कार्कीले हरेक क्षेत्रमा नयाँ पुस्ता, विशेषगरी युवाहरू र युवतिहरूलाई अवसर दिनुपर्ने भावना बलियो हुँदै गएको बताइन् । यही भावनाबाट प्रजातन्त्र फस्टाउने र विकसित हुने उनको भनाइ थियो । उनले बनेको संविधानको मूल्यांकन गर्दै त्यसलाई कार्यान्वयनमार्फत अघि बढाउनु नै वर्तमान व्यवस्थाको प्रतीक भएको स्पष्ट गरिन् ।

    उनले वर्तमान व्यवस्था एकैदिनमा आएको नभई २००७ सालको परिवर्तन, २०१७ सालको राजनीतिक घटनाक्रम, २०६२÷६३ को जनआन्दोलन तथा ऐतिहासिक संघर्षहरूको परिणामस्वरूप संविधान बनेको बताइन् । पछिल्लो समय देखिएको ‘जेन–जी आन्दोलन’ एक–दुई दिनको भए पनि भेलझैँ ठूलो प्रभाव पार्ने खालको भएको उनको भनाइ थियो ।

    उनले भनिन्, ‘प्रजातन्त्र फस्टाउने, फूलाउने एउटा संविधान जो बनेको छ त्यसको मूल्यांकन गर्ने मुलुकमा एउटा सिस्टमलाई हाँकेर लिएर जाने त्यसकै प्रतिक हो यो एउटा । यो व्यवस्था एक दिनको कुराले आएको होइन, २००७ सालमा आयो, २०१७ साल आयो, ६२, ६३ को आन्दोलन र इतिहासिक हिस्ट्रीले नै संविधान आएको हो । अब यो जेनजी आन्दोलन एक दुई दिनको भए पनि यो भेल जस्तो ठूलो आयो । हामीले परिवर्तित हुनु परेको पनि छ । प्रजातन्त्रको लागि, लोकतन्त्रको बाटोमा जानको निम्ती अभ्यास गर्नुपर्ने छ ।’

    प्रधानमन्त्री कार्कीले समयअनुसार आफूहरू पनि परिवर्तित हुनुपर्ने आवश्यकता औंल्याउँदै प्रजातन्त्र र लोकतन्त्रको मार्गमा अघि बढ्न निरन्तर अभ्यास आवश्यक रहेको बताइन् ।