Author: Dwarika Pokhrel

  • निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

    निर्वाचन आचारसंहिता पालना गर्न आग्रह


    नेपालगञ्ज, १५ माघः आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहितापालना गर्न यहाँ राजनीतिक दल तथा उम्मेदवार सहमत भएका छन् ।

    दुर्गम मानिने बाँकेको नरैनापुरमा आयोजना भएको सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत भएका हुन् । बाँककेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा गम्भीर हुन आग्रह गर्दै आयोगले निर्वाचनको नियमन तथा अनुगमनसमेत गर्ने बताउनुभयो ।

    निर्वचन क्षेत्र नं १ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले जिल्लामा देखिएका केही अप्ठेरो अवस्थाका विषयमा जिज्ञासा आएको र त्यसलाई सम्बोधन गरिएको जानकारी दिँदै राजनीतिक दल र उम्मेदवार निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्ध रहेको बताउनुभयो । निर्वाचनलाई भयरहित,मर्यादित बनाउन आचारसंहिता पालनमा जोड दिइएको उहाँको भनाइ छ । निर्वाचन आचारसंहिता पालनाका सन्दर्भमा आज निर्वाचन क्षेत्र नं २ ले पनि सर्वदलीय बैठकको आयोजना गरेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जानकारी दिनुभयो ।

    सो सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपालका प्रतिनिधि, स्वतन्त्रतर्फका उम्मेदवारलगायत सहभागी हुनुहुन्थ्यो । यसअघि निर्वाचन क्षेत्र नं ३ को सर्वदलीय बैठक सपन्न भइसकेको छ ।

    फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा कूल तीन लाख ५० हजार ३७१ जना मतदाता रहेका छन् ।

    यसैबीच बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी छनोट भएका छन् । जनपथतर्फ दुई हजार १८८ र सशस्त्र प्रहरीतर्फ ३०३ जना छनोट भएको जिल्ला प्रहररी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचन प्रहरीले सहयोग गर्ने छ ।

  • आजको मौसम : देशका विभिन्न भूभागमा वर्षा हुने सम्भावना

    आजको मौसम : देशका विभिन्न भूभागमा वर्षा हुने सम्भावना

    काठमाडौं । नेपालमा न्यूनचापीय प्रणालीको प्रभावका कारण हाल विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ ।

    महाशाखाका अनुसार बुधबार दिनभरि अधिकांश स्थानमा वर्षा गराउने सम्भावना रहेको छ । आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भू–भागमा साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    त्यस्तै उच्च पहाडी तथा हिमाली भू‍–भागका केही स्थानहरूमा मध्यम वर्षा र हिमपातको पनि सम्भावना रहेको छ ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यस्तै, बुधबार राति देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

    राति कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

  • दक्षिण कोरियाबाट अमेरिकामा आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

    दक्षिण कोरियाबाट अमेरिकामा आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट अमेरिका आयात हुने विभिन्न वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यसअघि ती वस्तुमा १५ प्रतिशत शुल्क लाग्दै आएको थियो ।

    सामाजिक सञ्जाल टुथ सोशल मार्फत निर्णय सार्वजनिक गर्दै ट्रम्पले दक्षिण कोरियाली संसद्ले अमेरिकी पक्षसँग गरिएको “ऐतिहासिक व्यापार सम्झौता” अनुमोदन नगरेको भन्दै शुल्क वृद्धि गरिएको बताएका छन् । “कोरियाली विधायिकाले हाम्रो ऐतिहासिक व्यापार सम्झौता पारित नगरेको कारण जुन उनीहरूको अधिकार हो, अब म दक्षिण कोरियाबाट आयात हुने गाडी, काठ, औषधि तथा अन्य सबै पारस्परिक ट्यारिफ १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत बनाउँदैछु,” ट्रम्पले लेखेका छन् । तर, संशोधित दर कहिलेदेखि लागू हुनेछ भन्ने स्पष्ट गरिएको छैन् ।

    दक्षिण कोरिया सन् २०२४ मा अमेरिकाको प्रमुख आयात साझेदारमध्ये एक रहँदै आएको छ । अमेरिकी वाणिज्य विभागका अनुसार गत वर्ष दक्षिण कोरियाले अमेरिकामा १३२ अर्ब अमेरिकी डलर बराबरका वस्तु निर्यात गरेको थियो । तीमध्ये गाडी तथा अटो पाट्र्स, सेमिकन्डक्टर र इलेक्ट्रोनिक्स प्रमुख हुन् । नयाँ शुल्कका कारण यी क्षेत्रमा मूल्य वृद्धि हुन सक्ने अनुमान गरिएको छ ।

    यो निर्णय गत जुलाईमा घोषणा गरिएको व्यापार सम्झौताबाट पछाडि फर्किएको कदमका रूपमा हेरिएको छ । उक्त सम्झौताअनुसार दक्षिण कोरियाबाट आयात हुने सामानमा समान १५ प्रतिशत ट्यारिफ लगाइने भनिएको थियो, जुन ट्रम्पले पहिले चेतावनी दिएका दरभन्दा १० प्रतिशत कम थियो ।

    सम्झौताका क्रममा ट्रम्पले दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब डलर बराबरको लगानी गर्ने सहमति जनाएको दाबी पनि गरेका थिए । जुन लगानी अमेरिकी स्वामित्व र नियन्त्रणमा रहने तथा राष्ट्रपति स्वयंले चयन गर्ने बताएका थिए । ट्रम्पको पछिल्लो निर्णय यसअघि कार्यान्वयन नभएका कम्तीमा तीनवटा ट्यारिफ चेतावनीपछि आएको हो । तीमध्ये क्यानडामाथि प्रस्तावित १० प्रतिशत शुल्क, ग्रिनल्याण्ड विषयमा युरोपेली राष्ट्रमाथि सम्भावित कर, तथा क्यानडामाथि शनिबार घोषणा गरिएको १०० प्रतिशत शुल्क पनि कार्यान्वयनमा आएनन् ।

    यसबीच ट्रम्पको व्यापारसम्बन्धी अधिकार कानुनी परीक्षणमा पनि परेको छ । अमेरिकी सर्वोच्च अदालतले कांग्रेसको स्वीकृति बिना ट्रम्पले लगाएका ट्यारिफविरुद्ध दायर मुद्दामा गत नोभेम्बरमा बहस सुनेको थियो । बहसका क्रममा केही न्यायाधीशहरूले राष्ट्रपति एक्लैले यस्ता शुल्क लगाउन सक्ने अधिकारबारे प्रश्न उठाएका थिए । मुद्दामा अदालतले हालसम्म अन्तिम फैसला सुनाएको छैन् ।

  • थारू कल्याणकारिणी सभाका आठ संस्थापक सम्मानित

    थारू कल्याणकारिणी सभाका आठ संस्थापक सम्मानित

    काठमाडौं । थारू कल्याणकारिणी सभा केन्द्रीय समितिले थारू कल्याणकारिणी सभा (थाकस)को स्थापना गराउन महत्वपूर्ण योगदान दिने ८ जना अग्रज व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।

    थाकसले आफ्नो ७७औँ स्थापना दिवस २०८२ को अवसरमा ८ जना अग्रज व्यक्तित्वहरूलाई मरोपरान्त सम्मान गरेको हो।

    सम्मानित हुनेहरूमा थाकसका संस्थापक स्व.अमर फौजदार (बारा), थाकसका प्रथम अध्यक्ष स्व.बलिबन्ठा थारू (रौतहट), थाकस संस्थापक महामन्त्री स्व.केवल चौधरी, थाकसका संस्थापक स्व.चिरञ्जीवि चौधरी (जसले राणा प्रधानमन्त्री मोहन शमशेरबाट थाकसको लागि लालमोहर लिएका व्यक्ति), थाकस सस्थापक स्व.राम प्रसाद राय (थारू), स्व चु.ल्लाइ थारू, स्व.महन्थराम चौधरी, स्व.हरिचरण चौधरी सस्थापक रहेका छन्।

    कार्यक्रममा थाकसका महामन्त्री प्रेमीलाल प्रसाद चौधरीले थाकसले सरकारसँग थारूका माग र मुद्दामा सधैं लिखित रुपमा खबरदारी गर्दै आएको बताए। उनले अब थारू कल्याणकारिणी सभाले युवाहरूलाई समेटेर अगाडि बढ्ने पनि बताए ।

    उनका अनुसार थारू कल्याणकारिणी सभाको आफ्नै भवन बनाउने तयारीमा लागिरहेको छ ।
    ‘हामी आफ्नै भवन बनाउने तयारीमा छौं। यसका लागि जग्गा खोज्ने कार्य भइरहेको छ,’ उनले भने । उनले सबैलाई यसमा हाते मालो गरेर सहयोग गर्न आग्रह समेत गरे।

    यस्तै वातावरण विज्ञ सुनिता चौधरीले आफ्नो समाजलाई जोड्न आवश्यक रहेको भन्दै युवाहरूलाई एकीकृत गराएर समाजमा जनजागृतिको भावना जगाउनु पर्ने बेला भइसकेका बताइन्।
    उनले भनिन्,‘अब थाकसमा जेनेरेशन ग्याप नहोस्, हामी युवाहरू समाज जोड्न चाहन्छौ। सबैलाई थाकसले एक भएर लैजान आग्रह गर्दछु।’

    यस्तै नेपाल आदिावासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष लक्की चौधरीले थाकसले आफ्नो इतिहास, वर्तमान र भविष्य युवाहरूको काँधमा जिम्मवारी दिनुपर्ने र लक्ष्यमा प्रस्ट हुनुपर्नेमा जोड दिए। ‘थाकसले सबै क्षेत्रलाई समेटेर लैजानुपर्नेछ । विधान अनुसार लक्ष्यमा पुग्ने कोसिस गर्नु जरूरी छ। सबै तहमा थाकसको विस्तार गरिनुपर्छ’ उनले सुझाव दिए।

    कार्यक्रममा थाकसका जिल्ला प्रतिनिधि, केन्द्रीय प्रतिनिधि, थारूका संघसंस्थाका प्रतिनिधिले शुभकामना दिएका थिए ।

  • मोटरसाइकल चोरी प्रयासमा संलग्न एक जना पक्राउ

    मोटरसाइकल चोरी प्रयासमा संलग्न एक जना पक्राउ

    काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न एक जनालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

    काठमाडौं महानगरपालिका–८ स्थित पिङ्गलास्थानबाट चोरीको मोटरसाइकलसहित ४१ वर्षीय बुद्धबहादुर सेढाईलाई सोमबार नियन्त्रणमा लिइएको हो।

    काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बालाजु बस्दै आएका सेढाईलाई पार्किङ स्थलबाट मोटरसाइकल चोरी गर्न लागेको अवस्थामा ट्राफिक प्रहरीले पक्राउ गरेको जनाएको छ।

    पक्राउ परेका सेढाईले चोरी गर्न लागेको बा ६६ प ४४३४ नम्बरको मोटरसाइकल पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–४ निवासी नागेश्वर साह कानुले हराएको भनी खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।

    मोटरसाइकलसहित नियन्त्रणमा लिइएका सेढाईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

    यसैबीच, प्रवक्ता सुवेदीले सवारी धनीलाई आफ्ना सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न अनुरोध गरेका छन् । साथै, मानिसको आवतजावत कम हुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न समेत उनले आग्रह गरे ।

    ट्राफिक प्रहरीले हराएका सवारी साधनको खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर जारी राखे पनि सवारी धनी स्वयं सजग हुनुपर्नेमा जोड दिएको छ।
    सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तुरुन्त सम्पर्क गरी सवारी साधनको विवरण दिन तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ।

  • मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

    मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ६५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १२ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ११ पैसा र बिक्रीदर २१ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ ।

    युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा तोकिएको छ ।

  • यी भू‍–भागमा हिमपात र वर्षाको सम्भावना

    यी भू‍–भागमा हिमपात र वर्षाको सम्भावना

    काठमाडौं । नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव हाल गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।

    हिमाली भू–भागमा आंशिक बादल लागी गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षा भैरहेको र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमाान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागी बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागको एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशको बाँकी भू‍–भागको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

    राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातसहित वर्षाको सम्भावना छ। बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ।

  • उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने

    उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ उम्मेदवारी दर्ता उत्साहजनक रूपमा सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत हालसम्म २ हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार दर्ता भएका उम्मेदवारमध्ये ३३६ जना महिला र २ हजार ५८९ जना पुरुष रहेका छन्। यस्तै अपाङ्गता भएका ८५ जना र पिछडिएको क्षेत्रबाट १३८ जना उम्मेदवार परेको जानकारी आयोगले दिएको छ। यसले निर्वाचन प्रक्रियामा समावेशिताको अभ्यास विस्तार हुँदै गएको संकेत गर्छ।

    निर्वाचन आयोगले आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था मिलाएको छ। आयोगले तय गरेको निर्वाचन तालिका अनुसार उजुरी परेपछि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गरिनेछ।

    यस्तै माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने र सोही दिन दिउँसो उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी साँझसम्म निर्वाचन चिह्न वितरण गरिने आयोगले जनाएको छ।

    मनोनयन दर्ता कार्यक्रम देशभर शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको भन्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल, उम्मेदवार र सुरक्षाकर्मीप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले आगामी निर्वाचन कार्यक्रमहरू पनि सबैको सहकार्यमा सफल हुने विश्वास व्यक्त गरेका छन्।

  • यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमय दर

    यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    जसअनुसार, आज अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८३ रुपैयाँ ९० पैसा र बिक्रीदर १८४ रुपैयाँ ६६ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ २७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७३ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८७ पैसा र बिक्रीदर २० रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ०२ पैसा निर्धारण गरेको छ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा तोकिएको छ।

    स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८० पैसा र बिक्रीदर २२ रुपैयाँ ९० पैसा, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

    राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ २० पैसा र बिक्रीदर ४७७ रुपैयाँ १७ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ९१ पैसा रहेको छ ।

    यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

  • कोशी र गण्डकी प्रदेशका प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना

    कोशी र गण्डकी प्रदेशका प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    जसका कारण कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ ।

    कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    यस्तै, आज राती तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ ।

    कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।