कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउँदै आएका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परिसरबाट नियन्त्रणमा लिएको हो।
वन निर्देशनालयमा कार्यरत भट्टविरुद्ध मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय कारोबार ऐनअन्तर्गत जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह खड्काले जानकारी दिए।
मन्त्रालयले सोधेको स्पष्टीकरण बुझाउन पुगेका बेला भट्टलाई प्रहरीले पक्राउ गरेको हो।
केही दिनअघि भट्टले एक अन्तर्वार्तामा मुख्यमन्त्री शाहले आफूसँग ५ लाख रुपैयाँ घुस मागेको र रकम दिन अस्वीकार गरेपछि पूर्वाग्राही भई सरुवा गरेको गम्भीर आरोप लगाएका थिए। हाल भट्टलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।









