Author: Nabin Bhattarai

  • हिमपात नहुँदा सिमकोटमा खानेपानीको अभाव

    हिमपात नहुँदा सिमकोटमा खानेपानीको अभाव

    हुम्ला । जिल्ला सदरमुकाम सिमकोट बजार तथा वरपरका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ । यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खानेपनीको अभाव भएको हो । सिमकोट तल्लो गाउँका बासिन्दा करिब तीन घण्टा हिँडेर पिनारा मूलबाट पानी ल्याउन बाध्य भएका स्थानीय बताउँछन् ।

    सिमकोट गाउँपालिका(४)बुराउँसेस्थित ठाँडाढुङ्गाको केउकेउ मूलबाट ल्याइएको पानी भण्डारण गर्ने ट्याङ्कीमा नभरिएपछि पानीको अभाव भएको स्थानीय नैनसिंह रावतले बताउनुभयो । नाम्खा गाउँपालिका(१) मा पर्ने ताङिन खोलाबाट बृहत् खानेपानी आयोजना सञ्चालनमा ल्याइए पनि उक्त ठाउँको बीचबीचमा बरफ जमेपछि पानीको सङ्कट देखा पर्न थालेको उहाँको भनाइ छ ।

    पहिलेपहिले करिब १० फिटसम्म हिमपात भए पनि खानेपानीको अभाव नहुने बताउँदै रावतले यस वर्ष खडेरीले गर्दा जिल्लाभरिका अधिकांश मूल सुक्न थालेकाले खानेपानीको समस्या भएको उल्लेख गर्नुभयो । रासस

  • ओलीलाई भेट्न गुण्डु गईन प्रधानमन्त्री सुशीला कार्की

    ओलीलाई भेट्न गुण्डु गईन प्रधानमन्त्री सुशीला कार्की

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज भक्तपुरको गुण्डुस्थित ओलीकै निवासमा प्रधानमन्त्री सुशीला कार्की पुगेकी छन् ।

    पिताको निधन पछि पितृ आशौच बारिरहेको ओलीलाई संवेदना दिनका लागि प्रधानमन्त्री कार्की र उनका श्रीमान प्रथम पुरुष दुर्गा सुवेदी गएका थिए ।

    आलीका बुबा महोन प्रसादको फागुन २९ गते ९७ बर्षको उम्मेरमा निधन भएको हो ।

  • अमेरिकाद्वारा इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा सैन्य आक्रमण

    अमेरिकाद्वारा इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा सैन्य आक्रमण

    अमेरिकी सेनाले हिजो राति इरानको मुख्य तेल निर्यात केन्द्र खार्ग टापुमा सैन्य आक्रमण गरेको दाबी गरेको छ । अमेरिकी केन्द्रीय सैन्य कमाण्डले आज सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएको हो ।

    अमेरिकी सेनाले खार्ग टापुमा रहेका ९० भन्दा बढी इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको सैन्य कमाण्डले दाबी गरेको छ । आक्रमणमा तेलसम्बन्धी संरचनालाई भने नोक्सानी नपुर्‍याई सुरक्षित राखिएको जनाएको छ ।

    उक्त आक्रमणबाट नौसैनिक बारुद भण्डारण स्थल, क्षेप्यास्त्र भण्डारण बंकर तथा अन्य धेरै सैन्य संरचनामा क्षति भएको जनाइएको छ । खार्ग टापु फारसको खाडीमा इरानको तटबाट झन्डै २५ किलोमिटर टाढा रहेको छ र यस टापुमार्फत करिब ९० प्रतिशत इरानको कच्चा तेल निर्यात हुने गर्दछ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै उक्त आक्रमणले सैन्य लक्ष्यहरूलाई ‘पूर्ण रूपमा नष्ट गरेको’ जनाएका छन् । उनले यदि हर्मुज जलडमरू हुँदै हुने जहाज आवागमन अवरुद्ध भए खार्ग टापुको तेल संरचनालाई पनि निशाना बनाइने चेतावनी दिएका छन् ।

    यसैबीच इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले इरानको तेल तथा ऊर्जा संरचनामाथि कुनै पनि आक्रमण भए त्यसको प्रतिशोधस्वरूप अमेरिकी कम्पनीसँग सम्बन्धित क्षेत्रीय संरचनाहरूमा प्रतिक्रिया दिइने चेतावनी दिनुभएको छ । रासस

  • पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    काठमाडौँ । नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमबाट सुरु भएको वर्षा विस्तारै पूर्वतार्फ सर्दै गएको हो ।

    विभागका सूचना अधिकारी दिनकर कायस्थले पश्चिम नेपालको डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ गुल्मी, कास्की, तनहुँ, पाल्पा, अर्घाखाँची, मनाङलगायत क्षेत्रमा आज बिहानैदेखि वर्षा भइरहेको जनाउँदै वर्षा गराउने उक्त प्रणाली अहिले चितवनसम्म आइपुगेको बताउनुभयो ।

    विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिमबाट सुरु भएको वर्षा पूर्वतर्फ सर्दै गएको जनाएको छ । पछिल्लो एक घण्टामा गुल्मीमा १७ र तनहुँमा ११ मिलिमिटर वर्षा भएको जनाउँदै कायस्थले अहिले पनि वर्षा भइरहेको उल्लेख गर्नुभयो ।

    हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको विभागका सूचना अधिकारी कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार हाल मधेस, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने कोसी र गण्डकी प्रदेशमा आंशिक बादल लागेको छ ।

    तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको विभागले जनाएको छ । विभागद्वारा आज जारी मौसमसम्बन्धी बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशसहित कोसी र बागमती प्रदेशकापहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ ।

    देशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनुका साथै थोरै क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागका सूचना अधिकारी कायस्थले जानकारी दिनुभयो ।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अझै केही दिन बदली कायम रहनेछ ।

  • तोरी उत्पादन घट्यो चितवनमा

    तोरी उत्पादन घट्यो चितवनमा

    चितवन । चितवन जिल्लामा लगाइएको तोरीको उत्पादनमा कमी आएको छ । अघिल्लो वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्व समेत घटेको छ । कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्ष प्रतिहेक्टर १.३१ मेट्रिक टन भएको उत्पादकत्व यस वर्ष १.०१ मा झरेको छ ।

    अघिल्लो वर्ष जिल्लामा १८ हजार ५६५ मेट्रिक टन तोरी उत्पादन भएकामा यस वर्ष १४ हजार ३१५ मेट्रिक टन उत्पादन भएको छ। पौडेलका अनुसार फूल फुल्ने समयमा हुस्सु, तुसारो लाग्नु र बेमौसमी पानी पर्नु को कारण तोरी उत्पादनमा कमी आएको हो ।

    नेपालमा तोरी उत्पादनका लागि प्रमुख जिल्लाका रूपमा चितवनलाई लिइँदै आएको छ। हाल चितवनमा १४ हजार १७३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदै आइएको छ। नगदे बालीमा पछिल्ला वर्षहरूमा किसानको आकर्षण बढेसँगै तोरी लगाउने किसान पनि वृद्धि भएका हुन् ।

    विशेषगरी जङ्गली जनावरहरुले तोरीमा नोक्सानी नपुर्याउने भएकाले यसतर्फ किसानको रुची बढेको पौडेलको भनाइ छ ।

  • फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो ।

    पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले पाथीभरामा रु ३१ लाख १० हजार भेटी चढाएका छन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्ने गरेका छन् । सङ्कलित भेटीलाई सुरक्षित रूपमा पोकामा लाहाछाप लगाई मन्दिर परिसरबाट फेदीसम्म ल्याइन्छ ।

    फेदीमा करिब एक सातासम्म सङ्कलन भएको भेटीलाई त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा ल्याइन्छ । कार्यालयमा दैनिक रूपमा प्रहरी तथा सिसीटिभीको निगरानीमा भेटी गणना गरी बैंकमा जम्मा गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ ।

    सार्वजनिक गरिएको तथ्याङ्कअनुसार फागुनमा १८ हजार ६५२ जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर पुगेका छन् । प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको पाथीभरामा वर्षभरि देश तथा विदेशबाट हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् ।

  • गोरखा माइक्रोबस दुर्घटनाः ७ जना भारतीयको मृत्यु

    गोरखा माइक्रोबस दुर्घटनाः ७ जना भारतीयको मृत्यु

    गोरखा । सहिद लखन गाउँपालिका–३ कान्टारमा शनिबार भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाको मृतकको पहिचान खुलेको छ । बा.प्र.०१–००६ ख ८४३० नम्बरको सो माइक्रोबसमा मनकामना दर्शन गरेर फर्कँदै गरेका यात्रु सवार रहेका थिए ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख भरतबहादुर विकका अनुसार दुर्घटनामा परी निधन हुने सात जना भारतीय नागरिक छन् । भारतका करिब ५८ वर्षीय मुतु कुमार, ५८ वर्षकै अनामलिक, ५९ वर्षकी मीनाक्षी, ५३ का सिवगामी, ५७ वर्षका विजायल, ५८ वर्षकी मीना र ६० वर्षका तमिलारसीको घटनास्थलमा नै मृत्यु भएको छ ।

    मनकामना दर्शन गरेर फर्केका १६ जना भक्तजन सवार विद्युतीय माइक्रोबस दुर्घटनामा परेको हो । सडकखण्डबाट करिब २०० मिटर तल खसेको माइक्रोको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने जनाइको छ । प्रहरी प्रमुख विकका अनुसार घटनाका घाइतेलाई उद्धार गरी थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन लगिएको छ । ६२ वर्षका सोरनम, ६५ वर्षका मङ्गदा जलम, ७५ वर्षकी सुभाद्रा, ६५ वर्पकी मायाल, ७३ वर्षकी सरोजा, ७५ वर्षकी भाग्यलक्ष्मी र ३४ वर्षकी मीनाक्षीको उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    चालक लमजुङको बेँसीसहर नगरपालिका–१ का ४६ वर्षका पुष्प मल्ल ठकुरी सकुशल छन् भने सहचालक बेँसीसहर नगरपालिका–३ का २९ वर्षका सन्तोष गुरुङ घाइते छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

  • एमाले सचिवालय बैठक: १६ समानुपातिक उम्मेदवारको नाम सिफारिस (सूचीसहित)

    एमाले सचिवालय बैठक: १६ समानुपातिक उम्मेदवारको नाम सिफारिस (सूचीसहित)

    काठमाडौँ । नेकपा (एमाले) ले आगामी निर्वाचनका लागि समानुपातिकतर्फका १६ जना उम्मेदवारहरूको नामावली अन्तिम टुङ्गो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालयको बैठकले विभिन्न क्लस्टरका आधारमा उम्मेदवारहरूको नाम चयन गरी निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको हो।

    ​पार्टी अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहनुभएको कारण उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले उक्त नामावलीलाई वैधानिकता दिएको हो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै उपमहासचिव लेखराज भट्टले समावेशी सिद्धान्त र निर्वाचन आयोगको क्लस्टर अनुसार नामहरू तय गरिएको बताउनुभयो।

    विभिन्न क्लस्टरबाट सिफारिस भएका उम्मेदवारहरू:

    ​पार्टीले आदिवासी जनजाति, खस-आर्य, मधेसी, दलित, थारु र मुस्लिम समुदायको प्रतिनिधित्व हुने गरी नामहरू पठाएको छ:

    • आदिवासी जनजाति: भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य।
    • खस-आर्य: पद्मा अर्याल, टुकाभद्रा हमाल, गुरुप्रसाद बराल, पुष्पराज कँडेल र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र र अपाङ्गता सहित)।
    • थारु: कृपाराम राणा।
    • दलित: विष्णुमाया विक र निता घतानी।
    • मधेसी: रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल।
    • मुस्लिम: साजिदा सिद्धिकी।

    शोक प्रस्ताव पारित

    सचिवालयको चौथो बैठकले समानुपातिक उम्मेदवारको निर्णय गर्नुका साथै अध्यक्ष केपी शर्मा ओलीका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ। शोकका कारण अध्यक्ष ओली बैठकमा अनुपस्थित रहनुभएको थियो।

    ​उपमहासचिव भट्टका अनुसार, पार्टीले निर्वाचन आयोगको प्राविधिक आवश्यकता र क्लस्टर मिलाएर यी १६ जनाको नाम आधिकारिक रूपमा आयोगमा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको छ।

  • रवी लामिछाने र प्रचण्डले गरे फोनमा संवाद

    रवी लामिछाने र प्रचण्डले गरे फोनमा संवाद

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टि का सभापति रवि लामिछाने बीच फोनमा वार्ता भएको छ ।

    भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले निकै राम्रो नतिजा प्राप्त गरेपछि बधाई दिनका लागि प्रचण्डले लामिछानेलाई फोन गरेको कुरा प्रचन्डको सचिवालयले बताएको छ ।

    फोनमा अलि अगाडिनै कुरा भएको हो त्यसमा चुनावी नतिजालाई लिएर दुवै शीर्षस्थ नेताबीच फोनमा कुराकानी भएको हो भनेर प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

  • प्रकाश सपुतले बागलुङमा चुनावी अभियान सुरु गरे

    प्रकाश सपुतले बागलुङमा चुनावी अभियान सुरु गरे

    काठमाडौँ :
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीबाट उम्मेदवार बनेका कलाकार प्रकाश सपुतले आफ्नो गृह जिल्लामा चुनावी अभियान सुरु गरेका छन् ।

    सपुतले शनिबार बागलुङ बजार, काठेखोला गाउँपालिका–३, धम्जा र अन्य वडामा घरदैलो र वडा भेला गरेर मतदातासँग भेटघाट गरे । उनले सर्वसिद्धिधाम पञ्चकोटको दर्शन गरी शुभकामना लिएका थिए ।

    सपुतका अनुसार उनले आफुले आर्दश मान्ने स्थानीय नेताहरु विरुद्ध पनि चुनावी अभियान सञ्चालन गरेका छन् । यसले मतदातामा उत्साह जगाएको बताइएको छ ।

    बागलुङ–१ र बागलुङ–२ क्षेत्रमा प्रत्यक्ष र समानुपतिक उम्मेदवारको भिडभाड छ । सपुतले रास्वपाको समानुपातिक उम्मेदवारको रुपमा मत माग्दै देशव्यापी अभियाानको तयारी पनि गर्दैछन् ।

    उहाँको चुनावी यात्रा घरदैलो, भेला, धार्मिक स्थल भ्रमण र सामाजिक सञ्जालमार्फत फैलाउने शैलीमा भइरहेको छ । रास्वपा बागलुङका अध्यक्ष महेन्द्र खड्काका अनुसार सपुतको उपस्थितिले मतदातामा सकारात्मक प्रभाव परेको छ ।