Blog

  • ‘बिरामीलाई अस्पताल लैजाने मानिस पनि पाउन मुस्किल पर्न थाल्यो’

    ‘बिरामीलाई अस्पताल लैजाने मानिस पनि पाउन मुस्किल पर्न थाल्यो’

    ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–५ करलिम गाउँ बसाइँसराइले गर्दा सुनसान बनेको छ । छरछिमेक र आफन्त बसाइँ सरेर बजार झरेपछि अहिले गाउँमा रहेका पनि निराश छन् । बसाइँ नसरेकाले पनि आफ्नो परिवारलाई सहर बजारमा राखेका छन् । युवा शक्ति विदेश हुँदा गाउँमा बूढापाकाबाहेक अन्यलाई भेट्याउन सकिन्न ।

    काठेखोला जिल्लामै धेरै बसाइँसराइ गर्ने ठाउँ हो । यहाँका अधिकांश युवा, जापान, कोरिया र अष्ट्रेलियामा छन् भने उनीहरुको परिवार बागलुङ, पोखरा, काठमाडौँ र चिवतन बसाई सरेका छन् । बसाइँसराइले गाउँमा हरेक वृद्धवृद्धालाई बिरामी हुँदा अस्पतालसम्म पुर्‍याउने मान्छे समय–समयमा समस्या पर्ने गरेको छ । गाउँघर झाडीले ढाकिन थालेपछि वन्यजन्तको समस्या बढ्दै गएको छ । यसले स्थानीय त्रसित बनेका छन् । गाउँमा वृद्धवृद्धा र महिला मात्रै रहेको हुँदा हिँडडुल गर्न पनि डर हुने स्थानीय मैना सुवेदीले गुनासो गरिन् । श्रमशक्तिको अभावमा खेतीबारीमा खेती गर्नसमेत छोडिएको उनले बताइन्।

    उनले भनिन्, “मान्छेहरु सबै बजार झरे, गाउँमा बस्नै छोडे, पहिले कति रमाइलो थियो यो ठाउँ अहिले वीरक्त लाग्ने भएको छ, यहाँ वरपरका सबै घर खाली छन्, अर्मपर्म गरेर खेतीपाती गर्नलाई मान्छे पाइँदैनन्, पहिले मुरीका मुरी धान, मकै, कादो फल्ने बारीमा अहिले वनमारा पलाएको छ ।”

    स्थानीय चिरञ्जीवी कँडेलले राज्यले बसाइँसराइलाई व्यवस्थापन गर्नुपर्ने बताए । बसाइँसराइ गरेर जानेर घर खाली राख्न नपाइने नीति ल्याउनुपर्ने उहाँको भनाइ छ । अहिले गाउँमा निस्किने बाटोसमेत वनमारा र झाडीले पुरिएको कँडेल बताउँछन् । पहिलेको तुलनामा धेरै विकास भए पनि बसाइँसराइ नरोकिएको उनको भनाइ छ ।

    युवा शक्ति विदेश पालयन भएका छन् । गाउँका हुने खानेहरु सेवा सुविधाको खोजी गर्दै बसाइँसराइ गरेर बजार झरेपछि गाउँमा न्यून वर्गका मानिसहरु मात्रै छ । स्थानीय सरकारले नागरिकका आधारभूत आवश्यकतालाई पूरा गर्दै गए पनि बसाइँसराइ रोकिएको छैन । काठेखोलाको करलिम मात्र होइन जिल्लाको अन्य धेरै ठाउँबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । जसले ग्रामीण क्षेत्र सुनसान भएका छन् ।

    काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बसाइँसराइ रोक्नका लागि नागरिकलाई उद्यमसँग जोड्ने र व्यावसायिक बनाउने खालका कार्यक्रम ल्याएको बताए । धेरैजसो गुणस्तरीय स्वास्थ्य र शिक्षाका लागि बसाइँसराइ गरेको भन्दै पालिकाले अहिले ती क्षेत्रमा लगानी गरिरहेको उनको भनाइ छ । गाउँमै बस्ने वातावरण तयार गर्नका लागि आफूहरु गम्भीर भएर लागेको उपाध्यक्ष थापाले बताइन् ।

  • म्याग्दीको दुर्गम क्षेत्र चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण

    म्याग्दीको दुर्गम क्षेत्र चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण


    रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ८३ वर्षीय लबहादुर पुन गाउँमा स्वास्थ्यचौकी भवन बनेपछि खुसी हुनुहुन्छ । गाउँमा पुरानो र साँघुरो भवनबाट सेवा लिँदै आएकोमा पक्की सुविधा सम्पन्न भवन बनेपछि सेवा लिन सहज हुने पुनको भनाइ छ । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएपछि स्थानीयले खुसियाली मनाएका छन् । गाउँपालिका र सङ्घीय सरकारको रु एक करोड ७९ लाख ३९ हजार ३२ लागतमा दुईतले सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएको हो ।

    भवन निर्माण भएर सेवा सञ्चालनको उपलक्ष्यमा स्थानीयले नौमती बाजासहित नाचगान गरेर खुसियाली मनाएका हुन् । नयाँ भवनबाट सरल र सहजरुपमा स्वास्थ्योपचार सेवा लिन सुविधा पुगेको स्थानीय ६४ वर्षीय मनिराम पुनले बताउनुभयो ।

    चिमखोलाको मलाङमा स्थानीयको रु १० लाख र रघुगङ्गा गाउँपालिकाको रु १० लाख बजेटमा पाँच रोपनी जग्गा खरिद गर्ने र सम्माएर व्यवस्थापन गर्ने काम गरिएको थियो । भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले आवश्यक सामग्रीको बन्दोबस्त गरी नवनिर्मित भवनबाट सेवा शुभारम्म गरिएको बताउनुभयो ।
    उहाँले भवनमा थप औजार उपकरण र औषधिको उपलब्धता गराएर स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको समेत सेवा विस्तार गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

    भवन बनाउन रघुगङ्गा गाउँपालिकाले रु एक करोड पाँच लाख ४० हजार चार सय ४२ र सङ्घीय सरकारको विशेष अनुदानबाट रु ७३ लाख ९८ हजार पाँच सय ९० लगानी भएको छ । आर्थिक वर्ष २०७८÷७९ देखि निर्माण सुरु भएको स्वास्थ्यचौकी भवन दुई चरणमा ठेक्का लगाएर निर्माण गरिएको हो । भवनको तला थप गर्न र भवनको सम्पूर्ण निर्माण सम्पन्न गर्न भगवती÷मालिका निर्माण कन्ट्रक्सनले ठेक्का लिएको थियो भने स्थानीय निर्माण व्यवसायी प्रदीप पाइजाले कामको जिम्मा लिएर निर्माण सम्पन्न गर्नुभएको हो । उद्घाटन समारोहमा निर्माण कम्पनीका प्रतिनिधि विजय भट्टचनाले स्वास्थ्यचौकी भवनको चाबी गाउँपालिका अध्यक्ष भण्डारीलाई हस्तान्तरण गर्नुभएको छ ।

    भवनमा बिरामी चेकजाँच, बर्थिङ सेन्टर, औषधि भण्डारण, कर्मचारी आवासलगायतको लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । भवनको सुरक्षाको लागि पर्खाल निर्माण, तारबार, रङरोगनसँगै विद्युत्, खानेपानी जडान गरिएको छ । खुला ठाउँ र फराकिलो कोठाहरु रहेकाले बिरामीको चेकजाँच गर्न र सेवाग्राहीलाई समेत सहजरुपमा स्वास्थ्य सेवा लिने सुविधा पुगेको स्वास्थ्यचौकीका प्रमुख हिस्टुरी पाइजाले जानकारी दिनुभयो ।

    नवनिर्मित स्वास्थ्यचौकी भवनमा बर्थिङ सेन्टरसँगै गुणस्तरीय स्वास्थ्य सेवा प्रदानको लागि आवश्यक सामग्री, उपकरण तथा जनशक्तिको व्यवस्थापन गर्ने वडा कार्यालयको तयारी छ । विभिन्न टोल बस्तीमा छरिएको चिमखोलामा नागरिकलाई सरल र सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि यसअघि चिमखोलाको पात्लेखेतमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिसकिएको छ भने नामेला बस्तीमा समेत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न लागिएको वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिनुभयो ।

    रघुगङ्गा गाउँपालिकामा वडा नम्बर १ बेगबाहेकका सबै वडामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । भौगोलिक विकटता रहेको र स्वास्थ्यचौकीमा पुगेर सेवा लिन घन्टौँ हिँड्नु्पर्ने ठाउँका नागरिका लागि गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिरहेको छ ।

  • एनपिएलः जनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित

    एनपिएलः जनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित

    नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गर्दै जनकपुरले तेस्रो जित निकालेको हो ।

    पोखरा एभेञ्जर्सले जितका लागि दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७ दशमलव एक ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको हो । जनकपुरले यसअघि विराटनगर किङ्ग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो
    जनकपुरको जितमा लाहिरु मिलन्थाले सर्वाधिक ४५ रन बनाए । यस्तै, आशिफ सेखले ३२, अनिल शाहले एक रन बनाउँदा अविजित रहँदै जम्स निशमले ४० र हर्ष ठाकरले १३ रन जोडे ।

    बलिङतर्फ पोखराका कप्तान कुशल भुर्तेल, माइकल लिस्क र विपीन खत्रीले समान एक/एक विकेट लिए ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३८ रन बनाएको थियो । पोखराका लागि मार्कस क्रिचले सर्वाधिक ३५ रन बनाए । माइकल लिस्कले २५, एन्ड्रिज गौसले २०, रेमन रेफरले १७ र दिलीप नाथले ११ रनको योगदान दिए । साथै दिनेश खरेलले १०, कप्तान कुशल भुर्तेलले छ रन जोडे भने अविजित रहँदै नारायण जोशीले पाँच र विपिन खत्रीले एक रन बनाए ।

    जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै, जेम्स निशमले दुई, मोहम्मद मोहसिन र किशोर महतोले समान एक/एक विकेट लिए ।

    जारी एनपिएलमा पोखरा एभेन्जर्सको यो दोस्रो हार हो । यसअघि पोखरालाई चितवनले ८७ रनको फराकिलो अन्तरले हराएको थियो ।

  • उपनिर्वाचनको उत्साहपूर्ण परिणामले ८४ मा एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार गरेको माओवादी केन्द्रको निष्कर्ष

    उपनिर्वाचनको उत्साहपूर्ण परिणामले ८४ मा एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार गरेको माओवादी केन्द्रको निष्कर्ष


    काठमाडौं, २० मंसिर । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासी खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

    ‘आजको बैठमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । जितेका सिट संख्या र लोकप्रिय जनमत दुबै हिसाबले प्राप्त परिणामलाई उत्साहजन भएको निष्कर्ष निकालिएको छ’– बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भन्नुभयो– ‘यसले अब आगामी निर्वाचनमा आफ्नै एजेण्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष हो ।’

    यसअघि पार्टीले जितेका रुकुमपूर्वको पुथाउत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई माओवादी केन्द्रले उपलब्धिको रुपमा लिएको छ । भएभरका सबै दलहरु मिलेर गठबन्धन गर्दा पनि रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा भारी मन्तान्तरले विजयी हुनु, त्यहाँको वडामा निर्विरोध हुनु, जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट, उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडाहरु लगायतका ठाउँमा भारी मतान्तरले विजयी हुनु, पहिले तेस्रोमा पनि निकै कमजोर स्थितिमा रहेको काठमाडौंको कीर्तिपुरमा नगरपालिका सहित १२ ठाउँमा उल्लेख्य मतसहित दोस्रो हुनु आदिलाई पार्टीले जनतामा माओवादीप्रति बढेको विश्वास र उत्साहको रुपमा लिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । कीर्तिपुरमा दोस्रो भए पनि यसलाई जनता र कार्यकर्ताले जीतकै रुपमा लिएको उहाँले बताउनुभयो ।

    ‘विगतमा जनतासँगको सम्बन्ध थप प्रगाढ बनाउन नसक्नुमा हाम्रो केही गल्ती कमजोरी भएकै हो, पार्टी र जनता दुबैको कुरा मिल्दै गएको छ’– उहाँले भन्नुभयो– ‘हाम्रो पार्टीले पनि जनतासँग सम्बन्ध प्रगाढ बनाउन नसक्नुलाई कमजोरीको रुपमा लिंदै आफ्नो वर्गप्रति फर्कने अभियान सुरु गरेको छ भने जनताले पनि हाम्रो हितमा काम गर्ने पार्टी त माओवादी नै रहेछ भनेर पुनः बोध गर्न थालेका छन्, अहिले उपनिर्वाचनको सफलताको अर्थ पनि योसँगै जोडिएको छ ।’

    पार्टीले केन्द्रीय कार्यालय र स्थायी समिति बैठकहुँदै देशब्यापी परामर्श बैठकमार्फत लिएको पहलकदमी र सबै नेता कार्यकर्ताहरु एकताबद्ध भएर खटिंदा नै उपनिर्वाचनबाट यो परिणाम प्राप्त भएको उल्लेख गर्दै प्रवक्ता सापकोटाले भन्नुभयो– ‘यो उपनिर्वाचनले वृहत बामपंथी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनका लागि हामीलाई थप आधार दिएको छ । अब यही २७ गते स्थायी समिति र त्यसपछि केन्द्रीय समिति बैठक बस्दैछ, त्यहाँ पनि समीक्षा हुनेछ । जिल्ला र प्रदेशहरुबाट पनि समीक्षा रिपार्ट आइरहेका छन् । हाम्रो प्रारम्भिक समीक्षाले परिणामलाई उत्साहवर्धन भनेको छ ।’

    बैठकले पार्टीका पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभाहरुलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । खबरदारी सभाका लागि केन्द्रीय नेताहरुलाई पालिकास्तरमा खटाउने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

    समसामयिक विषयमा छलफल गर्दै बैठकले सरकारको प्रभावकारिता शून्य अवस्थामा रहेको निष्कर्ष निकाले छ । तर, पनि आफ्नो पार्टी सरकार फेरबदलका लागि चासो नदिने पुरानै निर्णयमा अडिग रहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । ‘हाम्रो अध्यक्षले स्पष्टरुपमा भनिरहनुभएको छ, अहिले हामी सरकार फेरबदलमा लाग्दैनौं बरु ८४ सम्म नै यही सरकार जाओस् भन्नेमा हाम्रो जोड छ’– उहाँले भन्नुभयो– ‘जसरी सरकारले सेवा प्रवाह र सुशासनको पक्षमा कमजोरी प्रस्तुति देखाइरहेको छ, यही बहानामा अराजकतावादीहरुले थप अस्थिरता निम्त्याउन नपाउन् भनेर पनि हाम्रो पार्टी ८४ सम्म यही सरकार जाओस् भन्ने चाहन्छ ।’

    माओवादी केन्द्रले विद्युत प्राधिकरणमा सरकारले गरिहेको हस्तक्षेपको बिरोध गरेको छ । ‘जसरी प्राधिकरणले महसुस उठाउन जोड दिइरहेको छ, यसलाई रोक्न इतिहासमा कहिल्यै नभएको अनौठो गरी विद्युत प्राधिकरणमै मन्त्रीले कार्यकक्ष खोलेर प्राधिकरणका काममा अवरोध गर्ने काम भएको छ, यसमा हाम्रो सशक्त बिरोध हुनेछ’– प्रवक्ता सापकाटोले भन्नुभयो– ‘सरकारले बिचौलिया र भ्रष्टाचारीहरुलाई जोगाउने काम गरिरहेको छ, यसका विरुद्ध व्यवस्थित रुपमा खबरदारी गर्ने पार्टीले निर्णय गरेको छ ।’ आगामी स्थायी समिति र केन्द्रीय समिति बैठकमा विहंगम छलफल गरेर कार्यक्रमिकरुपमा नै अघि बढ्ने उहाँले जानकारी दिनुभयो 

  • ठेला व्यापारबाट मासिक ४० हजार आम्दानी

    ठेला व्यापारबाट मासिक ४० हजार आम्दानी


    अमरगढी (डडेल्धुरा), २० मङ्सिरः काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन् । बाइस वर्षीया पूजा बोहराले ठेलामा व्यापार गरेर मासिक रु ४० हजार आर्जन हुने गरेको राससलाई बताउनुभयो ।

    अमरगढी नगरपालिका–२ नयाँ बस्तीकी पूजाले ठेलामा मोमो, चाउमिन, पकौडा, पानीपुरी चटपटे र छोइला बेचेर मासिक रु ४० हजार आर्जन गर्र्दैै आउनुभएको हो ।

    मध्यम वर्गीय परिवारमा जन्मिएकी पूजाले धेरै हण्डर र ठक्कर खाएर यो अवस्थामा पुगेको बताउनुभयो । सत्र वर्षको उमेरमा बिहे गर्नुभएकी उहाँले चार वर्ष धेरै सङ्घर्ष गर्नुभयो । छ महिना यता ठेलामा व्यापार थाल्नुभएकी उहाँ दैनिक १२ घण्टा काम गर्नुहुन्छ । उहाँको मासिक आम्दानी घरखर्चमा मात्र सकिँदैन उहाँले बचत पनि गर्नुभएको छ ।

    श्रीमान्ले अरु सबै कुरामा साथ र सहयोग गरे पनि यो ठेलामा भने उहाँ बिहानदेखि साँझसम्म एक्लै हुनुहुन्छ । सबै सामान आफँैले जुटाउनुहुन्छ । अनि सबै परिकार आफैँ बनाउन उहाँलाई दिनभर भ्याइनभ्याइ हुन्छ । महिलाहरु चुलोचौकोमै सीमित हुँदा आर्थिक सामाजिक र राजनीतिकरुपमा पछि परेका उहाँको बुझाइ छ ।

  • प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

    प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

    बेइजिङ, २० मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी यहाँबाट काठमाडौँको निम्ति प्रस्थान गर्नुभएको छ ।

    प्रधानमन्त्री ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङ तथा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीलगायत यहाँस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरुले बिदाइ गर्नुभयो ।

  • मार्ग शीर्ष कृष्ण चतुर्दशीः शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै

    मार्ग शीर्ष कृष्ण चतुर्दशीः शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै

    काठमाडौँ, १५ मङ्सिरः मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ ।

    पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतबीज छर्ने काम समापन गरिने पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको शतबीजारोपण मार्गमा उल्लेख छ । 

    रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै वाग्मती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । 

    यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका छन् । शुक्रबार रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् । 

    प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको शुक्रबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा बिहीबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति छ ।

    आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीको शुक्रबार राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् । 

    शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु-याउन अनुरोध गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम शतबीज भन्नाले हेमाद्री नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन भन्नुहुन्छ । 

    “भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ,” उहाँले भन्नुभयो । 

    वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ । 

    यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि प्रसिद्ध छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए । 

    त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्फत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ । 

    आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो । 

    माता, पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नुनहुने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नाम समेत लिनु नहुने उल्लेख गरिएको छ । तर कुल परम्परा अनुसार कति भक्तजन भने शुक्रबार पनि बरखी बारेकै अवस्थामा पशुपतिनाथमा आएर बत्ती बालेका छन् । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ ।

  • एनपीएलको उद्द्घाटन आज

    एनपीएलको उद्द्घाटन आज

    नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।

    स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो । त्यसो त दुलही झैँ सिङ्गारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा पनि उत्तिकै छ ।

    त्रिवि मैदानमा कैयौँ खेल भए तर यसपटक भने आम दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ । यसले खेलाडी टिम र खेलप्रेमी दर्शकलाई त्रिवि मैदानमा ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ । यही मङ्सिर १२ गते नै टिकट बुक गरिसकेका इमाडोल निवासी रमण थापाले त्रिवि मैदानमा चर्चित विदेशी खेलाडीको खेल हेर्न आफू निकै आतुर रहेको बताए ।

    त्यसो त एनपिएलमा विश्वचर्चित स्टार खेलाडीको सहभागिताले पनि प्रतियोगिता थप रोमाञ्चक हुने आशा गरिएको छ । विश्वचर्चित भारतीय खेलाडी शिखर धवनको आमगनले पनि नेपाली क्रिकेट खेलमा थप उत्साह थपिएको हो ।

    न्यूजिल्याण्डका मार्टिल गप्टिलजस्ता स्टार खेलाडी पहिलो पटक नेपालमा लिग खेल्न आउँदैछन् । त्यसमा जिम्मी निसम र बेन कटिङ जस्ता टी–२०का स्टार खेलाडीको सहभागिताले पनि एनपिएल निकै चर्चामा आएको हो ।

    विश्वचर्चित खेलाडीसँगै एनपिएलमा लगानीकर्ता टोलीले पनि खेलाडीमा खर्च गर्न कुनै कन्जुस्याँई गरेको देखिँदैन । फ्रेन्चाइज टिम किन्नकै लागि करिब रु तीन करोड माथीसम्म खर्च गरेको छ ।

    पोखरा एभेन्जर्सले करिब रु तीन करोड ५७ लाखमा फ्रेन्चाइज किनेको थियो । यस्तै कम खर्च गर्नेले पनि कम्तीमा रु एक करोडभन्दा माथि रकम फ्रेन्चाइज फि तिरेको छ । एनपिएलको अर्को आकर्षण भनेको खेलाडीले कार पाउनु पनि हो । नेपाली क्रिकेट इतिहामा खेलाडीले खेलेरै कार पाउने यो पहिलो पटक हुनेछ । क्यानका अनुसार प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीले एक थान कार पुरस्कार प्राप्त गर्नेछन् ।

    त्यस्तै क्यानले प्रतियोगिताको विजेता टोलीलाई ठूलै नगद पुरस्कार दिने भनिएता पनि हालसम्म के कति पुरस्कार दिने भन्ने विषयमा खुलाएको छैन । आजको उद्घाटनमा खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

    जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् ।

    उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् । जनकपुरले एनपिएलको उपाधि जित्ने लक्ष्यका साथ न्यूजिल्यान्डका चर्चित खेलाडीदेखि पाकिस्तान र अमेकिाका अनुभवी खेलाडीलाई भित्र्याउन सफल भएको छ ।

    जसमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ग्ल्याण्डका अलराउण्डर बेन माइक छन् । जनकपुर टोलीको मुख्य प्रशिक्षकमा भने राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके छन् ।

    जनकपुरका कप्तान अनिल शाहले आफनो टोलीको तयारीसँगै अभ्यास खेल पनि खेलेको र टोली सन्तुलित रहेको भन्दै टिम जित्नकै लागि मैदानमा उत्रिने बताए । विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् ।

    विश्वभरका फ्रेन्चाइज लिगकोे अनुभव बटुलेका कप्तान लामिछानेले विभिन्न देशमा फ्रेन्चाइज खेल्दा आफ्नो देशमा पनि विश्वका स्टारसहित राम्रो फ्रेन्चाइज लिग होस् भन्ने चाहना पूरा हुन लाग्दा खुसी लागेको बताउँदै जनकपुरविरुद्धको पहिलो खेलबाटै जित निकाल्ने गरी मैदानमा उत्रिने बताए।

    विराटनगरमा कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् ।

    विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् ।

    टोलीको प्रशिक्षकमा केभिन ओब्राइन छन् । उक्त खेलको प्रत्यक्ष प्रशारण विश्वका ठूला प्रतियोगिता र लिग प्रशारण हुने ‘स्टार स्पोर्ट्स’ च्यानलमा हुनेछ ।

  • The 300 GB Cricket Dhamaka Pack is available from Nepal Telecom at Rs 699.

    The 300 GB Cricket Dhamaka Pack is available from Nepal Telecom at Rs 699.

    Kathmandu.

    In celebration of the much-awaited Nepal Premiere League (NPL) 2024 competition, Nepal Telecom (Ntc) has introduced the “NT Cricket Dhamaka” bundle, which comes with up to 300 GB of data. The bundle certainly allows fans to watch matches or keep up with the scores online as the NPL T20 championship gets underway on Saturday, November 30. Here, we go over the price, validity, and details of every NTC cricket pack.

    At a Meet and Greet event with the Sudurpaschim Royals on 2081/08/13 at the Hotel Radisson, Lazimpat, the company launched the high-volume cricket packs.


    Mr. Swatantra Pratap Shah, the head of the Sudurpaschim Royals, and Mrs. Sangita Pahadi, the managing director of NT, together unveiled the NT Cricket Dhamaka Pack.

    Mrs. Pahadi said at the event that the pack allows cricket fans to watch the matches on their own devices and meets their need for the game.

  • पशुपतिमा पितृको नाममा बत्ती बाल्ने दिन आज

    पशुपतिमा पितृको नाममा बत्ती बाल्ने दिन आज

    मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति मन्दिर परिसरमा पितृका नाममा बत्ती बाल्नेको भीड लागेको छ । बालाचतुर्दशीको अघिल्लो रात (आज शुक्रबार) दिवङ्गत पितृका नाममा दीपदान गर्न भक्तजनहरु पशुपतिनाथ परिसरमा पुगेर रातभर जाग्राम बस्ने गर्दछन् ।

    आज दीपदान गरेर रातभर जाग्राम बस्ने भक्तजनले शनिबार बिहान बत्ती बागमतीमा सेलाएर पितृको सम्झनामा शतबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएको) शतबीज छर्दछन् । बत्ती बालेर रातभर जाग्राम बसी शतबीज छर्दा पितृले सद्गति पाउने विश्वास गरिन्छ ।

    विशेषगरि शतबीज १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा छर्ने गरिन्छ ।

    आज बत्ती कुर्न बस्नेहरुले बालन, भजन र दोहोरी गीतहरु गाउने गर्दछन् । पशुपतिमा बत्ती बाल्ने र शतबीज छर्ने कार्यका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।