काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा र मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
कर्णाली प्रदेशमा रहेका खर्क (गोठ) व्यवस्थापन गरी मनग्य आम्दानी लिन सकिनेगरी रणनीति तयार गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । विशेषगरी प्रदेशका हिमाली जिल्लाका खर्कको व्यवस्थापन र संरक्षण गरी आम्दानी लिनेगरी रणनीति तयार गर्नुपर्ने उनीहरूको सुझाव छ ।
कर्णाली प्रदेश सरकारसँगको समन्वयमा अमेरिकी सहयोग नियोग ( युएसएआइडी) को जलजङ्गल परियोजना र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले प्रदेश राजधानी सुर्खेतमा आयोजना गरिएको खर्क व्यवस्थापन रणनीति र कार्ययोजना विषयक गोष्ठीमा वक्ताहरूले रणनीतिक सुझाव दिएका हुन् । इसिमोडका प्रतिनिधि डा सिर्जना जोशी र ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसी प्लिनरी स्टडिजका निर्देशक डा उत्तमबाबु श्रेष्ठको प्रस्तुतिमाथि छलफल गर्दै सरोकारवालाले प्रदेशको खर्कमा नै अमूल्य स्रोत रहेकाले त्यसको यथोचित परिचालन र व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका हुन् ।
मध्यपश्चिम विश्वविद्यालय विज्ञान सङ्कायका डिन डा सुदीप ठकुरीले नेपालको बहुमूल्य स्रोतसाधन खर्कमा पाइने भए पनि उचित परिचालन हुन नसक्दा भनेअनुसारको आम्दानी लिन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा खर्कमा बहुमूल्य जडीबुटी, चरिचरन क्षेत्र छन्, ती स्रोतसाधनको हामीले उचित परिचालन गर्न सकेका छैनौँ, जसले गर्दा हामी अगाडि बढ्न सकेनौँ ।”
कर्णाली प्रदेशमा अन्य प्रदेशको तुलनामा खर्क धेरै रहेको भन्दै विगतमा हिमाली क्षेत्रमा पशुपालन व्यवसाय धेरै भए पनि अहिले घट्दो क्रममा रहेको बताउनुभयो । खर्कलाई संरक्षण गर्दै कसरी उत्पादनमुखी बनाउने, त्यहाँबाट कसरी नाफा लिने भन्ने विषयमा खोज, अनुसन्धान गरेर रणनीति बनाउन आवश्यक रहेको ठकुरीले औँल्याउनुभयो । जलवायु परिवर्तनको असर हिमाली खर्कमा परिरहेको भन्दै उहाँले त्यहाँ पाइने बहुमूल्य जडीबुटीसमेत लोप हुन थालेकाले त्यतातर्फ पनि सोच्नुपर्ने उहाँको सुझाव छ ।
पशु विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक कृष्ण पङ्गेनीले पनि खर्कबाट पशुपालन व्यवसाय सञ्चालन गरेर आम्दानीका स्रोत बढाउन सकिने भन्दै ती खर्कमा पाइने चरिचरनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले जलवायु परिवर्तनको असर हाम्रा हिमाली खर्कमा परिरहेको छ, सबैभन्दा धेरै आम्दानी लिन सकिने ती खर्कको चरिचरन सङ्कटमा पर्न थालेकोतर्फ हामीले योजना बनाएर कार्यान्वयन गर्नुपर्छ भन्ने मलाई लागेको छ ।”
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशका वन व्यवस्थापन तथा जैविक विविधता महाशाखा प्रमुख शेरबहादुर श्रेष्ठले खर्क व्यवस्थापनसम्बन्धी अब बन्ने रणनीतिको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा व्यापक छलफल गरेर रणनीतिक योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले वनसँग मात्र नभएर हरेक निकायसँग जोडिएको विषय भएकाले त्यहीअनुसारको मोडालिटी तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
डोल्पाका डिभिजन वन कार्यालय प्रमुख मुनबहादुर रावतले कानुनी समस्या फुकाउने गरी अब बन्ने खर्क व्यवस्थापन समितिले काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले कुनै पनि काम गर्दा पहिलो जग कानुन हुने भन्दै तीन तहका सरकारको प्रतिनिधित्व हुनेगरी समिति बन्नुपर्नेमा जोड दिनुभयो ।
ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसी प्लिनरी स्टडिजका निर्देशक डा उत्तमबाबु श्रेष्ठले कर्णालीका सात जिल्लामा खर्कको सङ्ख्या धेरै रहेको भन्दै ती खर्कमा पछिल्लो समय जलवायु परिवर्तनले असर गरिरहेको जानकारी गराउनुभयो ।
“कर्णालीका खर्कमा गरिएको अध्ययनमा जलवायु परिवर्तनका कारण कहिले पानी धेरै आउने, कहिले पानी कम आउनेलगायत समस्या बढिरहेकाले त्यहाँको जडीबुटीसँगै चरिचरनमा समस्या हुँदा समग्र इको सिस्टममा समस्या आउने चिन्ता छ । अर्कातर्फ जथाभावी सडक निर्माण हुँदा पनि खर्क जोखिममा परेका छन् । यसैका आधारमा नीति बनाउनुपर्ने आवश्यकता देखिन्छ”, उहाँले भन्नुभयो ।
कर्णालीमा रहेका खर्कमध्ये पाँच जिल्लामा मात्र ७६ प्रतिशत खर्क रहेको भन्दै त्यसमा पनि १० स्थानीय तहमा ४० प्रतिशत खर्क रहेकाले त्यस क्षेत्रमा ‘फोकस’ गरेर कार्यक्रम बनाउनुपर्नेमा श्रेष्ठले जोड दिनुभयो । उहाँले भन्नुभयो, “खर्क आम्दानीका मुख्य स्रोत हुन्, अझै भनौँ विदेशी मुद्रा आर्जन गर्ने उत्पादन हुने क्षेत्र हुन्, त्यहाँ पर्यटन व्यवसायसँगै पशुपालन, जडीबुटी उत्पादन र अन्य स्रोत छन्, तिनको संरक्षण गर्दै परिचालन गर्नसके समृद्धि खोज्न हामी कतै जानुपर्दैन ।”
इसिमोडका प्रतिनिधि डा सिर्जना जोशी रिजालले पनि सन् २०१३ देखि खर्क व्यवस्थापन गर्नेगरी आफूहरूले काम गरिरहेको बताउँदै जलवायु परिवर्तन न्यूनीकरण गरेर खर्क व्यवस्थापन गर्ने योजना बन्न आवश्यक रहेको औँल्याउनुभयो । “जैविक विविधता बढ्दै छ”, उहाँले भन्नुभयो, “पानीका स्रोत पनि घट्दै छन्, जडीबुटीको सङ्ख्या पनि घट्दै छ, चरिचरन क्षेत्रमा समस्या परिरहेको अवस्थामा अब हामीले कस्तो रणनीति बनाउने सबैले सोच्नुपर्ने विषय बनेको छ ।” खर्क व्यवस्थापनका लागि अनुसन्धान धेरै हुनुपर्ने उहाँको भनाइ छ ।
युएसएआइडीका जलजङ्गल परियोजनाका प्रतिनिधि भूपेन्द्र शाहीले खर्कको बहुआयामिक फाइदा भएकाले उक्त परियोजनाले खर्क केन्द्रित कार्यक्रममा कर्णाली प्रदेश सरकारसँग मिलेर काम गरिरहेको बताउनुभयो ।
यता कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले यस विषयमा नीति बनाउन प्रदेश सरकारले चासो देखाएकाले साझेदार निकायसँग मिलेर काम गरिने बताउनुभयो । उहाँले कर्णाली प्रदेशको आन्तरिक आम्दानी कमजोर भइरहेका बेला आम्दानीको मुख्य स्रोत खर्कमा पाइने स्रोतसाधन हुनसक्ने भन्दै त्यहीअनुसार नीति र योजना बनाएर अगाडि बढ्न मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाउनुभयो । प्रदेश सरकारले पनि खर्क व्यवस्थापन गर्नेगरी नीति निर्माण गर्ने आफ्नो वार्षिक कार्यक्रममा समेत राखेको छ ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय विज्ञान सङ्कायका उपप्रध्यापक शिवराज घिमिरेलगायत प्रदशेका १० वटै जिल्लाका डिभिजन वन कार्यालयका प्रतिनिधिलगायतको सहभागिता थियो ।
गण्डकी, ९ कात्तिक : दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि बचतकर्ता महिनौँदेखि पीडामा छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारी संस्थाका बचतकर्ताले बिहीबार पनि सङ्घर्षलाई जारी राखे । उनीहरूले रित्तो थालसहित सडकमा प्रदर्शन गरे र धर्ना बसे । सहकारीपीडितले ‘बचत रकम फिर्ता गर’, ‘सहकारी ठगलाई कारबाही गर’सहितका नारा लगाएका थिए ।
सूर्यदर्शन बचतपीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले बिहीबार मुस्ताङचोक र आसपासका क्षेत्रमा प्रदर्शन गरिएको बताउनुभयो । बचतकर्ताको बचत रकम फिर्ता नभएसम्म आन्दोलन जारी रहने उहाँको भनाइ छ । उहाँका अनुसार सूर्यदर्शन सहकारीमा १८ हजार सात सय बचतकर्ताको बचत रकम डुबेको छ । “एक हजार ५१ सहकारीपीडितको जाहेरीसहित रु एक अर्ब १२ करोड बिगो दाबी गरिएको छ”, संयोजक श्रेष्ठले भन्नुभयो ।
प्रहरीले गरेको अनुसन्धानबाट उक्त सहकारीबाट रु एक अर्ब ३५ करोड अपचलन भएको खुलेको उहाँले जानकारी दिनुभयो । त्यसमध्येको केही रकम गोर्खा मिडिया नेटकर्व प्रालिमा ल्याई अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उक्त मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई अहिले प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।
यही कात्तिक २ गते पक्राउ पर्नुभएका सभापति लामिछानेमाथि यसअघि छ दिनको म्याद थप गरी अनुसन्धान गरिएकामा थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न बिहीबार अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।
उक्त सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा गत असोज ६ गते पक्राउ पर्नुभएका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पनि थप सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको उहाँको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०७२ सालदेखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो । सहकारीको रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी राई)सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।
सहकारी ठगीका मुख्य आरोपी राई भने फरार छन् । सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले पूरक अनुसन्धान गरीपाउँ भन्दै २०८० साल माघमा कास्की जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । उन्नाइस जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पूर्पक्षका लागि थुनामा छन् ।
राईसहित उहाँका दाजु भूपेन्द्र, व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारीलगायत भने अझै फरार छन् । सहकारीको रकम अपचलन सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले पनि सभापति लामिछानेसहितलाई सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।
सिरहा, ९ कात्तिक : सिरहाको लहान नगरपालिका–१५ का तीनवटा कृषक समूहका गरी ६३ किसान परिवारलाई विषादीरहित तरकारीखेती प्रवर्द्धनका लागि रु दुई लाख मूल्य बराबरका कृषि सामग्री प्रदान गरिएको छ ।
लहान नगरपालिका, राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घको सहकार्य तथा केयर नेपाल र जेओएको आर्थिक सहयोगमा सञ्चालित संरक्षण परियोजनाअन्तर्गत उक्त सामग्री नगरप्रमुख महेशप्रसाद चौधरीले किसानलाई हस्तान्तरण गर्नुभयो । कृषि सामग्रीमा ११ प्रजातिका तरकारीको बीउ, इलेक्ट्रिक स्प्रेयर, ड्रम, समरसेवल मोटर, पिभिसी पाइप, डेलिभरी पाइप र झोल मल बनाउने सामग्रीलगायत छन् । उक्त जैविक झोल मलले कुनै रासायानिक मल र विषादीको आवश्यक्ता नपर्ने बताइएको छ ।
कृषि सामग्री वितरणपछि किसानको व्यावसायिक खेतीप्रणालीको प्रवर्द्धन हुनुका साथै विषादीरहित तरकारी उत्पादनले मानव स्वास्थमा सकारात्मक प्रभाव पार्ने नगरप्रमुख चौधरीले बताउनुभयो । “कृषि क्षेत्रको विकास गरी समुन्नत नगर बनाउने लक्षसहित विभिन्न संस्थाको सहकार्यमा किसानलाई सहयोग गरिरहेका छौँ । यी सामग्री पनि यसैको निरन्तरता हो”, नगरप्रमुख चौधरीले भन्नुभयो, “यी वातारणमैत्री कृषि सामग्रीले उत्पादन अभिवृद्धिका साथै आम उपभोक्ताको स्वास्थ्यमा कुनै हानी गर्नेछैन ।” कृषिको व्यावसायीकरण र बजारीकरणलाई नगरपालिकाले प्राथमिकता दिएको पनि नगरप्रमुख चौधरीले जानकारी दिनुभयो ।
त्यसैगरी कार्यक्रममा लहान नगर उपप्रमुख रामचलितर महतो, वडा नं १२ का वडाध्यक्ष तथा नगरपालिकाका कृषि शाखा संयोजक बद्रीनारायण चौधरी, वडा नं १५ का वडाध्यक्ष तेजनारायण चौधरीले नगरक्षेत्रमा कृषिमा आश्रित जनसङ्ख्या ठूलो भएकाले जलवायु परिवर्तनको असर र प्रभावलाई मध्यनजर गर्दै वातावरणमैत्री उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
संरक्षण परियोजनाअन्तर्गत स्थानीय किसानको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले विगत एक वर्षदेखि लहानका नौवटा सामुदायिक वन र ३२ वटा कृषक समूह निर्माण गरी सात सय ५० घरपरिवारमा प्रत्यक्ष जोडिएर काम गरिरहेको कार्यक्रमका व्यवस्थापक जगदीश भट्टले जानकारी दिनुभयो ।
यसअन्तर्गत वन व्यवस्थापन, जलाधार क्षेत्र संरक्षण र नदी कटान नियन्त्रण रहेका छन् । त्यसैगरी स्थानीय किसानको आयआर्जनका लागि माछापालन र पशुपालनमा पनि जोड दिइएको छ ।
ललितपुर पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने भएको छ । वडा नं १६ कार्यालयले बिहीबार यहाँ पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार स्थानीय जात्रा, पहिरन, पहिचान र संस्कृतिलाई उजागर गर्नुका साथै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने अभिप्रायका साथ ललितपुर महानगरपालिकाको वडा नं १६ महिला समितिको आयोजनामा यही कात्तिक ११ र १२ गते साँझ ४ देखि ९ बजेसम्म रात्रिकालीन व्यापार मेला गर्न लागिएको हो ।
वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्यले पर्यटनको प्रचुर सम्भावना बोकेको सहरमा बसेका स्थानीयलाई आयआर्जनमा जोड्न यो प्रयास महत्त्वपूर्ण हुने बताउनुभयो । “यो मेलामा हस्तकला महासङ्घ, पाटन पर्यटन विकास संस्थाको पनि सहयोग रहने विश्वास छ, महानगरपालिकाको दीर्घकालीन योजनालाई सहयोग पुर्याउने उद्देश्यअनुसार यो कदम चालिएको हो । महिलाले घरघरमा उत्पादन गरेका हस्तकलालगायत सामग्री बिक्री गरेर आर्थिकोपार्जन गर्न सक्ने अवसर मिल्ने छ”, उहाँले भन्नुभयो ।
अध्यक्ष शाक्यले यसबाट स्थानीय श्रम, सीप र क्षमताको बजारीकरण हुनुका साथै समुदायको आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मेलाका समयमा साङ्गीतिक कार्यक्रमसमेत गरिने उहाँले जानकारी गराउनुभयो ।
मेलामा स्थानीय हस्तकलाका सामग्री, स्थानीय नेवारी खानाका परिकार समावेश हुने आयोजकले जनाएको छ । जात्रा, पहिरन, हाम्रो पहिचान र संस्कृतिलाई प्रचारप्रसार गर्ने अभिप्रायले हुन लागेको यो कार्यक्रमलाई अझ परिस्कृत गरेर लैजाने अध्यक्ष शाक्यले बताउनुभयो । आगामी वर्षदेखि मेलालाई व्यवस्थित बनाउन बृहत् रूपमा तालिका बनाएर सञ्चालन गरिने उहाँले जानकारी गराउनुभयो ।
रात्रिकालीन व्यापार र बजारलाई प्रोत्साहन र प्रवर्द्धन गर्दै हस्तकलाको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र पर्यटनको विकास गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको मेला व्यवस्थापन समितिका संयोजक बबिता श्रेष्ठले जानकारी गराउनुभयो ।
“स्थानीय व्यापार वृद्धि गरी महिलाको आयआर्जन वृद्धि गर्न सानो प्रयास हो, पाटनलाई चौबीसै घण्टा जागृत गराउने उद्देश्यले यो क्षेत्रलाई उकास्न दीर्घकालीन योजनाअनुसार काम गर्ने लक्ष्यका साथ यो मेला गर्न लागिएको हो । नुनदेखि सुनसम्म पाइने व्यवस्था मिलाइनेछ, ८० वटा स्टलको व्यवस्था गरिनेछ, हरेक स्थलमा फरकफरक सामान राख्ने व्यवस्था मिलाइनेछ, तिहारलाई चाहिने खाद्यान्नसहित अन्य सामग्री राख्नेछौँ”, उहाँले भन्नुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई ‘स्मार्ट सिटी’ बनाउने अभियानभित्रै ‘पाटन डज नट स्लीप’ योजनालाई पनि समेट्ने र त्यसका लागि आवश्यक पूर्वाधारसहित विपद् व्यवस्थापनलगायत काम गरेरमात्र घोषणा गर्ने बताउँदै आउनुभएको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ३३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ७८ पैसा र बिक्रीदर आठ रुपैयाँ ८२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२ रुपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९ रुपैयाँ ४९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यक्तानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
महानगरले बिहीबार एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसार–पसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्री, वितरण, भण्डारण र प्रयोगमा पूर्ण रूपमा निषेध गरिएको स्मरण गराएको हो ।
प्लास्टिकको झोलाको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्नुपर्ने व्यवस्था गर्न सबै प्रकारका उत्पादक, वितरक, बिक्रेता तथा सर्वसाधारणको अनुरोध गरिएको छ ।
महानगरपालिकाको अनुगमन टोलीले निरीक्षणको क्रममा उक्त निषेध गरिएका कार्य भए गरेको पाइएमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्ने चेतावनी समेत महानगरले दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एमाले) जिल्ला कमिटी ललितपुरले बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रह गरेको छ ।
सो जिल्ला कमिटीले आज प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा ध्यानाकर्षणपत्र बुझाउँदै मनसुनजन्य विपत्तिलगत्तै सरकारले प्रभावकारीरुपमा खोज, उद्धार र राहतका काम गरेको जनाउँदै अबका दिनमाललितपुर जोडिएका राजमार्ग, ठुला सडक, विद्युत र सञ्चारका संरचना पुनःसञ्चालन तथा मर्मतका लागि ध्यान दिन आग्रह गरेको छ ।
सो जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यले प्राकृतिक विपद्बाट जिल्लामा ४६ को मृत्यु, पाँच बेपत्ता भएका तथा १८ जना उपचाररत रहेको र २१२ भन्दा बढी परिवार विस्थापित हुन पुगेको जानकारी गराउनुभयो । उहाँले ललितपुरको पुनः निर्माणका लागि कम्तीमा रु तीन अर्ब बजेट विनियोजन गर्न माग गरेको छ ।
ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्री ओलीले सरकारले खोज, उद्धार र राहत तथा पुनः व्यवस्थापनका काम प्रभावकारीरुपमा गरिरहेको उल्लेख गर्दै गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावितको दोस्रो किस्ता बाँकी रहेको अवस्थामा वर्तमान सरकारले निकासा दिन थालेको जानकारी दिनुभयो । उहाँले हुँदै नभएका कमजोरीलाई पनि कमजोरी देखाएर गलत प्रचार गर्ने शैली हुन नहुनेमा जोड दिनुभयो ।
सो अवसरमा एमाले बागमती प्रदेशका इञ्चार्ज डा राजन भट्टराई, केन्द्रीय सदस्यहरु सुशीला नेपाल, हरिकृष्ण व्यञ्जनकार, बाबुराम थापा, रुपनारायण श्रेष्ठ, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाललगायत सहभागी हुनुहुन्थ्यो ।
काठमाडौँ, ७ कात्तिक । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्धामा समान धारणामा साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिन पुगेको अवसरमा आज दिउँसो ३ बजे सिंहदरबारबाट समग्र कामको उपलब्धिबारे सम्बोधन गर्नेबारे बैठकलाई जानकारी गराइएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिबाट सर्वसम्मतरुपमा तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेतलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको जानकारी गराउनुभयो ।
उहाँले फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अलादल र सरकारलाई दबाब दिने हिषाबले भइरहेका विरोध प्रदर्शन उचित नभएको बताउनुभएको थियो । यस्ता घटनाका विषयमा सत्तामा रहेका दलहरुले आफ्ना आफ्ना तर्फबाट वक्तव्य जारी गरी न्यायिक छानबिन र लोकतान्त्रिक पद्धतिलाई निष्पक्षरुपमा अगाडि बढाउन आग्रह गर्ने भन्नेमा बैठकमा समझदारी भएको छ ।
सरकारको हालसम्मको काम र आगामी योजनालगायत विषयमा यही कात्तिक ९ गते शुक्रबार दिउँसो ३ बजे अर्काे बैठक गरी साझा धारणा सार्वजनिक गर्ने पनि आजको बैठकबाट तय भएको सत्तारुढ नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री ओलीले सत्ता समीकरणमा रहेका दलहरु एकता र एकढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक पद्धति, मूूल्य र मान्यताप्रति आफूहरु प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने बताउनुभयो । “हामी लोकतन्त्रका लागि लडेका हौँ । हामीलाई लोकतन्त्र मात्रै स्वीकार्य छ । अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन । जनतालाई सार्वभौमसत्तासम्पन्न बनाउन लागि आजीवन लागेका छौँ । हाम्रो यो प्रतिबद्धता र दृढतामा कुनै कमी आउँदैन । यसमा हामी स्पष्ट छौँ ।”
बैठकमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री लखेक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायत सहभागी हुनुहुन्थ्यो ।
काठमाडौं, ७ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गर्नुभएको छ ।
आज विहान भएको पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । ‘सरकारको सय दिन पुगेको छ, सरकार गठनहुँदा नै हामीले जे आशंका गरेका थियौं, सय दिनको बीचमा त्यसलाई नै पुष्टि गर्ने काम गरेको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘विपक्षी दलहरुले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेका छन् । यसबाट सरकार गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट हुन्छ ।’
उद्योगहरुको बक्यौता महसुस उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्नेदेखि पछिल्लो समय प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको दलले विवादित व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले यो सरकार भ्रष्टाचारीको पक्षमा छ भन्ने पुष्टि भएको उहाँले बताउनुभयो ।
सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलहरुले ज्ञापनपत्र बुझाइसकेको उल्लेख गर्दै उहाँले राष्ट्रपतिलाई भेटेर पनि सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँले अब आफ्नो पार्टीले सरकारका गलत क्रियाकलापको बिरोधमा सडकबाट समेत आवाज उठाउने तयारी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी कात्तिक १० गते पार्टीका बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौंमा खबरदारी सभा गर्न थालिएको जानकारी दिनुभयो ।
उहाँले पार्टीको पक्षमा देशब्यापी राम्रो माहोल बन्दै गएको उल्लेख गर्दै बुद्धिजीवी संगठनलाई पनि सोहीअनुसार आफ्नो भूमिका बढाउन आग्रह गर्नुभयो ।