नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आज सम्पन्न एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो ।
स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २/२ विकेट तथा आरिफ शेखले एक विकेट लिए । स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् ।
स्कटल्याण्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९ दशमलव पाँच ओभरमा पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए । साथै कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए ।
स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए । साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १/१ विकेट लिए ।
लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।
काठमाडौँ, १३ कात्तिक : नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २१ र बिक्रीदर एक सय ७४ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर ३ रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२ रुपैयाँ ७२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६१ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
काठमाडौँ, १२ कात्तिक – आइसिसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको छ। अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा भएको खेलमा नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ४९.४ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो।
अमेरिकाका लागि शयान जहाजिंगरले सर्वाधिक १०४ रन बनाए, जसमा ९७ बलमा १२ चौका र ४ छक्का सामेल थियो। कप्तान मोनांक पटेलले ७६ बलमा ५ चौका प्रहार गर्दै ६२ रन बनाए भने हरमित सिंहले ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन जोडे। शाड्ली भानले २७ रन बनाए भने जसदीप सिंह र साइतेजा मुकामल्लाले समान ११ रन थपे।
नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट र ललित राजवंशीले १ विकेट लिए।
नेपालले टस हारेर ब्याटिङको निम्तो पाएपछि निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८६ रन बनायो। कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रनको उत्कृष्ट पारी खेले। ओपनर आसिफ शेखले ५३ बलमा ७ चौका र १ छक्कासहित ५२ रन बनाए भने अनिल साहले ६२ बलमा ५ चौकासहित ५६ रन जोडे। अन्यमा आरिफ शेखले ३७ रन बनाए।
अमेरिकाका नोष्थुश केन्जिगेले ४ विकेट लिए भने हरमीत सिंह, शाड्ली भान, शाक्ली, र जसदीप सिंहले समान १–१ विकेट हात पारे। नेपाल अब मङ्गलबार स्कटल्यान्डसँग खेल्नेछ।
नेपाल लिग २ मा ९ खेलमा ७ मा हार, १ मा जित, र १ अङ्कविहीन खेलसँगै ३ अङ्कका साथ सातौँ स्थानमा छ। अमेरिका १० खेलमा ७ जितसहित १४ अङ्कका साथ दोस्रो स्थानमा छ भने क्यानडा १२ खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा छ।
नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनमा प्रवेश गरेको छ । आइतवार राति भएको खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् ।
मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको छ । खेलको ५१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छोड्नु परेको हो । नेपाल अहिले १० खेलाडीमा सीमित बन्यो । रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गरेका थिए । दोस्रो हाफमा भारतकी सङ्गीता बास्फोरले उत्कृष्ट गोल गर्दै अग्रता लिइन् । भारतले गोलको खुसी मनाइरहेको अवस्थामा नेपालले लगत्तै गोल गरेको थियो । तर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । तनावका कारण खेल लामो समयसम्म खेल रोकिएको थियो ।
खेल पुनः सुरु भए लगत्तै नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा पु¥याइन् । त्यसपछि गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा नेपालले चार तथा भारतले दुईवटा मात्र गोल गर्न सक्यो । नेपालले अब फाइनल खेल बङ्गलादेशसँग खेल्ने छ । दशरथ रङ्गशालामा नै दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने स्पष्ट पारेका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आइतबार आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रियताका सवाललाई ध्यान दिएर भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गर्दै राष्ट्रप्रति जनताको निष्ठापूर्ण भाव उत्पन्न हुनु राष्ट्रिय सुरक्षाको किल्ला भएको बताएका हुन् ।
‘अहिले अनेक नाममा राष्ट्रिय सुरक्षाको किल्लामा हमला गर्न खोजिएको छ । हामी अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाडने संकल्पका साथ अघि बढ्का छौँ । सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन ।’
ओलीले भने, ‘नाकाबन्दीको सामना गर्दा हामी सरकारबाट बाहिर पुग्यौँ होला तर हामी कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आउँछौँ भनेको थियौँ र आयौँ पनि । एमाले र नेपाली काँग्रेससहित मिलेर बनेको सरकार राष्ट्रिय एकताको भावनाको रक्षा र देशको हितका लागि पूर्ण कटिबद्ध भएर काम गरिरहेका छ ।’
हतियार बिसाएका मात्रै हौँ भनेर दिइने धम्कीप्रति लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले माटामुनी लुकाइएका खिया लागेका हतियारले अब काम नगर्ने भन्दै नेपाली समाजलाई झुठो प्रचार गरेर धम्की नदिन आग्रह गरे ।
आफूलाई अलोकप्रिय भएको भनेर टिप्पणी गर्नेहरुलाई जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘भाडामा खटाइएकाहरुले केपी ओलीको साख घट्यो भन्ने सक्छन् सचेत जनतालाई थाहाँ छ कि हामी कति लोकप्रिय हौँ भन्ने । ओलीको साख घटेको भन्नेहरुले २०८४ को निर्वाचनमा हेरुन् ।’
उनले लोकतन्त्र भनेको छाडातन्त्र नभएको बताउँदै नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छाैँ, चुट्छौँ, मार्छाै, काट्छौँ भन्नु छाडातन्त्र भएकाले त्यस्ता क्रियाकलाप सैह्य नहुने बताए ।
उनले राष्ट्रका लागि आवश्यक परे पूर्व सुरक्षाकर्मी एकता र अनुशासनका साथ खट्नुपर्ने र नयाँ पुस्तालाई प्रेरणा दिनुपर्ने बताए । उनले सामाजिक सञ्जालमा जथाभावीरुपमा प्रस्तुत हुनेहरुलाई उत्तरदायी बनाउने बाटोमा सरकार रहेको पनि स्पष्ट गरे ।
सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्री उफ्री कराउनु लोकतान्त्रिक मान्यतासंगत नभएको बताए । उनले आफूले कसैप्रति पूर्वाग्रह नराख्ने र न्यायिक निरुपणबाट हुने निष्कर्षलाई सबैले मान्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अवकाशप्राप्त उच्चाधिकारीबाट राष्ट्रिय सुरक्षा र पूर्व सुरक्षाकर्मीको भूमिकाबारे विचार प्रस्तुत गरेका थिए ।
काठमाडौँ, ११ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन सुरु भएको छ ।
आजदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष क्षितिज थेबेले जानकारी दिनुभयो ।
सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । अध्यक्ष थबेले सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’का विकास र उपयोगबारे राजनीतिक दल र सर्वसाधारणलाई जानकारी दिने उद्देश्य रहेको बताउनुभयो । उहाँले सम्मेलनबाट सरकारलाई एआईका सम्बन्धमा राष्ट्रिय नीति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
“नेपालमा पहिलो एआई सम्मेलन हुन लागेको छ । यसबाट सरकार तथा युवावर्गलाई एआईका सम्बन्धमा जानकारी गराउने छौँ”, अध्यक्ष थबेले भन्नुभयो, “सूचना प्रविधिका क्षेत्रमा पनि नेपाललाई अगाडि बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएका छौँ ।” उहाँका अनुसार सम्मेलनमा नेपाली र विदेशी गरी करिब एक हजार जना सहभागी हुनेछन् ।
विभिन्न १० वटा समूहगत विषयमा छलफल गरिने सङ्घका महासचिव सुमन पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार ती छलफलमा विदेशबाट आएका एआईका विज्ञहरुलेसमेत सहभागिता जनाउने छन् । युरोपियन युनियन, जापान, उत्तर कोरिया, बेलायतलगायत देशबाट विज्ञसहितका प्रतिनिधि आएका उहाँले बताउनुभयो ।
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा आयोजना गर्दै छ ।
केपी शर्मा ओली सरकारको सय दिन असफल र भ्रटारचारीलाई जोगाउने षडयन्त्र भइरहेको निष्कर्ष निकालेको माओवादीले भृकुटीमण्डपमा खबरदारी सभा गर्ने भएको हो ।
सभालाई रचनात्मक र शान्तिपूर्ण हुने सो पार्टी नेताहरुको दाबी छ । बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी पुरा भएको उपत्यका विशेष समितिका अध्यक्ष जगत सिंखडाले बताए ।
आज बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिएको छ । त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन् ।
सो जुलुश रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने छ । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने छन् । अपराह्न चार बजेभित्र सभा सम्पन्न गर्ने कार्यतालिका छ ।
सभामा करिब २५ देखि ३० हजारसम्म सहभागी हुने आकलन गरिएको छ । कांग्रेस र एमाले मिलेर असारमा सरकार बनाएपछि माओवादी सत्ताबाट बाहिरिएको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ ।
बिहीबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको नेता मनिष झाले जानकारी दिए ।
नेता झाका अनुसार बस्ने केन्द्रीय समितिको बैठकले आन्दोलनका कार्यक्रमको स्वरुपबारे निर्णय गरेको छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका पार्टी सभापति रवि लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । तर, रास्वपाले सरकारले प्रतिशोध साँधेर सभापति लामिछानेलाई पक्राउ गरेको निष्कर्ष निकालेको छ ।
पक्राउ परेलगत्तै सडक आन्दोलनमा उत्रिएको रास्वपाले बिहीबारसम्म पोखरामा प्रदर्शन गरेको थियो । उसले आजबाट काठमाडौंमा प्रदर्शन सुरु गरेको छ ।