Blog

  • निर्वाचन व्यवस्थित गर्न संयुक्त निर्वाचन सञ्चालन केन्द्र सुरु

    निर्वाचन व्यवस्थित गर्न संयुक्त निर्वाचन सञ्चालन केन्द्र सुरु

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन, सुरक्षा र अनुगमनका कार्यमा समन्वय बढाउन निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा आएको छ ।

    आयोगले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग पुर्‍याउन सो केन्द्र सञ्चालनमा ल्याएको हो ।

    आयोगले आजदेखि पहाडी जिल्लाका मतदान केन्द्रमा कर्मचारी खटाउन सुरु गरेको छ ।

    आयोगका सचिवको संयोजकत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका रापत्राङ्कित प्रथम श्रेणी वा सो सरहका नेतृत्व तथा आयोगका आवश्यक कर्मचारीहरु रहने छन् ।

    निर्वाचन सुरक्षा व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०७९ तथा निर्वाचन अनुगमन ९पहिलो संशोधन० निर्देशिका, २०७९ अनुसार स्थापित केन्द्रले देशभर निर्वाचनबारे भइरहेका व्यवस्थापन, सुरक्षा र अनुगमनका कामलाई अझ प्रभावकारी बनाउन समन्वय बढाउने विश्वास गरिएको छ ।

  • अर्घाखाँचीदेखि दिल्लीसम्म बस सेवा सञ्चालन

    अर्घाखाँचीदेखि दिल्लीसम्म बस सेवा सञ्चालन

    अर्घाखाँची – अर्घाखाँची जील्लाको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म वातानुकूलित, सुविधा सम्पन्न नेपाल भारत मैत्री बस सेवा सञ्चालन भएको छ ।

    बस सन्धिखर्क, गोरुसिंगे, नेपालगञ्ज, लख्खिनपुर हुँदै दिल्ली पुग्नेछ ।

    ३६ सिट रहेको बसमा २ चालक, २ परिचालक रहने बसको भाडादर ३ हजार २ सय नेपाली रहेको छ ।

    हालका लागि हप्ताको ३ दिन बस सेवा सञ्चालन हुनेछ ।

    सोमवार, बुधवार र शुक्रवार सन्धिखर्कबाट ११ बजे दिल्ली र बुधवार, शुक्रवार र आइतवार दिल्लीबाट ८ बजे सन्धिखर्कका लागि छुट्ने छ ।

  • थप २८ जनामा कोरोना संक्रमण, १८ जना संक्रमण मुक्त

    थप २८ जनामा कोरोना संक्रमण, १८ जना संक्रमण मुक्त

    काठमाण्डौ : पछिल्लो २४ घन्टामा देशभरबाट १८७९ नमूना परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२१९ र एन्टिजेनबाट ६६० नमूनाको परीक्षण गर्दा पीसीआरबाट २६ र एन्टिजेनबाट २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

    यस्तै सोही समयमा १८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित ५७० जना रहेका छन् ।

  • फेरि गर्‍यो उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण

    फेरि गर्‍यो उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण

    सोल : ‘भिजिल्याण्ट स्टोर्म’ नामक अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासलाई सैनिक टकराबको उन्माद भन्दै आएको उत्तर कोरियाले उक्त अभ्यास सकिएकै दिन शनिबार पुनः चार वटा क्षेप्यास्त्र परीक्षण गरेको छ ।

    प्योङयाङले पश्चिमी समुद्रमा चार वटा छोटो दूरीका ‘ब्यालेस्टिक मिसाइल’ परीक्षण गरेको जनाउँदै उत्तर कोरिया परमाणु हतियार परीक्षण पुनः सुरु गर्ने तयारीमा रहेको बताएको छ ।

    दक्षिण कोरियाले प्योङयाङका उत्तेजक गतिविधिलाई दृढतापूर्वक जवाफ दिने बताउँदै कोरिया र अमेरिकाको संयुक्त प्रतिरक्षा क्षमता क्षीण नभएको चेतावनी दिएको छ ।

    प्योङयाङले शुक्रबार संयुक्त राज्य अमेरिका र दक्षिण कोरियालाई उत्तेजक वायुसेनाको अभ्यास रोक्न माग गरेको थियो ।

    अभ्यासका क्रममा सुपरसोनिक बमवर्षक विमानसमेत समावेश गरिएपछि रिसाएको उत्तर कोरियाले संयुक्त सैन्य अभ्यास समाप्त भए लगतै फेरि क्षेप्यास्त्र परीक्षण गरेको हो ।

  • नेकपा एमालेको चुनावी घोषणापत्र सार्वजनिक

    नेकपा एमालेको चुनावी घोषणापत्र सार्वजनिक

    काठमाडौँ : नेकपा (एमाले)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

    मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।

    घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ ।

    करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।

  • युक्रेनको राजधानी कियभमा पानी र विजुलीको हाहाकार

    युक्रेनको राजधानी कियभमा पानी र विजुलीको हाहाकार

    काठमाडौं : रुसले युक्रेनको राजधानी कियभमा रहेका विधुत् र पानी वितरण गर्नका लागि बनाइएका पूर्वाधारहरूमा क्षेप्यास्त्र प्रहार गरे पछि राजधानी कियभमा पानी र विजुलीको हाहाकार भएको छ ।

    कियभमा नागरिकहरू पानीका लागि लाइन बस्न पर्ने अवस्था आएको बिबिसीले उल्लेख गरेको छ ।

    राजधानी कियभका मेयर भाइट्याली क्लिट्स्कोले दुई लाख ७० हजार घरमा विधुत् प्रसारण रोकिएको र ४० प्रतिशत जनसङ्ख्यालाई पानी पुर्‍याउन नसकिएको बताएका छन् ।

  • यसवर्ष आर्थिक वृद्धिदर ५.८ र मूल्य वृद्धि ६.३ प्रतिशत रहने विश्व बैङ्कको आकलन

    यसवर्ष आर्थिक वृद्धिदर ५.८ र मूल्य वृद्धि ६.३ प्रतिशत रहने विश्व बैङ्कको आकलन

    काठमाडौँ : विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत रहने आकलन गरेको छ ।

    ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यसवर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पाँच दशमलव आठ प्रतिशतले बढ्ने आकलन गरेको हो ।

    सन् २०२३ मा पाँच दशमलव एक र सन् २०२४ मा चार दशमलव नौ प्रतिशतले जिडिपी वृद्धि हुने विश्व बैङ्कको प्रक्षेपण छ ।

    यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अघिल्लो साता ‘वर्ल्ड इकनोमिक आउटलुक : काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो ।

    सरकारले भने आर्थिक वर्ष २०७९/८० का लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

  • अस्ट्रेलियाद्वारा आयरल्यान्ड ४२ रनले पराजित

    अस्ट्रेलियाद्वारा आयरल्यान्ड ४२ रनले पराजित

    काठमाडौँ : अस्ट्रेलियामा जारी टी–२० क्रिकेट विश्वकप अन्तर्गत सुपर १२ को आजको खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले पराजित गरेको छ ।

    अस्ट्रेलियाले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रमका आयरल्यान्ड १८.१ ओभरमा सबै विकेट गुमाएर १३७ रनमा समेटियो ।

    टर हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ५ विकेटको क्षतिमा १७९ रन जोडेको थियो ।

    अस्ट्रेलियाका लागि अरोन फिन्चले सर्वाधिक ६३ रनको योगदान गरे ।

  • स्याङ्जामा देखियो अफ्रिकन स्वाईन फिभर

    स्याङ्जामा देखियो अफ्रिकन स्वाईन फिभर

    स्याङ्जा : स्याङ्जामा अफ्रिकन स्वाईन फिभर देखिएको छ ।

    पुतलीबजार नगरपालिकामा पालिएका बंगुरमा अफ्रिकन स्वाईन फिभर देखिएको हो ।
    यो रोग स्याङ्जामा पहिलो पटक देखिएको हो।

    फिभरका कारण पुतलीबजारका झण्डैं ३ सय वटा बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र स्याङ्जाले जनाएको छ।


    बंगुर झोक्राउने, खान खान रुची नदेखाउने, ज्वरो आउने, शरीरमा ढब्बा तथा निलो दागहरु देखिने, नाक र मुखबाट रगत र पानी र र्‍याल बग्ने लक्षण संक्रमित बंगुरमा देखिएको छ ।

  • ५१ वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी जारी

    ५१ वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी जारी

    काठमाडौँ : निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ ।

    मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको छ ।

    यसक्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।