
यूएई : वैदेशिक रोजगारीका लागि भिजिट भिसामा दुबई गएका ९ जना नेपाली ११ महिनादेखि यूएईको जेलमा थुनिएका छन् ।
उनीहरूलाई अहिले फुजेरा राज्यको सेन्ट्रल जेलको ब्रोडर उड ब्लकमा राखिएको छ।
यसरी जेल पर्नेहरुमा धरानका साजन राई, स्याङ्जाका शिव बहादुर थापा, ललितपुरका हिमाल श्रेष्ठ, सिन्धुलीका बुद्दी बहादुर थिङ, नवलपरासीका चोप बहादुर पुन, दोलखाका लक्ष्मण घिमिरे, सिन्धुपाल्चोकका प्रकाश भुजेल, सिन्धुपाल्चोककै बिनोद लामा र पाल्पाका सुर्य बहादुर नेपाली रहेका छन्।
उद्दार गरिदिन उनीहरुले नेपाली दूताबास अबुधाबीलाई पत्र मार्फत अनुरोध गरेका छन्।
पत्रमा आफूहरू ११ महिनादेखि बिना कारण फुजेरा जेलमा फसेको बताएका छन्।
आफूहरू दुबई आएपछि चिनियाँ नागरिकले भिसा लगाइदिन्छु भन्दै ८ महिनासम्म बन्धक बनाएको पनि पत्रमा उल्लेख गरेका छन्।
दुबई पुगेपछि दुबइको इन्टरनेट सिटीमा चिनियाँ नागरिकले एउटा भिल्ला (घर)मा खाना बनाउने, सरसफाइ गर्ने आदि काम दिएको र घर बाहिर कतै जान नदिएको उनीहरुले बताएका छन्।
उनीहरूलाई यूएईको साइबर कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको आशंका गरिएको छ।


















