काठमाडौँ । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दशैका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् ।
केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दशैका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० प्रतिशत टिकट बुकिङ भएको जनाएका छन् ।
हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।
त्यस्तै बुद्ध एयरले हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ गरेको छ भने यती एयरलाइन्सले ७० प्रतिशत, गुण एयरलाइन्सले ८० प्रतिशत बुकिङ गरेको जनाएका छन् । दशैँ आउन एक साता बाँकी हुँदा हवाई टिकट ८० प्रतिशत सकिएको बताइएको छ ।
हवाई सेवाको अग्रिम टिकट बुकिङ सँगसँगै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले टिकट भाडामा पनि वृद्धि गरेका छन् । रासस
काठमाडौँ : बालाजु–रानीपौवा सडक अन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डको ठेक्का कमलजीत–ड्रागन जेभीलाई दिने तयारी भएको छ ।
कम आर्थिक प्रस्ताव पेश गरेको उक्त कम्पनीसँग ठेक्का सम्झौता गर्ने अन्तिम तयारी रहेको सडक विभागले जनाएको छ ।
ठेक्का रकम १५ करोड रुपैयाँ रहेको र चार महिनाभित्र सडक निर्माणको काम सकिसक्नुपर्ने प्राबधान रहेको बताइएको छ ।
तोकिएको समयमा सडक निर्माणको काम नसकिए ठेक्काको म्याद नथपिने सडक विभागले जनाएको छ । बालाजु–रानीपौवा सडक टुक्र्याएर ५.५ किलोमिटर दूरीको बीचको खण्ड ‘फास्ट ट्रयाक’मा स्तरोन्नति गर्न ठेक्का गरिएको हो ।
बालाजु–रानीपौवाको १७.१० किमि सडक स्तरोन्नतिका लागि आठ वर्षअघि भारतीय निर्माण कम्पनी एआईपीएलसँग शैलुङ कन्स्ट्रक्सनले संयुक्त ठेक्का लिए पनि काम हुन सकेको थिएन ।
सात पटक म्याद थप्दा पनि आयोजनामा प्रगति नभएपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत असार ५ मा ठेक्का तोडेको थियो ।
काठमाडौँ : नेपाल सरकारले बडादसैँ, तिहार र छठका उपलक्ष्यमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले राजधानी काठमाडौँ उपत्यका सहित देशभर सुपथ पसल सञ्चालनमा ल्याएको हो ।
उक्त सुपथ मूल्य पसलको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले चाडपर्वका बेला हुनसक्ने महँगी र कालोबजारी नियन्त्रण गरी केही हदसम्म भए पनि जनतालाई सहुलियत दिने उद्देश्यका साथ सुपथ पसल सञ्चालन गरिएको बताए ।
कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट दसैँ, तिहार र छठ लक्षित सहुलियत पसल सञ्चालन गरिएको छ ।
राजधानी काठमाडौँ सहित ४१ जिल्लाका ४५ स्थानमा सुपथ पसल एकै पटक सञ्चालनमा ल्याइएको छ । काठमाडौँको थापाथली, रामसाह पथ, ललितपुरको नक्खु र भक्तपुरको सूर्य विनायकमा सुपथ पसल सञ्चालन गरिएको छ ।
आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुने सुपथ पसलमा विभिन्न ३० प्रकारका खाद्यवस्तु बिक्रीका लागि राखिएको छ ।
प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सहुलियत पसल सञ्चालनमा आउने कम्पनीले जनाएको छ । सुपथ पसलमा मासुजन्य वस्तुमा रु १० तथा खाद्यान्न सामग्री र तेलमा रु ७ छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानसहितको सहभागितामा सञ्चालन हुने सुपथ पसलमा चामल, चिउरा, गेडागुडी, तेल, दाल, मैदा, आँटा, नुन, पनिर, घ्यु, खसी बोका र च्याङ्ग्रालगायत बिक्रीमा हुनेछन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा एकाधिकार तोड्दै मूल्य नियन्त्रण गर्न खसी बोका र च्याङ्ग्रा खरिद तथा बिक्री गरिने जनाएको छ ।
काठमाडौँ : भारतलाई हराउँदै नेपाल छैटौं महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई १.० गोलले पराजित गरेको हो।
नेपालले मध्यान्तर अघिको खेलमा गरेको गोल नै निर्णायक बनेको थियो । पहिलो हाफको इन्जुरी समयमा नेपालका लागि रश्मिकुमारी घिसिङले गोल गरेकी हुन् ।
मध्यान्तरपछिको खेलमा नेपाल र भारतका तर्फबाट गोल गर्ने प्रयास भएका थिए । दुवै टोलीले गोल गर्न नसक्दा पहिलो हाफमा गरेको एक मात्र गोलको मद्दतमा नेपाल फाइनलमा पुग्न सफल भयो ।
नेपालले फाइनल खेल बङ्गलादेशसँग खेल्ने छ । यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोलअन्तरले हराउँदै बङ्गलादेश फाइनलमा प्रवेश गरेको हो ।
काठमाडौँ : विदेशी मुद्राको सञ्चिति घटेतापनि वस्तु तथा सेवाको आयात धान्ने समय भने बढेको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार बैङ्किङ क्षेत्रसँग हाल सञ्चित रहेको नौ अर्ब ४२ करोड डलर (११ खर्ब ९८ अर्ब रुपियाँ) बाट आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।
असार मसान्तसम्म सञ्चिति विदेशी मुद्राबाट ६.९४ महिनाको मात्र वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्थ्यो । त्यस्तै साउनसम्म सञ्चित रहेको विदेशी मुद्राबाट ९.४ महिनाको वस्तु आयात धान्न सकिने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।
विदेशी मुद्रा सञ्चिति पर्याप्तता सूचकमा सुधार आए पनि विदेशी मुद्राको सञ्चित रकम भने घटेको छ । असारसम्म नौ अर्ब ५४ करोड डलर सञ्चिति रहेकामा साउनमा १२ करोड डलर घटेर नौ अर्ब ४२ करोड डलर कायम भएको छ ।
काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु स्थगित गर्न निर्देशन दिएको छ।
साथै आयोगले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई वैदेशिक भ्रमण नगर्न नगराउन पनि निर्देशन दिएको छ।
आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय भई तयारीका कार्यहरू भइरहेको र समानुपातिक निर्वाचन प्रणालीतर्फ आगामी असोज २ र ३ गते उम्मेदवार मनोनयनको बन्दसूची पेश गर्ने कार्यक्रम रहेको सन्दर्भमा आयोगले सो निर्देशन दिएको हो ।
आयोगले निर्वाचनका अन्य कार्यक्रम पनि सञ्चालन हुने गरी राजपत्रमा सूचना प्रकाशन गरिसकेको छ ।
निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख्न निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी सोको यथार्थ जानकारी दुई दिनभित्र आयोगलाई दिन राष्ट्रिय भूमि आयोग ताहाचल, काठमाडौँलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी सम्बन्धित आयोजक तथा प्रायोजकबाट सम्पूर्ण खर्चहरू बेहोेर्ने गरी स्वीकृत गरिने वैदेशिक भ्रमणबाहेक नेपाल सरकारलाई प्राप्त हुने अनुदान तथा सहयोग रकमबाट र नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट कुनै पनि रकम खर्च हुने गरी गरिने वैदेशिक भ्रमण नगर्न नगराउन नेपाल सरकार, सातवटै प्रदेश सरकार र सात सय ५३ वटै स्थानीय तहलाई आयोगले निर्देशन दिएको छ ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजबाट सर्वसाधारणका लागि नयाँ नोट सटही सुरु गरेको छ।
यस वर्षको दसैं, तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले १० अर्ब नयाँ नोट सटही गर्ने अनुमान गरेको छ।
काठमाडौं उपत्यका भित्रका वाणिज्य बैंकका शाखाहरुबाट ग्राहकलाई नयाँ नोट उपलब्ध गराउन केन्द्रीय बैंकले निर्देशन दिएको छ।
बैंक तथा वित्तीय संस्थाहरुलाई केन्द्रीय बैंकले भदौ २२ गतेदेखि नयाँ नोट सटही सुविधा दिएको थियो।
निजी बैंकले भने असोज २ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिनेछन्।
काठमाडौं उपत्यका बाहिरको हकमा केन्द्रीय बैंकको प्रदेश स्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने छ।
जिल्लाका बैंकहरुमा पनि करिब ५० करोड रुपैयाँ नयाँ नोट दिइएको छ।
सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका एक/एक पाकेट गरी प्रति व्यक्ति अधिकतम १८ हजार ५ सयका नयाँ तथा सफा नोट सटही गर्न पाउनेछन्।
सर्वसाधारणले असोज ७ गतेसम्म राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट नयाँ नोट सटही गर्न पाउनेछन्।