काठमाडौं। गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा अभिनय गर्ने मुख्य कलाकारहरुको लाइन अप सार्वजनिक गरिएको छ।
आफ्नो हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा बन्ने चलचित्रमा मुख्य पात्र बाल गायक अशोक दर्जी हुनेछन् । चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा लगायतका कलाकारको अभिनय रहनेछ ।
अन्य केहि प्रमुख कलाकारहरु अझै फाइनल हुन बाँकी रहेको र अब केहि दिनमा नै फाइनल हुने बुढाथोकी बताए। चलचित्रको कथा निर्माता निर्देशक टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । छिट्टै फ्लोरमा जाने चलचित्रलाई सौरभ लामाले छायांकन गर्नेछन् ।
सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रलाई बैंकटेश इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ। अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । दर्जी हाल काठमाडौंमा कक्षा ८ मा अध्ययनरत छन् ।
अशोक दर्जीलाई अध्ययनका लागि काठमाडौं ल्याएर अभिभावकत्व समेत दिइरहेका टंक बुढाथोकीले दर्जनौं चलचित्रमा शब्द, संगीत र स्वर दिएका छन्। यस चलचित्रमा पनि टंक बुढाथोकी को संगीत रहनेछ।
भक्तपुर, २१ पुस : सूर्यविनायक नगरपालिकाको नगरसभाको १७औँ नगर अधिवेशनले विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ । नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा प्रथम र दोस्रो गरी दुई चरणमा सम्पन्न नगर अधिवेशनले विभिन्न समितिको प्रतिवेदन एवं बजेट कार्यान्वयनको अवस्थाबारे प्रस्तुत प्रतिवेदनमाथि बृहत् छलफल गरी विधेयक पारित गरेको हो ।
नगरसभाका सभाध्यक्ष थापाले निर्णायार्थ प्रस्तुत गर्नुभएको नगरपालिकाको संस्था दर्ता (प्रथम संशोधन) विधेयक २०८१, आर्थिक कार्यविधि नियमित गर्ने विधेयक २०८१, आर्थिक ऐन २०८१ को प्रथम संशोधन विधेयक २०८१ र नगरपालिका तथा अन्तर्गतको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८१ पारित गरेको हो ।
नगरसभामा नगरप्रमुख एवं सभाअध्यक्ष थापाले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधिमा कूल बजेटको १६ दशमलभ ०१ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । उहाँले नगरपालिकाको चालु आर्थिक वर्षको कुल बजेट रु एक अर्ब ४० करोड ३७ लाख २२ हजार पारित गरेकामा छ महिनामा नगरको कुल बजेटको रु ३५ करोड ८६ लाख ५० हजारमात्र खर्च भएको बताउनुभयो । नगरपालिकाको चालु खर्चतर्फ रु २३ करोड ४१ लाख ९१ हजार र पुँजीगततर्फ रु १२ करोड ४४ लाख ५९ हजार खर्च भएको उहाँले बताउनुभयो ।
नगरप्रमुख थापाले चालु आवको दुई महिना वर्षालगत्तै चाडपर्व सुरु भएकाले अपेक्षाकृत रूपमा बजेट खर्च हुन नसकेको बताउँदै चालु आवको बाँकी छ महिना योजना कार्यान्वयनमा जाने चरणमा रहेको बताउनुभयो । उहाँले बाँकी छ महिनामा बजेट खर्चको अवस्था सुधार हुने र आवको अन्त्यसम्ममा ९० प्रतिशतभन्दा बढी बजेट खर्च गर्दै नगरपालिकाले लक्ष्य हासिल गर्ने बताउनभयो । नगरपालिकले सबैभन्दा बढी बजेट भौतिक पूर्वाधारमा छुट्याएको छ ।
यसैगरी, नगरपालिकाले चालु आवको छ महिनामा रु ११ करोड ८८ लाख पाँच हजार सात सय तीन राजस्व सङ्कलन गरेको नगर अधिवेशनमा उपप्रमख सरिता तिम्सिना भट्टराईले बताउनभयो । नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव ६० प्रतिशत रकम बढी राजस्व सङ्कलन गरेको बताउनुभयो ।
गत आवको छ महिनामा नगरपालिकाले रु ११ करोड २४ लाख ९० हजार राजस्व सङ्कलन गरेको उल्लेख गर्दै उहाँले नगरपालिकाले चालु आवमा रु ४३ करोड ६० लाख सात हजार पाँच सय राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको बताउनुभयो । उपप्रमुख भट्टराईले चालु आव २०८१/८२ मा नगरसभाबाट स्वीकृत तीन सय तीन, नगर कार्यपालिकाबाट स्वीकृत ३५, सङ्घ–प्रदेशबाट अख्तियार प्राप्त ३१ र विपद् व्यवस्थापनका लागि नगर कार्यपालिकाबाट स्वीकृत २१ गरी जम्मा तीन सय ९० योजना रहेकामा हालसम्म एक सय २० योजना सम्झौता भई योजना अनुगमन गरी ३४ योजना फरफारक गरिएको बताउनुभयो ।
नगरसभामा विधायन समितिका संयोजक प्रदीप कार्कीले आचारसंहिता वाचन, नगरपालिकाको विधायन समितिको प्रतिवेदन, आर्थिक कार्यविधि नियमित गर्ने विधेयक २०८१ पेश गर्नुभएको थियो । नगरउपप्रमुख एवं राजस्व परार्श समिति संयोजक एवं न्यायिक समिति संयोजक सरिता तिम्सिना भट्टराईले नगरपालिकाको न्यायिक समितिको र नगरस्तरीय अनुगमन तथा सुपरीवेक्षण तिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो ।
सभामा विभिन्न समितिका संयोजकमध्ये राजकुमार जोशीले सार्वजनिक लेखा समितिको प्रतिवेदन, रवीन्द्र सापकोटाले संस्था दर्ता प्रथम संशोधन विधयक २०८१ र सामाजिक विकास समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । संयोजक पुष्पराज बस्नेतले आर्थिक विकास समितिको प्रतिवेदन, शिवराम राउतले पूर्वाधार विकास समितिको प्रतिवेदन, भगवाण खत्रीले वन वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन र सानुकाजी कायस्थले सुशासन, सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समितिको प्रतिवेदन र सार्वजनिक सम्पत्तिको विवरण सभामा प्रस्तुत गर्नुभएको थियो ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी यु–१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले पूजा महतोको कप्तानीमा शनिबार १५ सदस्यीय टोली घोषणा गरेको हो ।
नेपाली टोलीका अन्य खेलाडीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत र एलिसा कुमारी यादव रहेका छन् ।
गत महिना भएको यु–१९ एसिया छनोटमा च्याम्पियन बन्दै नेपालले विश्वकपमा स्थान बनाएको हो । यु–१९ विश्वकप आगामी माघ ५ देखि २० गतेसम्म मलेसियामा हुँदै छ । उक्त प्रतियोगितामा १६ टोली सहभागी हुने छन् ।
नेपाल समूह ‘डी’ मा रहेको छ । उक्त समूहमा बङ्गलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड समेत रहेका छन् । नेपालले पहिलो खेल माघ ५ गते बङ्गलादेशसँग खेल्ने छ । नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग तथा तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ ।
खजुरा, (बाँके) २१ पुसः डुडुवा गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि रणनीतिक योजना तयार गरेको छ । गाउँपालिकाअन्तर्गत विभिन्न स्थानमा पर्यापर्यटनको सम्भावनालाई खोजी गर्दै विकास गर्न योजना बनाइएको छ । पालिकामा रहेका विभिन्न मठमन्दिर, मस्जिद, चर्चलगायत, वन क्षेत्र, राप्ती नदी तथा डुडुवा नालालगायत स्थानमा विभिन्न पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना अघि सारिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार पर्यटकीय दृष्टिकोणले डुडुवालाई पहिचान गराउन पर्यटनसँग जोडेर विभिन्न परियोजना सञ्चालन गरिएको छ ।
डुडुवामा सबैभन्दा अग्लो एक सय ५१ फिटको शिव प्रतिमा (स्टेचु अप शिवा) बनाउन सुरु गरिएको छ । डुडुवा गाउँपालिका–२ स्थित रामनगर पाझामा शिव प्रतिमा निर्माण गर्नका लागि जग्गामा पहिलो चरणअन्तर्गत बाउण्ड्री (वाल) निर्माण गर्न शिलान्यास गरिएको छ ।
अध्यक्ष चौधरीले डुडुवामा शिव प्रतिमा बनाउने कार्य वर्षौँदेखिको योजना बल्ल कार्यान्वयनमा आएको बताउनुभयो । उहाँले जग्गाको अभावमा राप्ती नदी पुल नजिक उक्त योजना असफल भएपछि रामनगर पाझामा रहेको एैलानी जमिनलाई प्रयोगमा ल्याएर धार्मिक पर्यटनको विकास गरिएको बताउनुभयो ।
करिब २७ बिघा जग्गामा बृहत्तर रूपमा पर्यटन क्षेत्रको दीर्घकालीन ‘प्रोजेक्ट’ सञ्चालन गरी कार्यान्वयनमा ल्याइएको अध्यक्ष चौधरीले बताउनुभयो । वडा नं २ मा पर्यटनको थुप्रै सम्भावना रहेकाले यो परियोजनाले डुडुवालाई चिनाउने वडाध्यक्ष दुर्गाप्रसाद बर्माले बताउनुभयो । अध्यक्ष बर्माले भन्नुभयो, “यस वडामा धार्मिक हिसाबले मठमन्दिर, मस्जिद, झुलेङ्गे पुल, डुडुवा नाला, बगर क्षेत्र, सीमानाका रहेको छ, यसलाई विस्तारै सौन्दर्यकरण गरिनेछ, यसले पर्यटन क्षेत्रमा टेवा पुग्छ ।”
गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत रु एक करोड चार लाख ६१ हजार छ सय २१ (भ्याटबाहेक)को लागतमा कोहलपुर–११ स्थित दीपक विल्डर्सले ठेक्का पाएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इञ्जिनियर सुरेन्द्रकुमार बर्माले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको असार मसन्तसम्म ‘बाउण्ड्री वाल’ निमार्णको काम सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।
गलेश्वर (म्याग्दी), २१ पुसः केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ ।कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक–मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खानका लागि यहाँ पर्यटकको भीड लाग्ने गर्छ ।
सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरी बारीमा रमाउँदै टिकटक र भिडियो बनाउन यतिबेला यहाँ थोगी नसक्नुको भीड छ । पुस लागेयता यहाँ रमाउन र वनभोज खान १२ हजारभन्दा बढी पर्यटक आएका स्थानीय अगुवा भरत केसीले जानकारी दिनुभयो ।
उत्तरतिर हेर्दा चाँदीझैँ टल्किने सेता हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पुस लागेयता दैनिक सयौँ पर्यटक आउने गरेका केसीले बताउनुभयो । अहिले पहेँलपुर तोरीबारीले रत्नेचौर झकिझकाउ बनेको छ । उत्तरतर्फ मनोरम धौलागिरि हिमशृङ्खलाको दृश्य, हरियाली फाँट र तोरी फुलेर पहेँलपुर वातावरणले यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई थप निखार दिएको पर्वत कुश्माका हरिश गौतमले बताउनुभयो ।
रत्नेचौरबाट संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) स्पष्ट देखिन्छ । यस्तै, समथर भूभागमा फुलेका तोरीबारीसँगै बेनी–बागलुङ सडकखण्डको कालोपत्र गरिएको चिल्लो सडकले थप आकर्षण प्रदान गरेको छ । तोरीबारीमा मौरी र भमरा रस चुस्दै गरेका रमाइला दृश्यले गाउँलाई जीवन्त बनाएको छ । बारीको छेउकुना तथा सडकको दायाँबायाँ मानिस तोरीबारी र हिमाल हेर्दै रमाइरहेका देखिन्छन् ।
पहेलँै फुलेको तारीको बीचबीचमा हुर्कँदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण टिकटक बनाउन, नाच्दै रमाउन व्यस्त छन् ।
रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्डको कालोपत्र सडकको दायाँ र बायाँतर्फ खेतको फाँटमा फुलेको तोरी, खुलेको हिमाल र चिल्लो सडकलाई पृष्ठभूमिमा पारेर फोटो खिचाउन र टिकटक बनाउन यहाँ दैनिक सयौँ पर्यटक आउने गरेको स्थानीयवासी नेत्रबहादुर महतले बताउनुभयो । उहाँले भन्नुभयो, “रत्नेचौर पर्यापर्यटनको आकर्षक स्थल बनेको छ । रत्नेचौरको मौलिकतालाई जोगाएर कृषि पर्यटकीय गाउँ बनाउन यहाँका स्थानीय लागिपरेका छन् ।”
केही वर्ष अगाडिसम्म सुनसान रत्नेचौरको सडक कालोपत्र भएपछि तोरीबारीमा बसेर फोटो, भिडियो खिच्न विभिन्न स्थानबाट सवारीसाधनको प्रयोग गरी आउने गरेका छन् । शुक्रबार, शनिबार र सार्वजनिक बिदामा अन्य दिनमा भन्दा बढी भीड लाग्ने गरेको छ । म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रबाट एकैपटक घुम्न आउनेहरूको भीड व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको स्थानीय सन्तोष महतले बताउनुभयो ।
रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण बनेको छ । “पुलमा खेल्न, तोरीमा रमाउन र वनभोज खान मानिस आउन थालेपछि थामिनसक्नुको भीड हुने गरेको छ” स्थानीय महतले बताउनुभयो ।
वरिपरिको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धवलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको निवर्तमान वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । तोरी उत्पादन क्षेत्र बनाएर राष्ट्रियस्तरमै पर्यटकीय हिसाबले पनि अहिलेको मौसमका बेलामा प्रवर्द्धन गर्न सकिने हुँदा लोकल तोरीको पनि प्रवर्द्धन हुने र व्यापक रूपमा पर्यटक भित्र्याउन सकिने थापाको भनाइ छ ।
काठमाडौँ, २१ पुसः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमाथि प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न करिब तीन मिनेटको समय उपलब्ध गराइने उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका उपाध्यक्ष पाण्डेले बताउनुभयो । बैठकमा तीन सय ५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चारवटा केन्द्रीय आयोगका प्रमुख सहभागी हुनेछन् । दुई दिनभित्र बैठक सक्ने तयारी छ ।
यसैबीच, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न १ बजेदेखि बस्ने बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।
‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प ः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उहाँबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको समेत सहभागिता रहनेछ ।
यसअघि केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुङ्गो लगाउन आज बिहान ८ बजे उक्त पार्टीको स्थायी समितिको बैठक बस्दैछ ।संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा दुवै राजनीतिक दलको बस्न लागेको बैठकले संविधान संशोधनलगायतका एजेण्डामा ठोस धारणा तय गर्ने बताइएको छ ।
काठमाडौँ, २१ पुसः कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी) रु ९०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु ४५, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ४०, आलु रातो प्रतिकेजी रु ५०, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ११०, गाजर (तराई) प्रतिकेजी रु ९०, बन्दा (लोकल) प्रतिकेजी रु ३०, बन्दा (तराई) प्रतिकेजी रु २०, बन्दा (नरिवल) प्रतिकेजी रु २५, काउली स्थानीय प्रतिकेजी रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ४०, काउली तराई प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु ३५, मूला सेतो (लोकल) प्रतिकेजी रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ४०, भन्टा लाम्चो प्रतिकेजी रु ५०, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ ।
माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर निर्माण गर्नको लागि सन् २०२५ मा ८० अर्ब अमेरिकी डलर छुट्याएको कम्पनीले जनाएको छ ।
माइक्रोसफ्टले शुक्रबार एक ब्लग पोस्टमा भन्यो, “टेक विशालले एआई मोडेलहरूलाई तालिम दिन तथा विश्वभर एआई र क्लाउड–आधारित अनुप्रयोगहरू प्रयोग गर्ने योजना बनाएको छ ।”
माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथका अनुसार त्यो ८० अर्ब डलर विनियोजनमध्ये आधाभन्दा बढी संयुक्त राज्य अमेरिकामा खर्च हुनेछ ।
स्मिथले थप्नुभयो,“एआईले अर्थतन्त्रको हरेक क्षेत्रमा नवप्रवर्तन र उत्पादकत्व बढाउने वाचा गर्छ । संयुक्त राज्य अमेरिका यस नयाँ प्रविधि लहरको अगाडि उभिन तयार छ ।”
माइक्रोसफ्ट तथा ओपनएआई एक डाटा सेन्टर सुविधाको निर्माणको बारेमा वार्तामा थिए । यो सुविधा निर्माण गर्न १०० अर्ब डलरभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको थियो ।
सुदूरपश्चिम, २० पुसः कैलाली जिल्लामा एकैदिन लागुऔषधसहित १० जना पक्राउ परेका छन् सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिकाको विभिन्न पाँच ठाउँका साथै टीकापुर क्षेत्रबाट गरी झण्डै साढे आठ ग्राम खैरो हिरोइन र धनगढीको केदार टोलबाट झण्डै ६९ ग्राम चरेशसहित दश जनालाई पक्राउ गरेको हो ।
पक्राउपर्नेमा कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिकाका मोहन राना, प्रदीप राना, अनिल राना, कैलाली जिल्ला धनगढी उपमहानगरपालिकाका प्रभुराम राना, अमर राना, बाहाली राना, दीपक राना, बैतडी जिल्ला घर भई हाल धनगढी बस्ने खेमराज महरा, टीकापुर नगरपालिकाका विक्रम बुढा र मिलन टमटा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।
“बेलाबखत प्रहरीले यो कर्डन एण्ड स्वीप अभियान चलाउँछ”, उहाँले भन्नुभयो, “कैलाली लागुऔषधको केन्द्र बन्न थालेको छ, सबै अभिभावकले आ–आफ्ना छोराछोरीको आनीबानीका बारेमा सचेतता आपनाउन निकै जरुरी भइसकेको छ ।”
प्रहरीले लागुऔषधको सेवन, ओसारपसार रोकथामका लागि यो भित्रिनसक्ने सम्भावित ठाउँको निगरानी गरेर यसको जालो तोड्ने प्रयासमा गरिरहेको जनाएको छ । समाजमा हुने गरेका अधिकांश आपराधिक घटनामा लागुऔषध सेवनकर्ताको कुनै न कुनै रुपले संलग्नता देखिँदा सुरक्षा चुनौती पनि थपिएको प्रहरीको भनाइ छ ।
साथै कैलालीको प्रहरी टोलीले धनगढीको ट्रफिक चोक, फूलबारी बस बिसौनी, टीकापुरको डाँडाबोझी, क्षेत्रबाट भन्सार छली गरी ल्याइएका रु चार लाख ११ हजार सातसय ५० मूल्य बराबरका व्यापारिक मालसामान पनि बरामद गरेको छ ।
सन्ध्या थिएटर मामिलामा साउथ सुपरस्टार अल्लु अर्जुनलाई नामपल्ली अदालतले नियमित जमानत दिएको खबर छ ।
उनलाई अदालतले ५०–५० हजार रुपैयाँको दुईवटा धरौटीमा धरौटीमा रिहा गरेको खबर छ । साथै, अदालतले उनलाई हरेक आइतबार चिक्कडपल्ली प्रहरी चौकीमा हाजिर हुन आदेश दिएको छ । यसअघि उनले तेलंगाना उच्च अदालतबाट अन्तरिम जमानत पाएका थिए ।
अल्लु अर्जुनको नियमित जमानत याचिकामा डिसेम्बर ३० मा सुनुवाइ भएको थियो तर सो दिन फैसला सुरक्षित राखिएको थियो । तर, ३ जनवरी साँझ अदालतले आफ्नो फैसला सुनाए लगत्तै अल्लु अर्जुनले राहत पाएको खबर बाहिरियो ।
वास्तवमा ४ डिसेम्बरमा फिल्म ‘पुष्पा २’ को प्रिमियरको क्रममा हैदराबादको सन्ध्या थिएटरमा भागदौड भएको थियो । त्यही क्रममा एक महिलाको मृत्यु भएको थियो । त्यसपछि १३ डिसेम्बरमा अल्लु अर्जुनलाई यस मामिलामा पक्राउ गरिएको थियो । तल्लो अदालतले उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाउने आदेश दिएको थियो।
तर, सोही दिन उनले तेलंगाना उच्च अदालतबाट अल्लु अर्जुनले अन्तरिम जमानत पाएका थिए । र अहिले भने उनले नियमित जमानत पाएका हुन् ।
‘पुष्पा २’ ले रच्यो इतिहास
तर, अल्लु अर्जुनको फिल्मको कुरा गर्ने हो भने हालै ‘पुष्पा २’ ले निकै सफलता हात पारेको छ । यो देशकै दोस्रो धेरै कमाउने फिल्म बनेको छ । यसअघि यो कीर्तिमान प्रभासको ‘बाहुवली–२’को नाममा थियो तर २८ दिनमा विश्वभर १७९९ करोड कमाएर ‘पुष्पा २’ ले इतिहास रच्दै यो कीर्तिमान कायम गरेको हो ।
‘पुष्पा २’ को कमाइको क्रम अझै जारी छ । यो फिल्म ५ डिसेम्बरमा रिलिज भएको थियो । रिलिज भएको करिब एक महिना बितिसक्दा पनि यो चलचित्रका लागि दर्शक हलमा घुमिरहेका छन् । कमाईको मामिलामा अहिले आमिर खानको ‘दंगल’ मात्रै ‘पुष्पा २’ भन्दा अगाडि छ, जसले २०७० करोड कमाएर एेतिहासिक रेकर्ड कायम गरेको थियो ।