Blog

  • उनन्तीस वर्षदेखि ओडारमा व्यापार

    उनन्तीस वर्षदेखि ओडारमा व्यापार

    दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आउनुभएको छ ।  

    विसं २०५२ मा देवीटारमा निर्माणाधीन खिम्ती जलविद्युत् आयोजनका लागि तामाकोसी हुँदै देवीटारसम्म कच्ची मोटरबाटोको सुविधा पुगेपछि रामेछाप र सिन्धुलीका मानिस मन्थलीबाट खिम्ती हुँदै यही बाटो भएर काठमाडौँ ओहोरदोहोर गर्न थालेपछि उहाँले ‘चिया चमेना’को व्यापार सुरु गर्नुभएको हो ।

    तत्कालीन समयमा कार्कीले ओडारबाट सुरु गर्नुभएका व्यापार अहिले जस्ताको छानो हालेर परिमार्जन गर्नुभएको छ । ६४ वर्षीय कार्कीले पाँच छोरी र दुई छोरासहित नौ जनाको परिवारको पालपोषण यही ओडारको पसलबाट भएको आम्दानीबाट गरिरहेको बताउनुभयो । 

    जीविकोपार्जनमा समस्या भएपछि भारतको सिलगुढीमा १८ वर्षसम्म ज्याला मजदूरी गरेर केही रकम लिई उहाँ स्वदेश फर्कनुभएको हो । सोही बेलादेखि सुरु गर्नुभएको ओडारको पसल अहिले उहाँहरूको सहज रूपमा जीविकोपार्जन भइरहेको छ । ओडारको पसलमा किराना सामान, चिया, खाजा र अनुरोध भएमा खानासमेत खुवाउने व्यवस्था भएको कार्कीले जानकारी दिनुभयो ।

    “त्यसबेला यहाँ लगाएको वरपीपल अहिले सित्तल बस्ने चौतारो बनेको छ भने बाँसका झाङ फैलिँदै गइरहेका छन्, केरा, अम्बा आटीलगायत फलफूलहरू पनि पाक्ने बेला भए पनि बाँदरले दुःख दिने गरेको छ”, उहाँले भन्नुभयो ।

    चार/पाँच आना जग्गामा गरेको उब्जनीले तीन महिना पनि खान नपुग्ने भएपछि विकल्पको खोजीमा यहाँ आइपुगेको कार्कीले बताउनुभयो । यही व्यापारबाट तामाकोसी–५ मा छ आना जग्गा किनेर भूकम्प प्रतिरोधी दुईकोठे कच्ची घर बनाएको उहाँले उल्लेख गर्नुभयो । 

    सबै छोराछोरीको विवाह गरिसक्नुभएका कार्की आफ्नी ६२ वर्षीया श्रीमती डम्बरकुमारीको साहारमा पसल चलाउने र घरायसी काम गर्ने गर्नुहुन्छ । “पाँच छोरीको विवाह गरेर आआफ्नो घर पठाइसके, दुई छोरामध्ये जेठोको पनि विवाह भइसक्यो, कान्छो काठमाडाँैमा छ”, कार्कीले भन्नुभयो । 

    पसलबाट सुरुआती चरणमा दैनिक रु दुई हजार पाँच सयदेखि रु १० हजारसम्म व्यापार हुने गरको बताउँदै कार्कीले ग्राहकले आधुनिक बसाइ, खाना खोज्नाले अहिले दैनिक रु पाँच–छ सयको मात्र बिक्री हुने उल्लेख गर्नुभयो । 

    गत असोजमा १२ गते आएको बाढीका कारण रोशी खोलाले बिपी राजमार्ग अवरुद्ध पारेपछि काठमाडाैँबाट रामेछाप, दोलखा, सोलु र सिन्धुलीका विभिन्न भागमा काठमाडौँबाट आउनेजाने सवारीसाधन पुष्पलाल मार्गबाट सञ्चालन हुँदा आफ्नो व्यापार बढेको कार्कीले बताउनुभयो । बिपी राजमार्ग सञ्चालनमा आई खुर्कोटको पुलसमेत बनेपछि पुनःव्यापार घटेको उहाँले सुनाउनुभयो ।  

    विसं २०७२ को भूकम्पले समेत ओडारमुनिको ओडारका पसलमा कुनै क्षति नपुगेको उहाँले बताउनुभयो । “पटकपटक वडा र पालिकाले भूकम्पको जोखिम भएकाले यहाँ नबस्न अनुरोध गरिरहेका छन् । लामो समयदेखि यही बसेर व्यापार  गरेको र केही संरचना पुनःनिर्माण गरिसकेका यहाँबाट अन्यत्र जान सबेको छैन”, उहाँले भननुभयो । 

    ओडारमा अहिले पनि बिजुली बत्ती नजोडिएको भन्दै कार्कीले पटकपटक प्रयास गरे पनि ऐलानी जग्गामा अस्थायी बासोबास भएकाले विद्युत् प्राधिकरणले खम्बा र मिटर नदिएको गुनासो गर्नुभयो । सोही कारणले साँझ अबेरसम्म बस्न नसकिने र व्यापार पनि कम हुने उहाँको बुझाइ  छ ।

    “मैले रोपेको बाँसमध्ये सात झाँङ फस्टाएर अएकाले बिक्री गर्नेबेला भएको छ । वर, पीपल ठूला भएर सित्तल बस्ने चौतारो बनिसकेको छ । केरा आँटी, अम्बालगायत फलफूलहरू फल्न लागिसकेका छन् । यो ठाउँ छाडेर काहीँ जान मन लाग्दैन”, कार्कीले भन्नुभयो । स्थानीय सरकारले विद्युत्को व्यवस्था गरिदिए व्यापार गर्न सहज हुने उहाँको भनाइ छ । 

    प्रायजसो निजी सवारीसाधनमा यो सडक मार्ग भएर ओहोरदोहोर गर्ने  मानिस यहाँको पसलमा चिया, खाजा खाएर कार्कीसँग कुराकानी गरेर मात्र गन्तव्यतर्फ लाग्ने गर्दछन् ।

  • विद्यार्थीलाई पञ्चैबाजा बजाउने तालिम

    विद्यार्थीलाई पञ्चैबाजा बजाउने तालिम

    त्रिवेणी (नवलपरासी), २३ पुसः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ स्थित देवचुली माध्यमिक विद्यालयले विद्यार्थीलाई पञ्चैबाजा बजाउने तालिम प्रदान गरेको छ । तालिम लिएपछि अहिले यहाँका विद्यार्थी फुर्सदमा बाजा बजाएर आम्दानी गर्न थालेका छन् । 

    दुई महिनाअघि विद्यालयले कक्षा ६ देखि ९ सम्मका बाजा बजाउन इच्छुक ११ जना विद्यार्थीलाई तालिम प्रदान गरेको थियो । पञ्चेबाजा बजाउने तालिममा सहभागी १० वर्षीय विद्यार्थी होम थापाले बाजा बजाउन सिकेसँगै गाउँमा भएका तीन वटा कार्यक्रममा पञ्चेबाजा बजाएर आम्दानी गरेको बताउनुभयो । 

    ढोलक, सनही र नरसिंहा बाजा बजाउन सिक्नुभएका थापाले भविष्यमा संस्कृति संरक्षणसँगै व्यावसायिक रूपमा यसलाई निरन्तरता दिने उल्लेख गर्नुभयो । 

    शिक्षालाई सीपसँग जोड्ने योजनाअनुसार विद्यालयका विद्यार्थीलाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तोपराज कोइरालाले बताउनुभयो । देवचुली नगरपालिकाको समन्वयमा विद्यार्थीलाई तालिम प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।  

    पञ्चेबाजा तालिमले शिक्षासँगै सीपलाई जोड्ने काम गर्नुका साथै सङ्कटमा रहेको पञ्चेबाजाको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने अध्यक्ष कोइरालाले विश्वास व्यक्त गर्नुभयो । “तालिम लिएपछि “विद्यार्थीहरूमा सांस्कृतिक र कलासम्बन्धी सीप विकास भएको छ, साथै नयाँ पुस्तालाई पुरानो संस्कृतिसँग जोड्ने प्रसाय भएको छ, यसले पञ्चेबाजा संरक्षण र कला, संस्कृतिमा प्रवर्द्धनमा सहयोग पुग्ने छ”, उहाँले भन्नुभयो । 

    पहिलो चरणमा केही विद्यार्थीलाई मात्रै तालिम प्रदान गरिएको बताउँदै अध्यक्ष कोइरालाले क्रमशः अन्य विद्यार्थीको आवश्यकता र इच्छाअनुसार तालिम प्रदान गरिने जानकारी दिनुभयो । 

    विद्यार्थीहरू अहिले समूह बनाएर बाजा सिक्ने र अध्ययनसँगै वरपरका  कार्यक्रममा बाजा बजाउन जाने गरेका छन् । “नियमित रूपमा आफ्नो अध्ययनको काम भइरहेको छ, यसबाहेक फुर्सदमा नेपालको मौलिकता बोकेको पुरानो बाजालाई अगाडि बढाउनुपर्छ भन्ने लागेर बाजा बजाउने तालिम लिएका हौँ”, विद्यार्थी सम्राट नेपालीले भन्नुभयो, “साथीहरू भएर कार्यक्रममा बाजा बजाउन जाँदा रमाइलो हुनुका साथै आम्दानी पनि भइरहेको छ ।” 

    विद्यार्थीहरूले अहिले पनि बाजा बजाउन सिक्ने कामलाई निरन्तरता दिइरहेका छन् । विद्यालयको प्रशिक्षकका रूपमा खटिनुभएका भीमबहादुर परियारका अनुसार विद्यार्थीले राम्रोसँग पञ्चेबाजा बजाउने गरेका छन् । साना विद्यार्थीलाई आफूले जानेको सीप सिकाउन पाउँदा खुसी लागेको पउहाँले बताउनुभयो । 

    विद्यार्थीले बाजा बजाउन सिकेसँगै बाजा, कला, संस्कृतिको संरक्षण, प्रवर्द्धन हुनुका साथै पुस्तान्तरण समेत भइरहेको प्रशिक्षक परियारले उल्लेख गर्नुभयो । साना बालबालिकाले पञ्चेबाजा बजाएको देख्दा विद्यालयका अभिभावक उत्साहित भएका उहाँको भनाइ छ । “सबैले यो फरक कार्य भयो, सानो उमेरमा राम्रो बाजा बजाए भनेर उत्साहित हुँदै प्रशंसा गर्नुभएको छ”, परियारले भन्नुभयो । 

  • अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य ‍…

    अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य ‍…

    काठमाडौँ, २३ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढ्नुका साथै आज अधिकांश विदेशी मुद्राको भाउ वृद्धि भएको हो ।

    अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ७८ पैसा, बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ आठ पैसा र बिक्रीदर ८६ रुपैयाँ नौ पैसा, क्यानेडियन डलर एकको खरिदद र ९५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९६ रुपैयाँ नौ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा निर्धारण भएको छ ।

    साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ५४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ ५० पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ नौ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५५ रुपैयाँ ९२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ४८ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

  • दुनै–लासिक्याप खण्ड निर्माणमा ढिलाइ

    दुनै–लासिक्याप खण्ड निर्माणमा ढिलाइ

    दुनै–लासिक्याप खण्डमा ठेक्काको म्याद सकिन लाग्दा १५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । त्रिदेशीय सडकका रूपमा विकास गर्ने लक्ष्य लिइएको भेरी करिडोरमा निर्माण व्यवसायीले समयमा काम नगर्दा अलपत्र परेको हो ।

    दुनै–लासिक्याप खण्डमा काम नहुँदा सोभन्दा माथिको सडक निर्माणमा बाधा पुग्ने आयोजना प्रमुख सुनील रञ्जितकारले बताउनुभयो ।

    पूर्वसहरी विकासमन्त्री धनबहादुर बुढाले जाजरकोटको तल्लुबगरबाट डोल्पाको सदरमुकाम दुनैसम्म कच्ची सडकमा यातायात सञ्चालनमा आए पनि तल्लुबाट त्रिपुरोकाटसम्म कालोपत्र गर्न स्रोत सुनिश्चित नहुँदा थप समस्या भएको बताउँदै स्रोत सुनिश्चितका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

    भेरी करिडोर सडक आयोजनाले सडक निर्माणलाई तीव्रता दिन अनुगमन गरिरहेको भन्दै निर्माण कम्पनीले म्याद सकिनलाग्दा पनि कामलाई गति दिन नसकेको आयोजना प्रमुख रञ्जितकारको भनाइ छ । 

    “डोल्पाको सदरमुकामबाट माथिल्लो डोल्पाको मरिमसम्मको एक सय किलोमिटरमध्ये २५ किमी कच्ची सडक कटान गर्नुपर्ने छ । दुनै–लासिक्याप खण्डको काम छिटो भएमा सोभन्दा माथिल्लो भागमा नेपाली सेनाले जिम्मेवारी लिने सडकको काम अगाडि बढ्ने देखिन्छ”, उहाँले भन्नुभयो । अहिले २५ किमी सडक खण्डभित्र कटानको कामलाई तीव्रता दिन निर्माण व्यवसायीलाई ताकेता गरिएको प्रमुख रञ्जितकारले जानकारी दिनुभयो ।

    माथिल्लो डोल्पाको भागमा पर्ने लासिक्याप–मरिम ७५ किमीमध्ये नेपाली सेनाले ४० किमी कटानको काम गरिसकेको आयोजना प्रमुख रञ्जितकारले जानकारी दिनुभयो । “दुनै–लासिक्याप खण्ड निर्माण सम्पन्न गर्न सूर्य–श्रेया–शान्ति देवी जेभीसँग एक वर्ष बाँकी छ”, उहाँले भन्नुभयो ।

    विसं २०८२ पुस १६ गते निर्माण सम्पन्न गर्नेगरी विसं २०७८ चैत १७ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । तल्लो सडक निर्माण नगरी माथिल्लो खण्ड निर्माणमा सेनाले आवश्यक उपकरण लिन नसक्ने भएकाले तल्लो खण्डको काम एक वर्षभित्र सक्नुपर्ने प्रमुख रञ्जितकारले बताउनुभयो ।

    सेनाले निर्माण गर्ने खण्डभन्दा दुनैबाट लासिक्यामअन्तर्गतको सडक यथाशीघ्र निर्माण भएमा माथिल्लो सडक निर्माण गर्न सहज हुने पूर्वमन्त्री बुढाले बताउनुभयो । भेरी करिडोर नामकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्नुका साथै त्रिदेशीय पारवहन सेवामा सजिलो हुने भएकाले छिन्चु–जाजरकोट–डोल्पा त्रिदेशीय मार्गलाई महत्वका साथ हेरिएको उहाँको भनाइ छ । 

    यो करिडोर सम्पन्न भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग बन्नेछ । कर्णेल विश्वबन्धु पहाडीको नेतृत्वमा रहेको नेपाली सेनाले भेरी करिडोरअन्तर्गतका जाजरकोट–डोल्पा सडक निर्माण विसं २०६५ मा सुरु गरेको थियो । ट्रयाक खुलेसँगै सेनाले एक सय १८ किमी सडक विसं २०७६ मा भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ । दुनैबाट चीनको सिमानासम्म रहेको मरिम नाकासम्मको एक सय किमीमध्ये नेपालतर्फ ४० किमी निर्माण भइसकेको छ । दुनैबाट धोसम्म निर्माण हुन बाँकी छ ।

    जाजरकोटबाट दुनैसम्म बेलिब्रिज निर्माण भएपछि यातायात सेवा सञ्चालनमा आएका छन् । देशको उत्तरी सीमासँग जोडिएको माथिल्लो डोल्पाका तीन गाउँपालिकाका नागरिकलाई नेपालतर्फ सडक सुविधा नहुँदा जिल्ला सदरमुकाम दुनैसम्म पुग्न हप्तादिनसम्म पैदालयात्रा गर्नुपर्ने बाध्यता छ ।

    दुनैबाट धोसम्मको ५० किमी खण्ड चट्टानैचट्टानले बनेकाले यस खण्डमा पर्ने चट्टान विस्फोट गराउनुपर्ने अयोजना प्रमुख रञ्जितकारले बताउनुभयो । डोल्पा जडीबुटीको भण्डार भएकाले त्रिदेशीय मार्ग निर्माण भएपछि कर्णाली प्रदेशसहित मुलुकको आर्थिकस्तर वृद्धि हुने अपेक्षा लिइएको उहाँले उल्लेख गर्नुभयो ।  

    सडक समयमा निर्माण नहुँदा आफूहरूलाई सदरमुकामसम्म पुग्न पनि समस्या भइरहेको काइके गाउँपालिकाका अध्यक्ष अङ्कद रानाले बताउनुभयो । दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानीमा समस्या भएको उहाँको भनाइ छ । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा खण्डको विभिन्न स्थानमा पुल निर्माण नहुँदा थप सास्ती भइरहेको अध्यक्ष रानाले जानकारी दिनुभयो । 

    क्याराभान हिराचन जेभीले विसं २०७७ माघ २ गते नलगाड र झुम्रेखोलामा पुल निर्माणको ठेक्का लिएको थियो । रायमाझी क्याराभान जेभीले सोही मितिमा भेरी करिडोरका मैदेखोला, त्रात्र खोला, ताक्सुगाडमा पुल निर्माणको जिम्मेवारी लिएको थियो । 

    जाजरकोटबाट दुनैसम्म रहेको एक सय १८ मध्ये ५६ किमी यत्ति बिल्डसले तिव्रताका साथ काम गरिरहेको आयोजना प्रमुख रञ्जितकारले जानकारी दिनुभयो । पुलसहित बाँकी खण्डमा कामलाई तीव्रता दिन सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता दिँदै आइएको उहाँले बताउनुभयो ।

  • सामाजिक सुरक्षा कोषमा आबद्धले प्रतिष्ठानबाट उपचार पाउने

    सामाजिक सुरक्षा कोषमा आबद्धले प्रतिष्ठानबाट उपचार पाउने

    सामाजिक सुरक्षा कोषमा आबद्ध भएका सेवाग्राहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुने भएको छ । 

    सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानका रजिष्ट्रार प्रा श्याम लम्साल र सामाजिक सुरक्षा कोषका पदाधिकारीबीच सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको उपचार प्रतिष्ठानबाट प्राप्त गर्नेगरी सम्झौता गरिएको हो । 

    सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको सहज उपचार पहुँच पुर्‍याउने उद्देश्यले कोष र प्रतिष्ठानबीच सम्झौता भएको रजिष्ट्रार लम्सालले बताउनुभयो । सम्झौताअनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको सामान्य उपचारदेखि शल्यक्रियासम्मको सेवा प्रतिष्ठानबाट उपलब्ध हुने उहाँले जानकारी दिनुभयो ।

    दाङबाट मात्रै सामाजिक सुरक्षा कोषमा पाँच हजार बढी व्यक्ति आबद्ध रहेका कोष कार्यालयले जनाएको छ । कोषमा आबद्ध व्यक्तिहरूको उपचार गर्नेगरी देशैभरिबाट पहिलोपटक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता भएको हो । 

    कोषमा वैदेशिक रोजगारमा गएका व्यक्ति, विभिन्न बैंक तथा कम्पनीका सुरक्षा गार्ड कम्पनीमा आबद्ध सुरक्षा गार्ड, कर्मचारीलगायत आबद्ध रहँदै आएका छन् । यसअघि घोराहीको मितेरी हस्पिटलबाट उपचार हुँदै आएकामा अब विशेषज्ञ सेवासहित कोषमा आबद्ध भएका व्यक्ति उपचार प्रतिष्ठानबाट हुनेछ । 

    कोषमा आबद्ध बिरामीले अनलाइनमार्फत बिरामी भर्ना, औषधि, उपचार खर्चलगायत विवरण बुझाएमा उपचार गर्दा लागेको रकम भुक्तानी हुने कोष कार्यालयले जनाएको छ ।

  • आर्थिक विकासका लागि ‘विराट एक्स्पो’ हुँदै

    आर्थिक विकासका लागि ‘विराट एक्स्पो’ हुँदै

    मोरङ जिल्लाको आर्थिक एवं औद्योगिक विकासका लागि उद्योग सङ्गठन मोरङले ‘विराट एक्स्पो–२०२५’ आयोजना गर्न लागेको छ ।

    सङ्गठनले विराटनगर महानगरपालिका–१४ जतुवास्थित डिग्री क्याम्पसको मैदानमा आगामी माघ ११ गतेदेखि २० गतेसम्म एक्स्पो (व्यापार तथा औद्योगिक मेला) आयोजना गर्न लागेको सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । विराट एक्स्पोमा नौ वटा पेभिलियन (व्यापारी कक्ष) अन्तर्गत दुई सय ६८ स्टल रहने एक्स्पो व्यवस्थापन समितिका संयोजक भोलेश्वर दुलालले जानकारी दिनुभयो ।

    उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका स्टार्टअप भिजन, कोशी ह्याकाथुन, रोजगार, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि, अटोमोबाइल्सका, औद्योगिक कर्पोरेट, कृषि, पर्यटन, खाद्यका स्टल रहने उल्लेख गर्नुभयो । ।

    प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मोरङ उद्योग व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल साह, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, उद्योग सङ्गठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी र उपाध्यक्ष विपिन काबराले एक्स्पो आयोजनाले यस क्षेत्रमा आर्थिक कारोबारमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

    विराट एक्स्पो–२०२५ को सम्पूर्ण आन्तरिक तयारी पूरा भइसकेको र स्टलका लागि मैदान निर्माण सुरु भएको संयोजक दुलालले जानकारी दिनुभयो ।

  • काठमाडौँमा भूकम्पको धक्का महसुस

    काठमाडौँमा भूकम्पको धक्का महसुस

    काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ।

    काठमाडौँ उपत्यकालगायत  आसपासका जिल्ला तथा तराई मधेसका भू भागमा पनि भूकम्पको धक्का महसुस गरिएको हो।

    बिहान ६:५५ बजे यो महसुस गरिएको हो। 

    तिब्बतको सिगात्सेलाई केन्द्र बिन्दु बनाएको भूकम्प ५.३ म्याग्निच्युडको थियो। 

    खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ ।

    तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।

  • प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन

    प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन

    काठमाडौँ, २२ पुस : नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट रु दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । 

    विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको हो ।

    प्रवक्ता अधिकारीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट रु ९० करोड ५७ लाख (४०.४२ प्रतिशत) राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । ट्राफिक जरिवानाबाट रु ५२ करोड सात लाख अदालती फैसला कार्यान्वयनतर्फ रु ४२ करोड ७४ लाख, अवैध सुन तथा चाँदी बरामदबाट रु २६ करोड २९ लाख र अवैध मुद्रा बरामद गरी रु चार करोड ३७ लाख राजस्व सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो ।

    त्यसैगरी स्रोत नखुलेको रु दुई करोड ९० लाख, हुण्डी कारोबार नियन्त्रणबाट रु एक करोड ८३ लाख अवैध काठ बरामदबाट रु एक करोड २० लाख राजस्व सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

    साउनदेखि मङ्सिरसम्मको विवरणअनुसार अवैध पशुपन्छी नियन्त्रण अभियानबाट रु एक करोड १६ लाख र अवैध नदीजन्य उत्खननबाट रु ९२ लाख बढी राजस्व सङ्कलन गरिएको अधिकारीले जानकारी दिनुभयो । 

  • लण्डनमा गुन्जियो कन्दरा

    लण्डनमा गुन्जियो कन्दरा

    बेलायत, २२ पुस : ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली व्याण्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट गरेको छ । शनिबार विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो । कन्दरा ब्याण्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो ।

    कन्दराले ओटु साँझलाई ऐतिहासिक र अविष्मरणीय भनेको छ । नेपालीका कार्यक्रम विरलै हुने सो स्थानमा गायक विवेक श्रेष्ठले नेपालबाटै आएका वाद्यवादकहरुको बेजोड लाइभ सङ्गीतमा झण्डै दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पार्नुभएको थियो । गायक श्रेष्ठले तगारोमा रुमाल राखी, जिन्दगीको यो उत्सव हो बरदान ईश्वरको, विदेशिएर गइन उनी, लेककी हे माया मोहनी सबैलाई लगाउने, हङकङ पोखरा, तिमी हाँसे हासिदिउँला रोए फकाउँला, इलामे चियाले मितेरी लायो, चिसो चिसो हावामा, साङ्ग्रिलाको लेक भरी फुलैफूलको बासना, हे कस्तो ठाउँमा आइयो सोल्टी, फुलचोकीको डाँडैमा, चन्चले कान्छीको, कहाँ हिँडेकी कुन ठाउँ मनकी ए परी, तिमी पारी त्यो गाउँमा, बल्ल तल्ल भेट भकोलगायतका गीत सुनाउनुभयो । उहाँका हरेक गीतमा दर्शकले ‘वान्स मोर’ भनेका थिए ।

    ओटुमा कन्दरा गुन्जिदा झण्डै दुई हजार आठ सय दर्शक साथ रहेको आयोजक मामाघर इन्टरटेन्मेन्टले जनाएको छ । गायक श्रेष्ठले गोपाल योञ्जनको ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई’ गाउँदै बेलायतका नेपालीलाई नेपाल फर्किन अपिल गर्नुभएको थियो । कार्यक्रमको सफलतापछि उत्साहित श्रेष्ठले भन्नुभयो, “विश्व सङ्गीतका लिजेण्डहरुको प्रस्तुती रहिसकेको यो ठाउँमा प्रस्तुती दिनु मेरो सपना थियो, आज यो ऐतिहासिक हलमा नेपाली दाजुभाई, दिदीबहिनी तथा आमाबाबामाँझ गाउन पाउनु मेरो लागि अझै सपना झैँ लागि रहेको छ ।” कन्दराको वर्तमान लाइन अपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् । ड्रम्समा रहनुभएका सुनिल थापा ब्याण्ड स्थापना कालदेखिका सदस्य हुनुहुन्छ ।

    कन्दराले आफ्नो ३२ वर्षे साङ्गीतिक यात्राको उत्सव वर्षको रूपमा सन् २०२४–०२५ लाई’ पहिला घरदेश, अनि परदेश’ को नारा दिएर देशभर र विश्व भ्रमणको तालिका सार्वजनिक गरेको छ । यो कन्सर्ट लगत्तै यही जुनमा दुबई, कतार तथा हङकङमा प्रस्तुती दिने ब्याण्डले, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्यूजील्याण्ड, मे’ मा अमेरिका, जुनमा क्यानडा र जुलाई–अगस्टमा युरोपका विभिन्न देशपछि अगस्ट–सेप्टेम्बरमा जापानमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने जनाएको छ । नेपाली मेलो लोक–पपसँग ३२ वर्षे उमेर पूरा गरेको यस ब्याण्डले नेपाली युवामाझ पप र आधुनिक सङ्गीतको फ्युजन प्रस्तुत गर्दै साङ्गीतिक विरासतलाई निरन्तरता दिने जनाएको हो ।

  • अमेरिकी डलरको मूल्य स्थिर अन्य विदेशी मुद्रामा घटबढ

    अमेरिकी डलरको मूल्य स्थिर अन्य विदेशी मुद्रामा घटबढ

    काठमाडौँ, २२ पुस : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

    केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलरलगायत केही विदेशी मुद्राको मूल्य आज स्थिर रहेको छ ।  युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, डेनिस क्रोनर, ओमनी रियालको भाउ बढेको छ । त्यसैगरी  क्यानेडियन डलर, सिङ्गापुर डलर, थाई भाट, बहराइन दिनारको भाउ भने घटेको छ ।

    अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४  पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ १७  पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ १० पैसा, बिक्रीदर एक सय ७० रुपैयाँ ८५ पैसा , स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ०९  पैसा र बिक्रीदर ८५ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९५ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।

    साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

     राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २४ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८३ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रुपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ७१ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।