Category: अन्तर्राष्ट्रिय

  • मुम्बईमा बन्धक बनाएका १५ बालबालिकाको सकुशल उद्धार

    मुम्बईमा बन्धक बनाएका १५ बालबालिकाको सकुशल उद्धार

    मुम्बईको पवई क्षेत्रमा कैयौँ बालबालिकालाई बन्धक बनाउने व्यक्तिलाई मुम्बई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार बालबालिकालाई बन्धक बनाएका रोहित आर्याले एक भिडियो जारी गर्दै आफूले केही बालबालिकालाई बन्धक बनाएको आफ्नो माग पूरा नगरे सबै कुरामा आगो लगाउने र बच्चासहित आफैंलाई हानि पुर्‍याउने धम्की दिएका थिए । अपहरणकारी ती व्यक्तिले बन्धक रिहाइका लागि आफुले केही व्यक्तिसँग कुरा गर्न चाहेको बताएका थिए।

    प्रहरी अधिकारीहरूका अनुसार ती व्यक्ति मानसिक रूपमा अस्थिर देखिएका थिए भने प्रहरीले परिस्थितिलाई सावधानीपूर्वक सम्हालेको छ। 

    अपहरणपछि तत्काल मुम्बई प्रहरीद्वारा जारी गरिएको एक विज्ञप्तिमा घटनाको पुष्टि गर्दै भनिएको छ, “मुम्बईको पवई क्षेत्रमा रोहित आर्या नाम गरेका एक व्यक्तिले केही बालबालिकालाई बन्धक बनाएका छन् । उनले सार्वजनिक गरेको एक भिडियोमा उनी केही व्यक्तिहरूसँग कुरा गर्न चाहेको र त्यसो गर्न अनुमति दिइएन भने उनले सबै चीजमा आगो लगाइदिने र आफू र बच्चाहरूलाई हानि पुर्याउने चेतावनी दिएका थिए ।”

    समाचार तयारपार्दासम्म प्रहरीले सबै बालबालिकालाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको पुष्टि गरेको छ ।

    प्रहरीले अभियुक्तलाई हिरासतमा लिइएको र उनको कार्यको कारण पत्ता लगाउन र उनको मानसिक अवस्थाको परीषण गर्न सोधपुछ भइरहेको बताएको छ।

    प्रहरीद्वारा बालबालिकाको रिहाइपछि दिइएको जानकारीमा भनिएको छ, “घटनास्थलबाट सबै बालबालिकाको सकुशल उद्धार गरिसकेको छ। रोहित आर्या नाम गरेका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको र उनीसँग कुरा गरिरहेको छ । उनले किन यस्तो कदम चाले र के उनी वास्तवमै मानसिक रूपमा अस्वस्थ छन् भनेर पत्ता लगाउने प्रयास पनि भइरहेको छ। 

    अधिकारीहरूले अगाडी भनेका छन्, थप विवरणहरू अनुसन्धानपछि सार्वजनिक गरिने बताएका छन्। 

    “सबै बालबालिका सकुशल छन् र उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको छ । अन्य विवरणहरू उचित प्रमाणीकरण पछि चाँडै साझा गरिनेछ,” मुम्बई प्रहरीले भनेको छ।

  • ट्रम्प पुटिन बार्तावाट झस्किएका जेलन्स्की जर्मनी पुगे

    ट्रम्प पुटिन बार्तावाट झस्किएका जेलन्स्की जर्मनी पुगे

    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बुधबार जर्मन राजधानी बर्लिन पुगेका छन्, जहाँ उनले जर्मन चान्सलर फ्रेडरिक मर्जसँग प्रत्यक्ष वार्ता गरेका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटअघि युक्रेनी राष्ट्रपति जर्मन पुगेका हुन्, उनी सिंगो युरोपको समर्थन खोजिरहेका छन ताकी एक इन्च भुमी पनि रूसलाई दिनु नपरोस् भनेर उनले पहल लिने क्रममा उनी जर्मन पुगेको बताइएको छ। 

    सो क्रममा, अन्य युरोपेली र अमेरिकी नेताहरूसँग डिजिटल बैठकहरूमा भाग लिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार हुने महत्वपूर्ण शिखर बैठकको पूर्वसन्ध्यामा यी कूटनीतिक गतिविधिहरु आयोजना गरिएको हो । ट्रम्पले युक्रेनले केही भुमी रूसलाई दिएर भए पनि शान्ति सम्झौता गर्नु पर्ने अभिब्यक्ति पछि झस्किएका जेलेन्स्की एका एक युरोप यात्रामा निस्केका हुन् ।  

    जर्मन चान्सलर मेर्जले यस हप्ताको अन्त्यमा अलास्कामा ट्रम्प–पुटिन वार्ता हुनु अघि युरोप र युक्रेनको आवाजलाई एकताबद्ध गर्ने प्रयासमा शृंखलाबद्ध बैठकहरूको लागि आह्वान गरेका छन्। जर्मन सरकारका प्रवक्ता स्टेफान मेयरले वार्ताको उद्देश्य युरोपेली देशहरूको अडानलाई स्पष्ट र बलियो ढंगले अगाडि बढाउनु रहेको बताएका छन । 

    जेलेन्स्कीले पहिले युरोपेली नेताहरूसँग छलफल गर्नेछन्, जसको करिब एक घण्टापछि ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग डिजिटल भेट हुने जनाइएको छ । युक्रेनी राष्ट्रपतिले अलास्का बैठक अघि आफ्नो सरकारले साझेदार देशहरूसँग ३० भन्दा बढी चरणको वार्ता गरेको बताए। यद्यपि, उनले पुटिन वास्तवमा युद्ध अन्त्य गर्न गम्भीर रहेकोमा शंका व्यक्त गरेका छन्  ।

    ‘यस क्षणसम्ममा त्यहाँ कुनै संकेत छैन कि रूस युद्ध समाप्त गर्न तयार छ। हामीले हाम्रा सहयोगीहरूसँग मिलेर रुसलाई शान्तिको लागि बाध्य पार्न काम गर्नुपर्छ,’ जेलेन्स्कीले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा लेखेका छन् । 

    सोही शैलीमा ट्रम्पले पनि पुटिनले वास्तवमै शान्ति वार्तालाई गम्भीरतापूर्वक अगाडि बढाउन चाहन्छन् कि भनेर हेर्न चाहेको बताएका छन्। सो कुरा बार्ता सुरू भएको २ मिनेटमा थाहा हुने पनि उनले जनाएका छन् ।

    यद्यपि, युक्रेनले युद्ध अन्त्य गर्न रुसको नियन्त्रणमा रहेका केही क्षेत्रहरू त्याग्नु पर्ने हुन सक्ने भनेर ट्रम्पले बताए पछि युरोपेली नेताहरूलाई पनि आक्रोशित बनाएको छ । 

    युरोपेली देशहरूले भने पुटिनसँग हुने कुनै पनि सम्झौतामा युक्रेनको प्रत्यक्ष सहभागितामा जोड दिइरहेका छन्। यदि युक्रेन र युरोपको सहभागिता बिना वार्ता भयो भने पुटिनले एकतर्फी रियायतहरू दिन सक्छन्, जसले शान्ति सम्झौतालाई रूसको पक्षमा झुकाउनेछ भन्ने डर छ।

    जेलेन्स्कीले यो पनि स्पष्ट गरेका छन कि युक्रेनले आफ्नो नियन्त्रणमा रहेको कुनै पनि क्षेत्र दिने छैनन् किनकि यो असंवैधानिक मात्र होइन भविष्यमा रुसी आक्रमणको लागि बाटो पनि खोल्नेछ। उनले अमेरिका र युरोपलाई सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गरेका छनर वार्तामा युरोपको सहभागितालाई कुनै पनि शान्ति योजनाको मुख्य भाग बनाउनु पर्छ भनेर जोड गरिरहेका छन् ।

  • इरानमा विनाश गर्न गएको अमेरिकी ‘बंकर बस्टर’ नक्कली !

    इरानमा विनाश गर्न गएको अमेरिकी ‘बंकर बस्टर’ नक्कली !

    ‘हामीले उनीहरूलाई जमिनमा प्रहार गरयौं, जसका कारण इरानका आणविक बंकरहरू अहिले माटोमा गाडिएका छन्। अमेरिकी सैन्य शक्तिले फेरि के गर्न सक्छ भनेर विश्वलाई देखाएको छ,’ डोनाल्ड ट्रम्पदेखि ह्वाइट हाउससम्म सबैले यही कुरा गरिरहेका छन्। तर के यो वास्तविकता हो त ? 

    यो दावी हो, अमेरिकाले बनाएको १३ हजार केजीको बमको । पृथ्वीभन्दा सय फिट मुनि गएर कंक्रिट र स्टिलले बनेका शत्रुका बङ्कर ध्वस्त पार्ने यो बमको दुनियाँमा विशालको हैसियत पाएको  थियो । तर, इरानमा भएको आक्रमण पछि भने यो बमको बिषयलाई लिएर यतिखेर धेरै प्रश्न उठिरहेको छ ? पुरा कथा सुनेर तपाई पनि छक्क पर्नु हुनेछ ।

    अमेरिकाले इरानका भुमीगत बंकरहरू माथी आक्रमण गर्यो, मिसन इरानका सबै बंकरहरू नष्ट गर्ने उदेश्य थियो। आक्रामणको मिसन त पनि पूरा भयो तर संसारभर प्रश्न उठिरहेको छ कि अमेरिका फोर्ड र नातान्जमा भएका आक्रमण सफल भएका हुन त ? इरानले सामान्य क्षति बाहेक केही नभएको दावी गरे पछि यो प्रश्न उल्टै अमेरिकातिर तेर्सिएको छ । 

    अमेरिकी प्रशासनले इरानको सबैभन्दा सुरक्षित र दुई प्रमुख आणविक केन्द्र फोर्डो र नातान्जमा ठूलो हमला गरेको दाबी गरे पछि अनेक कोणबाट बहस भइरहेको छ । तिनीहरूलाई ध्वस्त पार्न अमेरिकाले १४ वटा जेबियु–५७ बम र ३० वटा थोमाक मिसाइलहरू भुमिगत परमाणु अध्ययनस्थलमा हानेको थियो । जसलाइ ह्वाइट हाउसले ‘क्लिन हिट’ भनिरहेको छ। 

    तर, यो त्यति सहजै तरिकाले क्षति नभएको बम र हतियार विज्ञहरू बताएका छन् । अमेरिकाको जेबियु–५७ ले इरानका भुमीगत सेल्टरमा केही क्षति पुर्याएको भए पनि विज्ञहरूले यसले पूर्ण रूपमा विनाश गर्न नसकेको जनाएका छन् । 

    उनीहरूका अनुसार अब अमेरिकासँग ६ वटा मात्रै त्यो बम बाँकी रहेको छ किनभने अमेरिकाले २० वटा मात्रै जीबीयू–५७ बम मात्र बनाएको थियो। त्यसमध्ये उसले इरानमा १४ वटा जीबीयू–५७ बम विस्फोट गराए पछि २० मा ६ मात्रै बाँकी रहन पुगेको हो । यस्तो अवस्थामा अर्को आक्रमणको आवश्यकता परेमा अमेरिकाले यति छिट्टै थप बम बनाउन सक्छ त ? यो अहिले गम्भिर प्रश्न बनिरहेको छ ।

    नेशनल इन्ट्रेस्ट ओआरजीको रिपोर्ट अनुसार अमेरिकी वायुसेना अब त्यसलाई छाडेर सुपर हेभी बंकर बस्टर बम चाहन्छ। अब त्यसको ठाउँमा अर्को पुस्ताको पेनिट्रेटर ल्याउन खोजिरहेको छ । यो २२ हजार पाउन्ड अर्थात् लगभग १० हजार किलोग्रामको हुने जनाइएको छ । यो रकेट बूस्टसँग आउनेछ। 

    यसले ‘स्ट्यान्ड अफ’ दूरीबाट मात्रै लक्ष्यमा प्रहार गर्न सक्नेछ, जसले गर्दा पाइलट खतरामा पर्न नपरोस् भन्नेमा सचेत छ। यसको मतलब यो पुरानो बम भन्दा हल्का, स्मार्ट र सुरक्षित हुनेछ।

    अब प्रश्न उठ्छ कि यदि जेबियु–५७ यति खेल परिवर्तन भएको थियो भने यसलाई तुरुन्तै प्रतिस्थापन गर्न किन आवश्यक थियो ? के ट्रम्पको टोलीले दाबी गरिरहेको कुरा नक्कली प्रचारप्रसारको माध्यम मात्रै थियो ? यो कथा बमको बारेमा मात्र होइन, यो सम्पूर्ण अमेरिकी रणनीतिको बारेमा हो।

    वास्तविकता यो हो कि इरानका बंकरहरू पूर्ण रूपमा ध्वस्त भएका थिएनन्। र, अब अमेरिकासँग फेरि तिनीहरूलाई ध्वस्त पार्न सक्ने थप हतियार पनि छैनन्। यसको मतलब, जे बनाइएको थियो त्यो समाप्त भइसकेको छ । र, अब नयाँ रणनीतिमा काम गर्ने समय आएको छ, किनभने यसमा धेरै त्रुटिहरू रहेको पुष्टी भइसकेको छ ।

    किनकी, जुन सोचका साथ इरान माथी अमेरिकाले हमला गरयो, त्यसले इरानको आंशिक पनि क्षति गराउन सकेन, यो अब पुष्टी भइ नै सकेको छ ।

  • राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा

    राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा

    संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

    उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम केही घण्टाभित्र लागू हुने बताउनुभएको हो। प्रारम्भमा इरानले युद्धविराम सुरु गर्नेछ भने त्यसको १२ घण्टापछि इजरायलले पनि त्यसमा सहभागी हुने जनाइएको छ। त्यसपछि २४ घण्टाको समयावधिमा दुवै पक्षले युद्धको औपचारिक अन्त्यको घोषणा गर्नेछन्।

    राष्ट्रपति ट्रम्पले दुबै राष्ट्रले धैर्य, साहस र समझदारी देखाएकोमा बधाई दिँदै, यस सहमतिले दीर्घकालीन विनाशबाट सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई बचाउन सक्ने विश्वास व्यक्त गर्नुभएको छ।

    उहाँले अन्त्यमा सबैलाई एकताको सन्देश दिँदै भन्नुभएको छ, “ईश्वरले इजरायललाई आशिर्वाद दिनुहोस्, ईश्वरले इरानलाई आशिर्वाद दिनुहोस्, ईश्वरले मध्यपूर्व, संयुक्त राज्य अमेरिका तथा समग्र विश्वलाई पनि आशिर्वाद दिनुहोस्।”

    हालसम्म यसबारे इजरायल र इरानबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। अमेरिकी राष्ट्रपतिको कार्यालय र रक्षा मन्त्रालयबाट पनि यसबारेमा औपचारिक धारणा सार्वजनिक गरिएको छैन।
    इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ मिसाइल प्रहार गरिएको थियो। तर, कतारको सुरक्षा संयन्त्रले ती मिसाइलहरू समयमै खसाल्न सफल भई जनजीवनमा कुनै क्षति नहोस् भन्ने सुनिश्चित गरेको छ।

    कतार सरकारका प्रवक्ता तथा प्रधानमन्त्रीका सल्लाहकार माजिद बिन मोहम्मद अल-अन्सारीले विज्ञप्ति जारी गर्दै यो आक्रमणलाई कतारको सार्वभौमिकता, हवाई क्षेत्र तथा अन्तर्राष्ट्रिय कानुनहरूको गम्भीर उल्लंघन भन्दै गहिरो चिन्ता व्यक्त गर्नुभयो। उहाँले यस प्रकारका कार्यहरूले क्षेत्रीय स्थायित्वमा नकारात्मक असर पार्न सक्ने भन्दै तुरुन्तै शान्तिपूर्ण संवादमा फर्कन आग्रह गर्नुभयो।

    उहाँका अनुसार, अल उदीद सैन्य अड्डाबाट सुरक्षाका सबै आवश्यक कदमहरू अपनाउँदै समयमै सैनिक र कर्मचारीहरूको सुरक्षित स्थानान्तरण गरिएको थियो। यस आक्रमणबाट कुनै पनि व्यक्ति घाइते वा हताहत भएको विवरण नभएको पुष्टि गरिएको छ।

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (अाइअारजीसी) ले यस मिसाइल अभियानको जिम्मेवारी लिँदै उक्त कार्यलाई ‘अभिनन्दनको विजय’ नाम दिएको छ। उनीहरूले इराक र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरिएको बताएका छन्। अाइअारजीसीले अल उदीद अड्डालाई ‘पश्चिम एसियामा अमेरिकी वायुसेनाको मुख्य केन्द्र’ को रूपमा उल्लेख गरेको छ।

    इरानले आफ्नो राष्ट्रिय स्वाधीनता, भूभागीय अखण्डता र सुरक्षामा भएको कुनै पनि हस्तक्षेपको जवाफ दिन आफू बाध्य हुने स्पष्ट पार्दै आएको छ। यो प्रहार अमेरिकी पक्षबाट शनिबार इरानका तीनवटा परमाणु केन्द्रमा गरिएका हवाई आक्रमणको प्रतिशोधस्वरूप गरिएको बताइएको छ।

    यसबीच, खाडी क्षेत्रका विभिन्न मुलुकहरूले सुरक्षाको दृष्टिले हवाई मार्ग अस्थायी रूपमा बन्द गरेका छन्। कतार र संयुक्त अरब इमिरेट्सले आक्रमण हुनुअघि नै आकाश मार्ग बन्द गरिसकेका थिए भने बहराइन र कुवेतले पनि सोमबार आंशिक हवाई मार्ग बन्दको घोषणा गरेका छन्।

    कतारको अल उदीद सैन्य अड्डा मध्यपूर्व क्षेत्रका लागि अमेरिकी तथा साझेदार राष्ट्रहरूको एक प्रमुख सैन्य आधार हो, जहाँ हजारौं सैनिकहरू तैनाथ छन्।

  • इरानविरुद्धको आक्रमणमा अमेरिका पनि सहभागी

    इरानविरुद्धको आक्रमणमा अमेरिका पनि सहभागी

    मध्य पूर्वमा इस्राइल र इरानबीचको चलिरहेको द्वन्द्व प्रत्येक दिनसँगै थप जटिल बन्दै गइरहेको छ। अब संयुक्त राज्य अमेरिका पनि इरानविरुद्धको आक्रमणमा सामेल भएको छ र उसले तीनवटा परमाणु स्थलहरूलाई निशाना बनाएको छ। यो कदम अमेरिकाले गुआममा धेरै बी-२ स्टिल्थ बमवर्षक जेटहरू पठाएपछि चालिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको फोर्डो, नतान्ज र इस्फहान परमाणु स्थलहरूमा आक्रमण भएको पुष्टि गरेका छन्। साथै, उनले रातको १० बजे राष्ट्रलाई सम्बोधन गर्ने बताएका छन्।

    संयुक्त राज्य अमेरिकाले आधिकारिक रूपमा इरानको तीन परमाणु स्थलहरूमा आक्रमण गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोशलमा लेखेका छन्, “हामीले इरानको तीन परमाणु स्थलहरू—फोर्डो, नतान्ज र इस्फहानमा धेरै सफल आक्रमण सम्पन्न गरेका छौं। सबै विमानहरू अब इरानको हवाई क्षेत्रबाट बाहिर छन्। प्राथमिक स्थल फोर्डोमा बमको पूर्ण पेलोड खसालिएको छ। सबै विमानहरू सुरक्षित रूपमा घर फर्किंदै छन्। हाम्रा महान अमेरिकी योद्धाहरूलाई बधाई। विश्वमा अरू कुनै सेनाले यो गर्न सक्थेन। अब शान्तिको समय हो! यो विषयमा तपाईंको ध्यानको लागि धन्यवाद।”

    ट्रम्पले अर्को पोस्टमा लेखे, “म इरानमा हाम्रो धेरै सफल सैन्य अभियानको बारेमा रातको १० बजे व्हाइट हाउसबाट राष्ट्रलाई सम्बोधन गर्नेछु। यो संयुक्त राज्य अमेरिका, इस्राइल र विश्वको लागि ऐतिहासिक क्षण हो। इरानले अब यो युद्ध समाप्त गर्न सहमत हुनुपर्छ।”

    इस्राइल-इरान युद्धमा सामेल भएर अमेरिकाले यो कदम चालेको हो, जब उसले आफ्नो सबैभन्दा घातक लडाकु विमान बी-२ स्टिल्थ बमवर्षकलाई गुआमको एन्डरसन एयरबेसमा तैनाथीका लागि पठायो। यो बमवर्षकको वास्तविक गन्तव्य हिन्द महासागरमा रहेको डिएगो गार्सिया एयरबेस भएको मानिन्छ, जहाँबाट अमेरिकाले इराकमाथि आक्रमण गरेको थियो। इरानको सबैभन्दा सुरक्षित मानिएको फोर्डो परमाणु स्थललाई ध्वस्त गर्न यो पठाइएको विश्वास गरिन्छ। यो परमाणु स्थल जमिनमुनि करिब ९० मिटर गहिराइमा छ, जसलाई ध्वस्त गर्न बी-२ स्टिल्थ बमवर्षक मात्र सक्षम छ।

    यसैबीच, इस्राइलले इरानविरुद्ध “लामो अभियान” को लागि तयार रहेको बताएको छ किनकि उसले इरानी परमाणु र सैन्य स्थलहरूमा आक्रमण जारी राखेको छ। इस्राइली आक्रमणबाट इरानमा मृत्यु हुनेको संख्या अब ४३० पुगेको छ। स्वास्थ्य अधिकारीहरूले क्षेत्रमा इस्राइली आक्रमणका कारण ३,५०० भन्दा बढी मानिस घाइते भएको बताएका छन्। इस्राइलमा, अधिकारीहरूले गत हप्तादेखि द्वन्द्व बढेपछि कम्तीमा २४ जनाको मृत्यु भएको रिपोर्ट गरेका छन्।

    यो आक्रमण अमेरिकाको लागि खतरनाक निर्णय हो, किनकि इरानले पहिल्यै स्पष्ट गरिसकेको छ कि यदि अमेरिका इस्राइली आक्रमणमा सामेल भयो भने उसले जवाफी कारबाही गर्नेछ। इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई स्पष्ट चेतावनी दिंदै भने, “यदि अमेरिका युद्धमा सक्रिय रूपमा सहभागी भयो भने यो सबैको लागि धेरै-धेरै खतरनाक हुनेछ।” साथै, ट्रम्पको लागि पनि यो खतरनाक निर्णय हो, किनकि उनले अमेरिकालाई विदेशी द्वन्द्वबाट टाढा राख्ने वाचा गरेर व्हाइट हाउसमा प्रवेश गरेका थिए। उनले अमेरिकी हस्तक्षेपवादको मूल्यको मजबने उपहास गरेका थिए।

  • ट्रम्प इजरायल-इरान युद्धमा प्रवेश गर्ने तयारीमा !

    ट्रम्प इजरायल-इरान युद्धमा प्रवेश गर्ने तयारीमा !

    मंगलवार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल र इरानबीचको युद्धमा प्रवेश गर्ने तयारीमा देखिएका छन्। उनले आफ्ना वरिष्ठ राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग बैठक गरेका छन्, जसको केही समयअघि उनले सामाजिक सञ्जालमार्फत इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई चेतावनी दिएका थिए। ट्रम्पले खामेनीको लुकेको स्थान थाहा भएको र उनी सजिलो निशाना हुन सक्ने, तर हाललाई उनलाई मार्ने योजना नरहेको बताए। उनले भने, “हामीलाई इरानले सर्वसाधारण वा अमेरिकी सैनिकमाथि मिसाइल आक्रमण गरेको मन पर्दैन। हाम्रो धैर्यता कम हुँदैछ।” 

    इजरायलले शुक्रवार इरानमाथि आक्रमण शुरू गरेपछि मध्यपूर्व क्षेत्र ठूलो युद्धको संघारमा पुगेको छ। इजरायलले इरानको न्यूक्लियर कार्यक्रमलाई निशाना बनाएको छ, तर फोर्डो न्यूक्लियर सुविधा अझै क्षतिग्रस्त भएको छैन। फोर्डो, तेहरानको दक्षिणपश्चिम मरुभूमिमा पहाडमुनि ८०-९० मिटर गहिराइमा रहेको अति सुरक्षित सुविधा हो, जुन इजरायलको हवाई आक्रमणले नष्ट गर्न असम्भव छ।

    यो सुविधालाई नष्ट गर्न सक्ने एकमात्र हतियार अमेरिकासँग रहेको ३०,००० पाउन्डको जीबीयू-५७ए/बी म्यासिभ अर्डनन्स पेनेट्रेटर (एमओपी) बम हो, जसलाई “बङ्कर बस्टर” पनि भनिन्छ। यो बम ६५ यार्ड कङ्क्रिट वा सयौं फिट माटो र चट्टान भेद्न सक्छ र बी-२ स्टिल्थ बमवर्षकबाट मात्र प्रहार गर्न सकिन्छ, जुन इजरायलसँग छैन।

    ट्रम्पले मंगलवार इरानको “बिना शर्त आत्मसमर्पण” को माग गरेका छन्। उनले जी-७ शिखर सम्मेलन छोडेर वाशिङ्टन फर्किएर राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाए। सीबीएस न्यूजका अनुसार, ट्रम्पले फोर्डो सहित इरानका न्यूक्लियर सुविधाहरूलाई निशाना बनाउने योजना विचार गरिरहेका छन्। उपराष्ट्रपति जेडी भान्सले पनि सामाजिक सञ्जालमा ट्रम्पले इरानको युरेनियम संवर्धन रोक्न थप कदम चाल्न सक्ने संकेत गरेका छन्।

    पेन्टागनले मध्यपूर्वमा सैन्य उपस्थिति बढाइरहेको छ। यूएसएस निमित्ज विमानवाहक जहाज र पाँच डिस्ट्रोयरसहितको समूह अरब सागरमा यूएसएस कार्ल भिन्सन स्ट्राइक समूहसँगै तैनाथ हुँदैछ। फ्लाइटराडार २४ का अनुसार, ३० वटा अमेरिकी सैन्य ट्याङ्कर विमान युरोपतर्फ उडान भरेका छन्।

    इजरायलले पाँच दिनदेखि इरानमाथि मिसाइल आक्रमण गरिरहेको छ, तर फोर्डो सुविधालाई नष्ट गर्न असफल भएको छ। इजरायलका रक्षा मन्त्री योआभ गालान्ट र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फोर्डो नष्ट गर्नु आफ्नो रणनीतिक लक्ष्य भएको बताएका छन्। इरानका सशस्त्र बल प्रमुख अब्दोलरहिम मौसावीले हाइफा र तेल अविवका बासिन्दालाई सहर छोड्न चेतावनी दिएका छन्।

    बेलायतका रक्षा सचिव जोन हिलीले क्षेत्रमा तनाव कम गर्नुपर्ने बताउँदै बेलायती टाइफुन लडाकु विमान मित्रराष्ट्रहरूलाई समर्थन गर्न तैनाथ गर्न सकिने उल्लेख गरे। जर्मन चान्सलर फ्रेड्रिक मर्जले इरानले न्यूक्लियर वार्तामा नफर्किए उसको न्यूक्लियर कार्यक्रम पूर्ण रूपमा नष्ट गर्ने एजेन्डा रहेको र त्यसका लागि अमेरिकी हतियार आवश्यक रहेको बताए।

    जीबीयू-५७ बमले फोर्डोलाई नष्ट गर्न सक्ने भए पनि, अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) का अनुसार, फोर्डोमा उच्च संवर्धित युरेनियम उत्पादन भइरहेको छ। यो बमले आक्रमण गर्दा न्यूक्लियर सामग्री वातावरणमा फैलिन सक्ने खतरा छ। साथै, ट्रम्पका पूर्व सल्लाहकारहरूले इजरायलमाथि इरानको ठूलो प्रतिशोधको चेतावनी गलत साबित भएको र इजरायलको आक्रमण अपेक्षाकृत प्रभावकारी भएको बताएका छन्।

    ट्रम्पको युद्धमुखी रुख र अमेरिकी सैन्य तयारीले इजरायल-इरान द्वन्द्वमा अमेरिकाको प्रत्यक्ष संलग्नताको सम्भावना बढाएको छ। फोर्डो सुविधालाई नष्ट गर्न जीबीयू-५७ बम प्रयोग गर्ने निर्णयले मध्यपूर्वमा ठूलो युद्ध निम्त्याउन सक्छ, जसले क्षेत्रीय र विश्वव्यापी स्थिरतामा गम्भीर प्रभाव पार्न सक्छ। 

  • इरानले आक्रमण गरे अमेरिकी सेनाको पूर्ण शक्ति प्रयोग हुन्छ : ट्रम्प

    इरानले आक्रमण गरे अमेरिकी सेनाको पूर्ण शक्ति प्रयोग हुन्छ : ट्रम्प



    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिएका छन् कि यदि इरानले अमेरिकामाथि आक्रमण गरेमा अमेरिकी सेनाको पूर्ण शक्ति प्रयोग हुनेछ।

    तेहरानका अनुसार शुक्रबार बिहानदेखि सुरु भएको इजरायली आक्रमणले इरानका आणविक र सैन्य ठाउँहरूलाई निशाना बनाएको छ, जसमा शीर्ष सैन्य कमान्डर र आणविक वैज्ञानिकसहित दर्जनौँको मृत्यु भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानका सबै लक्ष्यमा आक्रमण गर्ने बताएका छन्, र इरानले मिसाइल आक्रमणमार्फत जवाफ दिएको छ।

    ट्रम्पले इजरायलको अपरेसनबारे पहिल्यै जानकारी रहेको र अमेरिकाको कुनै संलग्नता नरहेको बताए। आइतबार ट्रुथ सोसल प्लेटफर्ममा उनले लेखे, “यदि इरानले हामीमाथि आक्रमण गरेमा अमेरिकी सशस्त्र बलको शक्ति यस्तो स्तरमा प्रयोग हुनेछ, जुन पहिले कहिल्यै देखिएको छैन। हामी इरान र इजरायलबीच सम्झौता गराएर यो द्वन्द्व रोक्न सक्छौँ।”

    ट्रम्पले शुक्रबार इरानलाई सम्झौता गर्न वा इजरायलबाट थप आक्रमणको सामना गर्न भनेका थिए। सन् २०१८ मा उनले इरानसँगको आणविक सम्झौता रद्द गरेर प्रतिबन्ध लगाएका थिए, जुन सम्झौता पूर्वराष्ट्रपति बराक ओबामाको नेतृत्वमा भएको थियो।

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्कबीचको सम्बन्ध समाप्त भएको ट्रम्पको भनाइ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्कबीचको सम्बन्ध समाप्त भएको ट्रम्पको भनाइ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कसँगको आफ्नो सम्बन्ध समाप्त भएको बताएका छन्। शनिबार एनबीसी न्यूजसँगको कुराकानीमा ट्रम्पले मस्कसँगको नजिकको सम्बन्ध टुटेको हो कि भन्ने प्रश्नमा “मलाई त्यस्तै लाग्छ, हो” भनेर जवाफ दिए। उनले मस्कसँगको सम्बन्ध सुधार गर्न चाहन्छन् कि भन्ने प्रश्नमा “होइन” भने।

    यो टिप्पणी ट्रम्प र मस्कबीच सामाजिक सञ्जालमा देखिएको ठूलो विवादपछि आएको हो। मस्क, जसले ट्रम्पको चुनावी अभियानमा लाखौं डलर दान गरेका थिए र ह्वाइट हाउसका सहयोगी बनेका थिए, उनले ट्रम्पको कर र खर्च सम्बन्धी विधेयकको सार्वजनिक रूपमा आलोचना गरेका थिए। यो विधेयक ट्रम्पको प्रमुख घरेलु नीति मानिन्छ।

    धेरैजसो रिपब्लिकनहरूले राष्ट्रपतिलाई समर्थन गरेका छन्। उपराष्ट्रपति जेडी भान्सले मस्क “धेरै आक्रामक” भएको र उनलाई पार्टीमा फिर्ता स्वागत नहुन सक्ने बताए। पोडकास्टर थियो भोनसँगको कुराकानीमा भान्सले मस्कले राष्ट्रपतिलाई आक्रमण गर्नु “ठूलो गल्ती” भएको बताए।

    मस्कले हप्तौंदेखि ट्रम्पको “बिग ब्यूटिफुल बिल” नामक विधेयकको आलोचना गर्दै आएका थिए, जुन विधेयक कंग्रेसमा विचाराधीन छ। उनले यो विधेयक पारित भएमा राष्ट्रिय ऋणमा खर्बौं डलर थपिने र उनले डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डोज) को नेतृत्वमा गरेको सरकारी खर्च कटौतीको प्रयासलाई कमजोर बनाउने बताए।

    डोजबाट १२९ दिनपछि राजीनामा दिएपछि मस्कले आफ्नो सामाजिक सञ्जाल साइट एक्समा उक्त विधेयकलाई “घिनलाग्दो विकृति” भनेर टिप्पणी गरेका थिए, तर ट्रम्पको प्रत्यक्ष आलोचना गरेनन्। बिहीबार ट्रम्पले मस्कको व्यवहारप्रति “निराश” भएको पत्रकारहरूलाई बताए।

    जवाफमा, मस्कले एक्समा एकपछि अर्को पोस्ट गर्दै ट्रम्पले उनको सहयोगबिना चुनाव हार्ने र ट्रम्पलाई जेफ्री एप्स्टाइन फाइलमा मुछिएको आरोप लगाए। एप्स्टाइन यौन तस्करीको आरोपमा जेलमा मृत्यु भएका विवादास्पद फाइनान्सर थिए। मस्कले पछि उक्त पोस्ट हटाए र एप्स्टाइनका वकिलले आरोप अस्वीकार गरे।

    ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोशलमा मस्क “पागल” भएको जवाफ दिए। एक पोस्टमा उनले मस्कको संघीय सरकारसँगको ठेक्का कटौती गर्ने धम्की दिए। शनिबार एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले मस्कले राष्ट्रपतिको कार्यालयप्रति “अपमानजनक” व्यवहार गरेको बताए।

    “मलाई लाग्छ यो निकै खराब कुरा हो, किनभने उनले धेरै अपमान गरे। राष्ट्रपतिको कार्यालयलाई अपमान गर्नु हुँदैन,” ट्रम्पले भने।

    विश्वका सबैभन्दा धनी व्यक्ति मस्क, जसले ट्रम्पको चुनावी अभियानमा करिब २५० मिलियन डलर दान गरेका थिए, सामाजिक सञ्जालमा भएको विवादका क्रममा ट्रम्पको कर विधेयकलाई समर्थन गर्ने सांसदहरूविरुद्ध आगामी मध्यावधि चुनावमा ट्रम्पका विरोधीहरूलाई समर्थन गर्न सक्ने संकेत गरे।

  • गाजामा युद्धका कारण पाँच प्रतिशतभन्दा कम कृषि भूमि प्रयोगयोग्य : संयुक्त राष्ट्रसङ्घ

    गाजामा युद्धका कारण पाँच प्रतिशतभन्दा कम कृषि भूमि प्रयोगयोग्य : संयुक्त राष्ट्रसङ्घ

    GAZA CITY, GAZA – NOVEMBER 01: (—-EDITORIAL USE ONLY – MANDATORY CREDIT – ‘PALESTINIAN MINISTRY OF INTERIOR / HANDOUT’ – NO MARKETING NO ADVERTISING CAMPAIGNS – DISTRIBUTED AS A SERVICE TO CLIENTS—-) Palestinians conduct a search and rescue operation after the second bombardment of the Israeli army in the last 24 hours at Jabalia refugee camp in Gaza City, Gaza on November 01, 2023. Dozens of people were reportedly killed and wounded. (Photo by Palestinian Ministry of Interior/Anadolu via Getty Images)


    युद्धका कारण गाजा क्षेत्रमा केवल पाँच प्रतिशतभन्दा कम मात्र कृषि भूमि प्रयोगयोग्य रहेको संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले सोमबार जनाएको छ । यो अवस्था यस क्षेत्रका जनतामा खाद्य सङ्कट र भोकमरीको जोखिमलाई थप गम्भीर बनाउने सङ्केत हो ।

    इजरायलले हमासविरुद्ध गाजामा आफ्नो सैन्य कारबाहीलाई तीव्र बनाएको छ । अन्तर्राष्ट्रिय समुदायबाट यस अभियानप्रति आलोचना भइरहेको छ । यद्यपि झण्डै तीन महिनासम्मको नाकाबन्दीपछि केही मात्रामा राहत सामग्री प्रवेश गर्न थालेको छ । तर, खाद्य र औषधिको अत्यन्तै कमी कायमै छ ।

    एफएओको हालै सार्वजनिक गरिएको विश्लेषणअनुसार अप्रिलको अन्त्यसम्म ८० प्रतिशतभन्दा बढी कृषि क्षेत्र क्षतिग्रस्त भइसकेको थियो भने करिब ७८ प्रतिशत क्षेत्रमा पहुँचसमेत छैन । अहिले जम्मा चार दशमलव ६ प्रतिशत खेतीयोग्य क्षेत्र मात्र प्रयोग गर्न सकिने अवस्थामा रहेको छ ।

    एफएओका अनुसार हाल खेतीका लागि जम्मा ६८८ हेक्टर (झण्डै एक हजार ७०० एकड) भूमि मात्र बाँकी छ ।

    दक्षिण गाजाको राफा क्षेत्र र केही उत्तरी भागहरूमा अवस्था विशेष रूपमा गम्भीर रहेको उल्लेख गरिएको छ, जहाँ अधिकांश कृषि भूमि अहिले प्रयोगमा ल्याउन असम्भवजस्तै भएको छ ।

    एफएओकी उपमहानिर्देशक बेथ बेचडोलले भन्नुभयो,“खेतीयोग्य जमिन, हरितगृह र पानीका स्रोतहरू नष्ट भएपछि गाजामा स्थानिय उत्पादन पूरै बन्द भएको अवस्था छ ।”

    युद्ध सुरु हुनु अघि गाजाको कुल अर्थतन्त्रमा कृषिको योगदान करिब १० प्रतिशत थियो र झण्डै पाँच लाख ६० हजार मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खेती, पशुपालन वा माछापालनमा आश्रित थिए ।

    हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च १८ मा युद्धविराम टुटेपछि हालसम्म कम्तीमा तीन हजार ७८५ जनाको ज्यान गएको छ । कुल युद्ध पीडितको सङ्ख्या ५३ हजार ९३९ पुगेको छ, जसमा धेरैजसो सर्वसाधारण रहेका छन् ।

    सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणमा एक हजार २१८ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण थिए । सो आक्रमणमा २५१ जनालाई अपहरण गरिएको थियो, जसमध्ये हाल ५७ जना गाजामा रहेका छन् । इजरायली सेनाका अनुसार तीमध्ये ३४ जनाको मृत्यु भइसकेको छ ।

  • जापानले अमेरिकी भन्सार शुल्क वार्तालाई ‘तीव्रता’ दिने

    जापानले अमेरिकी भन्सार शुल्क वार्तालाई ‘तीव्रता’ दिने

    संयुक्त राज्य अमेरिका र जापान आफ्नो पछिल्लो भन्सार शुल्क वार्तामा सम्झौताको दिशामा प्रयासलाई ‘गति दिन’ सहमत भएको टोकियोले सोमबार बताएको छ ।

    अमेरिकाको प्रमुख सहयोगी र यसको सबैभन्दा ठूलो लगानीकर्ता जापान अधिकांश मुलुकमा लगाइएको समान १० प्रतिशत आधारभूत भन्सार शुल्क तथा कार, स्टिल र एल्युमिनियममा कडा भन्सार शुल्कको अधीनमा छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलको सुरुमा जापानमाथि २४ प्रतिशत ‘पारस्परिक’ भन्सार शुल्कको घोषणा गर्नुभयो तर पछि अन्य देशमाथिका समान उपायहरूसँगै तिनलाई जुलाईको सुरुसम्म स्थगित गर्नुभयो ।

    जापान ट्रम्पले घोषणा गर्नुभएका आफ्नो आयातमाथिका सबै भन्सार शुल्कहरू हटाउन चाहन्छ ।

    टोकियोका भन्सार शुल्क दूत रियोसी अकाजावाले सप्ताहन्तमा वासिङ्टनमा तेस्रो चरणको वार्ता गर्नुभएको थियो र यो हप्ता फर्कने कार्यक्रम छ ।

    दुई देशले ‘पारस्परिक रूपमा लाभदायक सम्झौता साकार पार्न प्रयासहरू तीव्र पार्नेछौँ’ भनी पुष्टि गरेको जापानका शीर्ष सरकारी प्रवक्ता योशिमासा हायासीले सोमबार बताउनुभयो ।

    आइतबार प्रधानमन्त्री सिगेरु इशिबाले पनि अकाजावाको पछिल्लो चरणको वार्तामा ‘प्रगति’ भएको बताउनुभयो ।

    इशिबाले आगामी महिना क्यानाडामा हुने वार्षिक जी–७ को बैठकमा दुई नेताले भेट्दा ट्रम्पसँग सम्झौता गर्ने लक्ष्य राखेको सुझाव दिनुभएको छ ।

    “जी–७ शिखर सम्मेलनलाई ध्यानमा राखेर थप छलफल जारी रहने मेरो अपेक्षा छ”, इशिबाले आइतबार पत्रकारहरूलाई भन्नुभयो ।

    टोकियोका अनुसार फेब्रुअरीमा ह्वाइट हाउसमा ट्रम्पलाई भेट्ने इशिबाले गत हप्ता राष्ट्रपतिसँग करिब ४५ मिनेट फोनमा कुरा गर्नुभएको थियो ।

    स्थानीय मिडियाका अनुसार जापानको मोलतोलको चिपहरू आइसब्रेकसहित जहाज निर्माणमा यसको प्राविधिक दक्षता उल्लेख गरिएको छ ।

    “अमेरिकाले जापानबाट अमेरिकी युद्धपोतहरू मर्मत गराउन चासो राखेको छ, जुन हामी समर्थन गर्न तयार छौँ”, सार्वजनिक प्रसारक एनएचकेले इशिबाको भनाइ उद्धृत गर्दै भनेको छ ।

    सफ्टब्याङ्कका संस्थापक एवं ट्रम्पका मित्र मासायोसी सनले फाइनान्सियल टाइम्सका अनुसार संयुक्त अमेरिका–जापानी सार्वभौम सम्पत्ति कोषको विचार अर्को सम्भावित मिठास हो ।

    सन र अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टबीच प्रत्यक्ष छलफल भएको कोषले संयुक्त राज्य अमेरिकाभरि प्रविधि र पूर्वाधारमा ठूलो मात्रामा लगानी गर्नेछ ।

    एएफपीले सम्पर्क गर्दा सफ्टब्याङ्कले टिप्पणी गर्न अस्वीकार गर्‍यो ।

    ट्रम्पको २५ प्रतिशत अटो भन्सार शुल्क टोकियोका लागि विशेष गरी पीडादायी छ किनकि सबै जापानी रोजगारीको लगभग आठ प्रतिशत यस क्षेत्रसँग जोडिएको छ ।

    विश्वको चौथो ठूलो अर्थतन्त्र सन् २०२५ को पहिलो त्रैमासिकमा शून्य दशमलव दुई प्रतिशतले सङ्कुचित हुँदा जुलाईमा हुने माथिल्लो सदनको चुनावअघि अलोकप्रिय इसिबामाथि दबाब बढाएको छ ।