इजरायलले गाजामा अतिआवश्यक सामानको आपुर्तिमा प्रतिबन्ध लगाउनु ‘अस्वीकार्य’ कदम भएको भन्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले इजरायलको निन्दा गर्नुभएको छ ।
अल्बानिजले सोमबार गाजामा सङ्कटमा परेका मानिसहरूलाई खाद्यान्न लगायतका अत्यावश्यक आपूर्तिमा गरेको नाकाबन्दीले आफुलाई ‘आक्रोशित’ बनाएकोे बताउनुभएको छ ।
इजरायलको बहाना र स्पष्टीकरणहरू अस्थिर र विश्वसनीयता बिनाका भएको उहाँले बताउनुभएको छ ।
मानिसहरू भोकभोकै अवस्थामा गुज्रिरहेको र एउटा स्वायत्त लोकतान्त्रिक राज्यले आपूर्ति कायम राख्न पाउनुपर्ने उहाँले बताउनुभएको छ ।
यस्तै अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले मे महिनामा जर्मनी, फ्रान्स र बेलायत लगायतका २२ देशका समकक्षीहरूसँग मिलेर इजरायललाई गाजामा तत्काल सहायता पुनः सुरु गर्न अनुमति दिन र राष्ट्र सङ्घका संस्थाहरूलाई जीवन बचाउन अनुमति दिन आग्रह गर्नु भएको छ ।
अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफामको अष्ट्रेलियाली शाखाले सोमबार सार्वजनिक गरेको सर्वेक्षणको नतिजाले ८२ प्रतिशत अष्ट्रेलियालीहरू इजरायलले गाजालाई लगाएको नाकाबन्दी ‘उचित नभएको’ देखाएको छ ।
भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङकरले आफ्ना क्यानाडाली समकक्षीसँग कुरा गरेको र दुवै पक्षले सम्बन्ध सहज बनाउन खोजिरहेको बताउनुभएको छ ।
आइतबार राति भएको टेलिफोन वार्ता मार्चमा मार्क कार्नी क्यानाडाका प्रधानमन्त्री बनेपछि ओटावा र नयाँदिल्लीबीचको सबैभन्दा उच्च कूटनीतिक सम्पर्क हो ।
सन् २०२३ मा क्यानाडाली सिखको हत्यामा नयाँदिल्लीको संलग्नता रहेको आरोप लागेपछि क्यानाडा र भारतबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । उक्त आरोपलाई भारतले अस्वीकार गरेको थियो ।
विदेशमन्त्री जयशङ्करले नवनियुक्त विदेशमन्त्री अनिता आनन्दसँग ‘भारत–क्यानाडा सम्बन्धका सम्भावनाहरूबारे छलफल गरेको’ र ‘उहाँको कार्यकाल सफल हुने कामना गरेको’ बताउनुभयो ।
आनन्दले एक्समा उहाँ ‘क्यानाडा–भारत सम्बन्धलाई बलियो बनाउन, हाम्रो आर्थिक सहयोगलाई गहिरो बनाउन र साझा प्राथमिकताहरूलाई अगाडि बढाउन’ इच्छुक रहेको बताउनुभयो । आनन्दका अभिभावकहरू भारतका थिए ।
क्यानाडा भारत बाहिरको सबैभन्दा ठूलो सिख समुदायको घर हो र यसमा ‘खालिस्तान’ का कार्यकर्ताहरू छन् । खालिस्तान धार्मिक अल्पसङ्ख्यकका लागि भारतीय क्षेत्रबाट काटेर स्वतन्त्र राज्य खोज्ने सीमान्तकृत पृथकतावादी आन्दोलन हो ।
ओटावाले यसअघि भारतलाई सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्या गरेको र आन्दोलनसँग सम्बन्धित अन्य सिख कार्यकर्ताहरूलाई लक्षित गरेको आरोप लगाएको थियो । निज्जर एक प्रमुख खालिस्तान अभियानकर्ता थिए ।
भारतले यी आरोपहरूलाई बारम्बार खारेज गरेको छ । उक्त आरोपछि दुवै मुलुकबीचको कूटनीतिक सम्बन्धलाई गहिरो सङ्कटमा पारेको थियो र गत वर्ष दुवै मुलुकले शीर्ष कूटनीतिज्ञहरूको शृङ्खलालाई निष्कासन गरेका थिए ।
खालिस्तान अभियान भारतको सन् १९४७ को स्वतन्त्रतादेखि सुरु भएको हो र यसलाई एक प्रधानमन्त्रीको हत्या र यात्रु जेटको बम विस्फोटका लागि दोषी ठहराइएको छ ।
यो भारत र ठूलो सिख जनसङ्ख्या भएका धेरै पश्चिमी राष्ट्रहरू बिचको कटु मुद्दा भएको छ ।
भारतमा प्रतिबन्धित खालिस्तान आन्दोलनविरुद्ध नयाँदिल्लीले कडा कारबाहीको माग गर्छ र मुख्य नेताहरूलाई ‘आतङ्कवाद’ को आरोप लगाइएको छ ।
क्यानाडाले अर्को महिना जी–७ शिखर सम्मेलनको आयोजना गर्ने भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन् २०१९ देखिका शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरिएको छ । सन् २०१९ मा फ्रान्सले उहाँलाई बियारिट्जमा आमन्त्रित गरेको थियो । मोदीलाई क्यानाडामा निम्तो दिइएको छ कि छैन भन्ने बारेमा कुनै विवरण छैन ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकाले युरोपेली सङ्घ (इयु) सँग वार्ताका लागि समय पाउन सकियोस् भन्ने उद्देश्यले यसका सामानहरूमाथि ५० प्रतिशत भन्सार शुल्कको कार्यान्वयनलाई जुन १ बाट जुलाई ९ सम्म स्थगित गर्ने बताउनुभएको छ ।
यो सहमति आइतबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँगको फोनवार्तापछि आएको हो । अमेरिकी राष्ट्रपतिका अनुसार भोन डेर लेयनले ट्रम्पलाई उहाँ ‘गम्भीर वार्तामा जान चाहन्छु’ भन्नुभएको थियो ।
वासिङ्टन फर्कने तयारीका क्रममा न्युजर्सीको मोरिस्टाउनमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भन्नुभयो, “मैले कसैलाई पनि भनेको छु जसले सुन्नु पर्छ, उनीहरूले त्यो गर्नुपर्छ । भोन डेर लेयनले तुरुन्त भेला भएर हामी केही काम गर्न सक्छौँ कि भनेर हेर्ने वाचा गर्नुभयो ।”
शुक्रबारको सामाजिक सञ्जालको पोस्टमा ट्रम्पले २७ सदस्य राष्ट्रको यो समूह व्यापारमा ‘व्यवहार गर्न धेरै गाह्रो’ रहेको र वार्ता ‘कहीँ पुगिरहेको छैन’ भनी गुनासो गर्दै इयुका सामानहरूमाथि ५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिनुभएको थियो । ती भन्सार शुल्क जुन १ देखि लागू हुने थिए ।
तर भोन डेर लेयनसँगको फोनवार्ताले कमसेकम अहिलेका लागि तनावलाई सहज बनाएको देखिन्छ ।
“म सन् २०२५ जुलाई ९ सम्म विस्तार गर्न सहमत भएँ, त्यसो गर्नु मेरो सुअवसर थियो”, ट्रम्पले आइतवार साँझ पत्रकारहरूसँग कुरा गरेपछि ट्रुथ सोसलमा भन्नुभयो ।
“इयु र अमेरिकाले संसारको सबैभन्दा महत्त्वपूर्ण र नजिकको व्यापारिक सम्बन्ध साझा गर्दछन्”, आफ्नो पक्षबाट भोन डेर लेयनले भन्नुभयो, “युरोप छिटो र निर्णायक रूपमा वार्ता अगाडि बढाउन तयार छ, राम्रो सम्झौतामा पुग्न, हामीलाई जुलाई ९ सम्मको समय चाहिन्छ ।”
सिरियाको गृह मन्त्रालयका प्रवक्ता नौरेदिन अल–बाबाले गत डिसेम्बरमा सत्ताच्युत बशर अल–असदको शासनकालमा करिब ८० लाख सिरियाली नागरिकलाई गुप्तचर र सुरक्षा निकायको खोजी सूचीमा राखिएको खुलासा गरेका छन्। शनिबार दमास्कसमा आयोजित पत्रकार सम्मेलनमा उनले यो सङ्ख्या सिरियाको एक तिहाइ जनसङ्ख्याको बराबर भएको बताए।
बाबाले भने, “राजनीतिक कारणले पूर्ववर्ती सरकारले ८० लाखभन्दा बढी नागरिकलाई खोजी सूचीमा राखेको थियो।” असद शासनले शान्तिपूर्ण सरकारविरोधी प्रदर्शनमाथि निर्मम दमन गरेपछि सिरियामा गृहयुद्ध सुरु भएको थियो। लाखौँ सिरियालीहरू प्रदर्शनमा सहभागी भएको, राज्यको प्रतिष्ठामा आँच पुर्याएको, विदेशी पक्षसँग कुराकानी गरेको वा ‘आतङ्कवाद’ लाई सहयोग गरेको जस्ता आरोपमा फसाइएका थिए। असदले आफ्ना विरोधी र विद्रोही समूहलाई ‘आतङ्कवादी’ को संज्ञा दिने गरेका थिए।
लाखौँ सिरियालीलाई जेलमा राखिएको थियो, जहाँ धेरैले यातना भोगे भने दशौँ हजार अझै बेपत्ता छन्। धेरैले सुरक्षा जाँचचौकी वा देश छोड्ने क्रममा मात्र आफू खोजी सूचीमा रहेको थाहा पाए, किनकि आरोपहरू प्रायः गोप्य रूपमा लगाइन्थ्यो।
गत डिसेम्बरमा इस्लामी नेतृत्वको गठबन्धनले असदको पाँच दशक लामो कठोर शासनको अन्त्य गर्दै उनलाई सत्ताच्युत गरेको थियो। प्रवक्ता बाबाको यो भनाइ गृह मन्त्रालयको पुनर्गठन घोषणाको सन्दर्भमा आएको हो, जसमा उजुरी विभाग र लागूपदार्थ तथा मानव तस्करीविरुद्ध काम गर्ने सीमा सुरक्षा निकायजस्ता नयाँ विभागहरू स्थापना गरिएका छन्।
जापानका प्रधानमन्त्री शिगेरु इसिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कर कम गर्ने विषयमा नयाँ वार्ताअघि फोनवार्तामा फेरि दबाब दिएको बताउनुभएको छ ।
अमेरिकाको प्रमुख सहयोगी र यसको सबैभन्दा ठूलो लगानीकर्ता जापानमाथि अधिकांश राष्ट्रमा लगाइएका समान १० प्रतिशत आधारभूत भन्सार शुल्क र कार, स्टिल र एल्युमिनियममा कडा भन्सार शुल्क लगाइएको छ ।
ट्रम्पले अप्रिलको सुरुमा जापानमाथि २४ प्रतिशत ‘पारस्परिक’ कर लगाउने घोषणा पनि गर्नुभएको थियो तर पछि अन्य देशमा लगाइएका समान उपायहरूसँगै ती जुलाईको सुरुसम्मका लागि स्थगित गर्नुभयो ।
इसिबाले शुक्रबार बिहान आफूले बिहीबार साँझ वासिङ्टनमा ट्रम्पसँग ४५ मिनेट कुरा गरेको र ‘भन्सार शुल्क र आर्थिक सुरक्षासहित विभिन्न विषयहरूमा छलफल भएको’ बताउनुभयो ।
“मैले उहाँलाई अमेरिकी भन्सार शुल्कको विषयमा जापानको अवस्था बताएँ, भन्सार शुल्क हटाउने हाम्रो आग्रहमा कुनै परिवर्तन छैन”, इसिबाले टोकियोमा पत्रकार सम्मेलनमा भन्नुभयो, “मैले पहिले भनेजस्तै, यो केवल भन्सार शुल्कको मात्र कुरा नभई लगानीको पनि कुरा हो । जापान र अमेरिकाले अमेरिकामा रोजगारी सिर्जना गर्न सहयोग गर्ने हाम्रो अवस्थामा पनि कुनै परिवर्तन हुनेछैन ।”
यो टिप्पणी जापानका भन्सार शुल्क दूत, आर्थिक पुनरुत्थानमन्त्री रियोसेई अकाजावा तेस्रो चरणको वार्ताका लागि वासिङ्टन प्रस्थान गर्दा आएको हो ।
“अमेरिकाले चालेका भन्सार शुल्क उपायहरूको शृङ्खला खेदजनक छ । हामी यी उपायहरूको समीक्षाको कडा माग गर्नेछौँ”, अकाजावाले टोकियोको हानेडा विमानस्थलमा पत्रकारहरूलाई भन्नुभयो, “तर हामीले एउटा सम्झौतामा पुग्नुपर्छ, त्यसैले यो दुवै पक्षका लागि जित–जित हुनुपर्छ । हामी अमेरिकी पक्षको विभिन्न प्रस्ताव र विचारहरू ध्यानपूर्वक सुन्छौँ र दुई पक्षबीच साझा आधार खोज्छौँ ।”
सार्वजनिक प्रसारक एनएचके र अन्य जापानी मिडियाले सरकारी स्रोतलाई उद्धृत गर्दै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यस पटक वार्तामा भाग नलिने बताएका छन् ।
रिपोर्टहरूका अनुसार अकाजावा मे ३० मा फेरि वासिङ्टन जानुहुनेछ ।
ट्रम्पको २५ प्रतिशत अटो भन्सार शुल्क टोकियोका लागि विशेष गरी पीडादायक छ, किनकि जापानका लगभग आठ प्रतिशत जागिरहरू यस क्षेत्रसँग जोडिएका छन् ।
यसै महिनाको सुरुमा ट्रम्प प्रशासनले इन्जिन र ट्रान्समिसनसहित अटो पार्ट्समा २५ प्रतिशत नयाँ आयात कर लगाएको थियो ।
फेब्रुअरीमा ह्वाइट हाउसमा इसिबाले ट्रम्पलाई वार्षिक जापानी लगानी १० खर्ब डलरसम्म बढाउने वाचा गर्नुभएको थियो ।
“हालैका अमेरिका–चीन र अमेरिका–बेलायत व्यापार सम्झौताहरूले वासिङ्टनले व्यापार तनाव कम गर्ने लक्ष्य राखेको सङ्केत गरे तापनि जापान–अमेरिका वार्ताले थोरै प्रगति गरेको छ”, मुडिज एनालिटिक्सका स्टेफन एङ्ग्रिकले भन्नुभयो, “अमेरिकामा विश्वको सबैभन्दा ठूलो विदेशी लगानीकर्ताका रूपमा जापानको स्थितिले यसलाई करको खतराबाट जोगाएको छैन, त्यसैले थप लगानीको वाचा गर्नु एउटा अविश्वसनीय मोलतोल हो ।”
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थीलाई भर्ना दिने पुर्ववत निर्णय अहिले रद्द गरिदिएको छ।
युएस होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले बिहीबार ढिलो होमल्याण्ड सेक्युरिटी विभाग (डिएचएस) लाई हार्वर्डको स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्राम (एसईभिपी) को प्रमाणीकरण तत्काल रद्द गर्न आदेश दिएकी छिन्।
विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने क्षमता पुनः प्राप्त गर्न हार्वर्डले हालका बाह्य विद्यार्थीहरूको बारेमा ७२ घण्टा भित्र जानकारी उपलब्ध गराउनु पर्नेसमेत भनिएको छ । र, हाल विश्वविद्यालयमा अध्ययनरत सबै विदेशी विद्यार्थीलाई अन्य संस्थामा स्थानान्तरण गर्न भनिएको छ । अन्यथा देश छाड्नु पर्ने अवस्था आउन सक्छ ।
पछिल्ला केही दिनदेखि हार्वर्ड र सरकारबीच विदेशी विद्यार्थीसँग सम्बन्धित अभिलेखलाई लिएर झगडा जारी रहेको बेला ट्रम्प प्रशासनको यो निर्णय आएको हो । डिएचएसले गत अप्रिल ३० सम्म हार्वर्डले विदेशी विद्यार्थीहरू संलग्न अवैध र हिंसात्मक घटनाहरूको पूर्ण रेकर्ड उपलब्ध नगरेको खण्डमा भर्ना अभियान रद्द गरिनेछ । अब उसको एसइभीपी प्रमाणीकरण हटाइनेछ। विश्वविद्यालयले दिएको अभिलेखबाट ट्रम्प प्रशासन सन्तुष्ट नभए पछि स्थिति तनावग्रस्त बनेको हो ।
हाल हार्वर्ड विश्वविद्यालयमा लगभग २७ प्रतिशत बाह्य विद्यार्थीहरू अध्ययनरत छन्। त्यहाँ हाल करिब ६ हजार ८ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको प्रारम्भिक जानकारी रहेको छ ।
ट्रम्प प्रशासनमा होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले हार्वर्डलाई लेखेको पत्र एक्समा साझा गरेकी छिन्। उनले क्याप्सनमा लेखेकी छिन्, ‘ट्रम्प प्रशासनले हार्वर्डलाई आफ्नो क्याम्पसमा भएको हिंसा, यहूदी विरोधीवादलाई बढावा दिने र चिनियाँ कम्युनिष्ट पार्टीसँग समन्वय गर्न जिम्मेवार ठहराउँछ ।’
‘विश्वविद्यालयहरूले विदेशी विद्यार्थीहरूलाई भर्ना गर्न र उनीहरूसँग चर्को शुल्क लिने, जसले गर्दा उनीहरूको अर्बौं डलरको कोष बढ्छ, यो विशेषाधिकार हो, अधिकार होइन। हार्वर्डलाई धेरै मौका दिइयो तर कानून पालना गर्न असफल भयो। यो कार्यले देशभरका सबै विश्वविद्यालय र शैक्षिक संस्थाहरूलाई चेतावनीको रूपमा काम गर्नुपर्छ,’ उनले थप भनेकी छिन् ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आफ्नो विज्ञप्तिमा हार्वर्डको नेतृत्वले अमेरिका विरोधी बनाएको, आतंकवाद समर्थक आन्दोलनकारीहरूलाई धेरै यहूदी विद्यार्थीहरूलाई उत्पीडन र शारीरिक रूपमा आक्रमण गर्न अनुमति दिएको बताएको छ। हिंसालाई बढावा दिएर क्याम्पसमा असुरक्षित वातावरण सिर्जना गरिएको छ । ती आन्दोलनकारी मध्ये धेरै विदेशी विद्यार्थी भएको जनाएको छ।
उता, हार्वर्डले ट्रम्प प्रशासनको पछिल्लो कदमलाई गैरकानूनी भनेको छ। विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘हार्वर्डमा १४० भन्दा बढी देशबाट विद्यार्थी आउँछन् । हामी अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूलाई भर्ना गर्ने हाम्रो क्षमता कायम राख्न पूर्ण रूपमा प्रतिबद्ध छौं।’
विश्वविद्यालयले अगाडी भन्यो, ‘हामी हाम्रा विद्यार्थीहरूलाई सहयोग पुर्याउने दिशामा काम गरिरहेका छौं। यो प्रतिशोधात्मक कार्यले हार्वर्ड समुदाय र हाम्रो देशलाई गम्भीर हानि पुर्याउने धम्की दिन्छ र हार्वर्डको शैक्षिक र अनुसन्धान मिशनलाई कमजोर पार्न खोज्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेपछि रुस र युक्रेनले ‘तत्काल’ शान्ति वार्ता सुरु गर्ने बताउनुभएको छ । यद्यपि पुटिनले ट्रम्पको बिनाशर्त युद्धविरामको आह्वानलाई अस्वीकार गर्नुभएको छ । रिपब्लिकन राष्ट्रपति ट्रम्पले चुनावी अभियानमा २४ घण्टाभित्र समाधान गर्ने वाचा गरेको द्वन्द्व अन्त्य गर्ने सम्झौताको खोजी गरिरहेको बेला उहाँले दुई घण्टाको कुराकानीलाई सफलताका रूपमा प्रस्तुत गर्नुभयो ।
तर पुटिनले अधिक संयमित स्वर अपनाउनुभयो । उहाँले सन् २०२२ फेब्रुअरीमा मस्कोले सुरु गरेको युद्ध अन्त्य गर्नेतर्फको ज्ञापनपत्रमा काम गर्न किएभसँग तयार रहेको तर दुवै पक्षबाट समझौता गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
ओभल अफिसमा भड्किएको विवादपछि अमेरिकी राष्ट्रपतिसँगको सम्बन्ध सुल्झाउनुभएका युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ट्रम्पलाई अलग्गै फोनवार्तामा ‘हामीबिना’ कुनै पनि निर्णय नगर्न आग्रह गर्नुभयो ।
पुटिनले सम्झौता गर्न अस्वीकार गरेकामा बढ्दो निराशा देखाउँदै ट्रम्पले द्वन्द्व अन्त्य गर्ने आशा पुटिनसँगको व्यक्तिगत सम्बन्धमा राख्नुभएको छ ।
“मलाई विश्वास छ यो कुराकानी धेरै राम्रो भयो”, सोमबार पुटिनसँगको कुराकानीपछि ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा भन्नुभयो, “रुस र युक्रेनले तुरुन्तै युद्धविराम र अझ महत्त्वपूर्ण रूपमा युद्धको अन्त्यका लागि वार्ता सुरु गर्नेछन् ।” पछि ट्रम्पले पुटिन युद्धविरामका लागि तयार रहेको आफूले सोचेको बताउनुभयो । “मलाई लाग्छ उहाँ यसलाई समाप्त पार्न चाहनुहुन्छ”, ट्रम्पले ओभल अफिसमा पत्रकारहरूलाई भन्नुभयो, “यदि राष्ट्रपति पुटिन यसलाई समाप्त गर्न चाहनुहुन्न भन्ने मलाई लागेको भए, म यसबारे कुरा नै गर्दिनथेँ ।”
– धेरै उपयोगी – यसअघि ट्रम्पले रुस र युक्रेनबीच ३० दिनका लागि बिना शर्त युद्धविरामको आह्वान गर्नुभएको थियो । किएभ सहमत भयो, तर पुटिनले अहिलेसम्म त्यस्तो कुनै पनि युद्धविरामलाई अस्वीकार गर्नुभएको छ, जसले पश्चिमी देशहरूबाट आलोचना निम्त्याएको छ ।
ट्रम्पसँगको कुराकानीबारे पुटिन अधिक संयमित देखिनुभयो । यद्यपि उहाँले युद्धविरामबारे छलफल गर्न तयार भएको अहिलेसम्मको सबैभन्दा ठोस सङ्केतहरू मध्ये एक दिनुभएको थियो ।
“यो कुराकानी धेरै जानकारीमूलक, धेरै खुला र समग्रमा, मेरो विचारमा, धेरै उपयोगी थियो”, पुटिनले फोनवार्तापछि रुसी मिडियालाई भन्नुभयो ।
उहाँका अनुसार रुसले प्रस्ताव गर्नेछ र युक्रेनी पक्षसँग भविष्यको सम्भावित शान्ति सम्झौताबारे विभिन्न स्थितिहरू परिभाषित गर्ने एक ज्ञापनपत्रमा काम गर्न तयार रहनेछ ।
उहाँका टिप्पणीहरूले धेरै विवरणहरू अस्पष्ट छाडेका छन् र उहाँले थप ‘समझौताहरू’ अझै आवश्यक रहेको कुरामा जोड दिनुभएको छ ।
किएभ र पश्चिमी सहयोगीहरूलाई चिन्तित तुल्याउँदै आफ्नो पदभार ग्रहणपछि रुससँगको वार्तातर्फको मोडबीच ट्रम्प पुटिनको आलोचना गर्नबाट मोटामोटी रूपमा टाढा रहनुभएको छ ।
उहाँले पुटिनसँगको आमनेसामने भेटले मात्र द्वन्द्व अन्त्य गर्न सक्ने कुरामा जोड दिनुभएको छ । यद्यपि पुटिनले गत हप्ता इस्तानबुलमा भेट्ने उहाँको सुझावलाई अस्वीकार गर्नुभयो । इस्तानबुलमा रुस र युक्रेनले तीन वर्षभन्दा बढी समयपछि पहिलो प्रत्यक्ष वार्ता गरेका थिए।
तर पुटिनले ढिलाइ गरिरहेको आशङ्काबीच ट्रम्पले बढ्दो अधैर्यका सङ्केतहरू देखाउनुभएको छ ।
– हामीबिना – जेलेन्स्कीले पुटिनसँगको कुराकानी गर्नुअघि र पछि ट्रम्पसँग कुरा गर्नुभयो र अमेरिकी राष्ट्रपतिलाई रुसले युद्धविराम गर्न अस्वीकार गरेमा प्रतिबन्धहरू कडा गर्न आग्रह गर्नुभयो ।
“मैले पुटिनसँगको कुराकानी अघि युक्रेनको बारेमा हामीबिना कुनै पनि निर्णय नगर्न आग्रह गरेँ”, जेलेन्स्कीले पत्रकारहरूलाई भन्नुभयो ।
जेलेन्स्कीले रुसले आफ्नो आक्रमण अन्त्य गर्न अघि सारेको मागलाई अस्वीकार गर्दै किएभको नियन्त्रणमा रहेको पूर्वी र दक्षिणी युक्रेनका भागहरूबाट सेना फिर्ता लिन अस्वीकार गर्नुभयो ।
ट्रम्पले पुटिनसँगको कुराकानीपछि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन र फ्रान्स, जर्मनी, इटाली र फिनल्यान्डका नेताहरूसहित पश्चिमी नेताहरूसँग कुरा गर्नुभयो ।
यसैबीच ट्रम्प र इटालीका प्रधानमन्त्री जोर्जिया मेलोनी दुवैका अनुसार पोप लियो चौधौँले भ्याटिकनमा रुस–युक्रेन वार्ता आयोजना गर्न प्रस्ताव गर्नुभएको छ ।
यसैबीच युरोपेली राष्ट्रहरूले ट्रम्प–पुटिनको कुराकानीपछि तुरुन्तै युद्धविराममा सहमत भएन भने रुसविरुद्ध पश्चिमी प्रतिबन्धहरू कडा पार्ने किएभको आह्वानलाई समर्थन गरेका छन् ।
तर ट्रम्पबाट त्यस्ता सङ्केतहरू थिए कि उहाँ प्रतिबन्ध लगाउनुभन्दा मस्कोसँगको सम्बन्ध पुनःस्थापित गर्नमा बढी इच्छुक हुनुहुन्छ ।
उहाँले रुसले ‘यो विनाशकारी ‘रक्तपात’ समाप्त भएपछि संयुक्त राज्य अमेरिकासँग ठूलो मात्रामा व्यापार’ गर्न सक्ने लोभ देखाउनुभयो ।
भूमिमा रूसी सेनाले आफ्नो आक्रमण जारी राखेको छ । मस्कोले आफ्नो सेनाले युक्रेनको पूर्वी सुमी र डोनेट्स्क क्षेत्रका दुईवटा गाउँ कब्जा गरेको दाबी गरेको छ । रुसले रातभर युक्रेनमा एक सय १२ वटा ड्रोन प्रहार गरेको थियो । तीमध्ये ७६ वटालाई खसालिएको युक्रेनी वायु सेनाले जनाएको छ ।
गुगलका सीईओ सुन्दर पिचाईले गुगलको शक्तिशाली जेमिनी एआई आगामी दिनमा आइफोनमा पनि देख्न सकिने बताएका छन् ।
उनीहरुले यस सम्बन्धमा एप्पलका सीईओ टिम कुकसँग वार्ता गरिरहेका छन् र सन् २०२५ को मध्यसम्ममा यो सम्झौता हुन सक्ने विश्वास गरिएको छ।
यदि यसो भयो भने जेमिनी एआईको एकीकरण आईफोन, आईओएस १६ को अर्को सफ्टवेयर अपडेटमा हुन सक्छ। सुन्दर पिचाईले गुगल र अमेरिकी न्याय विभागबीच चलिरहेको सर्च एकाधिकार ट्रायलको क्रममा अदालतमा यो जानकारी दिएका हुन् ।
यो सम्झौतापछि आइफोन प्रयोगकर्ताहरूले सिरीसँगै जेमिनी एआईको विकल्प पाउन सक्नेछन्। जसरी आईओएस १८.२ पछि सिरीमा च्याटजीपीटी सपोर्ट गरिएको छ, त्यसैगरी प्रयोगकर्ताले चाहेमा सिरीसँग कुरा गर्दा जेमिनी एआईबाट पनि जवाफ पाउन सक्नेछन् ।
हाल, सिरीले आफैंले केही प्रश्नहरूको जवाफ दिन्छिन्, तर जब उनले जानकारी प्राप्त गर्दिनन्, उनले च्याट जिपिटीबाट मद्दत लिने गरेकी छिन् । जेमिनीको सुरुवात पछि प्रयोगकर्ताहरूसँग दुई विकल्पहरू हुनेछन् । च्याट जिपीटी र जेमिनी विशेष गरी लेखन उपकरण जस्ता सुविधाहरूका लागि उत्कृष्ट रहेका छन् ।
हाल आईफोन प्रयोगकर्ताहरूले जेमिनी एप डाउनलोड गरेर मात्र गुगल एआई प्रयोग गर्न सक्छन् तर यो सम्झौता पछि जेमिनी सीधै आईफोनमा इनबिल्ट हुनेछ। यसको मतलब प्रयोगकर्ताहरूले एप डाउनलोड नगरी सिरी वा एप्पलका अन्य सुविधाहरूको साथ जेमिनी प्रयोग गर्न सक्षम हुनेछन्। एप्पलले पहिले नै भनेको छ कि यो एआई च्याटबटहरूको लागि बहु विकल्पहरू प्रदान गर्न चाहेको छ ।
एप्पलले पनि सिरीलाई स्मार्ट बनाउने काम गरिरहेको छ। एक रिपोर्टका अनुसार सिरीलाई छिटो र राम्रो बनाउनको लागि भिजन प्रो हेडसेटको एआई टोलीमा सिरी इन्जिनियरहरूलाई स्थानान्तरण गरिएको छ। रिपोर्टहरू भन्छन् कि एप्पलले नयाँ एआई संस्करण सिरी २.० मा काम गरिरहेको छ तर यसको लन्च अहिलेको लागि स्थगित गरिएको छ।
किनभने यदि गुगल र एप्पलबीच सम्झौता भयो भने सिरीमा जेमिनीको एकीकरणले एप्पलको यो प्रयासलाई अझ बलियो बनाउन सक्छ।
चीनले पाकिस्तानका दुई मध्ये एक बैज्ञानकिलाई साथमा अन्तरिक्षमा लैजाने भएको छ ।
चीनको मानव अन्तरिक्ष एजेन्सीले घोषणा गरे अनुसार पाकिस्तानका दुई अन्तरिक्ष यात्रीलाई चीनको अन्तरिक्ष स्टेशनमा संयुक्त मिसनमा भाग लिनको लागि अन्तरिक्ष उडान प्रशिक्षणको लागि छनोट गरिएको छ।
चीनको मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) लाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी सिन्ह्वाले दुई पाकिस्तानीमध्ये एकजनाले पेलोड विशेषज्ञको रूपमा संयुक्त अन्तरिक्ष अभियानमा भाग लिने मौका पाउने बताएको छ। सीएमएसए प्रवक्ताले उत्तर– पश्चिम चीनको जिउक्वानमा सञ्चारकर्मीसँग कुरा गर्दै यो जानकारी दिएका हुन ।
गत फेब्रुअरीमा सीएमएसएले घोषणा गरेको थियो कि चीनले आफ्नो मित्र राष्ट्र पाकिस्तानबाट पहिलो विदेशी पाहुनाको रूपमा आफ्नो अन्तरिक्ष स्टेशनमा एक अन्तरिक्ष यात्री पठाउने योजना बनाएको छ ।
जुन हाल पृथ्वीबाट ४०० किलोमिटर माथिको कक्षमा घुमिरहेको छ ।
एलन मस्कको स्पेस एक्सलाई टक्कर दिँदै जेफ बेजोस नेतृत्वको अमेजनको इन्टरनेट स्याटलाइट पृथ्वीको कक्षबाट अन्तरिक्षमा गएको छ ।
जसले अहिले तहल्का मच्चाएको छ । जसअनुसार अमेजनको पहिलो समूह भू उपग्रह सोमबार अन्तरिक्षको कक्षामा प्रवेश गरे पछि अहिले हलचल मच्चिएको छ। अमेजन अन्तरिक्ष सम्बन्धी बजारमा नयाँ नाम हो ।
तर, अन्तरिक्षमा सोही परियोजनाका लागि ‘स्पेसएक्स’ का हजारौँ ‘स्टार लिङ्क’ हरू घुमिरहेका छन् ।
युनाइटेड लन्च एलायन्सको एटलस बि रकेटले अमेजनको ‘प्रोजेक्ट कुइपर’ उपग्रह मध्ये २७ वटा अन्तरिक्षमा पुर्याइ सकेको छ। अन्तरिक्षको कक्षामा प्रक्षेपण गरेपछि उपग्रहहरू अन्ततः लगभग ६३० किलोमिटरको उचाइमा पुगेर बस्नेछन् । एटलस बि आफैँले पनि सन २०२३ मा दुई वटा परीक्षण उपग्रह प्रक्षेपण गरेको थियो।
पछिल्लो संस्करणमा ठूला परिवर्तनहरू गरिएको आयोजना अधिकारीहरूले बताएका छन् । नवीनतम उपग्रहहरू खगोलविद्हरूको सुविधाको लागि सूर्यबाट परावर्तित प्रकाश छिराउन डिजाइन गरिएको ‘मिरर फिल्म’ सँग फिट गरिएका छन् ।
‘स्टारगेजर’ हरू भने अन्तरिक्षको कक्षमा उपग्रहहरूको द्रुत रूपमा बढ्दो सङ्ख्याको विरोध गरिरहेका छन् । तिनीहरू तर्क गरिरहेका छन् कि यी उपग्रहहरूले अवलोकनहरू बिगार्छन् र त्यहाँ उपग्रह टक्कर हुने सम्भावनाको ठूलो डर छ।
जेफ बेजोसद्वारा स्थापना गरिएको अमेजनले विश्वभर छिटो किफायती ब्रोडब्यान्ड सेवा प्रदान गर्न कम्तीमा ३ हजार २०० भन्दा बढी उपग्रहहरूलाई कक्षमा राख्ने लक्ष्य राखेको छ। यद्यपि, बेजोस अहिले आफ्नै रकेट कम्पनी ‘ब्लु ओरिजिन’ सञ्चालन गरिरहेका छन्।
उता, एलन मस्कको ‘स्पेसएक्स’ ले सन् २०१९ देखि अहिलेसम्म ८,००० भन्दा बढी ‘स्टार लिङ्क’ लन्च गरिसकेको छ। कम्पनीले गत आइतबार राति पनि आफ्नो २५० औँ स्टार लिङ्क सार्वजनिक गरेको थियो । समाचार अनुसार मस्कले ७००० भन्दा बढी स्टार लिङ्क अझै पनि पृथ्वी माथि लगभग ५५० किलोमिटर कक्षामा राखिरहेका छन् ।
तर, अमेजनले भने उनको भन्दा एक सय किलोमिटर माथि राखेको हो। उनले चाँडै ३२ सय वटा भू उपग्रह अन्तरिक्षमा राख्नेछन् । जसले विश्वलाई इन्टरनेट सुविधा थप सहज बनाउने विश्वास गरिएको छ।