Category: ब्लग

  • मुक्तक दिवस

    मुक्तक दिवस

    नेपाली साहित्यमा सार्वाधिक रुचाइएको लोकप्रिय बिधा मुक्तकले व्यक्तिको पीडा, भावना, मिलन, बिछोड लगायत समाजमा रहेका बिसङ्गतिलाइ उजागर गरेको छ । नेपाली वृहत शब्दकोशमा कथा सुत्रमा आबद्ध नभएको एक सुत्रीय श्लोक मुक्तक हो भनी उल्लेख गरिएको छ ।

    नेपालमा उत्कृष्ट मुक्तक सिर्जना गर्ने मुक्तककारहरु अत्याधिक रहेका छन् । जसमध्ये विगत तिन दशक भन्दा लामो समय देखी मुक्तक विधामा सक्रिय रहेका अग्रज मुक्तककार भूषण ढुङ्गेलको मुक्तक विधामा महत्वपूर्ण योगदान रहेको छ ।

    ढुङ्गेलको “तिमीले लगेको मुटु” मुक्तक संग्रह अत्यन्त प्रसिद्ध छ । साहित्य क्षेत्रमा सफलता हासिल गर्न मुक्तकको संरक्षणमा जोड दिनु आवश्यक भएकाले मुक्तकको उत्थान, संरक्षण, र मुक्तक प्रेमीलाई थप प्रेरित गर्न हरेक बर्ष माघ १८ गते मुक्तक दिवस मनाउन थालिएको हो । मुक्तकलाइ संस्थागत गर्नको लागि बिं स. २०७० साल भदौ १७ गते जिल्ला प्रशासन कार्यालय काठमान्डौँमा नेपाल मुक्तक प्रतिष्ठानको दर्ता भएको हो ।

    त्यसैगरी मुक्तक विधालाई बिस्तार गर्नको लागि बिं स. २०७० साल माघ १६ गते देखी १८ गते सम्म तिन दिने कार्यशाला गोष्ठीको आयोजना गरी ५ बुँदे घोषणा पत्र जारी गरेको थियो ।
    हरेक बर्ष मुक्तक दिवसको अबसर पारेर मुक्तक संग्रह बिमोचन गर्ने, मुक्तक वाचन कार्यक्रम आयोजना गर्ने, मुक्तक बिधामा योगदान दिने ब्यक्तिलाई पुरस्कार सहित सम्मान गर्ने आदि कार्यक्रम गर्दै आएको छ । यसरी प्रत्यक बर्ष मुक्तक दिबस मनाइरहँदा मुक्त प्रेमीहरुलाई थप हौसला मिलेको छ ।

  • षट्तिला एकादशी

    षट्तिला एकादशी

    माघ कृष्ण पक्षको दिन मनाइने षट्तिला एकादशीलाइ तिला एकादशी, कृष्ण एकादशी आदी भनिन्छ । हिन्दु सनातन सम्प्रादयमा षट्तिला एकादशीलाइ धार्मिक र आध्यात्मिक हिसाबले अत्यन्त महत्वपूर्ण मानिन्छ ।

    षट्तिला एकादशीको दिन तिल मिलाएको जलले नुहाउने, तिलको लेप वा तेल लगाउने, तिल होम गर्ने, तिलको डाँठ बालेर आगो ताप्ने, तिल मिलाएको जलले तर्पण दिने, तिलको लड्डु खाने, तिल दान गर्ने आदी गरिन्छ । यसरी तिलबाट ६ वटा कार्य गर्ने भएकाले यस एकादशीको नाम षट्तिला एकादशी भएको हो ।

    पौराणिक कथन अनुसार सर्वप्रथम एक विधवा ब्राम्हाणीले महिना दिन सम्म व्रत बसेर भगवान् बिष्णुको आरधना गरिन् ।

    भगवान् बिष्णुको आरधना गरेपछि ती नारीको शरीर मन पबित्र भयो । भगवान् बिष्णुले उनको घर पुगेर भिक्षाको याचना गरे र ती नारीले भगवान् बिष्णुको हातमा एउटा माटोको डल्लो दिइन् । त्यसको केही समय पछि नारीको देहान्त भयो ।

    देहान्त भएछि उनको बास बैकुण्ठमा भयो । त्यसकारण षट्तिला एकादशीको व्रत बसेमा अञ्जानमा भएका पाप कर्महरुलाई नास गरी पुण्य प्राप्त हुने र बैकुण्ठमा बास हुने धार्मिक आस्था राखी ब्रत बस्न थालेको हो । षट्तिला एकादशीको ब्रत लिने ब्रतालुहरुले नुन, तेल र अन्न नखाइ शुद्ध भएर ब्रत बसी बिष्णुको आरधना गर्दछन् ।

  • अन्तर्राष्ट्रिय भन्सार दिवस

    अन्तर्राष्ट्रिय भन्सार दिवस

    बिश्व भन्सार संगठनले जनावरी २६ तारिकलाइ अन्तर्राष्ट्रिय भन्सार दिवस भनी घोषणा गरे पश्चात हरेक बर्ष जनावरी २६ तारिकको दिन बिश्व भन्सार दिवस मनाउँदै आएको हो । आज नेपाल लगाएत बिश्वभर भन्सार सम्बन्धि जानकारीमूलक कार्यक्रम तथा गोष्टि गरी भन्सार दिबस सफल पारिन्छ ।

    कुनै एक देशको सामान अन्य देशमा लैजानका लागि भन्सारको आवश्यकता पर्दछ । भन्सार छलेर सामान आयात निर्यात गर्नु अपराधजन्य कार्य हो । हरेक भन्सार कार्यालयहरुले आयात निर्यात गरिएको सामानहरुको लेखाजोखा राख्ने गर्दछन् ।

    सरकारद्धारा आयात निर्यातमा लगाएको भन्सारको दुरुपयोग नहोस् भनि बिश्व भन्सार संगठनले अन्तर्राष्ट्रिय भन्सार दिवस तय गरिएको हो । हरेक बर्ष भन्सार दिवसको दिन सरकार एबम् अर्थमन्त्रालयले भन्सार सम्बन्धि विषयहरुमा छलफल गर्दछन् ।

  • श्री स्वस्थानी व्रत  प्रारम्भ

    श्री स्वस्थानी व्रत प्रारम्भ

    धार्मिक दिृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिने श्री स्वस्थानी व्रत पौष शुक्ल पूर्णिमा देखी सुरु गरी माघ शुक्ल पूर्णिमाको दिन समापन गरिन्छ । हिन्दु धर्मवलम्बीहरुले आजको दिनबाट श्री स्वस्थानी व्रत बस्ने र कथा बाचन गर्ने गर्दछन् साथै स्वस्थानी माताले कल्याण गरुन् भनि स्वस्थानी माताको पूजा आरधना गर्दछन् । व्रतालुहरुले शुद्ध भइ कथाको आरम्भ “यं व्रह्रा बरुणेरुद्रमरुत” मन्त्र वाचन गरी गर्दछन् ।

    कथा प्रवचन एक महिनाभरी चलिरहन्छ । महिला पुरुष दुबैले स्वस्थानी कथा बाचन गर्दछन् । व्रतालुहरुले एक महिना सम्म नरिसाउने, दया उपकार गर्ने, आफू खुसि हुने र अरुलाइ खाना खुवाएर मात्र पूजा गर्ने गर्नुपर्छ, दान गर्ने तथा शुद्धता र पबित्रतामा ख्याल राख्ने गनुपर्दछ । स्वस्थानी माता माथि आस्था राख्नेहरुले एक छाक चोखो खानेकुरा खाने र अर्को छाक फलफूल खाने गर्दछन् ।

    माछा मासु घर भित्र प्रवेश गराउदैनन् । स्वस्थानीको व्रत बसेमा र कथा बाचन गरेमा वा सुनेमा मनोकांक्षा पुरा हुने र माघ महिनामा शालीनदीमा स्नान गरेमा पापबाट मुक्त भइ पुण्य प्राप्त हुने धार्मिक आस्था छ । कथा बाचन सकिए पश्चात “ उपनयतु मंगलम्”मन्त्र जपेर कथा समापन गरिन्छ ।

  • माघे संक्रान्ति

    माघे संक्रान्ति

    नेपालमा विभिन्न जात जाति धर्म संस्कृतिको मानिसहरु बसोबास गर्दछन् । ती सबै मानिसहरुले विभिन्न चाडपर्वहरु स्थान बिषेश अनुसार वा फरक फरक तरिकाले मनाउदै आएको पाइन्छ । हाम्रा मु्ख्य चाडपर्व मध्ये माघे संक्रान्ति पनि एक हो । माघे संक्रान्ति सबै जाति समुदायको साझा पर्व भएता पनि विषेश गरि हिन्दु, बौद्ध र किराँत समुदायका मानिसहरुले मनाउँदै आएको देखिन्छ । नेपालका अधिकांश मानिसहरुले यस पर्व मनाउने भएकाले यस दिन सरकारले सार्वजानिक बिदा दिने गरेको छ । माघे संक्रान्तिलाइ मकर संक्रान्ति, माघि, आदि नामले चिनिन्छ । ज्योतिष शास्त्रका अनुसार आजको दिनदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछ । साथै सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धमा प्रवेश गर्ने भएकाले दिन लम्बिँदै जाने र रात छोटिँदै जाने बिश्वास गरिन्छ ।

    यस पर्व हिमाल, पहाड, तराई सबै भूभागमा बसोबास गर्ने सबै जातिका मानिसहरुले आफ्नो परम्परा अनुसार मनाउने गर्दछन् । थारु समुदायमा माघे संक्रान्तिको दिनबाट नयाँ बर्ष सुरु हुन्छ। यस दिन थारु समुदायले आफ्ना चेलिबेटीहरु घरमा बोलाउने, मिठा परिकार खुवाउने, नाचगान गर्ने चलन छ । साथै अन्य जातजातिको मानिसले पनि यस दिन बिभिन्न नदी खोला त्रिवेणीमा गएर स्नान गरी पूजापाठ गर्ने आफन्तजनसंग भेटघाट गरी घिउ, चाकु, तरुल, लड्डु, सेलरोटी मासु आदि खानेकुरा खाने गर्दछन् । धार्मिक हिसाबले माघ महिनालाइ सुभ महिना मानिने भएकाले यस महिनामा विवाह, व्रतबन्ध, पूजापाठ, लगायतका सुभ कार्यहरु गर्दै आएको पाइन्छ ।

  • पुत्रदा एकादशी

    पुत्रदा एकादशी

    श्रावन र पौष महिनाको शुक्ल पक्षको दिन पर्ने पुत्रदा एकादशीमा भगवान् विष्णुलाइ बाल गोपालको रुपमा पूजा गरिन्छ । हिन्दु धर्ममा पुत्रदा एकादशीको अत्यन्त महत्व रहेको छ । नेपाल लगाएत अन्य देशमा रहेका सबै हिन्दु धर्मवलम्बीले पुत्रदा एकादशीलाइ पर्वको रुपमा मनाउने गर्दछन् । पौराणिक कथामा पुत्रदा एकादशीको नाम सुने मात्र पनि वाजपेयी यक्षको फल प्राप्त हुन्छ भनिएको छ ।

    प्राचिन कालमा भद्रावतीपुर नगरमा राज्य गर्ने सुकेतुमान राजाको सन्तान थिएन । राजा निसन्तान भएका कारण राजपरिवारमा निकै चिन्ता छाएको थियो । एक दिन राजा सुकेतुमान घोडा चढी जङ्गल डुल्दै जाँदा घनघोर जङ्गलमा पुगे । उनलाई अत्यन्त थकाइ र तिर्खा लागेको थियो । पानीको खोजिमा हिडिरहेका बेला ऋषिमुनिहरुका आश्रममा पुगे । ऋषिमुनिहरु वेद पाठ गर्दै थिए । राजाले ऋषिमुनिहरुलाई यसरी भेला भई एकत्रित भएर बस्नुको कारण सोधे ऋषिमुनिहरुले पुत्रदा एकादशी आउन लागेको कारण यसरी स्नानका लागि भेला भएको बताए ।

    राजाले पुत्रदा एकादशी को बारेमा ऋषिमुनिसँग सोध्ने क्रममा ऋषिमुनिहरुले पुत्रदा एकादशी व्रत बसेमा सन्तान प्राप्त हुने कुरा बताए । राजाले यो कुरा सुनेपछि विधिपूर्वक व्रत बस्न थाले फलस्वरुप उनलाइ पुत्र प्राप्त भयो भनि धर्मशास्त्रमा उल्लेख गरिएको छ । यही पौरानिक कथा प्रति बिश्वास गरि पुत्रदा एकादशी मनाउन थालिएको हो । यस एकादशीको व्रत बस्ने व्यक्तिहरुले दशमिकै दिन देखि प्याज, लसुन, तथा मांसाहारी भोजन गर्नु हुँदैन । एकादशीको दिन विहानै उठेर शुद्ध भइ धुप, दीप , नैवेद, सहित नरिवल, पान, सुपारी, ल्वाङ, चडाइ बाल गोपाल विष्णुको पूजा गर्दछन् । भोलिपल्ट विष्णुलाइ अर्ध दिएर व्रत समापन गर्दछन् । यसरी पुत्रदा एकादशीको व्रत बसे पुत्र प्राप्ति र सांसारिक सुख समृद्धि प्राप्त हुने धार्मिक बिश्वास रहेको छ ।

  • पृथ्वी जयन्ती  तथा  राष्ट्रिय एकता दिवस

    पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

    नेपाल विविधतामा एकता भएको देश हो जहाँ १० भन्दा बढी धर्म मान्य ब्यक्तिहरु, १२३ भाषा बोल्ने ब्यक्तिहरु, १२६ जाति र ५९ जनजातिहरु बसोबास गर्दै आएको बिभिन्न अध्ययन अनुुसन्धानले देखाउँछ । यी सबै जातजाति, भाषा भाषि , धर्म संस्कृतिका मानिसहरु मिलेर बस्ने वातावरण सिर्जना गरी देशमा शान्ति र एकता कायमा गर्न निकै सङ्घर्ष गर्नुपरेको कुरा इतिहासमा उल्लेख गरिएको छ । एकता कायमा र आधुनिक राष्ट्र निर्माणको पछाडि शसक्त राष्ट्रवादीहरुको सङ्घर्ष जोडिएको छ । देशलाइ समृद्ध बनाउनको लागि राष्ट्रिय एकता कायम हुनु आवश्यक छ ।

    हाम्रो देशमा राष्ट्रिय एकता कायम गर्न शसक्त भूमिका निर्वाह गर्ने महान राजा हुन् पृथ्वीनारायण शाह । आजभन्दा ३०० बर्ष अघि नेपाल २२ से र २४ से राज्यको रुपमा विभाजित थियो । गोर्खामा रहेको एक राज्यमा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीकोे प्रथम पुत्रको रुपमा जन्म लिएका पृथ्वीनारायण शाहले साना राज्यहरुमा बाँडिएका २२ से र २४ से राज्यहरुलाई एकिकृत गरी सिङ्गो राज्यको सिर्जना गरेका हुन् । पृथ्वीनारायण शाहले भिरकोट, कास्की, लमजुङ, र गोर्खामा बसोबास गर्ने शाहवंशलाई नेपाल राजवंशमा रुपान्तरण गर्दै नेपालको जग बसालेका हुन् । देशमा युद्ध चलिरहदा युद्धको क्रममा नेपाल एकिकरणको महायात्रा सुरु गरी छापामार शैलि र अनेक रणनितीहरु लगाएर काठमान्डौं, ललितपुर, भक्तपुर, किर्तिपुर, आदि भूभागहरु जितेका हुन् ।

    पृथ्वीनारायण शाहले नेपाल एकीकरणको कसरतमा सफलता हासिल गरेकै कारण आज नेपाल स्वतन्त्र अनि सर्वभौम भएको हो । पृथ्वीनारायण शाह आधुनिक नेपालको संरचना विर गोर्खाली अनि सपना सारोक्ति सिद्धान्तका प्रतिपादक राष्ट्र निर्माता भनि प्रसिद्ध छन् । उनले आधुनिक नेपालको खाका कोरी ४ जात ३६ वर्णको साझा फूलबारीको सृष्टि गरेका हुन् । उनका सालिकहरु नेपालका अधिकांश सहरहरुमा देख्न सकिन्छ । चोर औंला उठाएर उभिएका स्वरुपमा देखिने उनका सालिकले हामी सबै नेपाली एक हौं भन्ने संकेत गर्छ । पृथ्वीनारायण शाहले गरेका सङ्घर्ष र कसरतले आम नेपालीहरुमा एकता र मेलमिलापको मिश्रीत अमर भावको बिकास भएको हो तसर्थ हरेक बर्ष पुस २७ गते पृथ्वीनारायण शाहको सम्झनामा हर्षोल्लासका साथ पृथ्वी जन्म जयन्ती तथा राष्ट्रिय एकता दिबस मनाइन्छ ।

  • पौषे औंशी

    पौषे औंशी

    हरेक बर्षको पौषे औंशीलाइ एक बिशेष दिनको रुपमा लिइन्छ । पौषे औंशीको दिन चन्द्रमा आकास भित्र बिलाउने भएकाले महिनाकै सर्वाधिक अध्यारो रात हुन्छ । पुस महिनालाइ सौधाग्य लक्ष्मीको मास भनिन्छ भने पौषे औंशीलाइ धान्य लक्ष्मीको आर्चना गर्ने महत्वपूर्ण दिन भनिन्छ । पितृ उद्धारका लागि महत्वपूर्ण मानिने यस औंशीको दिन नदीकिनार, मठ मन्दिर र तिर्थस्तलहरुमा श्रद्धालुहरुको भिँडभाड हुन्छ ।

    सनातन संस्कारका अनुयायीहरुले पौषे औंशीलाइ अत्यन्त महत्वपूर्ण दिनको रुपमा लिने गर्दछन् । पौषे औंशीको दिन श्रद्धालुहरु पितृ उद्धारका लागि मुस्ताङको कागबेनी, सुनसरीको बराह क्षेत्र, र काठमान्डौंको गोकर्ण लगायतका तीर्थस्थलमाहरुमा जाने गर्दछन् ।
    यस औंशीलाइ श्रद्धा, तर्पण र पितृ कर्मको लागि अत्यन्त महत्वपूर्ण दिन मानिन्छ ।आजको दिन जौंउ तिल, अन्न पिण्ड, लत्ता कपडा आदि दान गरेमा सुभ फल प्राप्त हुने बिश्वास रहेको छ । तसर्थ श्रद्धालुहरुले यस दिन दान गरी पुण्य लाभ गर्दछन् ।

  • रवि सप्तमी व्रत

    रवि सप्तमी व्रत

    आइताबार र सप्तमी तिथि एकै समयमा परेको दिन रवि सप्तमी व्रत बस्ने चलनको सुरुवात परम्परादेखी नै भएको हो । रवि सप्तमीलाई दुर्लभ मानिन्छ । सुर्यलाई खुसी पारी सुभ फल प्राप्त गर्नको लागि रवि सप्तमि व्रत बस्ने गर्दछन् । यस दिन सुर्य नारायनको पूजा आरधना गरिन्छ ।

    मध्यान्हमा सूर्य भगवानलाई देवी देवताको स्वरुपमा मानिन्छ भने सन्ध्या कालमा सूर्य भगवानलाई विष्णुको रुपमा मानिन्छ । रवि बारको दिन सूर्य भगवानको उपसना गर्नाले पद प्रतिष्ठान, सन्तान सुख, रोग र शोकको हनन गर्ने, धार्मिक आस्था रहेको छ ।

    साथै रवि सप्तमिको दिन व्रत वस्नाले मनोकामना पूरा हुने वा कामना अनुसारको फल प्राप्त हुन्छ । सूर्य नारायनको विधि पुर्वक व्रत बसि पूजा गर्नको लागि तामाको भाडा, फुलपाति, अक्षता, कुस, जल, जौ, तिल, चन्दन आदिको आवश्यकता पर्दछ ।

  • महिला हिंसा

    महिला हिंसा

    सामाजिक कलङ्कको रुपमा रहेको महिला हिंसा वर्तमान सामाजको ठुलो समस्या पनि हो । यसले समाजमा बिभिन्न समस्याहरु उत्पन्न गराएको छ । महिला हिंसाकै कारणले हाम्रो समाजमा एकता कायम हुन सकेको छैन । आधुनिक युगमा आएर पनि हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन । कुनै न कुनै किसिमले महिलाहरु हिंसाको सिकार बन्न पुगेका छन् । बिभिन्न अध्ययन अनुसन्धानको अनुसार ३५ प्रतिशत महिलाले शारिरीक र मानसिक हिंसा भोग्नु परेको छ । महिलालाई अपमान गर्ने, हेप्ने, जिस्काउने, स्वीकृति विना असहज हुने कार्य गर्ने, अश्लिल कुरा सुनाउने जस्ता हिंसात्मक कार्य दिन प्रतिदिन बढ्दै गएको छ । आफू माथी भइरहेको हिंसात्मक कार्यहरुको बिरुद्ध अझै पनि महिलाले खुलेर बोल्न सक्दैनन् ।

    बलत्कार जस्ता जघन्य अपराधका घटना हरु दिनहुँजसो पत्रपत्रिका, रेडियो, टेलिभिजनका समचारहरुमा आइरहेको कुरा हामी सबैलाइ अवगत नै छ । कोही महिला दाइजोको कारण अपहेलित भएका छन् त कोही महिला बोक्सिको आरोपमा तिरस्कृत भएका छन् । कयौं महिलाले दाइजोको कारण ज्यान समेत गुमाउनु परेको छ । यसरी महिला हिंसा बढ्दै जादा मानब अधिकारको पनि हनन हुदै गएको छ । महिला हिंसाको कार्य नेपालमा मात्र नभइ संसारका अन्य विकसित देशहरुमा समेत हुदै आएको संचार माध्यमले जनाएका छन् । महिला हिंसा अन्त्यको लागि राज्यले पनि पहल नगरेको हैन तर अझै पनि महिला हिंसा र लैङ्गिक असमानता कायम नै देखिन्छ । महिला हिंसाको विरुद्ध हामी सबैले आवाज उठाउनु जरुरी छ । महिलालाई अनिवार्य रुपमा शीक्षाको ब्यवस्था गर्ने, महिला शसक्तिकरणमा जोड दिने, तालिम, सभा समारोहमा महिलालइ अनिबार्य रुपमा सहभागि गराउने गरेमा महिला हिंसालाइ जरैदेखि निर्मुल पार्न सकिन्छ ।