काठमाडौँ : राजधानीको मुलपानी क्षेत्रमा लुटपाट संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । भने १० जनालाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार रातिको समयमा सर्वसाधारणलाई पछ्याएर गहना, नगद तथा अन्य सामाग्री लुट्ने गिरोहविरुद्ध विशेष अपरेसन सञ्चालन गरिएको थियो । पक्राउका क्रममा अभियुक्तहरुले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि आत्मरक्षाका लागि गाली चलाउनु परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
गोली लागेर घाइते भएका व्यक्तिलाई तत्काल वीर अस्पतालको ट्रमा सन्टरमा उपचारका लागि भर्ना गरिएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले प्रकाउ परेका व्यक्तिहरुबाट नगद, विदेशी मुद्रा तथा लुटपाटमा प्रयोग गरिएका सामाग्री बरामद गरेको छ । प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु विभिन्न आपराधिक घटनामा संलग्न रहेको पाइएको छ ।
यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र पीडितहरुलाई सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।
काठमाडौँ, २० मङ्सिरः काठमाडौँको टोखा नगरपालिकाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’ जडान गरिएको छ ।
टोखा नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत््् प्राधिकरणको ३५ प्रतिशत लगानीमा टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’ जडान गरिएको हो । उक्त सडकबक्तिको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गर्नुभयो । स्मार्ट सडकबक्तिको शुभारम्भ गर्दै नगरप्रमुख अधिकारीले उज्यालो टोखा निर्माण गर्ने आफ्नो प्रतिवद्धता पुरा भएको बताउनुभयो । उहाँका अनुसार सामाखुशीदेखि झोर, नयाँ बसपार्कदेखि भत्केको पुल, साउथ वेस्टन कलेजदेखि धापासी हाइट र दाहालगौँडादेखि ग्रीनल्याण्ड क्षेत्रमा सडकबक्ति जडान गरिएको छ ।
टोखा नगरपालिकाले २०८१ पुस २४ गते टोखाभित्रका मुख्य सडकमा यातायात व्यवस्था प्रभावकारी बनाउन र शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षालगायतका सेवा सुविधालाई चुस्त दुरुस्त राख्न सडकबक्ति जडान गर्न नेपाल विद्युत्् प्राधिकरणसँग सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार टोखामा सडकबत्ति जडान गर्न नगरपालिकाले ६५ प्रतिशत र प्राधिकरणले ३५ प्रतिशत रकम व्यहोर्ने उल्लेख गरिएको थियो । सम्झौताअनुसार टोखा नगरपालिकाले रु दुई करोड ८४ लाख ८३ हजार र प्राधिकरणले रु एक करोड ५३ लाख ३७ हजार लगानी गर्ने उल्लेख छ ।
सडकबक्ति जडान गर्न प्रविधिको छनोट, बोलपत्रमार्फत खरिदकार्य सम्पन्न तथा निर्माणकार्यको सुपरिवेक्षणलगायतकार्य प्राधिकरणले गर्ने सम्झौतामा उल्लेख थियो । नगरपालिकाको स्वामित्वमा रहेका सोलार, सडकबक्ति जडित खम्बामा नयाँ स्मार्ट सडकबक्ति जडान गर्नुपर्ने भएमा नगरपालिकाले आफ्नै खर्चमा हटाइदिने, नगरपालिकाले सडकबक्ति उपयोग गरेवापत प्राधिकरणलाई तिर्नुपर्ने बाँकी बक्यौता रकम कानुन बमोजिम तिर्ने, सडकबक्तिको प्रयोग गरेवापतको रकम मासिक रूपमा प्राधिकरण्लाई भुक्तानी गर्ने सम्झौतामा उल्लेख थियो ।
विश्व स्वयमसेवक दिवसको अवसरमा ललितपुर महानगरद्वारा ८५ स्वयमसेविका सम्मानित भएका छन् ।
‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान’ नारासहित ललितपुर महानगरपालिकाद्वारा शुक्रबार यहाँ आयोजित २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८२ का अवसरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरका २९ वटै वडाका २९ उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, २९ उत्कृष्ट टोल स्वास्थ्य उत्प्रेरक र एक उत्कृष्ट टिभी ट्रेसर र एचआइभी काउन्सलरलाई सम्मानसहित पुरस्कृत गर्नुभएको हो । त्यस्तै महानगरमा लामो समय काम गरेर अनिवार्य अवकाश भएका ६ जना महिला स्वास्थ स्वयंसेविका र २० जना टोल स्वास्थ्य उत्प्रेरकलाई नगल एक लाख रुपैयाँसहित सम्मान गर्नुभएको हो ।
स्वयमसेविकालाई सम्मान पश्चात् महानगरप्रमुख महर्जनले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको लगनशीलता र योगदानले स्वास्थ्य क्षेत्रमा धेरै काम र उपलब्धि हासिल गर्न सकेकोले ललितपुरले प्रत्येक वर्ष दुई-तीन वटा पुरस्कार प्राप्त गरिरहेको बताउनुभएको हो ।
“तपाईंहरुको कारणले ललितपुर महानगरको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम भएको छ, हामी तपाईंहरुको कामको प्रशंसा गर्न चाहन्छु, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको समस्या समाधान गर्न तीन महिनाभित्र एउटा कार्यविधि निर्माण गर्नेछौँ, ७५३ स्थानीय तहमध्ये हामीले उत्कृष्टस्तरको काम गरेका छौँ, ललितपुर महानगर भन्नासाथ राम्रो काम गर्ने नगरपालिका भनेर चिनिन्छ, स्वास्थ्य क्षेत्रमा प्राप्त सुझावलाई ग्रहण गरेर कार्यान्वयन गर्छौँ, हामी बोल्ने मात्रै हैन, बोलेको कुरा काम गरेर देखाउन सक्छौँ ।” उहाँल भन्नुभयो ।
ललितपुर महानगरको भगिनी सम्बन्ध कायम भएको सल्यानको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले धेरै चर्चा गर्नेभन्दा पनि जनताको हीतमा उत्कृष्ट काम गर्ने जनप्रतिनिधिका रूपमा ललितपुर महानगर प्रमुखको भूमिका रहेको भन्दै ललितपुर महानगरले उत्कृष्ट काम गरिरहेको धारणा राख्नुभयो । उहाँ ललितपुर महानगरले मानव संशाधनको विकास, सम्पदाको संरक्षण, शिक्षा, स्वास्थको विकासमा अनुकरणीय काम गरेको भन्दै शारदा नगरपालिकाल पनि ललितपुर महानगरको समन्वय र सहयोगमा उत्कृष्ट उपलब्धि हासिल गर्ने बताउनुभयो ।
कार्यक्रममा महानगरको सामाजिक विकास समितिका संयोजक प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष राजु महर्जनले धेरै वडामा खुला आकाशमुनि बसेर भिटामिन ए खुवाउनु परेकोमा अवदेखि २९ वटै वडामा टेवल, आवश्यक सामग्रीको व्यवस्थापन गर्ने बताउनुभयो ।
ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले स्वयंसेवकको योगदानले स्थानीय समुदायदेखि विश्वले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने भन्दै सरकारले निर्धारण गरेको लक्ष्य हासिल गर्न र आमसर्वसाधारणको स्वास्थ क्षेत्रमा उल्लेखनीय सुधार ल्याउन महत्त्वपूर्ण काम भएको बताउनुभयो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको कारण मातृमृत्युदर, बालमृत्युदरमा कमी आएको भन्दै महिला स्वास्थ स्वयंसेविकाको योगदानले सुरक्षित मातृत्वको लागि अतुलनीय योगदान भएको भन्दै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका महानगरको स्वास्थ क्षेत्रको मेरुदण्ड भएको धारणा राख्नुभयो ।
जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले महिला स्वास्थ स्वयंसेविकाको योगदानले नेपालले स्वास्थ क्षेत्रमा दक्षिण एसियामा नै उत्कृष्ट स्थान हासिल गर्न सकेको धारणा राख्नुभयो ।
The imbalance between constitutional protections and actual discrimination against Dalits has been sharply criticized by Bamdev Gautam, who claims that prejudice still exists despite the constitution’s acknowledgment of their rights.
He has proposed an imposing rule that will punish anyone who discriminates against Dalits with a life punishment without the possibility of freedom and the taking of their property.
He believes that while Dalit rights and inclusion are guaranteed by Article 40 of the Nepalese Constitution, the laws required to uphold it are still absent, and its actual application is still lacking.
म्याग्दी, २२ कात्तिक : गण्डकी प्रदेश सरकारले म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधार सम्बन्धी ३२ योजना सञ्चालन गर्ने भएको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत कार्यान्वयन हुने सडक स्तरोन्नति, मोटरेबल र झोलुङ्गे पुल निर्माण सम्बन्धी योजनाका लागि प्रदेश सरकारले रु. ६२ करोड बजेट बिनियोजन गरेको छ ।
क्रमागत १७ योजनाका लागि रु. ५२ करोड र नयाँ १५ वटा योजनाका लागि रु. १० करोड बजेट प्राप्त भएको पूर्वाधार विकास कार्यालयका प्रमुख बिष्णु पौडेलले जानकारी दिनुभयो ।
यसअघिका बर्षमा ठेक्का सम्झौता भएका क्रमागत योजनाका निर्माण ब्यवसायीहरु बर्खा र चाडपर्व सकिएपछि काममा फर्कन थालेका तथा नयाँ सालबसाली योजना कार्यान्वयनका लागि ठेक्का आव्हानका लागि सर्वेक्षण र लागत अनुमानको काम भैरहेको उहाँले बताउनुभयो ।
धवलागिरि, मालिका र मङ्गला गाउँपालिका समेटिएको प्रदेशसभाको क्षेत्र १(ख)का १८ योजनाका लागि रु. ४७ करोड र बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका समेटिएको निर्वाचन क्षेत्र १(क) का १४ योजनाका लागि रु. १४ करोड ६२ लाख बजेट प्राप्त भएको छ ।
संघीय र प्रदेश सरकारको लागत साझेदारीमा गत वर्ष ठेक्का सम्झौता र यस वर्ष रु. २३ करोड २२ लाख बजेट बिनियोजन भएको दरवाङ-ताकम-शिवाङ-मुना-जलजला-ढोरपाटन सडक प्रदेश सरकार मार्फत म्याग्दीमा सञ्चालित सबैभन्दा ठूलो योजना हो ।
बिम-मराङ-मल्कवाङ-पाखापानी, जैसीखोर-खहरेखोला-रिसिन चौतारी हुदै बैसरी सडक स्तरोन्नति र फापरखेत पहिरोको वैकल्पिक मार्गमा पर्ने म्याग्दीखोलामा बेलिब्रिज निर्माणका लागि रु. एक/एक करोड बजेट बिनियोजन भएको छ ।
म्याग्दी १(ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले धवलागिरि गाउँपालिका-१ को गुर्जालाई सडक सञ्जालले जोड्ने लक्ष्य सहित प्रदेशबाट रु. ५० लाख बिनियोजन भएको जानकारी दिनुभयो । संघीय, प्रदेश सरकार, गाउँपालिका र समुदायको साझेदारीमा विकट गुर्जालाई यो वर्ष सडक सञ्जालमा जोडिने उहाँले बताउनुभयो ।
मङ्गला गाउँपालिका-१ को तुसारेपानी-कुहुँ, गैराखेत-मालिका मन्दिर र दरवाङ-लामेला-अल्काचौर, दूधखोला-तोलावाङ र सराग्दी सडकका लागि रु. ५०÷५० लाख र
मालिका गाँउपालिकको खतेन-ओखरबोट झोलुङ्गे पुललाई रु. ३० लाख बजेट बिनियोजन भएको छ ।
घारखोला-नेपाने र तिप्ल्याङ-बादुक बाख्रेनी डिल देखि धुपीचौर सडक रघुगंगा-२ र बगैचा रानीपौवा रिसिन चौतारी हुदै बेगखोला जोड्ने सडक र रघुगङ्गा -१ को टोल नम्बर २ को ढल निकास योजनाका लागि रु. ५०÷५० लाख बजेट बिनियोजन भएको म्याग्दी १(क) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो । ग्रामिण सडकहरुलाई ग्राभेल, ढलान र कालोपत्र गरेर स्तरोन्नति गर्न योजनाहरु सञ्चालन भएको उहाँले बताउनुभयो । सडक स्तारोन्नति भएपछि ग्रामिण क्षेत्रमा यातायातको सहज पहुँच बढ्ने र बसाईसराई घट्ने अपेक्षा गरिएको छ ।
अन्नपूर्ण-५ पाउद्धारदेखि कुरिलाबगर हुदै वडा नं ६ बिरौटा सम्म सहिद सुरेश शेरपुजा र हिरालाल फगामी स्मृति मोटरबाटो र दोबा-भिरकाटे सडक, ज्ञानप्रकाश मावि देखि कोट खलंगा- हुदै ठारा, भगवती-डाडाबारी-पिप्ले एकघरे सडक, कोटगाउँ-रायखोर- घ्यासीखर्क र पाखापानी- कालावाङ -ठाडाखानी र ठूलोगैरा – खबरा- बन्चरेढुंगा-भकुण्डे र आनन्दबगर- लामबगर – ढोडेनी सडकका लागि रु. ५०÷५० लाख बजेट बिनियोजन भएको छ ।
बेनी-दरवाङ-कल्लेनी-ताकम-मुना-जलजला, दरवाङ-अदिभारा-डाडागाउँ-सोले-तमान-बुर्तीवाङ, पखेर बरंजा ३ र ४ हुँदै महेश धापुङ ताराखोला गापा जोड्ने सडक, दरवाङ- मुना- ढोरपाटन, दरवाङ-बिम-दिच्याम, दरखोला सडक पुल, शिवरात्री खोला सडक पुल, रुम देखि ताराखोला जोड्ने सडक, दाङखोला पुल र साँवता थापाचौर झोलुङ्गे पुल निर्वाचन क्षेत्र १(ख) का क्रमागत बहुबर्षीय योजनाहरु हुन् ।
निर्वाचन क्षेत्र १(क) मा बेनी-तोरीपानी, हाँडेभिर-बगरफाँट -दूधेखोला- हल्लेगौडा- डोलेमुसुङ, गलेश्वर-पिप्ले – भगवति, गलेश्वर-पुलाश्रम, चित्रे- घोडेपानी, भगवति-सिजलगाउँ-बेग जोड्ने क्रमागत बहुबर्षीय सडक निर्माणाधिन छन् ।
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालबालिकाको स्वास्थ्य, संरक्षण र शिक्षामा विशेष ध्यान दिन अपिल गरेको छ ।
अभियानका अध्यक्ष तिलोत्तम पौडेलद्वारा आज जारी विज्ञप्तिमा ‘जेनजी’ले सञ्चालन गरेको आन्दोलन र त्यसपछि भएका विभिन्न हिंसात्मक गतिविधिले बालबालिकालाई नकारात्मक मानसिक असर परिरहेकाले बालकेन्द्रित भएर अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगलगायत संस्थालाई आग्रह पनि गरिएको छ ।
आन्दोलनमा भएको मानवीय क्षति, मानव अधिकारको उल्लङ्घन, सरकारी तथा निजी सम्पत्ति, उद्योग, सञ्चार गृह, सङ्घसंस्थाका कार्यालय, विद्यालयमा आगजनी, तोडफोड, लुटपाट जस्ता गतिविधि हुनाका साथै विभिन्न अपराधको सजाय भोेगिरहेका १३ हजार व्यक्ति जेलबाट बाहिर निस्कनु जस्ता घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै समग्र घटनाको उच्चस्तरीय न्यायिक छानबिन गरी दोषीमाथि कारबाही गर्न सिजपले माग गरेको छ ।
“जस्तोसुकै असहज परिस्थितिमा पनि सुरक्षित बाँच्ने, संरक्षण हुन पाउने बालबालिकाको अधिकार हो । सञ्चारमाध्यममा प्रकाशित प्रसारित विभिन्न हिंसात्मक घटनाक्रममा बालबालिका विद्यालय पोसाकमा नै स्वयंको संलग्नता हुनु, अभिभावकहरू नै सडकमा उत्रनु, बालबालिका घाइते र मृत्यु हुनुलगायत समाचारले बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानलाई चिन्तित बनाएको छ”, विज्ञप्तिमा भनिएको छ, “वर्तमान अवस्थामा विद्यालय बन्द भएका छन्, कतिपय विद्यालय जलेका पनि छन् । बालबालिकाका कलिलो मानसिकतामा हजारौँ प्रश्नका लहर उठेको छ । मानसिक स्वास्थ्यमा नै समस्या पर्ने अवस्था छ । बाल संरक्षण, विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन्, बालबालिका राष्ट्रिय गौरव हुन भन्ने अवधारणालाई समेत जोखिममा पारेको देखिएको छ ।”
सबै जोखिमहरूबाट आफू र आफ्ना बालबालिकालाई जोगाउँदै अपाङ्गता भएका, गर्भवती तथा सुत्केरी, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, जोखिममा परेका, रोजगारीका अवसर गुमाएका बाबुआमाका छोराछोरी, गाउँघर, देशबाहिर रहेका अभिभावकका बालबालिकालाई विशेष ध्यान दिन, सहजता र सुरक्षामा ध्यान दिँदै सकारात्मक सन्देश मात्र प्रवाह गर्न, बालमैत्री वातावरण सिर्जना तथा बालबालिकालाई समय दिन आग्रह गरिएको छ ।
बाल अधिकार उल्लङ्घनका घटनाहरू र जोखिममा पर्नसक्ने अवस्थामा तत्काल नजिकका सुरक्षाकर्मी र बाल ‘हेल्पलाइन’ सेवा १०९८ मा खबर गर्न पनि आग्रह गरिएको छ । साथै आन्दोलनरत जेनजी पुस्ताले भ्रष्टाचार र अनियमितताविरुद्ध उठाएका मागहरूलाई पूरा गर्न नेपालको संविधानभित्रै रहेर लोकतन्त्र, गणतन्त्र तथा प्राप्त उपलब्धिहरूलाई जोगाउँदै राजनीतिक निकास निकाल्न पनि अपिल गरिएको छ । यसबीचमा बालबालिकाको राष्ट्रिय पर्वका रुपमा मानाइने राष्ट्रिय बाल दिवस भदौ २९ गते पनि ओझेलमा परेकामा सिजपले चिन्ता व्यक्त गरेको छ । रासस
सिरहा, ८ साउनः सिरहाको गोलबजारस्थित पूर्व–पश्चिम राजमार्गको सडकपेटीमै लाग्दै आएको हाटबजार (हटिया) स्थानान्तरण गरिएको छ । लामो समयदेखि लाग्दै आएको गोलबजार नगरपालिका–४ स्थित गुद्री हाटबजारलाई हालै करिब यस मिटर उत्तरतर्फ धमिनि मन्दिर नजिक सारिएको हो ।
नगरप्रमुख श्यामकुमार श्रेष्ठको निर्देशनमा सडक अतिक्रमण हटाउँदै हटबजारलाई निश्चित स्थानमा सारिएको हो । हटिया स्थानान्तरणसँगै कञ्चनपुर–कमला सडक स्तरोन्नति कार्यमा समेत सहजता आएको छ ।
“सडकमा हटिया लाग्दा जनजीवन प्रभावित थियो, सवारी साधन चलाउन समस्या थियो, त्यसैले हटिया व्यवस्थित गर्न निर्देशन दिइएको हो”, हटिया स्थानान्तरणपछि नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “सडकपेटी सार्वजनिक सम्पत्ति हो, त्यसलाई सुरक्षित र खुला राख्नु हामी सबैको दायित्व हो ।”
गोलबजार उद्योग व्यापार सङ्घका पूर्वअध्यक्ष भरत अग्रवालले हाटबजारको स्थानान्तरणलाई सकारात्मक कदम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस ठाउँमा लाग्ने हाटबजारले दुर्घटनाको जोखिम थियो । सडकपेटीमा हाटबजार लाग्दा ट्राफिक व्यवस्थापनमा चुनौतीका साथै दुर्घटना र व्यापारमा असर भइरहेको थियो । अब सुधार हुने अपेक्षा गरेका छौँ ।”
गोलबजार नगरपालिकाले हाटबजार व्यवस्थापनलाई थप व्यवस्थित र दीगो बनाउने योजना अघि सारेको जनाएको छ ।
असारको ३२ गते बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, २०८१’ बाट पूर्वमन्त्री प्रा. मानबहादुर विश्वकर्मालाई पुरस्कृत गरेको छ ।
प्रा. मानबहादुर विश्वकर्माले दलित समुदायमा शैक्षिक र राजनीतिक जागरण ल्याउनका साथै अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको योगदानलाई कदर गर्दै सरकारले प्रा. विश्वकर्मालाई एक लाख नगद र ताम्रापत्रसहित पुरस्कारबाट पुरस्कृत गरेको हो ।
राणाशासनकालमा दलित जागरणको आन्दोलनमा होमिएका दलित मुक्ति आन्दोलनका संस्थापक नेता भगत सर्वजित विश्वकर्माको सम्मानमा सरकारले २०७२ सालमा उक्त पुरस्कार स्थापना गरेको थियो । यस पुरस्कार मार्फत राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्र, दलित मुक्ति आन्दोलनको क्षेत्र, समाज सुधार अभियानको क्षेत्र, मानव अधिकारको क्षेत्र र सीप, कला, शिक्षा–साहित्य, संस्कृति, लेखन तथा अध्ययन अनुसन्धानको क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कृत गर्दै आईरहेको छ ।
प्रा. विश्वकर्मा सन् १९४८ मा अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएर विद्यालयस्तरसम्मको गाउँबाटै अध्ययन शुरु गरेका थिए । उनले भारतको राँची विश्वविद्यालयबाट एमएस्सी गरि वि.सं.२०३४ सालदेखि प्राध्यापन शुरू गरेका थिए।
न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःले जेष्ठ नागरिकहरु लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । मध्यपुर थिमिको बोदेस्थित कुमारी पार्कमा आयोजित समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
बागमती प्रदेश सरकारका सांसद माननीय नुरज बज्राचार्य; वडा अध्यक्ष रमेश थापा श्रेष्ठ र नेपाली सेनाका मेजर पूर्ण प्रजापतिले ४२ प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे । यसैबीच, मिसा पुचःको स्थापनादेखि नै योगदान गर्दै आएकी प्रमिला बज्राचार्यलाई सम्मान गरिएको थियो । पुचःले बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र सामाजिक विकास कार्यालयको लागत साझेदारीमा तालिम दिएको थियो ।
तालिम अन्तर्गत प्रशिक्षार्थीहरूलाई डोला र बोटा बनाउने, लप्ते (नेवाः भोज खाँदा प्रयोग हुने पातबाट बनेको बस्तु) सिलाई गर्ने र सुकुल बुन्ने तालिम दिइएको थियो । घरमा छोराबुहारी र नातीहरुमा निर्भर हुन नपर्नेगरी जेष्ठ नागरिकहरुलाई आंशिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले सीप सम्बन्धिको तालिम दिइएको समूहकी अध्यक्ष शिला सायमिले बताइन् । उनका अनुसार ३२ जनालाई लप्ते सिलाई तालिम दिइएको छ भने २० जनालाई सुकुल बुन्ने र १० जनालाई सुकुल र लप्ते बनाउने तालिम दिइएको छ । तालिममा दुई पटक सम्म भिमरथारोहण गरेका (८२ वर्ष नाघेका)देखि ६० वर्ष उमेरमाथिका हजुरआमाहरू सहभागी भएका थिए ।
प्रशिक्षकहरूमध्ये ललितपुर थसिस्थित सुजाता महर्जनले सुकुल बुन्ने तालिम दिइन् र काठमाडौंकी पटनादेवी रञ्जितले लप्ते बनाउने तालिम दिइन् । वैशाख ७ गते उद्घाटन गरिएको तालिम जेठ ३० गते सकाएर असार ३ गते समापन समापन गरिएको थियो । समूहले विगत १० वर्षदेखि वृद्धवृद्धाहरूलाई दिवा हेरचाह सेवा प्रदान गर्दै आएको छ । संयुक्त परिवारमा बसे पनि छोराबुहारी आआफ्नै काममा जाने र नातीहरु स्कूल र कलेज जानेहुँदा जेष्ठ नागरिकहरु दिनभर घरमै एक्लो हुने गरेका छन् ।
त्यसैले समूहले दिनभर उनीहरूलाई भेला गरेर कथा सुनाउने, उनीहरूसँग कुराकानी गर्ने र घुम्न लैजाने काम गरिरहेको छ । यसैबीच, समूहले हालै वृद्धवृद्धाहरूलाई आंशिक रूपमा आत्मनिर्भर बनाउन सीप विकास तालिम प्रदान गरेको छ । समूहले जेष्ठ नागरिक सामुदायिक भवन निर्माणको लागि प्रतिव्यक्ति रु. १०० चन्दा माग गरी रु. १०० अभियानको घोषणा गरेको छ ।
खोटेहाङ गाउँपालिकाले उत्कृष्ट चार कृषकसहित विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ ।
अन्नबाली, फलफूल र नगदेबाली तथा पशुपन्छी पालनमा उत्कृष्ट कृषक, सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट निर्माण उपभोक्ता समिति, उत्कृष्ट शिक्षक तथा विद्यालय र उत्कृष्ट कर्मचारीलाई गाउँपालिकाले बिहीबार पुरस्कृत गरेको हो ।
गाउँपालिकामा सबैभन्दा बढी अन्नबाली उत्पादन गर्ने वडा नं ७ खोटाङबजारका बमबहादुर नेपाली, फलफूल उत्पादन गर्ने वडा नं १ लिकुवा पोखरीका मणिकुमार राई, नगदेबाली उत्पादन गर्ने वडा नं ३ सावाकटहरेका बलजित राई तथा पशुपन्छी पालनमा सबैभन्दा उत्कृष्ट हुने वडा नं ८ सिम्पानीका रामकुमार पोखरेललाई गाउँपालिकाले पुरस्कृत गरेको छ । उत्कृष्ट कृषकलाई जनही नगद रु १५÷१५ हजारको साथमा सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिनुभएको छ ।
गाउँपालिकाले आयोजना गरेको वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसरमा उत्कृष्ट अङ्क ल्याएर कक्षा–१२ उत्तीर्ण गर्ने राधा सिग्देल, माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने कृष्ण बुढाथोकी र गाउँपालिकाले सञ्चालन गरेको कक्षा–८ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने अनुपमा बस्नेत पुरस्कृत हुनुभएको छ । पुरस्कृत विद्यार्थीहरुलाई जनही नगद रु सात÷सात हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा माध्यमिक तहका वर्ष उत्कृष्ट शिक्षकमा सिम्पानी माध्यमिक विद्यालय सिम्पानीका जगत बस्नेत, निम्न माध्यमिक तहका वर्ष शिक्षकमा विणा माध्यमिक विद्यालय लिकुवा पोखरीका मिलन तामाङ र प्राथमिक तहका वर्ष उत्कृष्ट शिक्षकमा माहाङ्कला माध्यमिक विद्यालय लिच्कीराम्चेका देवेन्द्र चौधरी पुरस्कृत हुनुभएको छ । पुरस्कृत शिक्षकहरुलाई जनही नगद रु सात÷सात हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सामुदायिक विद्यालयतर्फ उत्कृष्ट लेखा कर्मचारीमा ईश्वर श्रेष्ठ, बाल विकास सहजकर्तामा रोजिना राई र कार्यालय सहयोगीमा बिपीन रोक्कालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने लेखा कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीलाई जनही नगद रु सात÷सात हजारको साथमा प्रमाणपत्र प्रदान गरेको छ ।
विद्यालयतर्फ वर्ष उत्कृष्ट हुने माध्यमिक तहको विद्यालयमा भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजार, निम्न माध्यमिक तहको वर्ष उत्कृष्ट हुने विद्यालयमा सिद्ध आधारभूत विद्यालय खोटाङ बजारलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने विद्यालयलाई जनही नगद रु १५÷१५ हजारको साथमा प्रमाणपत्र प्रदान गरेको छ ।
गाउँपालिकाले यस वर्ष गठन गरिएको निर्माण उपभोक्ता समितिमध्ये सबैभन्दा उत्कृष्ट काम गर्ने निर्माण उपभोक्ता समितिलाई पुरस्कृत गरेको छ । ईलाका प्रशासन कार्यालय भवन निर्माण उपभोक्ता समितिले तोकिएको भन्दा बढी र गुणस्तरीय काम गरेको भन्दै उपभोक्ता समितिका अध्यक्ष तीलकबहादुर कामीलाई नगद रु १५ हजारको साथमा प्रमाणपत्रसहित पुरस्कृत गरेको हो ।
वर्ष उत्कृष्ट कर्मचारीतर्फत एमआइएस अपरेटर रोशन पौडेल, उत्कृष्ट स्वास्थ्यकर्मीतर्फ आधारभूत अस्पताल इन्द्रेणीपोखरीका हेल्थ असिस्टेन्ट सुमन दाहाल र उत्कृष्ट कार्यालय सहयोगीतर्फ आधारभूत अस्पताल इन्द्रेणीपोखरीकै केदार कार्कीलाई पुरस्कृत गरेको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्ति तथा संस्थालाई गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले नगदसहित पुरस्कार वितरण गर्नुभएको हो ।
आफूले गरेको कामलाई गाउँपालिकाले मूल्याङ्कन गरेर पुरस्कृत गर्दा थप जिम्मेवार बन्नका लागि हौसला मिलेको पुरस्कृतहरुमध्येबाट धारण राख्नुहुने बलजित राईले प्रतिक्रिया दिनुभएको छ । “किसा भन्ने वित्तिकै हेयको दृष्टिले हेर्नै चलन छ”, उहाँले भन्नुभयो, “म कृषक हुँ, मलाई आफू कृषक हुनुमा गर्व लाग्छ । स्थानीय सरकारले पुरस्कृत गर्दा थप हौसाला मिलेको छ ।”
गाउँपालिकाको समग्र विकासका लागि विभिन्न विद्या निर्धारण गरेर वर्ष उत्कृष्ट व्यक्ति तथा संस्थालाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको गाउँपालिका प्रमुख मुक्तिले बताउनुभएको छ । गाउँपालिकाको सार्वजनिक सुनुवाइ तथा पुरस्कार वितरण कार्यक्रममा राजनीतिक दल, सरोकारवाला निकाय, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।