Category: स्थानीय

  • वर्षायाममा वाग्मती किनारका बासिन्दाको त्रास

    वर्षायाममा वाग्मती किनारका बासिन्दाको त्रास

    सर्लाहीको पश्चिमी सिमानामा बग्ने वाग्मती नदीले वर्षायाममा किनारका बासिन्दालाई त्रासमा राख्छ। चुरे पर्वतको काखबाट बग्ने यो नदीले बाढीको समयमा गाउँ र खेतमा विनाश निम्त्याउँछ। बाढीले थातथलो छाडेर भाग्नुपरेको पीडा यहाँका स्थानीयको मनमा ताजै छ।

    बसवरिया गाउँपालिका–२, मानपुरका ६५ वर्षीय रामसेवक महतो भन्नुहुन्छ, “वर्षा सुरु भएपछि रातभर निद्रा लाग्दैन। गत वर्ष बाढीले ड्याम फुटाएर गाउँमा पानी पस्यो, भागेर ज्यान जोगायौँ।” आकाश गडगडाउन थालेपछि पशुचौपाया खोलेर सुरक्षित स्थानतिर लाग्ने गरेको उहाँ बताउनुहुन्छ।

    गत वर्षको बाढीले बसवरियाको मानपुर, रामनगर गाउँपालिका र बलरा नगरपालिकाको पश्चिम–दक्षिण क्षेत्र प्रभावित भएको थियो। रामनगर–१ का वडाध्यक्ष दिनेश यादवका अनुसार बाढी गाउँ र खेतमा पस्दा धेरै स्थानीय विस्थापित भए। वाग्मतीसँग मिसिने सहायक नदीहरूले पनि दक्षिणी क्षेत्रमा थप क्षति पुर्‍याउने गरेका छन्।

    रामनगर–१, छर्की टोलका विश्वनाथ मुखियाले गत वर्ष बाढीले फुस र खरले बनेको घर बगाएको स्मरण गर्नुहुन्छ। “एक सातासम्म गाउँ डुबानमा पर्‍यो, विस्थापित भएर बस्नुपर्‍यो,” उहाँ भन्नुहुन्छ, “यो वर्ष पनि त्यस्तै सास्ती हुने हो कि भन्ने चिन्ता छ।” नेताहरू भोट माग्न मात्र आउने गरेको उहाँको गुनासो छ।

    वाग्मती नदी चुरेमा साँघुरो भए पनि दक्षिणतिर फैलिँदै जान्छ। भारत प्रवेश गर्ने स्थानमा यो नदी करिब तीन किलोमिटरभन्दा फराकिलो हुन्छ। बलरा–१ का हरिशरण कापर भन्नुहुन्छ, “वाग्मतीको बाढी खोलाभन्दा बढी खेत र बस्तीमा बग्छ। गत वर्ष मेरो खाने अन्न पनि बगायो।” स्थानीय सरकारले समयमै बाँध निर्माण र मर्मत नगर्दा बर्सेनि सास्ती हुने उहाँको भनाइ छ।

    स्थानीय तहको तयारी दाबी
    स्थानीय पालिकाहरूले विपद् पूर्वतयारीमा काम गरिरहेको दाबी गरेका छन्। बलरा नगरपालिकाका मेयर रामा शङ्करप्रसाद कुशवाहाले सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सहकार्यमा उद्धार स्वयंसेवक तालिम सञ्चालन गरिएको बताउनुहुन्छ। “स्थानीय युवालाई विपद्मा परिचालन गर्न तालिम दिइरहेका छौँ,” उहाँ भन्नुहुन्छ, “यसले जनधनको क्षति कम गर्न सहयोग पुग्छ।”

    गत असारमा आएको बाढीले बलरा, रामनगर, धन्कौल र बसवरिया गाउँपालिकाका धेरै वडा प्रभावित भएका थिए। डुबानले खानेपानीको समस्या र शैक्षिक संस्था हप्तौँसम्म बन्द भए। स्थानीय सञ्चारकर्मी जितेश यादवका अनुसार भारतले सीमा क्षेत्रमा बनाएको ड्याम र एसएसबी रोडले वाग्मतीको पानी नेपालतर्फ फर्कँदा बाढीको जोखिम बढेको छ।

  • धौलागिरि अस्पताल १५ वर्षपछि १०० शय्यामा स्तरोन्नति

    धौलागिरि अस्पताल १५ वर्षपछि १०० शय्यामा स्तरोन्नति

    बागलुङको धौलागिरि अस्पताल १५ वर्षपछि ५० शय्याबाट १०० शय्यामा स्तरोन्नति भएको छ। विसं २०६७ मा जिल्ला अस्पतालबाट धौलागिरि अञ्चल अस्पताल बनेको यो अस्पताललाई गण्डकी प्रदेश सरकारले हालै १०० शय्यामा स्तरोन्नति गरेको हो।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीका अनुसार स्तरोन्नतिपछि अस्पतालले विशिष्टीकृत सेवा प्रदान गर्न थालेको छ। यसअघि ५० शय्याको सीमित संरचनाका कारण दरबन्दी थप हुन सकेको थिएन। “हाल हामीले १२६ शय्यासम्म बिरामीको उपचार गरिरहेका छौँ, तर नीतिगत रूपमा ५० शय्याको मात्रै मान्यता हुँदा सेवा प्रवाहमा कठिनाइ थियो,” डा. तिवारीले भन्नुभयो, “१०० शय्यामा स्तरोन्नतिपछि दरबन्दी थप हुने र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि हुने अपेक्षा छ।”

    स्तरोन्नतिसँगै अस्पतालले नर्सिङ पढाइ सञ्चालनको बाटो पनि खुलेको छ। गत वर्ष गण्डकी प्रदेश सरकारले नर्सिङ पढाइ सञ्चालनको घोषणा गरे पनि अस्पतालको संरचनागत सीमाका कारण कार्यान्वयन हुन सकेको थिएन। अब नर्सिङ कक्षा सञ्चालनका लागि आगामी वर्ष बजेट व्यवस्थापन गरिने प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताउनुभयो।

    हाल अस्पतालमा २२ विशेषज्ञ चिकित्सक र १० मेडिकल अधिकृत कार्यरत छन्। विसं २०१५ मा डिस्पेन्सरीका रूपमा स्थापना भएको यो अस्पताल २०१६ मा स्वास्थ्य केन्द्र र २०३३ मा जिल्ला अस्पताल बनेको थियो।

    गण्डकी प्रदेश सरकारको जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले धौलागिरि अस्पतालसहित नौ वटा अस्पताललाई एकमुष्ट स्तरोन्नति गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै धौलागिरि अस्पतालको कर्मचारी दरबन्दी ९९ पुगेको छ।

    यसैगरी, बागलुङकै धौलागिरि आयुर्वेद अस्पताल र गण्डकी आयुर्वेद अस्पताललाई २५ शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको छ। स्वास्थ्यमन्त्री पाठकका अनुसार धौलागिरि आयुर्वेद अस्पतालले स्तरोन्नतिपछि सेवा सञ्चालनको तयारी गरिरहेको छ।

    यो स्तरोन्नतिले धौलागिरि क्षेत्रको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार हुने र बिरामीहरूलाई गुणस्तरीय सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।

  • संस्थागत सुत्केरीको सङ्ख्या बढाउन ‘कोसेली’ प्रदान

    संस्थागत सुत्केरीको सङ्ख्या बढाउन ‘कोसेली’ प्रदान



    बैतडी, २० जेठ : दशरथचन्द नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई ‘कोसेली’ प्रदान गर्न सुरु गरेको छ । ‘कोसेली’मा हरलिक्स, काजु, बदाम, दाल र नुनलगायत खाद्य सामग्रीका साथै सरसफाइका सामग्री रहेका छन् ।

    घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने उद्देश्यले ‘उपमेयरको कोसेली’ दिन थालिएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवन जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा माघसम्म स्वास्थ्य संस्थामा सुत्केरी भएका आमाहरूलाई यसअघि नै कोसेली वितरण गरिसकेको थियौँ । माघपछि सुत्केरी भएका आमाहरूलाई अहिले कोसेली वितरण भइरहेको छ ।”

    घरमा हुने सुत्केरीलाई शून्य बनाउने, आमा तथा नवजात शिशुको स्वास्थ्य र पोषणमा सुधार ल्याउने, आमा र शिशुको स्वास्थ्यका विषयमा घरपरिवारका सदस्यलाई जागरुक गराउने, मातृ र शिशु मृत्युलाई शून्यमा झार्ने उद्देश्यसहित ‘उपमेयरको कोसेली’ वितरण गर्ने काम भइरहेको जनाएको छ ।
    नगरप्रमुख पुष्करराज जोशीका अनुसार घरमै सुत्केरी हुँदा विभिन्न खालका जटिलता आएर आमा र शिशुको ज्यान जान सक्ने भएकाले संस्थागत सुत्केरीको सङ्ख्या बढाउन कोसेली वितरण गर्ने अभियान सञ्चालन गरिएको हो । समुदायमा अझै पनि कतिपय आमाहरूले घरमै बच्चा जन्माइरहेकाले स्वास्थ्य संस्थामै बच्चा जन्माउनेको सङ्ख्या वृद्धिका लागि कोसेलीले सहयोग पुग्ने अपेक्षा गरिएको छ । सुत्केरी अवस्थामा अरु बेलाभन्दा थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले कोसेलीमार्फत पोषणसम्बन्धी जागरण फैलाउने उद्देश्य छ ।

    नगरपालिकाका उपप्रमुख कौशिला चन्दका अनुसार आमा र शिशुको स्वास्थ्य र पोषणमा सुधार ल्याउन कोसेली दिने कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने र नगरपालिकालाई नै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने अर्को उद्देश्य रहेकाले कोसेली वितरण गरिरहेका छौँ । यस वर्ष नगरपालिकाभरि चार सय ७५ सुत्केरी आमालाई ‘उपमेयरको कोसेली’ वितरण गर्ने लक्ष्य रहेको छ । ‘उपमेयरको कोसेली’भित्र हरलिक्स, काजु, बदाम, दाल र नुनलगायत खाद्य सामग्रीका साथै सरसफाइका सामग्री राखिएको छ ।

    सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य संस्थामा पुर्याउन नगरपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने गरेको छ । स्वास्थ्य संस्थामै सुत्केरी हुने र सरकारको मापदण्ड अनुसार आठपटक गर्भजाँच गराउने आमालाई सरकारले रु दुई हजार ८०० प्रोत्साहन भत्तासमेत दिँदै आएको छ । यस्तै टिटी खोप, जुकाको औषधि र आइरन चक्की सरकारले गर्भवती तथा सुत्केरीलाई निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

  • मनासलु क्षेत्रमा हालसम्मकै बढी पर्यटक

    मनासलु क्षेत्रमा हालसम्मकै बढी पर्यटक

    चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार यो सङ्ख्या अहिलेसम्मकै बढी हो । 

    आर्थिक वर्ष २०८०/८१ मा नौ हजार ७८२, आव २०७९/८० मा सात हजार ७०५ र आव २०७८/७९ मा दुई हजार २८४ जना पर्यटकले उक्त क्षेत्र भ्रमण गरेका एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार बर्सेनि पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । एमक्यापले आव २०८१/८२ मा १२ हजार ५०० पर्यटक भित्र्याउने लक्ष्य राखेकामा ९८ दशमलव शून्य सात प्रतिशत लक्ष्य प्राप्त भएको जनाउँदै उहाँले चालु आवमा लक्ष्यभन्दा बढी पर्यटन भित्रिने अनुमान गरिएको बताउनुभयो । 

    “कोभिडपछि पर्यटकको आगमन न्यून थियोे”, आयोजना प्रमुख शेरचनले भन्नुभयो, “आव २०७७/७८ मा सबैभन्दा कम अर्थात् एक सय ९४ जना पर्यटकमात्र सो क्षेत्रमा पुगेका थिए ।” सो क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या आव २०७६/७७ मा पाँच हजार ३३८ र २०७५/७६ मा सात हजार ६५५ रहेको थियो ।

    मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु एक हजार र अन्य राष्ट्रका पर्यटकले रु तीन हजार बुझाउनुपर्ने व्यवस्था गरिएको एमक्यापका प्रमुख शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकले काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउनसक्ने व्यवस्था गरिएको छ ।

    “यी दुवै ठाउँमा प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने छ”, प्रमुख शेरचनले भन्नुभयो । निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान रहेको उहाँले जानकारी दिनुभयो ।

    विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक साताको अनुमति दिने गर्छ । उक्त अवधिभर चुमभ्यालीका लागि पर्यटकीयसिजनमा पर्यटकले प्रतिव्यक्ति ५० डलर बुझाउनुपर्ने हुन्छ भने बेमौसममा २५ डलर मात्र बुझाउनु पर्ने एमक्यापका प्रमुख सन्तोष शेरचनले बताउनुभयो । उहाँका अनुसार नुब्री भ्यालीका लागि सिजनमा प्रतिव्यक्ति ७० डलर र बेसिजनमा ३५ डलर बुझाउनुपर्ने प्रावधान छ । एक साताबाहेक थप दिन भ्रमण गर्न चाहेमा थप शुल्क बुझाउनुपर्ने हुन्छ । मनास्लु क्षेत्रअन्तर्गत चुमनुब्री गाउँपालिकाको सातवटा वडा पर्छ ।

    साविकका सिर्दिबास, ल्हो, प्रोक, बिही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ । जसमध्ये साविकका सामागाउँ, ल्हो, प्रोक र बिही गाविस नुब्री उपत्यकाका रूपमा चिनिन्छन् भने चुम्चेत र छेकम्पार चुम उपत्यकाका रूपमा चिनिन्छ । सन् १९९५ देखि मनास्लु क्षेत्र पर्यटकका लागि खुला गरिएको हो । 

  • घरघरमा पानीका धारा पुर्‍याउँदै स्थानीय सरकार

    घरघरमा पानीका धारा पुर्‍याउँदै स्थानीय सरकार


    दङ्गीशरण गाउँपालिका-६ बागरकी जया चौधरीलाई एक वर्षअघिसम्म गाउँको साझा इनारमा पानीका लागि लाइन बस्नुपर्ने बाध्यता थियो । चैत, वैशाखको खडेरीमा इनार सुकेपछि बिहान ४ बजेदेखि लाइनमा बसेर दुईवटा गाग्रीमा पानी एकैपटक ल्याउनुपर्ने बाध्यता उहाँलाई अझै स्मरण छ ।

    घरछेउमा बनेको ट्याङ्कीबाट घरघरमा पानी आउन थालेपछि चौधरीको दैनिकी अहिले फेरिएको छ । सहज रूपमा खानेपानी पाउन थालेपछि दैनिकी सहज बनेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । “धाराको पानी प्रयोग गर्न थालेपछि समयको बचत भएको छ । करेसाबारीमा तरकारीखेती गरेर घरमा खान पुग्ने उत्पादन भइरहेको छ”, उहाँले भन्नुभयो ।

    सोही ठाउँकी बुधनी चौधरीले घरको आँगनमा खानेपानीको धारा निर्माण भएपछि दैनिक उपभोग गर्न र गाईवस्तुलाई खुवाउन सजिलो भएको बताउनुभयो । ‘एक घर, एक धारा’ अभियानअन्तर्गत एक वर्षअघि खानेपानी योजना निर्माण सम्पन्न भएपछि गाृँका घरघरमा पानीको सुविधा पुगेको हो ।

    बुधनीले भन्नुभयो, “खानेपानीका लागि गाउँभरिमा एउटा इनार थियो, पानी थाप्दा कहिलेकाहीँ त तछाडमछाड भएर झगडा हुन्थ्यो । घरमा नयाँ धारा बनेसँगै अब यो समस्या सधैँलाई समाधान भएको छ । गर्मी मौसममा खानेपानीको मुहान सुक्ने र खानेपानीका लागि गाग्री बोकेर खोलाखोला हिँड्नुपर्ने सास्ती हटेको छ ।”

    दङ्गीशरण–६ बागर खानेपानी उपभोक्ता समितिका अध्यक्ष रेशम वलीले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको सहयोग र स्थानीयको जनसहभागितामा बोरिङ खनेर पाइप विस्तार गरी घरघरमा पानी वितरण भइरहेको जानकारी दिनुभयो । दैनिक दुई घण्टा पानी वितरण गर्दै आइएको भन्दै उहाँले पानी भण्डारण गर्ने ट्याङकी नहुँदा केही समस्या भएको बताउनुभयो ।

    “दुई सय परिवारले पानीका लागि निवेदन दर्ता गरेका छन्, अहिले एक सय ८६ परिवारले सुविधा लिइरहेका छन् भने अरु प्रक्रियामा छन् । मिटर जडान नगरिएकाले मासिक रु दुई सय उपभोक्ताले महसुल तिर्ने गरेका छन्”, अध्यक्ष वलीले भन्नुभयो ।

    दङ्गीशरण–६ का वडाध्यक्ष रोशनजङ्ग शाहले बोरिङ पाइपमार्फत वडावासीलाई पानीको सुविधा पुर्‍याइएको बताउनभयो । “चुनावमा एक घर एक धारा दिने भनी मत मागेका थियौँ, सोहीअनुरुप पानी पु¥याउन थालेका छौँ, पानीको सुविधा पुगे पनि पूर्वाधार नहुँदा समस्या भएको छ । पानीको ट्याङ्की छैन, पानी भण्डारणका समस्या छ”, उहाँले भन्नुभयो ।

    सङ्घ र प्रदेश सरकारले संरचना निर्माणमा सहयोग गरेमा स्थानीय सरकारलाई केही सहयोग हुने वडाध्यक्ष शाहको भनाइ छ । स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा काम गर्न समस्या भइरहेको भन्दै उहाँले सङ्घीय र प्रदेश सरकारले सहयोग गर्न आग्रह गर्नुभयो ।

    खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख तिलक न्यौपानेले खानेपानी मानिसको पहिलो आवश्यकता भएकाले सबै नागरिकलाई सहज पानी पुर्‍याउने पहल गरिएको बताउनुभयो । “केही खानेपानी आयोजना स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढाइएको र केहीमा बजेट अभावका कारण समयमा काम हुन सकेको छैन”, उहाँले भन्नुभयो ।

    बहुवर्षीय योजना निर्माणमा बढी समय, जनशक्ति लाग्ने भएकाले तत्काल सबैलाई पानी पुर्‍याउन नसकिएको न्यौपानेले बताउनुभयो । ‘एक घर, एक धारा’ कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्दै सबैलाई स्वच्छ पानी पुर्‍याउने लक्ष्यसहित अघि बढेको उहाँको भनाइ छ ।

  • पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनर्पाक’ निर्माण

    पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनर्पाक’ निर्माण

    बागलुङको बरेङ गाउँपालिका-१ र २ को सिमानामा पर्ने पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनपार्क’ निर्माण गरिएको छ । बरेङ बजार नजिकै रहेको ठूल्डाँडा क्षेत्रमा गाउँपालिकाले रु ४० लाख लागतमा ‘फनपार्क’ निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

    पार्क सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । तीन वर्ष अगाडि निर्माण सुरु गरिएको पार्क यसै वर्षदेखि सञ्चालनमा आएको गाउँपालिका कार्यालयले जनाएको छ ।

    एक दशक अगाडिसम्म झाँडीले ढाकिएको उक्त क्षेत्र अहिले रमणीय बनेको स्थानीय बताउँछन् । पार्क निर्माण भएपछि बरेङसहित बागलुङको गलकोट, जैमिनी, गुल्मी, स्याङ्जालगायत ठाउँबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका स्थानीय चित्र थापाले बताउनुभयो । गर्मीयाम सुरु भएपछि पार्कमा रहेका रुखका छहारीमा बस्न आउनेको सङ्ख्या बढेको उहाँको भनाइ छ ।

    करिब दुई हेक्टर क्षेत्रफलमा बनेको पार्कमा बालबालिकाका लागि खेल्ने, वनभोजस्थल, भवन, फोटो खिच्नेस्थाललगायत पूर्वाधार बनेकाले आन्तरिक पर्यटकको आकर्षण बढेको थापाले उल्लेख गर्नुभयो ।

    बरेङका सबै वडासहित गुल्मी, स्याङ्या, माछापुच्छ्रेलगायत हिमालहरू अवलोकन गर्न सकिने भएकाले ठूल्डाँडा र पार्क पर्यटकका लागि आकर्षण केन्द्र बनेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “पहिले हामीले यहाँ गाईभैँसी चराउने गथ्र्यौँ, अहिले सुन्दर पार्क बनेको छ । सामाजिक सञ्जालको प्रयोगले पार्कको प्रचारप्रसार भएपछि आन्तरिक पर्यटक आउने गरेका छन्, यहाँ फोटो, भिडियो खिच्न, वनभोज खान, हिमालको अवलोकन गर्न पर्यटक आउने गरेका छन् ।”

    बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले पदमार्ग र मोटरबाटोले ठूल्डाँडा जोडेपछि पर्यटकको आगमनमा वृद्धि आएको बताउनुभयो । ठूल्डाँडामा पार्कसहित खानेपानी, शौचालय, बालबालिकाका लागि खेल्ने स्थान, वनभोजस्थल, आरामका लागि भवन, फोटो खिच्न पूर्वाधार बनाइएको उहाँको भनाइ छ । पार्कमा खुला व्यायामशालासमेत निर्माण गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

    “यो ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि प्रचारप्रार र पर्याप्त पूर्वाधार नहुँदा आझेलमा परेको थियो, यसलाई संरक्षण र प्रवर्द्धन गरी स्थानीयको आयआर्जनको स्रोत विकास गर्नुपर्छ भन्ने उद्देश्यल यहाँ पूर्वधार निर्माण गर्‍यौँ, पदमार्ग र मोटरबाटो दुवैले जोड्यौँ”, अध्यक्ष शमाले भन्नुभयो, “अहिले ‘फनपार्क’मा व्यायामशालासहित थुप्रै संरचना बनेका छन्, जसले गर्दा यहाँ दैनिक पर्यटक आउने गरेका छन् । वरपर रहेका रुखसहित पोखरी पनि संरक्षण गरेर राखेका छौँ ।”

  • Launching of the 297th branch of Rastriya Banijya Bank in Dhanushadham.

    Launching of the 297th branch of Rastriya Banijya Bank in Dhanushadham.

    Rastriya Banijya Bank Limited has launched its 297th branch office in Dhanushadham, Ward No. 3, Dhanushadham District.

    During a ceremony on Saturday, Bank Board of Directors Chairman Dilip Kumar Dhungana and Dhanushadham Municipality Mayor Baleshwor Mandal jointly presented the copper plaque and cut the ribbon to officially open the branch.

    Mayor Waleshwor Mandal stated at the event that the bank need to give the Dhanushadham area top priority for investment because of its connections to the travel and farming industries.

    In all seven provinces and 77 districts, the bank presently operates 297 branch offices, 312 ATMs, and 99 branchless banking services.

  • ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताव्दीमा ज्यामरुके राजा भर्दिवम मल्लले निर्माण गर्न लगाएका चारओटा कुवा र अन्य ऐतिहासिक सम्पदाहरू नासिएका स्थानीयले बताएका छन् ।

    स्थानीयले पानीको स्रोतका रूपमा निर्माण गरेका २० ओटाभन्दा बढी कुवा र पँधेराहरु  गाउँगाउँमा मोटरबाटो र विकास पूर्वाधारहरु निर्माण गर्ने क्रममा नासिएका स्थानीय ८५ वर्षीय बेदप्रसाद उपाध्यायले बताउनुभयो । “विसं २०५० सम्म गौश्वारा, तमाने, सानालेख, भकुण्डे, फापरखेत, रोहोटे, खबरा, बगरफाँटलगायत ठाउँमा रहेका कुवा र पँधेराको हाल नामोनिसान मेटिएको छ । बाँकी रहेका पुराना केही कुवा र पँधेरा पनि पुरिन थालेका छन्”, उहाँले भन्नुभयो, “खानेपानीको सङ्कट बढ्दै गएको छ तर सयौँ वर्षपहिले निर्माण गरिएका कुवा र पँधेरा भने नासिँदै गएका छन् । यिनको संरक्षण गर्न सक्ने हो भने मूलको चिसो र सफा पानी खान पाइने थियो ।” 

    बेनी नगरपालिका–२ मा पर्ने ज्यामरुककोट प्राकृतिक सुन्दरता, जैविक विविधता, ऐतिहासिक सम्पदाले सम्पन्न छ । यहाँ पर्यटन प्रवर्धनका लागि मोटरबाटोलगायत संरचना बन्न थालेपछि कुवा, पँधेरालगायतका प्राचीन सम्पदा भने नासिँदै गएका समाजसेवी भीमबहादुर पौडेलको भनाइ छ । 

    ज्यामरुककोटवासी  कुवाको पानीमा भर पर्न छोडेको तीन दशक भइसकेको छ । अस्तित्व बाँकी रहेका केही कुवा पनि जीर्ण अवस्थामा छन् । पानीको हाहाकार हुने अवस्था आइरहेका बेला यस्ता स्रोतहरूको संरक्षणमा लाग्न आवश्यक रहेको शिक्षक टीकाबहादुर कार्कीको भनाइ छ । 

    बेनी नगरपालिका—२ खबराका चन्द्रबहादुर कार्की विकासका गतिविधि सञ्चालन गर्दा वातावरणीय प्रभाव र अन्य प्राकृतिक सम्पदाको संरक्षण पनि सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुहुन्छ । कुवा र पँधेरा मात्रै होइन गाउँघरबाट देवल, मूर्ति, चौतारी, पोखरी, मठ, मन्दिर, ढिकी जाँतो, घट्ट, ठेकाठेकी, घुमाउने घर, ढुङ्गेधारालगायत रैथाने सीप र ऐतिहासिक सम्पदा हराइरहेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । 

  • महिला हिंसा न्यूनीकरणका लागि ‘पुरुष सञ्जाल’

    महिला हिंसा न्यूनीकरणका लागि ‘पुरुष सञ्जाल’

    लैङ्गिक हिंसा न्यूनीकरणका लागि मेचीनगर नगरपालिकामा पुरुष सञ्जाल गठन भएको छ । मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीको अध्यक्षतामा बुधबार बसेको भेलाले १५ सदस्यीय सञ्जाल गठनको निर्णय गरेको हो ।

    महिलाले भोग्नु परिरहेका हिंसा न्यूनीकरण गर्न महिला मात्रै सक्रिय भएर नहुने भन्दै पुरुषलाई समेत हिंसामुक्त समाज निर्माणको हिस्सेदार बनाउन सञ्जाल गठन गरिएको नगरप्रमुख बुढाथोकीले बताउनुभयो ।

    नवगठित पुरुष सञ्जालको संयोजकमा पत्रकार मोहन काजी र सचिवमा शिक्षासेवी हिम्मत क्षेत्री रहनुभएको छ । सदस्यमा रुपसागर अधिकारी, केसाङ लामा, हेमेन्द्र निरौला, अपूर्व डाँगी, मञ्जिल देवान, मनकुमार लिम्बू, तिलक श्रेष्ठ, ईश्वर रिजाल, गणेशबहादुर कार्की, सचेत घिमिरे, कृष्ण श्रेष्ठ, थेसिस रुचाललगायत रहनुभएको छ ।

    लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाअन्तर्गत गठन भएको सञ्जालले मेचीनगर नगरपालिकाका १५ वटै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

    समाजमा महिला नै बढी मात्रामा लैङ्गिक हिंसाको सिकार भइरहेको जनाउँदै परियोजनाकी लैङ्गिक हिंसाविरुद्धकी विज्ञ कमला उप्रेती रिजालले समतामूलक नीति निर्माण, न्यायसङ्गत कानुन कार्यान्वयन र पितृसत्तात्मक सोचका विरुद्धको आवाजमा पुरुष सञ्जालले बल प्रदान गर्न विश्वास व्यक्त गर्नुभयो । 

    अखिल नेपाल महिला सङ्घकी जिल्ला सदस्य जानुका ओली, उपभोक्ता जागरण अभियान मेचीनगरकी अध्यक्ष रचना घिमिरेलगायतले हिंसाविरुद्ध सबै मिलेर जानुपर्नेमा जोड दिनुभयो । 

  • घर भाडामै काठेखोला गाउँपालिकाको ६० लाख खर्च

    घर भाडामै काठेखोला गाउँपालिकाको ६० लाख खर्च

    बागलुङको काठेखोला गाउँपालिका स्थापनाको नौ वर्षसम्म भाडाकै घरमा छ । जिल्लाको १० स्थानीय तहमध्ये जग्गाको समेत टुङ्गो नलागेको काठेखोला गाउँपालिकाले हालसम्म भाडाकै घरबाट सेवा दिँदै आएको छ ।  मासिक ६० हजारका दरले भाडा दिँदै आएको पालिकाले स्थापनाकालदेखि ६० लाख रुपैयाँ भाडामा खर्चेको छ । 

    लामो समय हुँदासमेत पालिकाको आफ्नै भवन निर्माण नहुँदा स्थानीयले पालिकाप्रति प्रश्न गर्दै आएका छन् । जिल्लाका सात पालिकाको आफ्नै भवन छभने दुई पालिकाको भवन निर्माणको चरणमा छन् । तर काठेखोला गाउँपालिकाले स्थापनाकालदेखि प्रशासकीय भवन निर्माणमा आवश्यक जग्गाको खोजी गरे पनि हालसम्म टुङ्गो लगाउन नसकेको हो । 

    गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको दोस्रो कार्यकालमा आउँदासमेत पालिकाको भवन निर्माण नहुनु दुःखद भएको काठेखोला गाउँपालिका–२ अछेतेका स्थानीय  गणेशबहादुर भण्डारीले बताउनुभयो । उहाँले गाउँपालिकाले नौ वर्षसम्म जग्गा र भवनको टुङ्गो लगाउन नसकेको बताउनुभयो । 

    “जबसम्म गाउँपालिकाले पायक पर्ने स्थानमा भवन बनाउन सक्दैन, हामी नागरिकले प्रश्न गर्न छाड्दैनौँ, जिल्लाका अन्य पालिका आफ्नो भवनबाट सेवा दिइसक्दा समेत काठेखोला गाउँपालिका अझै भाडाकै घरमा छ”, भण्डारीले भन्नुभयो, “गाउँपालिकालाई स्थानीयले देखाएको जग्गामा भवन बनाउन कस्ले रोक्यो, अछेते बजार नजिकै भवन बनाउँदा सबैलाई पायक पर्दछ, सामुदायिक वनमा भवन बनाउने कुरा थियो, अहिलेसम्म पालिका निर्णयमा नपुग्दा नागरिकलाई सेवा प्रवाहमा समस्या भएको छ ।” 

    गलकोट र जैमिनी नगरपालिकाको भवन निर्माणाधीन अवस्थामा छ । गत फागुनदेखि ढोरपाटन नगरपालिकाले आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । काठेखोलाको प्रशासनिक केन्द्रको विवाद सात वर्षपछि टुङ्गोमा पुगे पनि पुनः मुद्दा परेर विवाद बढेको थियो ।  

    नौ वर्षदेखि प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरै पटक छलफल भए पनि त्यसले सार्थकता पाएको छैन । अघिल्लो पटक कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको थियो । सामबोटमा भवन बनाउन कार्यपालिका बैठकले निर्णय गरी १३औँ गाउँसभाबाट पारित गरेर रु एक करोड रकम विनियोजन गरे पनि सामुदायिक वनमा भवन बनाउन स्थानीयले  अवरोध गरेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । 

    बिहुँकोट सुलडाँडामा भाडाको घरबाट सेवा दिँदै आएको पालिकाले आगमी आर्थिक वर्ष भाडा तिर्न नपर्नेगरी विद्यालयको भवनमा सर्ने योजना बनाएको अध्यक्ष थापाले बताउनुभयो । भीमसेन माध्यमिक विद्यालयको भवनबाट साउनदेखि गाउँपालिकाले सेवा दिनेगरी अहिले भवन फर्निसिङको काम गरिरहेको बताउनुभयो । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो गाउँपालिका अन्य पालिकाभन्दा सुगममा पर्छ । दुर्गमका पालिकाहरुले आफ्नै भवन निर्माण गरेर काम सुरु गरिसक्दा काठेखोलाको जग्गा तथा भवन अझै टुङ्गो लगाउन सकेको छैन ।

    त्यहाँका केही स्थानीयले सुलडाँडा र केहीले अक्षतेमा केन्द्र राख्ने विषयमा स्थानीयबीच विवाद भइरहेको छ । वडा नं १, २, ३ र ४ ले अक्षते तथा वडा नं ५, ६, ७ र ८ ले हाल कार्यालय सञ्चालन हुँदै आएको सुलडाँडामै प्रशासनिक भवन बनाउने अडान राख्नाले भवन निर्माणमा ढिलाइ भएको हो ।