Category: स्थानीय

  • राष्ट्रिय सहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा तीनै तहले समन्वय गर्ने

    राष्ट्रिय सहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा तीनै तहले समन्वय गर्ने

    काठमाडौं । राष्ट्रिय सहरी नीति २०८१ र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति २०७९ कार्यान्वयनमा संघ, प्रदेश र स्थानिय तहले समन्वय गर्ने भएका छन्। आइतबार उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको प्रदेश र स्थानीय तहका प्रतिनिधि रहेकाे सहरी विकास समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे। 

    ‘नेपाल सरकार मन्त्रीपरिषद्बाट स्वीकृत भएकाे फाेहाेरमैला राष्ट्रिय नीति ०७९ र राष्ट्रिय शहरी नीति २०८१ काे बारेमा जानकारी भयाे। यी नीतिहरू कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले आवश्यक समन्वय र सहकार्य गर्ने निर्णय गरियाे,’ बैठकपछि सार्वजनिक निर्णयमा भनिएको छ।

    बैठकमा सातै प्रदेशबाट मन्त्रीहरू, नगरपालिका र गाउँपालिका संघका प्रमुख, उपत्यका मेयर्स फाेरमका अध्यक्ष, सहरी विकास मन्त्रालयअन्तर्गतका विभागका प्रमुखहकाे सहभागिता थियाे। 

    बैठकमा बागमति सभ्यता संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेकाे विधेयक, नगर विकास काेषा ऐन २०५३ काे संशाेधनका लागि तयार भएकाे विधेयक, फाेहाेरम‌ला व्यवस्थापन सम्बन्धि कानुनलाई संशाेधन र एकीकरण गर्न बनेकाे विधेयक र शहरी विकाससम्बन्धि कानूनलाई संशाेधन र एकीकरण गर्न बनेकाे विधेयकमाथि छलफल भएकाे थियाे। स्थानीय र प्रदेश सरकारका प्रतिनिधिहरूले शहरी विकास मन्त्रालयले तीन तहकाे सरकारबिचकाे समन्वय तथा अन्तरसम्बन्धका लागि बैठकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। 

    मन्त्री सिंहले संघीयता बलियाे बनाउन तीन तहका सरकारबिचमा समन्वय र अन्तरसम्बन्ध मजबुत बनाउनुपर्ने बताए। उनले स्थानीय तह र प्रदेशका तर्फबाट सकारात्मक धारणा आएकाे भन्दै आगामी दिनमा सहरी विकाससँग जाेडिएका  विषयलाई सबैले अपनत्व लिने गरि अघि बढाउने धारणा राखे। सहरी विकास समितिकाे पहिलाे बैठक ०८० फागुन १६ मा बसेकाे थियाे भने आइतबार दाेस्राे पटक बैठक बसेकाे हाे।

  • ‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’

    ‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’

    ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले रातो मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग हुने बेत भारतको आसामबाट नेपाल ल्याउँदा कानुनी र प्राविधिक अड्चन झेल्नुपरेको बताउँदै उक्त प्रक्रिया सहज बनाउन सरोकार भएकासँग अनुरोध गर्नुभएको छ । 

    गुहाटी विश्वविद्यालयले आयोजना गरेको ‘भारत–नेपाल सम्बन्धको जरा गुरु मच्छिन्द्रनाथको दृष्टिकोण’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठीको सोमबार आयोजित उद्घाटन सत्रमा नगरप्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको रथ निर्माणका लागि अत्यावश्यक पर्ने बेत नेपालमा सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध गर्नुभएको हो ।

    “रथ बनाउन प्रयोग हुने बेत आसामबाट लानुपर्छ तर सहज छैन, यो प्रक्रियालाई सहज बनाउन अनुरोध गर्छु, रातो मच्छिन्द्रनाथको इतिहास जतिकै पुरानो र बलियो नेपाल र आसामको सम्बन्ध छ, अब काठमाडौँ र आसामबीच सिधैँ हवाई उडानबाट यात्राको व्यवस्था मिलाउन सकियोस्, यसले दुई देशबीच आवतजावत बढ्छ, सम्बन्ध अझै बलियो हुन्छ”, उहाँले भन्नुभयो ।

    नगरप्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको जात्रा रोचक तथ्यबारे जानकारी गराउँदै विश्वविद्यालयका उपकुलपति, प्राध्यापकहरू, विश्वविद्यालय परिवारलगायत गुहाटी र आसामका नागरिकलाई जात्रा हेर्न आउन निम्तासहित आह्वान गर्नुभयो । “रातो मच्छिन्द्रनाथको जात्रा हेर्न ललितपुर आउनुहोस्, भव्यताका साथ स्वागत गर्न आतुर छु”, उहाँले भन्नुभयो ।

    कुनै पनि किलाकाँटाको प्रयोगबिना बेतले बाँधेर रातो मच्छिन्द्रनाथको रथ निर्माण गरिन्छ । रथ बनाउन प्रयोग गरिने बेत भारतको आसामबाट ललितपुर ल्याउने प्रचलन छ ।

    नगरप्रमुखले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलमा पर्यटन संस्कृति समितिका संयोजक वडाध्यक्ष विकासमान श्रेष्ठ, समितिका सदस्यद्वय रुपेन्द्रराज शाक्य र राजेन्द्र महर्जन, महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, महानगरका अमूर्त सम्पदा सल्लाहकार वदनलाल न्याछ्यो, पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ, रातो मच्छिन्द्रनाथ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष शन्तमान महर्जन, ञवाल गुठीका गुठियार नवीन महर्जन, घःकु गुठीका गुठियार बुद्ध महर्जन, बाराही दः गुठीका नाइके दिलकुमार बाराहीलगायत हुनुहुन्छ ।

    कार्यक्रममा गुहाटी विश्वविद्यालयका उपकुलपति नानी गोपाल महन्ताले रातो मच्छिन्द्रनाथले ललितपुर र भारतको सम्बन्धलाई बलियो बनाएको बताउनुभयो । 

    सांस्कृतिक र ऐतिहासिक रूपमा दुई देशबीचको सम्बन्ध बलियो भएको प्रष्ट पार्दै यो सम्मेलनले सम्बन्ध अझै कसिलो हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । मजुली सांस्कृतिक विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डम्बरुधर नाथले भारत र नेपालबीचको प्रगाढ सम्बन्धको सेतु रातो मच्छिन्द्रनाथ भएको बताउनुभयो । 

    रातो मच्छिन्द्रनाथबारे गुहाटीमा छुट्टाछुट्टै विषयमा सात वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । ललितपुर महानगरकी प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले ‘नेपालमा गुरु मच्छिन्द्रनाथ’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । 

    महानगरका अमूर्त सम्पदा सल्लाहकार न्याछ्योले सम्पदा र विश्वसम्पदा विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पानेजु सङ्घका अध्यक्ष शाक्यले रातो मच्छिन्द्रनाथको पूजा विधि, ज्यापू समाजका अध्यक्ष महर्जनले जात्रा व्यवस्थापन र रथ निर्माणसम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गुठी संस्थानका निमित्त प्रशासक शालिकराम सुवेदीले आसामबाट बेत सङ्कलन प्रक्रियाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

    त्रिभुवन विश्वविद्यालय, इतिहास विभागका पूर्वप्रमुख प्राध्यापक राजाराम सुवेदीले ‘नेपालमा सिद्ध मच्छिन्द्रनाथ’को भूमिका विषयक कार्यपत्र र डा विदु प्रकाश कायस्थले रातो मच्छिन्द्रनाथ, जलवायु परिवर्तन र त्यसको असर विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । 

  • धरहरा चढ्ने समय बढ्यो, रु एक करोड ५२ लाख राजस्व असुल

    धरहरा चढ्ने समय बढ्यो, रु एक करोड ५२ लाख राजस्व असुल

    काठमाडौँ, २९ माघः गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो ।  

    यही माघ १४ गतेसम्म ३ः१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो । अहिले समय थप गरी ४ः१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सञ्चालनको तीन महिना नपुग्दै प्रवेश शुल्कबापत रु एक करोड ५२ लाख राजस्व सङ्कलन भएको छ । 

    गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएका ऐतिहासिक धरहराबाट यही माघ २४ गते बिहीबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको निर्देशक अर्यालले बताउनुभयो । प्रत्येक बुधबार धरहरा बन्द रहने भन्दै अन्य दिन यहाँ आउने नागरिकको सङ्ख्या दैनिक एक हजार दुई सयको हाराहारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

    पछिल्लो समय छिमेकी मुलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् । धरहरा चढ्न प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

    सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेकका राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति रु एक हजार शुल्क अर्यालले बताउनुभयो । उहाँका अनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिइ धरहरा सञ्चालनमा ल्याइएको हो । गत मङ्सिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो । 

    उक्त स्थानमा पार्किङ गर्दा चारपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० र दुईपाङ्गे्र सवारीका लागि रु १० तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ भने व्यावसायिक भिडिओ छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार तोकिएको निर्देशक अर्यालले उल्लेख गर्नुभयो । 

  • क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापन गर्दै कामपा

    क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापन गर्दै कामपा


    काठमाडौँ, २६ माघ : काठमाडौँ महानगरपालिकाको फोहर वर्गीकरण गरी व्यवस्थापन गर्नका लागि छ वटा क्षेत्र निर्धारण गरेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउनका लागि नयाँ व्यवस्थ गर्न लागिएको कामपा वातावरण व्यवस्थापन विभागले जनाकारी दिएको छ ।

    वातावरण विभागको प्रमुख सरिता राईका अनुसार छ वटै क्षेत्रमा एक एक वटा ट्रान्फरस्टेसन तयार गरी उक्त स्थानबाट फोहरको अन्तिम व्यवस्थापनको लागि ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लगिनेछ । त्यसका लागि कामपाले ३२ वटा वडालाई भौगोलिक र जनसङ्ख्याको आधारमा क्षेत्र निर्धारण गरेको हो ।

    स्रोतमा नै वर्गीकरण गरिएको फोहर मात्रै व्यवस्थापन गरिने राईको भनाइ छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा उत्पादित फोहर ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लैजाँदा उक्त स्थानमा प्रदूषण बढ्नुको साथै फोहरमैला सङ्कलन ढुवानीमा खर्च बढ्ने भएकाले वर्गीकृत फोहर क्षेत्र निर्धारण गरेर व्यवस्थान गर्न लागिएको हो ।

    यसका लागि कामपाले उत्पादकलाई फोहर व्यवस्थापनको जिम्मा लागाउने गरेको छ । प्रमुख राईका अनुसार फोहरमैला व्यवस्थापन ऐन २०६८ तथा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार फोहर स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

    हाल वडा नं ५, १०, २४, २५, २६ र २७ मा स्रोतमै फोहर वर्गीकरण भइरहेको छ । अब छिट्टै अन्य वडामा पनि फोहर वर्गीकरण गरेर मात्रै व्यवस्थापन गर्ने तयारी कामपाको छ । स्रोतमा उत्पादित फोहरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्थापन गरिनेछ । यसअघि भित्री नौ वडाबाहेक अन्यको फोहर निजी सङ्घसंस्थाले व्यवस्थापन गर्दै आएको थियो ।

    हाल काठमाडौँ उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार छ सय मेट्रिक टन फोहर निस्कने गर्छ । साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत साढे दुई वर्षदेखि बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ ।

    कसरी गर्ने फोहर वर्गीकरण ?

    भान्छामा कुहिने र नकुहिने गरी दुई किसिमको फोहर जम्मा भएको हुन्छ । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो । नकुहिने फोहर उत्पादक आफैँले बेच्न सक्छन् । कुहिने फोहर उत्पादकले नै मल बनाउन सकिन्छ । मल बनाउन सकिएन भने कामपाबाट फोहर सङ्कलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ ।

    तरकारी (साग सब्जी), बढी भएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रूखका पात कुहिने फोहर हुन् । यस्तै प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतल, फलाम आदि नकुहिने फोहर हुन् ।

  • बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको कडाइ

    बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको कडाइ

    दमौली (तनहुँ), २४ माघः पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको मौलिकता र सौन्दय जोगाई राख्न स्थानीय तहले कडाइ गर्न थालेको छ । विकास गतिविधि, सार्वजनिक र निजी संरचना निर्माणको क्रम बढ्दै जाँदा बजारको ऐतिहासिक पहिचानलाई कायम राख्नु सबैको दायित्व रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा बताउनुहुन्छ । 

    उहाँले यहाँको सौन्दर्यका लागि घरका बाहिरी गल्ली (करिडोर) खुला राख्न र व्यापारिक भवन तथा पसल अगाडि सामान नराख्न आग्रह गरिएको बताउनुभयो । “ व्यवसायीले पसल अगाडिको सार्वजनिक क्षेत्रमै कारोबार गर्ने, टेबल, कुर्सी राख्ने समस्या छ । त्यसैले अधिकतम एउटा टेबल र तीनवटा कुर्सी मात्र राख्न पाउने व्यवस्था गरिएको छ”, अध्यक्ष थापाले भन्नुभयो,“व्यवसायीहरूलाई पसल बाहिर सामान राखेर बिक्री–वितरण नगर्न, ग्राहकले देख्ने गरी मूल्यसूची अनिवार्य राख्नुपर्ने नियम लागू गरिएको छ । बजार क्षेत्रका व्यापारिक प्रयोजनका लागि प्रयोग गरिएका ‘फ्लेक्स बोर्ड’हरू तुरुन्त हटाएर काठ वा हस्तलिखित बोर्डहरू राख्नुपर्ने निर्णय भएको छ ।” 

    बजार क्षेत्रबाहिर टेबल कुर्सीमा मदिरा सेवन तथा धुम्रपान गर्न कडाइ गरिएको छ । यस निर्णयलाई कार्यान्वयन गर्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, राजस्व प्रमुख दिनेश पौडेल, राजनीतिक दलका प्रतिनिधिहरू, प्रहरी तथा पत्रकारहरूको टोलीले संयुक्त रूपमा बजार अनुगमन सुरु गरिएको छ । हालै भएको अनुगमनका क्रममा व्यवसायीहरूलाई नियम पालना गर्न आग्रह गरिएको छ भने नियम उल्लङ्घन गरेमा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ । 

    यदि कसैले नियम उल्लङ्घन गरेको पाइएमा रु पाँच हजारसम्म जरिवाना गरिने अध्यक्ष थापाले बताउनुभयो । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलहरू यहाँ आउने पर्यटकहरूका लागि आकर्षणका केन्द्रका रूपमा रहेका छन् । 

    सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । 

  • पर्यटकीय गन्तव्य बन्दै ‘छिल्लीकोट’

    पर्यटकीय गन्तव्य बन्दै ‘छिल्लीकोट’

    तुलसीपुर (दाङ), २४ माघः पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । १५÷१६औँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको यस ठाउँको अवलोकन गर्न आउनेहरू निरन्तर बढ्दै गएको स्थानीय प्रवीर पुनले बताउनुभयो । 

    “अहिले बेलझुण्डी र सङ्ग्राम ब्यारेक हुँदै दुईवटा सडक प्रयोग गरेर पर्यटकहरू यहाँ आउने गरेका छन् । त्यहाँबाट सात किलोमिटर हिँडेपछि छिल्लीकोट पुग्ने गरिन्छ”, उहाँले भन्नुभयो, “छिल्लीकोट पुग्ने पर्यटनमार्ग अहिले कालोपत्र भइरहेको छ, त्यो सम्पन्न भए झनै सहज हुने छ र पर्यटकको सङ्ख्या थप बढ्ने छ ।” अहिले पनि कहिलेकाहीँ दैनिक एक हजार ५०० सम्म पर्यटकले अवलोकन गर्ने गरेको पुनले बताउनुभयो । 

    छिल्लीकोटमा निर्माण भएको भ्यूटावर, कालिका–मालिका मन्दिर, राजा बसेको दरबारको भग्नावशेष, छिल्लीकोटबाट देखिने सिस्ने, धौलागिरिलगायतका हिमाल, दाङका फाँट, सल्ल्यान, रोल्पा, रुकुमका पहाडी भेग, छिल्लीकोटमकै मालागिरि, त्यहाँ बनेको जिपलाइनलगायत अवलोकन गर्न त्यहाँ पर्यटक पुग्ने गर्छन् । 

    मुलुकमा तीन ‘गिरि’ छन् । पूर्णागिरि भारतमा पर्दछ भने चन्द्रागिरि काठमाडौँको उत्तरी भू–भागमा पर्दछ । यस्तै मल्लागिरि दाङको छिल्लीकोटमा रहेको छ । त्यसले गर्दा पनि पर्यटकको आकर्षण बढेको जनाकारहरू बताउँछन् । यहाँ कालिका र मालिका मन्दिर निर्माण गरिएका छन् । मन्दिर र भ्यूटावर पुग्नका लागि सिडी बनाइएको छ । 

    यस क्षेत्रमा केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन भएको छ भने प्याराग्लाइडिङको सफल परीक्षण पनि भइसकेको छ । यी दुवै कार्यसम्पन्न भएमा यो क्षेत्र नेपालकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य बन्ने स्थानीयको विश्वास छ ।   

    नेपाल एकीकरण गर्ने सिलसिलामा राजेन्द्र लक्ष्मीदेवी शाह गद्दीमा बसेको बेला पृथ्वीनारायण शाहका भाइ बहादुर शाहले नेपाल एकीकरण गर्ने क्रममा छिल्ली राज्य गाभिएको बताइन्छ । तत्कालीन अवस्थामा छिल्लीकोटबाटै मालपोत कार्यालय पनि सञ्चालन गरिएको विसं  २००६ सालसम्म त्यो यहाँ रहेको जानकारहरू बताउँछन् । त्यसकारण पनि यसको महत्व रहेको बताउने गरिएको छ । 

    पछिल्लो समय यस क्षेत्रको पर्यटकी विकासका लागि काम भइरहेका छन् । यहाँ सातमूलेबाट ‘लिफ्टिङ’ गरेर पानी ल्याइएको छ । शान्तिसुरक्षाका लागि नेपाल प्रहरीले व्यवस्थापन गरिरहेको छ । 

    “यस क्षेत्रको व्यवस्थापनका लागि पहल भइरहेको छ । अब अत्यावश्यक पूर्वाधार विकास र प्रचारप्रसार भएका पर्यटन प्रवर्द्धन हुनाका साथै त्यसबाट स्थानीयवासी लाभान्वित हुने थियौँ”, स्थानीय प्रवीर पुनको भनाइ छ । 

  • कञ्चनपुरका तीन स्थानीय तहमा आजदेखि पाँच दिन विद्युत् आपूर्ति बन्द हुने

    कञ्चनपुरका तीन स्थानीय तहमा आजदेखि पाँच दिन विद्युत् आपूर्ति बन्द हुने


    कञ्चनपुर, ११ माघः जिल्लाका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । लालपुर सबस्टेशनबाट कलुवापुर सबस्टेशनसम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि माघ ११ देखि १५ गतेसम्म विद्युत् आपूर्ति सेवा बन्द हुने भएको हो ।

    गर्मीयाम र हुरीबतासको समयमा हुने विद्युत् अनियमित र न्यून भोल्टेज सुधार गर्नका लागि कण्डक्टर अपग्रेडको कार्य हुने महेन्द्रनगर वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले बताउनुभयो । अत्तरियास्थित नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले ठेक्का प्रक्रियामार्फत जीर्ण अवस्थाका पुल र तार फेर्ने काम गर्ने उहाँले बताउनुभयो ।

    गर्मीका बेला काम गर्न असहज हुने भएकाले फागुनभित्र सक्नेगरी काम सुरू हुने उहाँले बताउनुभयो । उहाँका अनुसार, कलुवापुर ३३÷११ केभी सबस्टेशनबाट विद्युत् आपूर्ति हुने शुक्लाफाँटाका सम्पूर्ण स्थान, कृष्णपुर नगरपालिकाको वडा नं १, २, ३ का सुन्दरीफाँटा, दोमिल्ला, पहरिया, गोजे, कुमगडा, वाणी, बङ्कलगायत स्थानका साथै बेलौरी वितरण केन्द्रका सम्पूर्ण स्थानमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

    प्राधिकरणले जारी गरेको सूचनाअनुसार आज शुक्रबार र १४ गते सोमबार बिहान ९ देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ । यसैगरी, माघ १२ गते शनिबार, १३ गते आइतबार, १५ गते मङ्गलबार दिउँसो १ देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ । समयअगावै कार्य सम्पन्न भए विद्युत् लाइन सञ्चालन गरिने भएकाले बिनाजानकारी लाइन नजिक नजान पनि आग्रह गरिएको छ ।

  • उपमहानगरपालिकाद्वारा छ महिनामा १९ करोड राजस्व सङ्कलन

    उपमहानगरपालिकाद्वारा छ महिनामा १९ करोड राजस्व सङ्कलन


    बागमती, ८ माघः मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१/८२ को छ महिनामा रु १९ करोड ७४ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

    उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार चालु आवको साउनदेखि पुससम्ममा उपमहानगपालिकाले विभिन्न शीर्षकमा रु १९ करोड ७४ लाख ३७ हजार नौ सय ९३ राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८०/८१ को सो अवधिको तुलनामा सङ्कलन गरेको भन्दा रु तीन करोड १२ लाख बढी हो ।

    सो चालु आवको छ महिनामा सम्पत्ति करबाट रु चार करोड ९४ लाख ६१ हजार, घरबहाल करबाट रु दुई करोड ८१ लाख ७३ हजार, नक्सापास दस्तुरबाट रु दुई करोड ७६ लाख ६५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु दुई करोड १८ लाख ७५ हजार, सिफारिस दस्तुरबाट रु एक करोड ६२ लाख ८३ हजार, बहाल बिटोरी करबाट रु एक करोड ३३ लाख ९२ हजार, व्यवसाय करबाट रु एक करोड ८३ लाख ११ हजार राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

    अघिल्लो आव २०८०/८१ को सो अवधिमा उपमहानगरपालिकाले रु १६ करोड ६२ लाख ८६ हजार राजस्व सङ्कलन गरेको थियो । बाँकी बक्यौता असुलीमा गरिएको कडाइ, करको दर र दायरा दुवैमा भएको वृद्धि, नक्सा अभिलेखीकरण तथा आन्तरिक आयस्रोतमा भएको वृद्धिलगायत कारणले चालु आवको छ महिनामा राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ ।

  • काठमाडौं भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय

    काठमाडौं भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कस्थित निर्माणाधीन भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने निर्णय गरेको छ। आइतबार एक सूचना जारी गर्दै महानगरले यस्तो निर्णय गरेको हो।

    सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका कार्यालय र जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिबिच मिति २०७१–११–२२ मा काठमाडौं महानगरपालिका वडा नम्बवर २८ पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माणका लागि सम्झौता भएको र उक्त प्रालिबाट निर्माण हुँदै गरेको काठमाडौं भ्युटावर भवनको नक्सा पासको सम्बन्धमा छानबिन समिति गठन भई छानबिनको कार्य भइरहेको हुँदा छानबिन समितिको प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नभएसम्मका लागि उक्त भवनको नक्सा पास निष्क्रिय रहेको व्यहोरा सरोकारवालाको जानकारीको लागि सूचित गरिन्छ।’

    यसअघि काठमाडौं महानगरपालिकाले नक्सा पासमा अनियमितता गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत सुरेश गुरागाईलाई निलम्बन गरेको थियो। 

  • हरिवन र हरिहरपुरगढीबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    हरिवन र हरिहरपुरगढीबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    बरहथवा (सर्लाही), २९ पुसः सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता भएको छ ।

    आइतबार हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिका जोड्ने विभिन्न चार वटा सडक स्तरोन्नति गर्ने सम्झौता भएको हो । दुई पालिका जोड्ने केरावारी–रानीचुरी–रागेदोभान सडक खण्ड, हरिवन–क्यानेश्वर सडक खण्ड, तित्रीगाछी–धुम्बे–भुताहा–बरुण सडक र अत्रौली–केवनचुली–भुताहा–बरुण सडक स्तरोन्नतिका लागि दुवै पालिकाबीच सम्झौता भएको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले जानकारी दिनुभयो । 

    सिन्धुलीको क्यानेश्वर र हरिहरपुरगढी गाउँपालिकाको अधिकांश गाउँका स्थानीयको व्यापारिक केन्द्र सर्लाहीको हरिवन बजार हो । व्यवस्थित सडक नहुँदा भौगोलिकरुपमा नजिक भएका सिन्धुलीका यी दुई पालिकाका नागरिकले सर्लाहीको हरिवन सम्म आउजाउ गर्न सास्ती व्यहोर्दै आएका छन् । दुवै पालिकाले आ–आफ्नो सिमानासम्म सडक स्तरोन्नति गर्ने सहमति गरेको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले बताउनुभयो ।

    “हाम्रो पालिकाका केही गाउँका स्थानीयलाई भौगोलिक हिसाबले सर्लाहीको हरिवन नजिक पर्छ,” उहाँले भन्नुभयो, “उहाँहरु अझै व्यापार, उपचार तथा अन्य कामका लागि हरिवन धाउनुहुन्छ । तर, सडक राम्रो नहुँदा सास्ती भोग्नु परिरहेको छ ।” 

    सम्झौतापत्रमा हरिवन नगरपालिकाको तर्फबाट प्रमुख बुढाथोकी र हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईबाले हस्ताक्षर गर्नुभएको छ ।  हरिवनबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वर हँुदै मरिण जोड्ने सडक स्तरोन्नति गर्ने विषयमा केही समय अघि बागमती प्रदेशका आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्ले र मधेश प्रदेशका अर्थ मन्त्री सुनील यादवबीच छलफलसमेत भएको थियो । उद्योग वाणिज्य सङ्घ हरिवनको आयोजनामा दुवै प्रदेशका मन्त्रीहरूले संयुक्तरूपमा उक्त सडकको अवलोकन गर्नुभएको थियो । 

    हरिवनदेखी धिमिले हुँदै हरिहरपुरगढीकोे क्यानेश्वरसम्म १३ किलोमिटर र क्यानेश्वरदेखि मरिणसम्म २२ किलोमिटर गरी मरिणसम्म ३५ किलोमिटर दूरी रहेको छ ।