Category: Health

  • जाडोमा ‘मर्निङ वाक’ घाम लागेपछि मात्रै उपयुक्त

    जाडोमा ‘मर्निङ वाक’ घाम लागेपछि मात्रै उपयुक्त

    काठमाडौं । गर्मीयामको तुलनामा चिसोयाममा हावामा प्रदूषण बढी हुन्छ । घाम नलाग्दासम्म चिसो हावा जमिनमै जमेको हुन्छ । चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा स्वास्थ्यका लागि बढी हानि हुनसक्ने विज्ञहरुको भनाइ छ ।

    एकाविहानैको हावा बढी प्रदूषित हुने सम्भावना बढी हुने भएकाले विज्ञहरुले घाम लागेपछि मात्रै वाक गर्दा उपयुक्त हुने सुझाव दिएका छन् । चिसो हावामा धूलो, धुँवा र कार्बन कर्णलगायतका प्रदूषण तैरिन नसकी जमिनकै सतहमै रहेका हुन्छन् ।

    वातावरणविद् भूषण तुलाधारले गर्मीयामको तुलनामा जाडोयाममा बिहान सामान्य अवस्थामा जमिनमा रहने चिसो हावा बढी प्रदूषित हुने गरेको बताउनुभयो । “जाडोयाममा बिहान सबेरैभन्दा पनि घाम लागेपछि नै बाहिर निस्कँदा स्वास्थ्यका लागि राम्रो हुन्छ, घाम लागेपछि तातो हावा माथि जान थाल्छ र जमिनको हावामा प्रदूषण कम हुन्छ,” उनले भने, “विषेशगरी रातको समयमा जमिनको सतह छिटो चिसो हुन्छ, चिसो हावा तत्कालै माथि जान सक्दैन, जसले गर्दा जमिनको हावा प्रदूषित भइरहेको हुन्छ ।”

    तुलाधारका अनुसार काठमाडौंजस्तो उपत्यकामा हावा बाहिर निस्किन अझ कठिन भएकाले पनि जाडोको समयमा प्रदूषण बढ्छ । सर्वसाधरणले पनि चिसो मौसममा फोहोर जलाउने, घर तताउन तथा खाना पकाउन जैविक इन्धन (दाउरा, कोइला) र तरल पेट्रोलियम ग्यासको प्रयोग बढी गर्ने र ग्रामीण क्षेत्रमा अझैपनि परम्परागत दाउराको प्रयोग हुने गरेकाले प्रदूषण हुने गति तीव्र हुन्छ ।

    “राष्ट्रिय जनगणना ०७८ अनुसार नेपालमा ५१ प्रतिशतले अझै दाउरा र तीन प्रतिशतले गुइँठा बाल्छन् । घरभित्रको प्रदूषणबाट महिला तथा बालबालिका बढी प्रभावित भइरहेका छन्,” तुलाधारले भने,“नेपालमा वार्षिक ४८ हजार पाँचसयको मृत्यु वायु प्रदूषणबाट हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ ।”

    सहरमा सवारी साधनहरूको इन्धन दहनको क्षमता जाडोयाममा घट्ने र यसले बढी कार्बन मोनोअक्साइड र नाइट्रोजन अक्साइड उत्सर्जित गर्दा पनि प्रदूषण बढ्ने विज्ञहरुको भनाइ छ ।

    “जाडोको समयमा ग्रामीण क्षेत्रमा पराल र अन्य जैविक फोहोर जलाइन्छ । आगो ताप्नका लागि पनि प्लाष्टिक तथा अन्य वस्तुहरु बालिन्छ, यसले वायुमण्डलमा सूक्ष्म कणहरु अन्य हानिकारक ग्यासहरू बढाउँछ,” तुलाधारले भने, “इँटाभट्टा, ऊर्जा उत्पादन गर्ने कोइलाजन्य उद्योग, र सिमेन्ट उद्योगहरूले जाडोयाममा उत्पादन कायम राख्छन् । धुवाँ र प्रदूषक उत्सर्जन बढ्ने भएकाले जाडोयाममा प्रदूषण तीव्र हुन्छ । अझै माघ महिनापछि इट्टा उद्योग सञ्चालनमा आउनाले प्रदूषण झनै बढ्छ ।”

    वातावरण अभियन्ता वर्षा पराजुलीले जाडोमा बिहानको समयमा बढी चिसो हुने र बढी तुवाँलोका कारण प्रदूषणका कणहरु जमिनकै सतहमा रहँदा वातावरण थप प्रदूषित हुने गरेको बताइन् ।

    जलवायुविद् मञ्जित ढकालले प्रदूषणको स्रोत नै सवारी साधनबाट निस्कने धुँवा भएको उल्लेख गर्दै समस्या समाधान गर्न सके जलवायु परिवर्तनको कारक तत्त्वका रूपमा रहेको कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुग्ने बताए ।

    मुटुरोगीलाई बढी असर

    मुटुरोगी विशेषज्ञ डा. रञ्जित शर्मा जाडोयाममा घाम लाग्नुअघि बढी प्रदूषण हुने भएकाले यसबाट मुटुरोगीलाई बढी असर गर्ने बताउँछन् । “प्रदूषणले जुनसुकै बेलामा पनि असर गर्ने भयो, तर बिहानको समयमा बढी असर गर्नसक्छ, विषेश गरी मुटुसम्बन्धी रोगीहरु घरबाहिर निस्कँदा विशेष ध्यान दिनुपर्छ,” उनले भने । मुटु, रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, दीर्घरोगी, दमबाट पीडितले सकेसम्म बिहान अबेर मात्रै व्यायाम गर्नुपर्ने उनको सुझाव छ ।

    उनका अनुसार जाडो याममा शरीरमा विभिन्न किसिमका हर्मोनको मात्रा वृद्धि हुने भएकाले रगतको भिस्कोसिटी (बाक्लोपना) बढ्ने र रक्तनली खुम्चने हुन्छ । यसले रक्तप्रवाह असामान्य भई मुटुमा अक्सिजनको कमी हुनसक्छ । मुटुले सामान्य अवस्थामाभन्दा बढी काम गर्नुपर्छ, जसले रक्तनलीमा रगत जमेर हृदयाघात र मस्तिष्काघात समेत हुनसक्ने डा. शर्माको भनाइ छ । “चिसोमा बाहिर निस्कनुपर्दा पर्दा बाक्लो लुगा लगाउने, माक्स लगाउने गरौँ, सकेसम्म घाम लागेपछि मात्रै घरबाहिर निक्कदा उपयुक्त हुन्छ,” उनले भने ।

    जनस्वास्थ्यविद् डा. समीर अधिकारीले बढ्दो वायू प्रदूषणले मानिसको श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकी लाग्ने, दम बढाउने, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, पक्षघात, हृदयाघातजस्ता स्वस्थ्यमा गम्भीर असर गर्ने भएकाले सतर्कता अपनाउन सुझाव दिए ।

  • पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु

    पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु


    पर्वत, ७ पुस : स्थापना भएको साढे तीन दशकपछि पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ । शनिबारदेखि औपचारिक रूपमा सुरु भएको फिजियोथेरापी सेवाको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले उद्घाटन गर्नुभयो ।

    फिजियोथेरापी सेवाको शुभारम्भ गर्दै मन्त्री पाठकले नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार निरन्तर सक्रिय भएर लागेको बताउनुभयो । उहाँले प्रदेशका ११ वटै जिल्लाका अस्पताललाई सुविधासम्पन्न बनाइने बताउनुभयो । अब जिल्लामै अधिकांश रोगको उपचार हुनेगरी अस्पतालको क्षमता विकास गर्ने र त्यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

    सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएपनि ६० शय्या क्षमतामा सञ्चालित अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको दरबन्दीबाट यो सेवा सञ्चालन गरिएको हो । सेवा सञ्चालन गर्न डा प्रमीला लामिछाने नियुक्त हुनुभएको हो । अब नियमित रूपमा सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो ।

    ‘फिजियोथेरापी’ विधिले शरीरका विभिन्न अङ्गहरूको चाल, लचकता, बल र समन्वय सुधार गर्न मद्दत गर्ने तथा यो उपचार मुख्य रूपमा शरीरको मांसपेशी, जोर्नी, स्नायु र हाडहरूको समस्या समाधान गर्न प्रयोग गरिने भएकाले बिरामीका लागि महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । डा बाँस्तोलाका अनुसार प्यारालाइसिस, ढाड दुख्ने, घुँडा दुख्ने, गर्धन दुख्ने, काध तथा कुहिना दुख्ने र मुख बाङ्गिएको समस्या भएका बिरामीले सहज रूपमा उपचार पाउने छन् ।

    अस्पतालले पहिलो चरणमा १० शय्याको व्यवस्था गरेर फिजियोथेरापी सेवा दिन थालेको छ । स्वास्थ्य बीमा गरेका विमितलाई स्वास्थ्य बीमा कार्डमार्फत नै सेवा उपलव्ध गराइने भएको छ । जिल्लामा फिजियोथेरापी सेवा नहुँदा यस क्षेत्रका बिरामी पोखरा, काठमाडाँैलगायतका ठाउँमा जान बाध्य थिए । जिल्लाबाटै उक्त सेवा सञ्चालन भए पनि यस क्षेत्रका बिरामीलाई सहज हुने छ ।

  • महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर

    महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर


    डुम्रे (तनहुँ), ७ पुस : स्त्रीरोग पहिचान तथा परीक्षणका विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्ने उद्देश्यले तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महिलाको स्वास्थ्य समस्याको पहिचान र यससम्बन्धी चेतना दिन शिविर सञ्चालन गरिएको हो ।

    मिलन योग साधना केन्द्र, मिलन टोल विकास सस्थाको आयोजना, भादगाउँ स्वास्थ्य क्लिनिक, श्रीना फार्मेसीको सहआयोजना र गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । विशेषज्ञ चिकित्सकको अभावमा यहाँका बिरामी स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहनुपर्ने बाध्यता भएकाले सहज रूपमा सेवा प्रवाह गर्न शिविरको आयोजना गरिएको जिल्ला समन्वय समितिका पूर्वसदस्य तथा स्थानीय केशबहादुर सुनारले जानकारी दिनुभयो ।

    शिविरमा गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा रुपा पनेरुको नेतृत्वमा डा गरिमा गौतम, डा कोमल शाहलगायतको टोलीले प्रसूति तथा स्त्रीरोगको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा स्वास्थ्य परीक्षण गराउँदै व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले घरआँगनमै स्वास्थ्य परीक्षण गर्न पाउँदा बिरामीलाई सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता शिविर सञ्चालन गर्न नगरपालिकाले सहयोग गर्दै आएको छ ।”

    योग गर्न सहज बनाउन योग भवन बनाउन नगरपालिकाले मद्दत गर्ने उपप्रमुख दरैले बताउनुभयो । शिविरमा निःशुल्क औषधी वितरण गरिएको छ । व्यास नगपालिका–१ का वडाध्यक्ष रमेशचन्द्र हड्खले, पतञ्जली योग साधना केन्द्र तनहुँका अध्यक्ष मानबहादुर आले, मिलन योग साधना केन्द्रका अध्यक्ष कृष्णबहादुर थापालगायतले जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुन्जेल बेलाबेलामा हुने विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविरबाट लाभ पुग्ने बताउनुभयो । शिविरमा एक सय २१ महिलाले स्वास्थ्य सेवा लिएका थिए ।

  • पाल्हीनन्दनको आयुर्वेद औषधालय भवन उपयोगविहीन

    पाल्हीनन्दनको आयुर्वेद औषधालय भवन उपयोगविहीन


    बर्दघाट सुस्तापश्चिम (नवलपरासी) ५ पुसः पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा रु ४० लाख लागतमा निर्माण गरिएको पाल्ही आयुर्वेद औषधालय भवन उपयोगविहीन भएको छ ।

    पाल्हीनन्दन गाउँपालिकाले निर्माण गरेको पाल्ही आयुर्वेद औषधालय भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको छ । दुई वर्ष पहिला निर्माण भएको भवन सञ्चालनमा नआउँदा नेपाल गण्डक नहरको भवनमा बस्नुपर्ने बाध्यता रहेको आयुर्वेद औषधालय शाखाका रामएकवाल यादवले बताउनुभयो ।

    उहाँका अनुसार निर्माणाधीन भवनको काम सम्पन्न भए पनि प्रवेशÞद्धार तथा प्राविधिक काम नभएकाले नयाँ भवनबाट बिरामीलाई सेवा दिन नमिल्ने भएको छ । रु ४० लाख लागतमा गाउँपालिकाले निर्माण गरेको पाल्ही आयुर्वेद औषधालय सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाइएको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताउनुभयो ।

    गाउँपालिकाले निर्माण गरेको आयुर्वेद औषधालय भवनमा प्राविधिक काम बाँकी रहेकाले गण्डकको भवनबाट उपचार गर्दै आएको छ । यस वर्षदेखि पाल्ही आयुर्वेद औषधालय भवन सञ्चालनमा ल्याउने तयारी भइरहेको पाल्हीनन्दन–४ का वडाध्यक्ष रवीन्द्र सहानीले बताउनुभयो । खानेपानी ट्याङ्की सञ्चालनपश्चात आयुर्वेद औषधालय भवनभित्र प्रवेशद्धार निर्माण गरेर उद्घाटन गर्ने वडाध्यक्ष सहानीले भन्नुभयो ।

  • बत्तीस दिनपछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

    बत्तीस दिनपछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान


    जुम्ला, ५ पुस : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि स्थायी रूपमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको स्तरवृद्धि र नियमावलीअनुसारको तलबभत्ता नपाएको विषयलाई लिएर सुरू भएको आन्दोलन स्थगन भएको छ । आन्दोलनरत शिक्षक तथा कर्मचारीका अनुसार उपकुलपतिबाट माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता प्राप्त भएपछि बिहीबारदेखि आन्दोलनका सबै कार्यक्रम स्थगन गरिएको हो ।

    प्रतिष्ठानका शिक्षक र कर्मचारीले आफूहरूको स्तरवृद्धि र तलबभत्ताको विषयमा न्यायका लागि २०८१ साल भदौ २६ गते उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट कर्मचारीको पक्षमा फैसला भएको थियोे । उक्त फैसला कार्यान्वयन नभएको भन्दै २०८१ साल कात्तिक २६ गतेदेखि विभिन्न दबाबमूलक कार्यक्रम कर्मचारीले सुरू गरेका थिए ।

    आन्दोलनका क्रममा रजिष्ट्रारबाट गठित वार्ता समितिसँग पटकपटक छलफल भएपछि २०८१ साल पुस ४ गते उपकुलपतिबाट छुट पदसमेत सम्बोधन गरिने लिखित प्रतिबद्धता प्राप्त भएको साथै, गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना र त्यस सूचनामा छुट भएका पदका सम्बन्धमा थप स्पष्टता आउने वचन दिइएको आन्दोलित कर्मचारीले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् । सो प्रतिबद्धताका आधारमा आन्दोलनरत शिक्षक तथा कर्मचारीले आजबाट आन्दोलनका सबै कार्यक्रम स्थगन गरी नियमित कार्यालय कामकाजमा फर्किने जानकारी गराएका छन् ।

  • ‘बिरामीलाई अस्पताल लैजाने मानिस पनि पाउन मुस्किल पर्न थाल्यो’

    ‘बिरामीलाई अस्पताल लैजाने मानिस पनि पाउन मुस्किल पर्न थाल्यो’

    ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–५ करलिम गाउँ बसाइँसराइले गर्दा सुनसान बनेको छ । छरछिमेक र आफन्त बसाइँ सरेर बजार झरेपछि अहिले गाउँमा रहेका पनि निराश छन् । बसाइँ नसरेकाले पनि आफ्नो परिवारलाई सहर बजारमा राखेका छन् । युवा शक्ति विदेश हुँदा गाउँमा बूढापाकाबाहेक अन्यलाई भेट्याउन सकिन्न ।

    काठेखोला जिल्लामै धेरै बसाइँसराइ गर्ने ठाउँ हो । यहाँका अधिकांश युवा, जापान, कोरिया र अष्ट्रेलियामा छन् भने उनीहरुको परिवार बागलुङ, पोखरा, काठमाडौँ र चिवतन बसाई सरेका छन् । बसाइँसराइले गाउँमा हरेक वृद्धवृद्धालाई बिरामी हुँदा अस्पतालसम्म पुर्‍याउने मान्छे समय–समयमा समस्या पर्ने गरेको छ । गाउँघर झाडीले ढाकिन थालेपछि वन्यजन्तको समस्या बढ्दै गएको छ । यसले स्थानीय त्रसित बनेका छन् । गाउँमा वृद्धवृद्धा र महिला मात्रै रहेको हुँदा हिँडडुल गर्न पनि डर हुने स्थानीय मैना सुवेदीले गुनासो गरिन् । श्रमशक्तिको अभावमा खेतीबारीमा खेती गर्नसमेत छोडिएको उनले बताइन्।

    उनले भनिन्, “मान्छेहरु सबै बजार झरे, गाउँमा बस्नै छोडे, पहिले कति रमाइलो थियो यो ठाउँ अहिले वीरक्त लाग्ने भएको छ, यहाँ वरपरका सबै घर खाली छन्, अर्मपर्म गरेर खेतीपाती गर्नलाई मान्छे पाइँदैनन्, पहिले मुरीका मुरी धान, मकै, कादो फल्ने बारीमा अहिले वनमारा पलाएको छ ।”

    स्थानीय चिरञ्जीवी कँडेलले राज्यले बसाइँसराइलाई व्यवस्थापन गर्नुपर्ने बताए । बसाइँसराइ गरेर जानेर घर खाली राख्न नपाइने नीति ल्याउनुपर्ने उहाँको भनाइ छ । अहिले गाउँमा निस्किने बाटोसमेत वनमारा र झाडीले पुरिएको कँडेल बताउँछन् । पहिलेको तुलनामा धेरै विकास भए पनि बसाइँसराइ नरोकिएको उनको भनाइ छ ।

    युवा शक्ति विदेश पालयन भएका छन् । गाउँका हुने खानेहरु सेवा सुविधाको खोजी गर्दै बसाइँसराइ गरेर बजार झरेपछि गाउँमा न्यून वर्गका मानिसहरु मात्रै छ । स्थानीय सरकारले नागरिकका आधारभूत आवश्यकतालाई पूरा गर्दै गए पनि बसाइँसराइ रोकिएको छैन । काठेखोलाको करलिम मात्र होइन जिल्लाको अन्य धेरै ठाउँबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । जसले ग्रामीण क्षेत्र सुनसान भएका छन् ।

    काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बसाइँसराइ रोक्नका लागि नागरिकलाई उद्यमसँग जोड्ने र व्यावसायिक बनाउने खालका कार्यक्रम ल्याएको बताए । धेरैजसो गुणस्तरीय स्वास्थ्य र शिक्षाका लागि बसाइँसराइ गरेको भन्दै पालिकाले अहिले ती क्षेत्रमा लगानी गरिरहेको उनको भनाइ छ । गाउँमै बस्ने वातावरण तयार गर्नका लागि आफूहरु गम्भीर भएर लागेको उपाध्यक्ष थापाले बताइन् ।

  • म्याग्दीको दुर्गम क्षेत्र चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण

    म्याग्दीको दुर्गम क्षेत्र चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण


    रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ८३ वर्षीय लबहादुर पुन गाउँमा स्वास्थ्यचौकी भवन बनेपछि खुसी हुनुहुन्छ । गाउँमा पुरानो र साँघुरो भवनबाट सेवा लिँदै आएकोमा पक्की सुविधा सम्पन्न भवन बनेपछि सेवा लिन सहज हुने पुनको भनाइ छ । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएपछि स्थानीयले खुसियाली मनाएका छन् । गाउँपालिका र सङ्घीय सरकारको रु एक करोड ७९ लाख ३९ हजार ३२ लागतमा दुईतले सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएको हो ।

    भवन निर्माण भएर सेवा सञ्चालनको उपलक्ष्यमा स्थानीयले नौमती बाजासहित नाचगान गरेर खुसियाली मनाएका हुन् । नयाँ भवनबाट सरल र सहजरुपमा स्वास्थ्योपचार सेवा लिन सुविधा पुगेको स्थानीय ६४ वर्षीय मनिराम पुनले बताउनुभयो ।

    चिमखोलाको मलाङमा स्थानीयको रु १० लाख र रघुगङ्गा गाउँपालिकाको रु १० लाख बजेटमा पाँच रोपनी जग्गा खरिद गर्ने र सम्माएर व्यवस्थापन गर्ने काम गरिएको थियो । भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले आवश्यक सामग्रीको बन्दोबस्त गरी नवनिर्मित भवनबाट सेवा शुभारम्म गरिएको बताउनुभयो ।
    उहाँले भवनमा थप औजार उपकरण र औषधिको उपलब्धता गराएर स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको समेत सेवा विस्तार गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

    भवन बनाउन रघुगङ्गा गाउँपालिकाले रु एक करोड पाँच लाख ४० हजार चार सय ४२ र सङ्घीय सरकारको विशेष अनुदानबाट रु ७३ लाख ९८ हजार पाँच सय ९० लगानी भएको छ । आर्थिक वर्ष २०७८÷७९ देखि निर्माण सुरु भएको स्वास्थ्यचौकी भवन दुई चरणमा ठेक्का लगाएर निर्माण गरिएको हो । भवनको तला थप गर्न र भवनको सम्पूर्ण निर्माण सम्पन्न गर्न भगवती÷मालिका निर्माण कन्ट्रक्सनले ठेक्का लिएको थियो भने स्थानीय निर्माण व्यवसायी प्रदीप पाइजाले कामको जिम्मा लिएर निर्माण सम्पन्न गर्नुभएको हो । उद्घाटन समारोहमा निर्माण कम्पनीका प्रतिनिधि विजय भट्टचनाले स्वास्थ्यचौकी भवनको चाबी गाउँपालिका अध्यक्ष भण्डारीलाई हस्तान्तरण गर्नुभएको छ ।

    भवनमा बिरामी चेकजाँच, बर्थिङ सेन्टर, औषधि भण्डारण, कर्मचारी आवासलगायतको लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । भवनको सुरक्षाको लागि पर्खाल निर्माण, तारबार, रङरोगनसँगै विद्युत्, खानेपानी जडान गरिएको छ । खुला ठाउँ र फराकिलो कोठाहरु रहेकाले बिरामीको चेकजाँच गर्न र सेवाग्राहीलाई समेत सहजरुपमा स्वास्थ्य सेवा लिने सुविधा पुगेको स्वास्थ्यचौकीका प्रमुख हिस्टुरी पाइजाले जानकारी दिनुभयो ।

    नवनिर्मित स्वास्थ्यचौकी भवनमा बर्थिङ सेन्टरसँगै गुणस्तरीय स्वास्थ्य सेवा प्रदानको लागि आवश्यक सामग्री, उपकरण तथा जनशक्तिको व्यवस्थापन गर्ने वडा कार्यालयको तयारी छ । विभिन्न टोल बस्तीमा छरिएको चिमखोलामा नागरिकलाई सरल र सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि यसअघि चिमखोलाको पात्लेखेतमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिसकिएको छ भने नामेला बस्तीमा समेत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न लागिएको वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिनुभयो ।

    रघुगङ्गा गाउँपालिकामा वडा नम्बर १ बेगबाहेकका सबै वडामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । भौगोलिक विकटता रहेको र स्वास्थ्यचौकीमा पुगेर सेवा लिन घन्टौँ हिँड्नु्पर्ने ठाउँका नागरिका लागि गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिरहेको छ ।

  • रगत खोज्दै अन्यत्र जान नपरोस् भनेर आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्तसञ्चार केन्द्र स्थापना

    रगत खोज्दै अन्यत्र जान नपरोस् भनेर आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्तसञ्चार केन्द्र स्थापना


    दमौली । तनहुँको आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा आज रक्त सञ्चार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

    आँबुखैरेनी अस्पतालमा उपचाररत बिरामीलाई रगतको अभाव नहोस् भन्ने उद्देश्यसहित रक्तसञ्चार केन्द्र स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पृथ्वीराजमार्गमा दैनिकजसो हुने दुर्घटना, अस्पतालमा प्रसूति सेवा लिन आउने महिला र अन्य बिरामीलाई तत्कालै रगत आवश्यक पर्ने भएकाले अस्पतालमै रक्त सञ्चार केन्द्रको आवश्यकता थियो ।”

    रक्तसञ्चार केन्द्र स्थापनापश्चात् रगत आवश्यक पर्ने बिरामीलाई सहज हुने चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “रगत खोज्दै अन्यत्र जान नपरोस् भनेर केन्द्र स्थापना गरेका हौँ।”

    अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले अस्पतालमै रक्त सञ्चार केन्द्र स्थापनापछि सम्बन्धित बिरामीले सहज तरिकाले रगत प्राप्त गर्न सक्ने बताउनुभयो । केन्द्र स्थापनासँगै केन्द्रका लागि आवश्यक पर्ने रगत सङ्कलन गर्न थालिएको उहाँको भनाइ छ ।

    गाउँपालिकाले २०७९ साल मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गरेको हो । अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको डा क्षेत्रीले जानकारी दिनुभयो ।

    अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ । अस्पतालमा एक जना एमडिजीपी, तीन जना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् ।

    गाउँपालिकाले अस्पतालका लागि नयाँ भवन बनाएको होइन । भइरहेको भवनको उपयोग गरी अस्पताल सञ्चालन गरेको हो । गाउँपालिकाले वडा कार्यालय भवन, गाउँपालिकाको सभाहल उपयोग गरी अस्पताल बनाएको हो । गाउँपालिकाका अध्यक्ष चुमानले भन्नुभयो, “स्वास्थ्यचौकीलाई ओपिडी बनाएर सञ्चालन गरेका छाँै । इलाका वनको भवनलाई ल्याब बनाएका छाँै । त्यसमा फार्मेसी र शौचालयको पूर्वाधार थप गरेका छौँ ।” अस्पतालले गत एक वर्षको अवधिमा एक सय १७ जनालाई प्रसूति सेवा प्रदान गरेको छ । विसं २०८० मङ्सिर १ गतेदेखि २०८१ मङ्सिर १ गतेसम्म अस्पतालले एक सय १७ महिलालाई प्रसूति सेवा दिएको हो ।

    अस्पतालबाट नौ सय ९३ जनाको आकस्मिक अवस्थाका बिरामीको उपचार गरिएको छभने ३२ हजार नौपटक प्रयोगशाला परीक्षण गरिएको क्षेत्रीले बताउनुभयो । अस्पतालमा नौ सय ९१ जना बिरामीलाई भर्ना गरी उपचार गरिएको छभने तीन हजार नौ जनालाई अल्ट्रासाउण्ड सेवा, तीन हजार तीन सय ९१ जनालाई एक्सरे सेवा प्रदान गरिएको क्षेत्रीले बताउनुभयो ।

    अस्पतालले अब छिट्टै शल्यक्रिया सेवा, दन्त सेवा, फिजियोथेरापी आवश्यक बिरामीको पुनस्र्थापना र उपचार सेवा सुरु गर्न लागेको छ । त्यसैगरी विशेषज्ञ चिकित्सकमार्फत थप सेवा, टेलिमेडिसिन तथा मोबाइल स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको डा क्षेत्रीले बताउनुभयो ।

  • झापामा पूजाको प्रसाद खाँदा ५० बढी बिरामी

    झापामा पूजाको प्रसाद खाँदा ५० बढी बिरामी

    काठमाडौं ।

     पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँ नै बिरामी परेको छ ।

    अर्जुनधारा नगरपालिका-९ को खरबन्दी गाउँ नै बिरामी परेको हो । स्थानीय रीता निरौलाकोमा बुधबार पूजा लगाइएको थियो । पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए ।

    प्रसादी खाने सबै बिरामी परेको स्थानीय विद्या कटवालले जानकारी दिइन् । उनका अनुसार पूजा घरमा पुगेर प्रसाद खाने धेरै बिरामी छन् । घरमा ल्याएको प्रसाद खाने पनि बिरामी भएका छन् । ‘पूजा घरमा पुगेर सब्जी र रोटी अचार खाने धेरै बिरामी छन् । घरमा ल्याएको प्रसाद खानेहरुलाई पनि समस्या  छ,’ उनले भनिन्, ।

    अर्जुनधारा नगरपालिका-९ का वडा अध्यक्ष भिष्म मिश्रका अनुसार गाउँका स्थानीय र पूजाका लागि पाहुना आएका आफन्त गरी ५५/६० जना बिरामी भएका छन् । बिरामीको स्थानीय क्लनिकमा उपचार भइरहेको छ । पुजाको प्रसादमा फुट पोइजन हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए । बिरामीको स्थानीय दुई क्लिनकमा उपचार भइरहेको उनले जानकारी दिए ।

  • अब राष्ट्रिय खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण हुने

    अब राष्ट्रिय खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण हुने

    काठमाडौं ।

    राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरूको स्वास्थ्य परीक्षण सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ ।

    देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता आज गरिएको हो । 

    गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाडीहरूको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए । त्रिपक्षीय सम्झौताका लागि मन्त्री पौडेलले सक्रियता लिएका थिए ।

    मन्त्री पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद् राखेप र अस्पतालका बिच खेलाडीको मुटु परीक्षण हरेक वर्ष निःशुल्क गर्ने सम्झौता गरिएको हो ।