काठमाडौँका नदी किनारमा थप २० मिटरको व्यवस्था हटाइयो

काठमाडौँ ।:
काठमाडौँ महानगरपालिकाले नदी किनारमा निजी जग्गामा भवन निमार्ण गर्न लगाएको प्रतिबन्ध हटाएको छ । सर्वोच्च अदालतको पछिल्लो आदेश कार्यान्वयन गर्दै महानगरले नक्सा पास तथा निमार्ण कार्यमा रोक नलगाइने जनाएको छ ।

यसअघि महानगरपालिकाले नदीको दायाँ – बायाँ थप २० मिटर जग्गा खाली गनुपर्ने भन्दै निर्माण अनुमति रोकेको थियो । तर अब मन्त्रिपरिषद्ले २०६५ सालमा तय गरेको मापदण्डभित्र रहेर भवन निर्माण गर्न पाइने भएको छ ।

महानगरपालिकाका अनुसार २०८२ माघ ४ गते सर्वोच्च अदालतको संयुक्त इजलासले पुरानो फैसालालाई आंशिक रुपमा सच्याएको छ । अदालतले २०६५ सालको मापदण्डबाहेक थप २० मिटर जग्गा छोड्नुपर्ने व्यवस्था कानुनसम्मत नरहेको उल्लेख गरेको छ ।

यस निर्णयपछि थप २० मिटर क्षेत्रमा संरचना नबनाउने तथा बनेको संरचना हटाउने अघिल्लो आदेश संशोधन भएको हो । त्यसअनुसार महानगरपालिकाले नदी किनारका जग्गामा निर्माणसम्बन्धी रोक फुकुवा गरेको जनाएको छ ।

महानगरले जारी गरेको सूचनामा अदालतको आदेशअनुसार निजी जग्गामा भवन निर्माण अनुमति नरोकिने स्पष्ट गरिएको छ । यससँगै नदी किनारमा जग्गा भएका हजारौँ जग्गाधनीलाई राहत पुगेको छ भने रोकिएका निर्माण कार्य पुन : अघि बढ्ने भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts