काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँको परिवारका सदस्यहरूले अस्वाभाविक र गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको उजुरीमाथि विस्तृत छानबिन अघि बढाएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसअघि नै परेका उजुरी र प्राप्त सूचनाका आधारमा देउवा परिवारको आर्थिक विवरण र चल(अचल सम्पत्तिको प्रमाण संकलन कार्यलाई तीव्रता दिएको हो।
यसै अनुसन्धानको सिलसिलामा प्रहरीले बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा भइरहेको घर भत्काउने कार्यमा रोक लगाएको छ। विगतको आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको उक्त भवन भत्काउँदा अनुसन्धानका क्रममा फेला पर्न सक्ने प्रमाणहरू नष्ट हुन सक्ने आशंकामा उच्चपदस्थ अधिकारीहरूको निर्देशनपछि सो कार्य रोकिएको हो। भवनमाथि थप प्राविधिक र कानुनी अनुसन्धान गर्नुपर्ने भएकाले प्रमाण सुरक्षित राख्न प्रहरीले सो क्षेत्रमा निगरानी बढाएको छ।
अनुसन्धानका क्रममा विभागले पछिल्लो केही वर्षयता जयवीर देउवा र उहाँका निकट आफन्तका नाममा खरिद गरिएको करिब ७३ रोपनी जग्गाको विवरण संकलन गरिसकेको छ। त्यस्तै, प्रदीपशमशेर जबरा र भूषण राणा लगायतका व्यक्तिहरूबाट भएका आर्थिक कारोबार र विभिन्न बैंक खाताहरूमा देखिएको रकम आदानप्रदानको पनि सुक्ष्म अध्ययन भइरहेको छ। नक्कली भुटानी शरणार्थी प्रकरण र नेपाल टेलिकमको बिलिङ अनियमितता जस्ता विवादित विषयहरूलाई समेत आधार बनाएर विभागले आफ्नो छानबिनलाई केन्द्रित गरेको बुझिएको छ।

Leave a Reply