काँक्रेविहार (सुर्खेत), ८ फागुन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ ।
सुर्खेतमा आज नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता डा कोइरालाले भन्नुभयो, “अहिले कांग्रेस पूरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो । कांग्रेसको विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्छ । चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ ।”
नेता डा कोइरालाले आगामी महाधिवेशनमा आफू सभापति पदको उम्मेदवारका रुपमा अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ । सरकार पनि यसमा गम्भीर बन्नुपर्छ ।”
अहिलेको सत्ता गठबन्धनले सात बुँदे समझदारी गरेको तर त्यो कार्यान्वयन हुन नसकेको नेता डा कोइरालाको भनाइ थियो । दुई ठूला दल मिले निरङ्कुुशता हुन्छ भन्ने कुरा गलत भएको उहाँले बताउनुभयो । कांग्रेस सत्तामा भए पनि आफूहरुले खबरदारी गरिरहेको उहाँले बताउनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बेलायतका राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा आयोजित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रममा सहभागी हुने क्रममा आज भएको भेटमा उहाँहरुबीचमा दुई देशबीचको ऊर्जा क्षेत्रका विविध विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले २०९ वर्ष पुरानो सम्बन्ध रहेको बेलायतले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा युकेएडमार्फत पुर्याउँदै आएको योगदानको उच्च कदर गर्नुभयो ।
उहाँले बेलायतले नेपाललाई ऊर्जा क्षेत्र सहायता कार्यक्रम, राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम, भूकम्पपछिको पुनः स्थापना तथा पुनःनिर्माण सहयोगप्रति आभार व्यक्त गर्नुभयो । भेटमा मन्त्री खड्काले नेपाल सरकारले हालै पारित गरेको ऊर्जा विकास मार्गचित्र, २०८१ ले राखेको विद्युत् उत्पादनको लक्ष्यलाई पूरा गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । उहाँले नेपालका लागि बेलायती राजदूतावासमार्फत सहयोग हुँदै आएको केन्द्रीय नवीकरणीय ऊर्जा कार्यक्रमलाई दुई वर्ष थप गर्न अनुरोध गर्नुभयो ।
उहाँले नेपालमा नवीकरणीय ऊर्जा र स्वच्छ ऊर्जा सङ्क्रमणको यात्रामा बेलायतको निरन्तर साझेदारीप्रति आभार व्यक्त गर्दै भविष्यमा दुईपक्षीय सहकार्य अझै बलियो हुने आशा व्यक्त गर्नुभयो । भेटमा नेपालका लागि बेलायती राजदूत रोबले हालैका केही दिनमा नेपालले ऊर्जा क्षेत्रको विकासमा चालेका कदमहरु सराहनीय रहेको बताउनुभयो ।
उहाँले नेपालले जलविद्युत् तथा नवीकरणीय ऊर्जाका अन्य स्रोतहरुलाई सन्तुलनमा राखेर भइरहेको कार्यले नेपाल मात्र नभई भारतलाई समेत स्वच्छ ऊर्जा उपलब्धतामा महत्वपूर्ण सघाउ पुगेको बताउनुभयो । उहाँले आगामी दिनमा बेलायत सरकारले ऊर्जाका अन्य क्षेत्रमा सघाउन लगानी समितिसँग छलफल भइरहेको जानकारी गराउनुभयो ।
चितवन, ६ फागुनः नारायणगढ–मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा आएका छन् । सो सडकमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।
सडक विस्तारसँगै चार पुल नयाँ बनाइएका थिए । पछि १५ नयाँ पुल बनाएसँगै सबै पुल विस्तार भएका हुन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दरैका अनुसार खहरे खोलाको पुल सञ्चालनमा आएसँगै सबै पुल निर्माणको काम सकिएको हो ।
सो पुल निर्माणस्थलमा घरटहरा रहेकाले मुआब्जा दिन ढिलाइ हुँदा पुल बन्न समय लागेको थियो । यसअघि तुइन खोलाको पुल सञ्चालनमा आएको थियो । दुई वर्ष हिउँदमा सडक रोकी भित्तो काटेर पहाड भत्काएर सो पुल निर्माण गरिएको हो ।
उक्त सडकखण्ड विस्तारसँगै त्यहाँ रहेका पुल फराकिलो बनाइएको हो । विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । विश्व बैङ्कको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुल सोहीअनुसार फराकिलो बनाइएको छ ।
पुल निर्माण अनक कन्स्ट्रक्सनले गरेको हो । रु एक अर्ब २६ करोड ५० लाख पाँच हजार ५९६ को लागतमा पुल निर्माण सम्पन्न भएको दरैले जानकारी दिनुभयो । ३ वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो । झण्डै २ वर्ष थप समय लगाएर पुल निर्माण सम्पन्न भएको हो ।
कोभिड, मुआब्जा वितरण, भित्तो काट्न समस्या, विद्युत्का तार तथा खम्बा व्यवस्थापन, मठ–मन्दिर, शौचालय, प्रतीक्षालय स्थानान्तरण लगायतका कारण सम्झौता गरिएको समयमा काम सम्पन्न हुन नसकेको दरैको भनाइ छ । यो सडक हुँदै दैनिक १० हजार बढी सवारी साधन आवतजावत गर्ने गर्दछन् । यसमध्ये धेरै राजधानी जाने र बाहिरिने हुने गर्दछन् । पुल विस्तारसँगै सवारी साधन जामको समस्या कम हुने अनुमान गरिएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित कैह्योलोङ गुफा ओझेलमा परेको छ । जोमसोमको प्रवेशद्वारमा रहेको स्याङ खोलाको किनारमा पर्ने कैह्योलोङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा सुनसान बनेको हो ।
स्याङखोलाको पुल भएर वार्षिक तीन लाखभन्दा बढी पर्यटक आवतजावत गर्ने मुस्ताङको कैह्योलोङ गुफा पुग्नेको सङ्ख्या नगन्यमात्रामा रहेको स्याङका बासिन्दा देवेन्द्र थकालीले बताउनुभयो । “जोमसोमको प्रवेशद्वारमा भए पनि कैह्योलोङ गुफाको महत्व र विशेषताका बारेमा प्रचारप्रसारका साथै यहाँसम्म पुग्ने व्यवस्थित पदमार्ग नहुँदा ओझेलमा परेको हो”, उहाँले भन्नुभयो, “कैह्योलोङ गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग र पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्नसकेमा मुस्ताङमा आउने पर्यटकको बसाई लम्बाउन सकिने थियो ।”
थकाली भाषामा कैह्योलोको अर्थ बिहे नगरेको र ङलाई ओडार भन्ने गरिन्छ । बिहे नगरेका लामा ध्यान र तपस्या बस्ने ठाउँ भएकाले कैह्योलोङ गुफा नामकरण गरिएको थकालीले बताउनुभयो ।
गुफाभित्र तीन वटा कोठा छन् । परापूर्वकालमा लामाहरूले खाना पकाउन र ध्यान बस्नका लागि प्रयोग गरेका सामग्रीहरू गुफामा अवलोकन गर्न पाइन्छ । स्याङखोलाको किनारमा रहेको पहाडको भित्तामा गुफा रहेको छ । स्याङखोलाको मोटरेबल पुलदेखि १० मिनेट पैदलयात्रा गरेपछि गुफामा पुगिन्छ ।
स्याङका पूर्ववडासचिव किरन सापकोटाले कैह्योलोङ गुफा मानव सभ्यताको विकाससम्बन्धी अध्ययन गर्नेका लागि खोजीको विषय बन्नसक्ने बताउनुभयो । गुफाको बनोट र अवस्थिति देखेर अनौठो लागेको उहाँले अनुभव सुनाउनुभयो । बाहिरबाट पहाडको बीचमा सानो प्वाल देखिए पनि भित्र पस्दा घरमै बसेको जस्तो महसुस हुने सापकोटाले प्रतिक्रिया दिनुभयो ।
जनकल्याण युवा क्लबले स्याङ खोलाको किनारबाट गुफासम्म पुग्ने करिब २० मिटर रेलिङसहितको पदमार्ग बनाइएको छ । स्याङखोलाको मोटरेबल पुलबाट गुफाको फेदीसम्म करिब पाँच सय मिटर पदमार्ग बनाउन आवश्यक छ । हाल खोलाको किनारै किनार हिडेर गुफामा पुग्नुपर्छ ।
घरपझोङ गाउँपालिका–३ का वडा सदस्य वीरप्रसाद थकालीले जोमसोमको पुथाङ विमानस्थल, शिन्तामणि होटल, कैह्योलोङ गुफा, किचिथाङ झोलुङ पुल हुँदै स्याङ गाउँ जोड्ने छोटो दूरीको पदमार्गको परिकल्पना गरिएको जानकारी दिनुभयो । उक्त परिकल्पनाअनुसार गाउँपालिकाले किचिथाङमा एक सय २० मिटर लामो झोलुङ्गे पुल, स्याङमा मनशान्ती पार्क निर्माण र स्याङखोलामा साउना बाथ सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
जोमसोमबाट शिन्तामणि होटल, किचिथाङको झोलुङ्गे पुल हुँदै स्याङ जोड्ने छोटो दूरीको पदमार्गले पर्यटकको बसाई लम्ब्याउने र पर्यटकलाई प्रकृतिमा रमाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
युक्रेन युद्धको समाधानका लागि साउदी अरबमा रुस र अमेरिकाबिच भएको उच्चस्तरीय बैठक सकिएको छ ।
उक्त बैठकमा अमेरिकी विदेश मन्त्री मार्को रुबियो र रुसी विदेश मन्त्री सर्गेई लाभरोभ सहभागी रहेका थिए । उनीहरू दुवै सोमबार राजधानी रियाद पुगेका थिए ।
लाभरोभका साथै रुसको तर्फबाट पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ पनि उपस्थित थिए भने उता अमेरिकी विदेशी मन्त्री रुबियोका साथै राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज र मध्यपूर्वका लागि वाशिङटनका विशेष दूत स्टिभ विटकफ पनि अमेरिकी प्रतिनिधिमण्डलमा सामेल रहेको जनाइएको छ ।
यसैबिच क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘आवश्यक परेमा राष्ट्रपति पुटिन युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको बताएका छन्। यद्यपि, प्रश्न यो छ कि जेलेन्स्की साँच्चै युक्रेनको राष्ट्रपति हुन् ?’ उनले जेलेन्स्कीलाई मान्यता नदिने सङ्केत गरेका छन् ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग कुरा गर्दै रुस युक्रेनलाई युरोपेली सङ्घमा सामेल गर्ने पक्षमा नभएको बताए । रुसले यस सङ्गठनलाई आफ्नो सुरक्षाको लागि खतरा मानेको पनि छैन। पेस्कोभले भने, ‘यो युक्रेनले युरोपेली युनियनमा सामेल हुने वा नपर्ने निर्णय गर्ने हो, यस संस्थाको हिस्सा बन्न पाउनु कुनै पनि देशको ‘सार्वभौम’ अधिकार हो ।’ तर नाटोजस्ता रक्षा सङ्गठनहरूप्रति रुसको फरक धारणा रहेको उनले जनाए ।
उता, युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई युक्रेन युद्धमा शान्ति वार्तामा निमन्त्रणा भने गरिएको छैन। युक्रेनी सरकारका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बिबिसी न्युजले यो कुरा पुष्टि गरेको छ । यसअघि अमेरिकी विशेष दूत किथ केलोगले युक्रेनको संलग्नताबारे कुरा गरेका थिए ।
यो बैठकमा युरोपेली देशका नेताहरूलाई समेत निमन्त्रणा गरिएको थिएन । युरोपलाई वार्ताबाट बाहिर राख्ने डरले फ्रान्सेली राष्ट्रपतिले एक दिनअघि नै शिखर सम्मेलन स्थगित गरेका थिए, जहाँ युरोपेली देशका नेताहरूको सहभागिता रहेको थियो ।
साउदीमा रुस र अमेरिकाका बिचमा उच्चस्तरीय वार्ता हुने अघिल्लो दिन युक्रेनी राष्ट्रपति जेलेन्स्की भने मध्यपूर्वको अर्को देश संयुक्त अरब इमिरेटस पुगेका थिए । तर, उनको भेटवार्ता र छलफलका बारेमा भने कुनै जानकारी दिइएको छैन ।
काठमाडौं, ६ फागुन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौ बैठक (सिनेट) ले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले रजिष्ट्रार प्रा. श्याम लम्सालद्वारा प्रस्तुत नीति, योजना, कार्यक्रम र बजेटसम्बन्धी प्रस्तावहरु छलफलसहित स्वीकृत गरिएका हुन् ।
प्रतिष्ठानले हाल तीन सय ३० बेडको व्यवस्थाअन्तर्गत विभिन्न विषयमा विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्दै आएकामा आगामी दिनमा ४ सय बेडको शिक्षण अस्पताल निर्माण सम्बन्धी गुरुयोजना पारित गरेको छ । सोका लागि अर्थ मन्त्रालयमा स्रोत सुनिश्चितताको प्रक्रिया अघि बढेको छ ।
बैठकले प्रतिष्ठानको सभा सदस्यमा पदेन पदाधिकारीका अतिरिक्त दलित, आदिवासी÷जनजाति तथा पिछडिएका वर्गबाट प्रतिनिधित्व हुने गरी कार्यकारी परिषद्को सिफारिसमा बलीभद्र राना, श्रीप्रकाश श्रेष्ठ, यमुना थापा मगर, सुशीला चौधरी, चन्दादातामध्येबाट सुदीप गौतम र कर्मचारी मध्येबाट विनोद दाहाललाई मनोनयनको निर्णयसमेत गरेको छ ।
यस्तै बैठकले प्रतिष्ठानको स्वामित्वको अतिक्रमित जग्गा खाली गराई उपयोग ल्याउने, कार्यकारी परिषद सदस्यमा मनोनयन र कर्मचारी सेवा, शर्त नियमावलीलाई विस्तृत गृहकार्य गरी आगामी बैठकमा पेस गर्न निर्देशन दिएको छ ।
प्रतिष्ठानको आर्थिक वर्ष २०७९÷०८० र २०८०÷८१ को बजेट तथा कार्यक्रम तततत सयममा सिनेट बैठक बस्न नसके पछि अनुमोदन गर्नुपर्ने अवस्था आउने खालका कमजोरी आगामी दिनमा नगर्न प्रधानमन्त्री ओलीले निर्देश गरेका छन ।
नियम, विधि र प्रक्रिया पूरा गरी समयभित्रै कार्य सम्पन्न गर्ने अभ्यासमा जान निर्देशन दिदैँ नेपाली जनताको खुसी र मुलुकको समृद्धिमा ध्यान दिएर सबै क्षेत्रबाट अवस्थामा थप परिवर्तन ल्याउन पनि जोड दिएका छन ।
बैठकले आगामी बजेट निर्माणका लागि रजिष्ट्रार लम्सालको संयोजकत्वमा समिति गठन गरेको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं सहकुलपति प्रदीप पौडेल र प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने, राष्ट्रिय योजना आयोगका सदस्य, स्वास्थ्य र अर्थ मन्त्रालयका सचिवहरुलगायत सहभागी थिए ।
काठमाडौं, ६ फागुन । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को भुक्तानी रोकिएको छ ।
अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले गत २०८१ फागुन २ गतेको इ–मेल पत्रमार्फत् अर्को निर्णय नहुन्जेल ९० दिनसम्मको भुक्तानी रोकिएको जानकारी अर्थ मन्त्रालयलाइ दिएको छ ।
‘नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ’ अर्थ मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै भनेको छ ।
पछिल्लो तीन वर्षदेखि रुस र युक्रेनबीच चलिरहेको युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले व्यस्त रहेका छन् ।
यसैबीच अब ट्रम्पले मे महिनामा रुसको भ्रमण गरी रुसमा हुने समारोहमा सहभागी हुन सक्ने खुलासा भएको छ । जानकारी अनुसार अमेरिकी राष्ट्रपति ट्रम्प मे ८ र ९ मा रुसको भ्रमण गर्न सक्ने छन्, जुन भ्रमणको तयारी सुरू भएको छ । ट्रम्पले रूसको विजय दिवसको उत्सवमा भाग लिन सक्ने सम्भावना बढेर गएको छ, रूसको विजय दिवस मे ९ मा मनाइन्छ।
यसअघि ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग फोनमा कुराकानी गरेका थिए भने सो फोन पछि उनले रूसको प्रतिद्दन्दी मुलुक युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग पनि फोनमा कुराकानी गरेका थिए । त्यस बेला देखि रुस–युक्रेन युद्धको पूर्णविरामको बारेमा अड्कलबाजी सुरु भएको छ । ट्रम्पले दुवै देश युद्द रोक्न सहमत भएको जनाएका थिए ।
यसअघि पनि रुसी राष्ट्रपति पुटिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विजय दिवसमा सहभागी हुन आमन्त्रण गरेको र उनी त्यसमा सहभागी हुने विचार गरिरहेको खुलासा भएको थियो । क्रेमलिनले पनि ट्रम्पको सम्भावित भ्रमणको तयारी भइरहेको संकेत गरिसकेको छ ।
रूस–युक्रेन युद्ध अन्त्यका लागि ट्रम्पले रुसका राष्ट्रपति र युक्रेनका राष्ट्रपतिसँग वार्ता गरेर युद्ध अन्त्य गर्नेतर्फ ठूलो कदम चाले पछि पुटिन र ट्रम्पका बिचमा सबन्ध सुधार भइरहेको छ । उनले रुस–युक्रेन युद्धमा हजारौं मानिसको रगत बगोस् भन्ने पनि पुटिन चाहँदैनन्, अब यसलाई अन्त्य गर्नुपर्छ भन्ने सन्देश विश्वलाइ दिइसकेका छन ।
सो क्रममा उनले विश्वयुद्दः२ मा अमेरिका–रुस गठबन्धनको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य अझ सुदृढ हुने संकेत गरिसकेका थिए । तर, सो अघि भने ट्रम्पले दुवै नेताले एकअर्काको देश भ्रमण गर्ने बताएका थिए । ट्रम्पको भ्रमणपछि रुस–युक्रेन युद्ध अन्त्य हुने र दुई देशबीच सम्झौता हुने अपेक्षा गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
डोनाल्ड ट्रम्पको यो रुस भ्रमण पछि रुस र अमेरिकाबीचको सम्बन्ध थप मजबुत हुने र एक दशकभन्दा बढी समय पछिको यो कुनै पनि अमेरिकी राष्ट्रपतिको पहिलो रुस भ्रमण हुनेछ । ट्रम्पको भ्रमणले रुसलाई युक्रेनको मुद्दामा अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने अवसर दिनेछ ।
भने, क्रेमलिनसँग नजिक रहेका द्रिमितिभले रूस र अमेरिका बिच आर्थिक साझेदारीका बारेमा सम्झौताको तयारी भइरहेको यसअघि नै बताइसकेका छन ।
प्रतिनिधिसभा बैठक बस्दैँछ ।संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ बजे बोलाइएको छ ।
संसद सचिवालयका अनुसार सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट कार्यभार थप सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने कार्यसुचीमा उल्लेख छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नका जवाफ दिने कार्यक्रम रहेको छ ।
गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ माथी सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन भने बन तथा बातावरण मन्त्री एेनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संसोधन माथी सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै बिहानीपख तराईका केही भू-भागहरुमा हुस्सु र कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।