अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मेक्सिकोलाई विवादास्पद दशकौँ पुरानो सन्धिअन्तर्गत टेक्सासलाई थप पानी उपलब्ध नगरेसम्म व्यापारमा ‘बढ्दो परिणाम’ हुने धम्की दिनुभएको छ ।
“मेक्सिकोले टेक्सासका किसानहरूबाट पानी चोरिरहेको छ र गत वर्ष पानीको अभावका कारण टेक्सासको एकमात्र चिनी मिल बन्द भयो”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गर्नुभयो ।
मेक्सिकोले सन् १९४४ को सम्झौता उल्लङ्घन गरिरहेको उहाँले दाबी गर्नुभयो । उक्त सन्धिअन्तर्गत संयुक्त राज्य अमेरिकाले कोलोराडो नदीबाट रियो ग्रान्डेबाट बग्ने पानीको बदलामा पानी बाँड्छ, जुन दुई देशबीचको सिमानाको हिस्सा हो ।
“मेक्सिकोले सन्धिको सम्मान नगरेसम्म हामी भन्सार कर र सम्भवतः प्रतिबन्धहरू सहितका परिणामहरू बढाइरहनेछौँ”, ट्रम्पले लेख्नुभएको छ ।
दुई देशको सीमा र पानी आयोगका अनुसार वर्तमान सन्धि चक्र अक्टोबरमा समाप्त हुँदैछ र मेक्सिकोले संयुक्त राज्य अमेरिकालाई एक अर्ब ५५ करोड घनमिटरभन्दा बढी पानी दिनुपर्ने छ ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले बिहीबार आफ्नो सरकारले चलिरहेको खडेरीको अवस्थामा ‘पानीको उपलब्धताको हदसम्म’ सन्धिको पालना गरिरहेको बताउनुभयो ।
आफ्नो सरकारले अमेरिकी विदेश मन्त्रालयलाई ‘व्यापक प्रस्ताव’ पठाएको उहाँले सोसल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा भन्नुभयो । “म विश्वस्त छु कि अन्य मामिलाहरूमा जस्तै एउटा सहमतिमा पुग्नेछ ।”
वासिङ्टनले मार्च २० मा मेक्सिकोले पहिलो पटक पानीको विशेष वितरणका लागि गरेको अनुरोधलाई अस्वीकार गरेको बताएको थियो ।
मेक्सिकोले रियो ग्रान्डे बेसिनमा दुई दशकको खडेरीका कारण आफ्नो डेलिभरी ढिलो भएको बताएको छ ।
यद्यपि अमेरिकी किसान र सांसदहरूले उनीहरूको दक्षिणी छिमेकीले प्रत्येक पाँच वर्षको वितरण चक्रको अन्त्यसम्म प्रतीक्षा गरेको र पछिल्लो अवधिमा छोटो भइरहेको गुनासो गरेका छन् ।
दुई देशले नोभेम्बरमा दक्षिणी अमेरिकी राज्यहरूमा पानीको अभाव रोक्ने उद्देश्यले मेक्सिकोबाट नदीको पानीको अधिक भरपर्दो वितरण गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सन्धिको पालना गर्ने मेक्सिकोको प्रयासले विगतमा नागरिक अशान्ति निम्त्याएको छ ।
सन् २०२० मा उत्तरी राज्य चिहुआहुआका किसानहरूले संयुक्त राज्य अमेरिकामा जलाशयबाट पानी आपूर्ति गर्नबाट सरकारलाई रोक्न बाँध कब्जा गरेका थिए, जसले प्रदर्शनकारीहरू र नेसनल गार्डबीच झडप हुँदा एक व्यक्तिको मृत्यु भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी कान्छी छोरी चाँडै आमा बन्न लागेकी छिन् ।
खासमा ३१ वर्षीया टिफनी ट्रम्पले यसै वर्षको अप्रिलमा पहिलो सन्तानलाई जन्म दिने भएकी छिन् । जस पछि ट्रम्प ११ औं पटक हजुरबुबा बन्न लागेका छन् ।
हालै, टिफनी ट्रम्पले मियामीमा आफ्ना पति माइकल बुलोससँग ह्याङ्ग आउट गर्दा उनको बेबी बम्प देखाएको देखियो। डेली मेल रिपोर्टका अनुसार दम्पती गएको शनिबार बेलुका ७ बजे दक्षिण बीचको कल मी ग्याबीमा गोप्य सेवाको साथ आइपुगेका थिए ।
यस अवधिमा टिफनीले चकलेट ब्राउन रंगको म्याक्सी ड्रेस लगाएकी थिइन्। यससँगै उनले गुलाबी रंगको पर्स, मिल्दो चप्पल र गुलाबी फोनको केस पनि बोकेकी थिइन् ।
टिफनी ट्रम्पले अक्टोबर २०२४ मा आफ्नो गर्भावस्थाको घोषणा गरेकी थिइन्। डोनाल्ड ट्रम्प आफैंले यो खबरको पुष्टि गर्दै आफ्नी छोरी छिट्टै आमा बन्न लागेको बताएका हुन् । यसपछि टिफनी जनवरी २०२४ मा आफ्नो बुबाको सपथ ग्रहण समारोहमा पनि सहभागी भइन्।
टिफनीको जन्म सन् १९९३ मा भएको थियो। उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी चौथो सन्तान र कान्छी छोरी हुन्। टिफनी डोनाल्ड ट्रम्पकी दोस्रो पत्नी र अभिनेत्री मार्ला म्यापल्सकी सन्तान हुन्।
टिफनीले २०१२ मा क्यालिफोर्नियाको भ्यूपोइन्ट स्कूलबाट आफ्नो स्कूली शिक्षा पूरा गरेकी थिइन् । त्यसपछि उनले पेन्सिल्भेनिया विश्वविद्यालयमा भाग लिइन् र २०१६ मा समाजशास्त्रमा कला स्नातक डिग्री प्राप्त गरिन। जसमा कानून र समाजमा विशेष ध्यान दिइएको थियो टिफनीले सन् २०१८ मा माइकल बोलोससँग विवाह गरेकी थिइन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनुभएको ५० प्रतिशत थप भन्सार महसुलको धम्कीविरुद्ध चीनले मङ्गलबार ‘अन्त्यसम्म लड्ने’ प्रतिज्ञा गरेको छ ।
चीनको उक्त घोषणाले विश्व बजारबाट पहिले नै खर्बौं डलर गुमाइसकेको व्यापारिक युद्धलाई अझ बढाएको छ ।
ट्रम्पले गत हप्ता व्यापक भन्सार महसुल लगाएर विश्व अर्थतन्त्रलाई हल्लाउनुभएको थियो । यसले अन्तर्राष्ट्रिय मन्दीको खतरा उत्पन्न गरेको छ तर बजारमा नाटकीय गिरावट आए पनि उहाँले आफ्नो आक्रामक व्यापार नीतिमा कुनै विराम दिने सम्भावनालाई अस्वीकार गर्नुभएको छ ।
विश्वको दुई ठूला अर्थतन्त्र बीचको भिडन्तमा वासिङ्टनको प्रमुख आर्थिक प्रतिद्वन्द्वी बेइजिङले बिहीबारदेखि लागु हुने अमेरिकी सामानहरूमा आफ्नै ३४ प्रतिशत भन्सार शुल्कको घोषणा गरेर प्रतिक्रिया दिएको छ ।
चीनबाट आएको द्रुत प्रतिक्रियाले ट्रम्पबाट नयाँ चेतावनी प्राप्त गरेको छ । यदि बेइजिङले उहाँको भन्सार महसुलको ब्यारेजविरुद्ध पछि हट्न अस्वीकार गरे उहाँले थप शुल्क लगाउने बताउनुभएको छ । यसले चिनियाँ वस्तुहरूमा कुल भन्सार शुल्क १०४ प्रतिशत पु¥याउनेछ ।
“मलाई चीनप्रति ठूलो सम्मान छ तर उनीहरूले यस्तो गर्न सक्दैनन्”, ट्रम्पले ह्वाइट हाउसमा भन्नुभयो, “हामीसँग एउटा मौका छ… म तपाईंलाई के भन्छु भने, यो गर्नु सम्मानको कुरा हो ।”
अमेरिकाले गरेको ‘ब्ल्याकमेलिङ’ को आलोचना गर्दै चीनले तुरुन्तै प्रतिक्रिया दिएको छ र यस्तो कार्यलाई ‘कहिल्यै स्वीकार नगर्ने’ बताएको छ ।
“यदि अमेरिका आफ्नै बाटोमा हिँड्न जोड दिन्छ भने, चीनले अन्त्यसम्म लड्ने छ । ट्रम्पको धम्कीले एक पटक फेरि अमेरिकाको ब्ल्याकमेल गर्ने प्रकृतिलाई उजागर गर्दछ”, बेइजिङको वाणिज्य मन्त्रालयका प्रवक्ताले मङ्गलबार भने, “यदि अमेरिकाले आफ्ना भन्सार शुल्क उपायहरू बढाउँछ भने, चीनले आफ्नो अधिकार र हितहरूको रक्षा गर्न दृढतापूर्वक जवाबी कदम चाल्नेछ ।”
मन्त्रालयले संयुक्त राज्य अमेरिकासँग ‘संवाद’ चाहेको र ‘व्यापार युद्धमा कुनै विजेता नहुने’ दोहोर्याएको छ ।
– बजार अशान्ति –
ट्रम्पको भन्सार महसुलले पछिल्ला दिनहरूमा बजारमा पहिले नै नाटकीय प्रभाव पारेको छ । एसियाली वित्तीय सङ्कटयताको सबैभन्दा खराब दिन हङकङको ह्याङ सेङ सोमबार १३ दशमलव दुई प्रतिशतले खस्केको छ । त्यसपछि मङ्गलबारको कारोबारको सुरुआतमा केही नोक्सानी फिर्ता गरेको छ ।
अस्थिर सत्रपछि वाल स्ट्रिट सेयरहरू घटेर समाप्त भए । डाउ र एसएन्डपी ५०० दुवै घट्दै अन्त्य भए । हालैका सत्रहरूमा संयुक्त सेयर बजार मूल्याङ्कनबाट खर्बौं डलर उडेको छ ।
ट्रम्पले सोमबार फेरि दोहोर्याउँदै भन्सार महसुल कार्यान्वयनमा कुनै ‘विराम नहेरिरहेको’ बताउनुभयो ।
उहाँले भन्सार महसुलका बारेमा चीनसँग कुनै पनि बैठक रद्द गर्नुभयो तर वार्ता गर्न इच्छुक कुनै पनि देशसँग वार्ताका लागि संयुक्त राज्य अमेरिका तयार रहेको बताउनुभयो ।
सोमबार साङ्घाईमा सेयरहरूले ठूलो धक्का खाएपछि चीनको केन्द्रीय बैंकले मङ्गलबार कारोबार पुनः सुरु हुनुअघि एक बयान जारी गरी बजारलाई स्थिर बनाउन एक्सचेन्ज ट्रेडेड फन्डहरू खरिद गर्दा यो सार्वभौम कोषको पछाडि उभिएको छ भनेर जोड दिएको छ ।
विनाशकारी व्यापार युद्धबाट कुनै राहत खोज्ने लगानीकर्ताहरूका साथ टोकियोमा मङ्गलबार सेयरहरू उचालिए । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले फक्स न्युजसँगको अन्तर्वार्तामा जापानले अमेरिकी भन्सार महसुलमा ‘वार्तामा प्राथमिकता’ पाउने सङ्केत दिनभएपछि ‘सेयरहरू धेरै चाँडै अगाडि आए’ ।
अमेरिकी आयातमा विश्वभरबाट १० प्रतिशत ‘आधार’ भन्सार महसुल शनिबार लागू भयो र बुधबारदेखि धेरै देशमा उच्च भन्सार शुल्क लाग्नेछ । यसमा चिनियाँ वस्तुहरूका लागि ३४ प्रतिशत र युरोपेली सङ्घ (इयु) उत्पादनहरूका लागि २० प्रतिशत भन्सार शुल्क समावेश छ ।
धेरै मुलुकले वार्ता खोजेको बेसेन्टले फक्स न्युजलाई बताउनुभयो । “राम्रो वार्तामार्फत हामीले गर्ने सबै कुरा भनेको स्तरहरू घट्नु हो”, उहाँले भन्नुभयो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेट्दा भन्सार शुल्कहरूमाथि ट्रम्पसँग व्यक्तिगत रूपमा वकालत गर्ने पहिलो नेतासँग अमेरिकी राष्ट्रपतिले भन्नुभयो, “त्यहाँ स्थायी भन्सार महसुल हुनसक्छ र त्यहाँ वार्ता पनि हुनसक्छ, किनकि भन्सार महसुल बाहेक हामीलाई चाहिने कुराहरू छन् ।”
इयुका व्यापार मन्त्रीहरू सोमबार लक्जमबर्गमा ब्लकको प्रतिक्रियाबारे छलफल गर्न आएका थिए । त्यहाँ जर्मनी र फ्रान्सले अमेरिकी प्रविधि दिग्गजहरूलाई लक्षित कर लगाउन पैरवी गरेका थिए ।
“हामीले वस्तुहरूमा, सेवाहरूमा कुनै पनि विकल्प बाहिर राख्नु हुँदैन”, फ्रान्सेली व्यापारमन्त्री लरेन्ट सेन्ट–मार्टिनले भन्नुभयो, २७–राष्ट्र ब्लकले युरोपेली टुलबक्स खोल्नुपर्छ जुन धेरै व्यापक छ र अत्यन्तै आक्रामक पनि हुनसक्छ ।”
– मुद्रास्फीति ? मन्दी ? –
बजारले आफ्नो अस्थिर यात्रा जारी राख्दै गर्दा ट्रम्पले अमेरिकीहरूलाई भन्नुभयो, “कमजोर नबन्नुहोस ! मूर्ख नबन्नुहोस !”
अठहत्तर वर्षीय रिपब्लिकन राष्ट्रपति ट्रम्प भन्सार महसुलले विदेशी कम्पनीहरूलाई वस्तुहरू विदेशमा बनाउनुको सट्टा संयुक्त राज्य अमेरिकामा स्थानान्तरण गर्न बाध्य पारेर अमेरिकाको हराएको उत्पादन आधारलाई पुनर्जीवित गर्नेछ भन्ने विश्वास गर्नुहुन्छ ।
तर अधिकांश अर्थशास्त्रीहरूले उहाँको सिद्धान्तमाथि प्रश्न उठाउँछन् र उहाँको करहरू स्वेच्छाचारी भएको बताउँछन् ।
जेपी मोर्गन चेजका सिइओ जेमी डिमोनले आउँदो मुद्रास्फीतिको चेतावनी दिँदै भन्नुभयो, “भन्सार महसुलको मेनुले मन्दी ल्याउँछ वा ल्याउँदैन भन्ने प्रश्न रहन्छ, तर यसले वृद्धिलाई सुस्त पार्छ ।”
ट्रम्पका कट्टर समर्थक अमेरिकी सिनेटर टेड क्रुजले सामान्य मतदाताहरूमा पर्ने प्रभावबारे रिपब्लिकन सांसदहरूबीच व्यापक चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले रोजगारीको अभाव र बढ्दो मूल्यको चेतावनी दिँदै मन्दीको अर्थ अर्को वर्ष मध्यावधि चुनावमा रिपब्लिकनहरूका लागि ‘रक्तपात’ हुने बताउनुभयो ।
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले मङ्गलबार जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गर्नुभएको छ ।
मुलुकका पूर्वराष्ट्रपति युन सुक योलको मार्शल ल घोषणाको विनाशकारी प्रयासपछि उहाँलाई पदबाट हटाइएपछि यो निर्णय आएको हो ।
पूर्वराष्ट्रपति युनले नागरिक शासन अवरुद्ध गर्ने प्रयास गर्नुभएको तर सांसदहरूद्वारा तुरुन्तै महाभियोग लगाइएको र पदबाट निलम्बन गरिएपछि दक्षिण कोरिया डिसेम्बरदेखि प्रभावकारी रूपमा नेतृत्वविहीन रहेको छ ।
गत हप्ता अदालतले उहाँको महाभियोगलाई सदर गरेको थियो । उक्त फैसलाले उहाँलाई शीर्ष पदबाट हटाएसँगै ६० दिनभित्र नयाँ निर्वाचन गराउनुपर्ने प्रावधानअनुसार नयाँ निर्वाचनको मार्ग खुलेको हो ।
सरकारले ‘राष्ट्रिय निर्वाचन आयोग र अन्य सम्बन्धित निकायहरूसँग छलफल गरेको’ प्रधानमन्त्री हान डक–सुले मङ्गलबार बताउनुभयो ।
यसले ‘सहज निर्वाचन सञ्चालन सुनिश्चित गर्न र राजनीतिक दलहरूलाई तयारीका लागि पर्याप्त समय दिन आवश्यक छ’ भन्ने कुरालाई पनि ध्यानमा राखेको उहाँले बताउनुभयो ।
फलस्वरूप ‘दक्षिण कोरियाको २१औँ राष्ट्रपति निर्वाचनको मिति जुन ३ तोक्ने निर्णय गरेको’ भन्दै उहाँले मतदानलाई सहज बनाउन त्यस दिनलाई अस्थायी सार्वजनिक बिदाका रूपमा तोकिने जानकारी दिनुभयो ।
प्रधानमन्त्री हानले मन्त्रालय र राष्ट्रिय निर्वाचन आयोगलाई ‘पहिलेभन्दा निष्पक्ष र पारदर्शी एवं जनताको विश्वास कमाउन सक्ने निर्वाचन सुनिश्चित गर्न पूर्ण तयारी गर्न’ आह्वान गर्नुभयो ।
नियमित निर्वाचनमा राष्ट्रपति–निर्वाचित व्यक्तिलाई दुई महिनाको सङ्क्रमणकालीन अवधि दिइन्छ भने जुन ३ को निर्वाचनमा विजयी हुने व्यक्ति अर्को दिनै पदमा नियुक्त हुनेछन् ।
अहिलेका लागि प्रधानमन्त्री हानले कार्यवाहक राष्ट्रपतिका रूपमा सरकार चलाइरहनुभएको छ । संवैधानिक अदालतले उहाँको आफ्नै महाभियोगलाई खारेज गरेपछि उहाँले भर्खरै पुनः काम सुरु गर्नुभएको हो ।
– चुनावी अभियान मे देखि शुरु –
राष्ट्रपति निर्वाचन सामान्यतया बुधबारहरूमा गरिन्छ तर रिक्त पदपूर्तिका लागि आयोजित आकस्मिक मतदानका लागि कुनै विशेष दिन तोकिएको छैन ।
आधिकारिक चुनावी अभियान मे १२ देखि जुन २ सम्म चल्नेछ ।
विपक्षी नेता ली जे–म्युङ अहिलेसम्मको जनमत सर्वेक्षणमा अग्रस्थानमा रहनुभएको छ । पछिल्लो ग्यालप सर्वेक्षण अनुसार उहाँको समर्थन दर ३४ प्रतिशत रहेको छ ।
उहाँको पार्टीले पहिले नै राष्ट्रिय विधानसभामा नियन्त्रण गरेको छ ।
सन् २०२२ को राष्ट्रपति चुनावमा उहाँ युनसँग थोरै मतले पराजित हुनुभयो तर चलिरहेको मुद्दासहित कानूनी समस्याहरूले छायामा पारेको करियरका बाबजुद मुख्य विपक्षी दलका नेताका रूपमा राजनीतिक पुनरागमन गर्नुभयो । दोस्रो स्थानमा श्रममन्त्री किम मुन–सु हुनुहुन्छ ।
नौ प्रतिशत मत पाउँदै उहाँले युनको पिपल्स पावर पार्टीका चुनौतीकर्ताहरूको समूहको अगुवाइ गर्दै हुनुहुन्छ । यसमा पूर्व पार्टी प्रमुख हान डोङ–हुन पनि समावेश हुनुहुन्छ ।
लाखौँ कोरियालीले शुक्रबार संवैधानिक अदालतले युनलाई पदबाट हटाउने फैसला प्रत्यक्ष टेलिभिजनमा हेरेका थिए ।
यूनले सांसदहरूलाई आफ्नो आदेशलाई मतदान गर्नबाट रोक्नका लागि सशस्त्र सैनिकहरू संसद्मा पठाउनुभएको थियो । उक्त आदेशलाई अदालतले ‘राजनीतिक उद्देश्यका लागि’ सेना तैनाथ गरेको बताएको छ ।
युन सन् २०१७ मा पार्क ग्युन–हाइपछि अदालतले महाभियोग लगाउने दोस्रो दक्षिण कोरियाली नेता हुनुहुन्छ ।
दक्षिण कोरियाले मार्शल ल घोषणा गरेदेखि चार महिना राज्यका प्रभावकारी प्रमुख बिना बिताएको छ ।
नेतृत्वको अभावमा देशले विमान दुर्घटना र देशको इतिहासमा सबैभन्दा घातक डढेलो लगायत विभिन्न सङ्कट र चुनौतीहरू भोग्नुपरेको छ ।
गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी तथाकथित पारस्परिक करहरू लगाउनुभएपछि दक्षिण कोरियामाथि प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकामा गरिने निर्यातमा २५ प्रतिशत भन्सार महसुल लगाइएको थियो ।
युनले मार्शल ल प्रयाससँग सम्बन्धित विद्रोहको आरोपमा अलग फौजदारी मुद्दाको सामना पनि गरिरहनुभएको छ ।
मध्य युक्रेनी सहर क्रिभिई रिहको आवासीय क्षेत्रमा रुसी मिसाइल आक्रमण भएको छ ।
सो आक्रमणमा परी ९ बालबालिका सहित कम्तीमा १८ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
यसलाई यस वर्षको मस्कोको सबैभन्दा घातक हमलामध्ये एक भनिएको छ। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगरमा शुक्रबारको आक्रमण भएको हो ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको लागि जोड दिइरहेका बेला मस्कोवाट यो घातक हमला भएको हो ।
स्थानियका अनुसार सो हमला पछि आवासीय घरहरूमा क्षति पुर्याएको र भयंकर आगो लागेको निप्रोपेट्रोव्स्कका गभर्नर सेर्ही लिसाकले टेलिग्राम सन्देशमार्फत जानकारी दिएका हुन् । उनका अनुसार मृतक र घाइतेहरू फुटपाथमा लडिरहेका देख्न सकिन्छ।
युक्रेनी मिडियाका अनुसार सो आक्रमणमा परी कम्तिमा ५० जना घाइते भएका छन् । आपतकालीन सेवाहरूले भनेका छन, ‘यो संख्या बढ्दै गएको छ। ३ महिनाको बच्चा सहित ३० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको छ ।’
रुसी सेनाले ब्यालेस्टिक मिसाइल प्रयोग गरेको मानव अधिकारवादी ओम्बड्सम्यान दिमिट्रो लुबिनेट्सले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘गोल्डेन भिसा’ योजनाले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
यो योजना अन्तर्गत ५० लाख डलर अर्थात ६८ करोड ६३ लाखमा नेपाली रूपैयाँमा ‘गोल्ड कार्ड’ खरिद गर्नेहरूले अमेरिकामा स्थायी बसोबास र वैकल्पिक नागरिकता पाउने छन्।
अमेरिकी वाणिज्य सचिव हावर्ड लुट्निकका अनुसार यो योजना अन्तर्गत एकै दिनमा १ हजार ‘गोल्ड कार्ड’ बिक्री भएको छ, जसले यसको ठूलो माग प्रष्ट पारेको छ ।
‘अल इन पोडकास्ट’ मा जानकारी दिँदै हावर्ड लुटनिकले भने कि यो योजना आधिकारिक रूपमा २ हप्तामा सुरु हुनेछ। उनले यो पनि खुलासा गरे कि टेस्ला र एक्स (पहिले ट्विटर) मालिक एलोन मस्कले यस योजनाको लागि नयाँ सफ्टवेयर तयार गर्दैछन्।
लुटनिकका अनुसार यो योजना छिट्टै सुरु हुनेछ र हिजो मात्रै मैले १००० ‘गोल्ड कार्ड’ बेचेको छु । यस योजनाका विशेषताहरू प्रकाश पार्दै हावर्ड लुटनिकले भने कि अमेरिकी नागरिकहरूले विश्वव्यापी आम्दानीमा कर तिर्नु पर्नेछ तर ‘गोल्ड कार्ड’ धारकहरूले यो छुट पाउनेछन्। उनले भने, ‘यदि तपाईंसँग ग्रीन कार्ड वा अहिले गोल्ड कार्ड छ भने, तपाईं अमेरिकाको स्थायी बासिन्दा हुनु हुनेछ तर तपाईंले विश्वव्यापी आम्दानीमा कर तिर्नु पर्दैन। नागरिक बन्न तपाईंका लागि ऐच्छिक हुनेछ, तर यो आवश्यक पर्दैन्।’
लुटनिकले यो योजना अन्तर्गत ५० लाख डलर तिरेर कुनै पनि व्यक्तिले अमेरिकामा अनिश्चितकालका लागि बस्ने अधिकार प्राप्त गर्न सक्ने बताए । उनले भने, ‘यी व्यक्तिहरू असल कानुन पालना गर्ने नागरिक भएको प्रमाणित गर्नका लागि तिनीहरूमाथि गहिरो अनुसन्धान गरिनेछ। अमेरिकाले कुनै पनि गलत गतिविधिमा संलग्न व्यक्तिको कार्ड रद्द गर्न सक्छ।’
उदाहरण दिँदै उनले भने, ‘म अमेरिकाको नागरिक नभएको भए अर्को देशमा बसेको भए आफ्नो परिवारका लागि ६ वटा ‘गोल्ड कार्ड’ किन्ने थिएँ– एउटा मेरो लागि, एउटा मेरी श्रीमतीको लागि र चार छोराछोरीका लागि । यदि भविष्यमा कुनै अप्रिय घटना घट्यो भने हामी तुरुन्तै अमेरिका जान सक्छौं र त्यहाँ सुरक्षित रहन सक्छौं।’
ट्रम्प प्रशासनसँग गरिएको अनुसन्धानलाई उद्धृत गर्दै लुटनिकले भने विश्वमा ३७ मिलियन मानिसहरू यो ‘गोल्ड कार्ड’ किन्न सक्षम छन्। उनले थप भने कि डोनाल्ड ट्रम्प विश्वास गर्छन् कि अमेरिकाले यस योजना अन्तर्गत कम्तीमा १ मिलियन गोल्ड कार्ड बेच्न सकिनेछ ।
फ्रान्सका एक नेताले ‘स्ट्याचु अफ लिबर्टी’ फिर्ता गर्नु पर्ने माग गरेपछि अमेरिका र फ्रान्सबीच कूटनीतिक तनाव बढेको छ ।
यसबारे ह्वाइट हाउसले कडा प्रतिक्रिया दिँदै अमेरिका नभएको भए आज फ्रान्सका जनताले जर्मन भाषा बोल्न बाध्य हुने जवाफ दिएको छ ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले फ्रान्सेली नेताको मागको जवाफ भनिन, ‘बिल्कुल होइन, म ती नेतालाई सम्झाउनेछु कि यदि संयुक्त राज्यले हस्तक्षेप नगरेको भए फ्रान्सेली जनताले आज जर्मन बोल्ने थिए। तिनीहरू हाम्रो महान देशप्रति कृतज्ञ हुनुपर्छ।’
अमेरिकाको यो कथनले दोस्रो विश्वयुद्धको ऐतिहासिक घटनाहरू तर्फ औंल्याउँछ। सन १९४० मा नाजी जर्मनीले फ्रान्सलाई कब्जा गर्यो, जसको कारण फ्रान्सेली सेनाले आत्मसमर्पण गर्नुपर्यो। तर, १९४० मा अमेरिकी र सहयोगी सेनाहरूले नर्मन्डी ल्यान्डिङ (डी.डे) मार्फत फ्रान्सलाई स्वतन्त्र गराएका थिए।
‘स्ट्याच्यू अफ लिबर्टी’ न्यूयोर्कको हार्बरमा अवस्थित ऐतिहासिक मूर्ति हो, जुन फ्रान्सले सन् १८८६ मा संयुक्त राज्य अमेरिकालाई उपहार स्वरूप दिएको थियो। यसको कुल उचाइ ३०५ फिट छ र यसलाई लोकतन्त्र र स्वतन्त्रताको प्रतीक मानिने गरिन्छ । यो फ्रान्सेली मूर्तिकार फ्रेडरिक अगस्टे बार्थोल्डीद्वारा डिजाइन गरिएको थियो, जबकि आधार संरचना गुस्ताभ एफिल (एफिल टावरको निर्माता) द्वारा बनाईएको थियो । यो मूर्ति फ्रान्सद्वारा स्थायी उपहारको रूपमा दिइएको थियो ।
त्यसैले यसलाई फिर्ता गर्न को लागी कुनै कानूनी प्रावधान छैन। अमेरिकी प्रशासनको भनाइबाट स्पष्ट हुन्छ कि उनीहरुले यो मागलाई पूर्ण रुपमा अस्वीकार गरेका छन् ।
हालै डोनाल्ड ट्रम्पको पुनः निर्वाचित बलियो स्थिति र व्यापार शुल्कमा वृद्धि भएपछि अमेरिका र युरोपबीचको सम्बन्ध तनावपूर्ण बनेको छ। अमेरिकाले युरोपेली आयातमा नयाँ कर लगाए पछि फ्रान्सलगायत धेरै देशहरू आक्रोशित भएका छन्। ‘स्ट्याचु अफ लिबर्टी’ फिर्ताको मागलाई राजनीतिक दबाब सिर्जना गर्ने प्रयासका रूपमा हेरिएको छ ।
‘स्ट्याच्यू अफ लिबर्टी’लाई लिएर अमेरिका र फ्रान्सबीचको बहस हास्यास्पद लाग्न सक्छ तर यसले दुई देशबीच बढ्दो कूटनीतिक र व्यापारिक मतभेदलाई झल्काउँछ। अमेरिकाले यो ऐतिहासिक प्रतीक फिर्ता गर्ने मूडमा नरहेको स्पष्ट पारेको छ ।
अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा फर्किए पछि कडा निर्णयहरूको श्रृङ्खला जारी रहेको छ ।
यसैबिच, अब ट्रम्प प्रशासनले ४३ देशको सूची तयार गरेको छ, जसका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने योजना रहेको छ। यो सूची तीन भागमा विभाजित छ, रातो, सुन्तला र पहेंलो। ती देशहरूलाई रातो सूचीमा राखिएको छ, जहाँ कुनै पनि नागरिकलाई अमेरिका प्रवेश गर्न दिइने छैन। यो सूचीमा भारतका ४ छिमेकी राष्ट्रको नाम पनि परेको छ र तीमध्ये भुटानको नाम पनि छ ।
ओरेन्ज लिस्टः पाकिस्तान र रुसलाई ट्रम्प प्रशासनले ओरेन्ज लिस्टमा राखेको छ, जसको मतलब त्यहाँ आप्रवासी र पर्यटकको प्रवेशमा कडा सर्तहरू हुनेछन्। तर, प्रभावशाली व्यक्ति तथा व्यवसायिक प्रयोजनका लागि आउने व्यक्तिले अनुमति लिन सक्नेछन् । यस सूचीमा म्यानमार, बेलारुस, हाइटी, लाओस, इरिट्रिया, सियरा लियोन, दक्षिण सुडान र तुर्कमेनिस्तान पनि परेका छन् ।
रेड लिस्टः रातो सूचीमा परेका देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइने छ । यसमा सामान्यतया अफगानिस्तान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला र यमन जस्ता समस्याग्रस्त र अमेरिका विरोधी देशहरू समावेश छन्। तर, यसपटक भुटानको नाम पनि यो सूचीमा परे पछि धेरैलाई आश्चर्यमा पारेको छ ।
एल्लो लिस्टः पहेंलो सूचीमा २२ देशहरू समावेश छन्, जसलाई उनीहरूको सुरक्षा र भिसा प्रक्रिया सुधार गर्न ६० दिनको समय दिइने छ। यदि तिनीहरू त्यसो गर्न असफल भएमा तिनीहरूका नागरिकहरू पनि प्रतिबन्धको अधीनमा हुन सक्छन्। यो सूचीमा अंगोला, एन्टिगुवा र बारबुडा, कम्बोडिया, क्यामरुन, चाड, कङ्गो, माली, लाइबेरिया, भानुअतु र जिम्बाब्वेजस्ता देशहरू समावेश गरिएको छ ।
रेड लिस्टमा भुटान, आश्चर्यजनक
भुटानलाई संसारको सबैभन्दा खुसी देशमा गनिन्छ तर पनि यस निर्णयको पछाडि केही महत्त्वपूर्ण कारणहरू बताइएको छ । अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार गत वर्ष ३७ प्रतिशत भुटानी नागरिक भिसाको म्याद सकिए पछि पनि अमेरिकामा बसेका थिए । पछिल्लो समय गैरकानूनी माध्यमबाट अमेरिका पुग्ने भुटानी नागरिकको संख्या बढेको छ । प्रतिवेदनका अनुसार राष्ट्रिय सुरक्षाका लागि भुटानको यो आबादी खतरा मानिएको छ ।
अब भुटानका प्रत्येक नागरिकले अमेरिकाको भिसाका लागि लामो प्रमाणीकरण प्रक्रियाबाट गुज्रनु पर्नेछ । धेरै अवस्थामा तिनीहरूको भिसा आवेदन बिना कारण अस्वीकार गर्न सकिन्छ। यो निर्णयले अमेरिकामा पहिले देखि नै बस्दै आएका भुटानी नागरिकको थप छानबिन पनि हुनेछ। विशेष गरी उच्च शिक्षा वा कामका लागि अमेरिका जाने विद्यार्थी र व्यवसायीहरू प्रभावित हुनेछन्। भुटानको विदेश मन्त्रालयले यो निर्णय पुनरावलोकन गर्न अमेरिकालाई औपचारिक अपील गरिसकेको छ ।
अमेरिकी विदेश मन्त्रालयले यसअघि जारी गरिएका भिसामाथि पनि छानबिन गरिने बताएको छ। मन्त्रालयले विगतमा जारी भिसाहरूको अनुसन्धान गर्ने क्रममा अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना नगरिएको पाइएमा ती भिसा रद्द गरी सम्बन्धित व्यक्तिलाई देश निकाला गर्ने चेतावनी दिएको छ।
सोमबार अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरेको सन्देशमा भनिएको छ,”अमेरिकी भिसा स्क्रिनिङ भिसा जारी भएपछि मात्र रोकिँदैन। हामी भिसा धारकहरूले अमेरिकी कानुन र आप्रवासन नियमहरूको पालना गरिरहेका छन् कि छैनन् भनी निरन्तर जाँच गर्छौं। यदि कसैले उल्लंघन गरेको पाइएमा, भिसा रद्द गरी देश निकाला गरिनेछ।”
आप्रवासी नीति कडा गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले आप्रवासीहरूलाई अमेरिकी कानुन र आप्रवासन नियमहरूको पालना गर्न बाध्य बनाउने नीति लिएको छ। यस नीतिले भिसा दुरुपयोग गर्ने वा गैरकानुनी गतिविधिमा संलग्न हुनेहरूलाई सचेत गराएको छ।
यसअघि, ट्रम्प प्रशासनले ग्रीन कार्ड प्राप्त गरेका आप्रवासीहरू पनि स्थायी रूपमा अमेरिकामा बस्न नपाउने सम्भावना रहेको संकेत गरेको थियो।