Category: अन्तर्राष्ट्रिय

  • बेलायत, फ्रान्स र युक्रेनले युद्ध रोक्न योजना बनाउने

    बेलायत, फ्रान्स र युक्रेनले युद्ध रोक्न योजना बनाउने

    काठमाडौँ । बेलायत, फ्रान्स र युक्रेनले रुस-युक्रेन युद्ध रोक्न मिलेर योजना बनाउन सहमत भएका छन् ।  युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको बेलायत भ्रमणको क्रममा बेलायती प्रधानमन्त्री केयर स्टारमरले यो जानकारी दिएका हुन् ।
    स्टारमरले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिसँग जेलेन्स्कीको बहस पछि चार देशका नेताहरू बीचको वार्तामा यो योजना बनेको बताएका हुन् ।

    उनले ट्रम्प युक्रेनमा दिगो शान्ति चाहन्छन् भन्ने कुरामा आफू विश्वस्त रहेको बताउदै उनले अमेरिकाले आफ्नो सुरक्षा ग्यारेन्टीमा अडिग रह्यो भने मात्र यो योजना सफल हुने स्पष्ट गरे ।

    यसैबीच स्टारमरले लन्डनमा युरोपेली देशहरूको रक्षा शिखर सम्मेलनमा फ्रान्स, जर्मनी, डेनमार्क र इटाली सहित १३ देशहरू सामेल गरेर युक्रेन युद्धको अन्त्यबारे छलफल गरेका छन् । नेटोका महासचिव, युरोपेली संघ र युरोपेली परिषद्का अध्यक्ष पनि उपस्थित भएका छन् भने जेलेन्स्की पनि यस बैठकमा भाग लिएका छन् ।

    यसअघि, शनिबार जेलेन्स्की इङ्गल्याण्ड आइपुग्दा बेलायती प्रधानमन्त्री स्टारमरले जेलेन्स्कीलाई अँगालो हालेर स्वागत गरे । सडकमा निस्किएका मानिसहरूले जेलेन्स्कीको समर्थनमा चर्को नारा समेत लगाएका थिए ।

    स्टारमरले जेलेन्स्कीलाई युक्रेनलाई बेलायतको पूर्ण समर्थन रहेको आश्वस्त गरेका थिए । 

    यस भ्रमणका क्रममा बेलायतले युक्रेनलाई २.८ बिलियन डलर ऋण दिएको छ । यसका लागि बेलायती प्रधानमन्त्री स्टारमर र युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार सम्झौतामा हस्ताक्षर गरेका छन् । 

    यो ऋण युक्रेनको लागि आवश्यक हतियार खरिद गर्न प्रयोग गरिनेछ । गत वर्ष अक्टोबरमा, जी ७ देशहरूले युक्रेनलाई ५० अर्ब डलर सहयोग प्रदान गर्ने वाचा गरेका थिए ।

    युक्रेनलाई समर्थन गर्ने मुद्दामा युरोपेली संघ भित्र पनि विवाद रहेको छ । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले युक्रेनलाई आर्थिक वा सैन्य सहायता प्रदान नगर्ने बताएका छन् । युक्रेनले सैन्य बल प्रयोग गरेर रुसलाई वार्ताको टेबलमा ल्याउन कहिल्यै सक्षम नहुने उनको धारणा रहेको छ ।

    यसअघि हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले पनि जेलेन्स्कीको विरुद्धमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई समर्थन गरेका थिए ।

    जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न शुक्रबार ह्वाइट हाउस पुगेका थिए । जहाँ दुई जनाबीच चर्को बहस भयो । ट्रम्प-भान्स र जेलेन्स्की एकअर्कामाथि औंला उठाउँदै गरेको देखियो । ट्रम्पले जेलेन्स्कीलाई धेरै पटक हप्काएको पनि देखियो ।

    यो घटनापछि धेरै युरोपेली नेताहरूले जेलेन्स्कीलाई समर्थन जनाएका छन् । नर्वे, नेदरल्याण्ड्स, पोल्याण्ड, युरोपेली संघ, जर्मनी, बेलायत, क्यानडा र अष्ट्रेलिया जस्ता युरोपेली देशहरूले पनि जेलेन्स्कीको समर्थन गरेका छन् । 
     

  • उत्तर कोरियाले युक्रेन यूद्धका लागि थप सेना पठाएको दाबी

    उत्तर कोरियाले युक्रेन यूद्धका लागि थप सेना पठाएको दाबी

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुस-युक्रेन युद्ध अन्त्य गर्न वार्ता गर्न खोजिरहेकै बेला उत्तर कोरियाले रुसमा युक्रेन युद्धका लागि थप सेना पठाएको दाबी गरिएको छ ।

    दक्षिण कोरियाले उत्तर कोरियाले रुसमा थप सेना पठाएको दक्षिण कोरियाको जासूस एजेन्सीले बिहीबार जनाएको हो । युक्रेनविरुद्धको युद्धमा धेरै उत्तर कोरियाली सैनिकहरूको मृत्यु भएपछि थप सेना पठाइएको दाबि गरिएको छ ।

    दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवा (एनआईएस) ले उत्तर कोरियाले रुसमा कति नयाँ सेना पठाएको छ भनेर पत्ता लगाउने प्रयास भइरहेको बताएको छ । एनआईएसले रुसको कुर्स्क क्षेत्रमा ठूलो संख्यामा उत्तर कोरियाली सैनिकहरू मारिएको पनि बताएको छ । यसपछि, रुसले यहाँबाट उत्तर कोरियाली सेनालाई हटाएको थियो । तर फेब्रुअरीको पहिलो हप्तामा सैनिकहरू फेरि यहाँ तैनाथ गरिएको बताइएको छ । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फेब्रुअरी ७ मा आफ्नो सम्बोधनमा कुर्स्कमा युक्रेनमाथि आक्रमण बढिरहेको बताएका थिए । यहाँ उत्तर कोरियाली सैनिकहरू रुसी सेनासँग लडिरहेको उनले दाबि गरेका थिए ।

    पश्चिमी, दक्षिण कोरियाली र युक्रेनी गुप्तचर एजेन्सीहरूले पहिले नै उत्तर कोरियाले रुसी सेनालाई समर्थन गर्न आफ्ना १० हजार भन्दा बढी सेना तैनाथ गरेको दाबि गरेका थिए । उत्तर कोरियाली सैनिकहरू अत्यधिक अनुशासित र राम्रोसँग प्रशिक्षित भए तापनि, लडाई अनुभव र क्षेत्रको ज्ञानको कमीका कारण उनीहरू आक्रमणको शिकार भएको दाबी गरिएको छ ।

    गत महिना, दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले रुस-युक्रेन युद्धमा लगभग ३०० उत्तर कोरियाली सैनिक मारिएको र २,७०० जना घाइते भएको बताएको थियो । जबकि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मारिएका वा घाइते भएका उत्तर कोरियालीहरूको संख्या ४ हजार रहेको बताएका थिए । दक्षिण कोरियाले अब जनवरी र फेब्रुअरी बीच कुर्स्कमा थप एक देखि तीन हजार उत्तर कोरियाली सेना तैनाथ गरिएको दाबी गरेको छ ।

    दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुखले उत्तर कोरियाले अगस्ट २०२३ देखि रूसमा तोपखाना, क्षेप्यास्त्र र अन्य हतियारका लगभग १३ हजार कन्टेनर पठाएको बताएको छ । युक्रेन युद्धमा सहयोगको बदलामा रुसले उत्तर कोरियालाई महत्त्वपूर्ण हतियार र प्रविधि उपलब्ध गराउन सक्ने दक्षिण कोरियाले डर महसुस गरेको छ । अर्कोतर्फ रूसले उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई पनि सहयोग गर्न सक्ने दक्षिण कोरियाको आशंका रहेको छ । युक्रेन युद्धमा गरेको सहयोगको बदलामा उत्तर कोरियाले रुसबाट आर्थिक र अन्य सहयोग पाउने आशा पनि राखेको छ । 

  • एक दशकपछि दक्षिण कोरियाको जन्मदरमा वृद्धि

    एक दशकपछि दक्षिण कोरियाको जन्मदरमा वृद्धि


    दक्षिण कोरियाको जन्मदर एक दशकपछि गत वर्ष पहिलो पटक बढेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ ।

    दक्षिण कोरिया विश्वको सबैभन्दा धेरै औसत आयु र सबैभन्दा कम जन्म दरमध्ये भएको देशमध्ये एक हो । यो एउटा यस्तो संयोजन हो जसले एक बढ्दो जनसाङ्ख्यिकीय चुनौती प्रस्तुत गर्दछ।

    सियोलले महिलाहरूलाई बढी न्दा बढी बच्चा जन्माउन प्रोत्साहित गर्न र जनसङ्ख्या स्थिर कायम राख्न गर्न अर्बौँ डलर खर्च गरेको छ।

    कोरियाको प्रारम्भिक साङ्ख्यिकीय तथ्याङ्कअनुसार प्रति एक हजार व्यक्तिमा जन्मिने शिशुको सङ्ख्या दर ४.७ रहेको छ, जसले सन् २०१४ देखि निरन्तर घट्दो जनसङ्ख्याको प्रवृत्ति देखाएको थियो ।

    प्रजनन दर वा एक महिलाले आफ्नो जीवनकालमा बच्चा जन्माउने औसत सङ्ख्या सन् २०२४ मा ०.७५ पुगेको छ । यो सन् २०२३ को ०.७२ को तुलनामा ०.०३ ले बढी हो।

    “सन् २०२४ मा दक्षिण कोरियामा दुई लाख ३८ हजार ३०० जनाको जन्म भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा आठ हजार ३०० (३.६ प्रतिशत) बढी हो,” प्रतिवेदनमा भनिएको छ।

    जनसङ्ख्याको अध्ययनमा जानकारी राख्ने कोरियाली अधिकारी पार्क ह्युन जियोङले कोभिड–१९ को महामारीपछि विवाहमा वृद्धि हुनुका साथै जनसांख्यिकीय परिवर्तनमा आएको परिवर्तनका कारण जन्मदरमा वृद्धि भएको बताउनुभयो । पार्कले एक पत्रकार सम्मेलनमा भन्नुभयो, “पछिल्लो एक दशकमा कोरियामा ३० वर्ष भन्दा माथिका मानिसहरुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।

    सियोलका अनुसार सन् २०२४ मा बच्चा जन्माउने औसत मातृ उमेर ३३.७ वर्ष रहेको छ ।

    तर दक्षिण कोरियाको पाँच करोड १० लाख जनसङ्ख्या कायम राख्न आवश्यक पर्ने २.१ जना बालबालिकाभन्दा प्रजनन दर निकै कम छ ।

    सियाटलस्थित युनिभर्सिटी अफ वासिङ्टनको ‘इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन’का अनुसार हालको दर कायम रहेसन् २१०० सम्ममा जनसङ्ख्या करिब आधा भएर दुई करोड ६८ लाख पुग्नेछ ।

    – लगातार गिरावट –

    विशेषज्ञहरूका अनुसार बच्चा हुर्काउने उच्च लागत र सम्पत्तिको मूल्यदेखि प्रतिस्पर्धात्मक समाज कम जन्मदरका धेरै कारणहरूमध्ये प्रमुख कारण मानिन्छन् । यसले राम्रो तलब आउने रोजगारीका अवसरहरू सुरक्षित गर्न गाह्रो बनाउँछ ।

    कामकाजी आमाहरूले आफ्नो पेसालाई कायम राख्दै घरको काम र बच्चाको हेरचाहको बोझ व्यवस्थापन गर्नु अर्को प्रमुख कारक भएको उनीहरूको भनाइ छ।

    दक्षिण कोरियाली सरकारले जन्म दर वृद्धिका लागि नगद अनुदान, ‘बेबीसिटिङ’ सेवा र बाँझोपनको उपचारमा सहयोग प्रदान गर्दछ।

    तर प्रजनन दरले अहिलेसम्म आफ्नो दीर्घकालीन गिरावटलाई निरन्तरता दिएको छ।

    मोनाकोपछि विश्वको दोस्रो सबैभन्दा धेरै वृद्ध जनसंख्या दर भएको देशको अपेक्षाकृत कडा अध्यागमन नियमको अर्थ यो हो कि यसले बढ्दो श्रम अभावको सामना गरिरहेको छ।

  • थाइल्याण्डमा बस दुर्घटना, १८ जनाको मृत्यु

    थाइल्याण्डमा बस दुर्घटना, १८ जनाको मृत्यु


    थाइल्याण्डको बैङ्ककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    राजधानी बैङ्ककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये दुर्घटना भएको बस एउटा थियो।

    “दुर्घटनामा१७ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो,” प्रहरी लेफ्टिनेन्ट कर्णेल सिवापास फुरीप्चाइबुन्चुले भन्नुभयो ।

    उहाँले भन्नुभयो, “हामीले चालकलाई सोधपुछ गर्दा बसको ‘ब्रेक फेल’ भएका कारण सडकबाट भीर हुँदै निकै तल खसेको उनले बताएका छन्। थप अनुसन्धान भइरहेको छ ।”

    बस दुर्घटना हुँदा बसमा ४९ जना सवार रहेको र घाइतेहरुलाई उपचारका लागि दुई वटा अस्पतालमा लगिएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार थाइल्याण्डमा सडक सुरक्षाको सबैभन्दा खराब रेकर्ड छ । यहाँ हरेक वर्ष लगभग २० हजार व्यक्तिको सडक दुर्घटनाका कारण मृत्यु हुन्छ ।

    पूरानो र असुरक्षित सवारी साधन र चालकको लापर्बाही सडक दुर्घटनाको प्रमुख कारक मानिन्छ ।

    गत अक्टोबरमा बैङ्ककको उपनगरमा एउटा विद्यालयका विद्यार्थी बोकेको बसमा भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको थियो।

  • भारतका चार तेल कम्पनिमाथि अमेरिकाको प्रतिबन्ध

    भारतका चार तेल कम्पनिमाथि अमेरिकाको प्रतिबन्ध

    वासिंगटन डिसी, १४ फागुन । अमेरिकी सरकारले इरानी पेट्रोलियम पदार्थको बिक्री र ढुवानीमा मध्यस्थता गरेको भन्दै भारतमा रहेका ४ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।

    इन्डियन एक्सप्रेसका अनुसार अमेरिकी वित्त विभागले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे औपचारिक जानकारी दिएको हो । साथै, अमेरिकाले इरानको तेल निर्यात अवैध ढुवानी सञ्जालमार्फत हुने गरेको बताएको छ । डोनाल्ड ट्रम्पको अधिकतम दबाब नीति अन्तर्गत अमेरिकाले त्यस्ता नेटवर्कहरू माथि निरन्तर कारबाही जारी राखेको छ ताकि इरानको कमाइको माध्यमलाई रोक्न सकियोस् । सोही नीति अन्तर्गत भारतका ४ कम्पनि प्रतिबन्धमा परेका हुन् ।

    अमेरिकी वित्त विभागले भन्यो, ‘आज प्रतिबन्ध लगाइएकाहरूमा युएई र हङकङका तेल दलालहरू, भारत र चीनका ट्याङ्कर सञ्चालक र प्रबन्धकहरू, इरानको नेसनल इरानी आयल कम्पनी र इरानी आयल टर्मिनल कम्पनीका प्रमुखहरू छन्। यिनै कम्पनिका कारणले इरानको अस्थिर गतिविधिलाई आर्थिक सहयोग प्राप्त भएको छ ।’

    यूएस विदेशी सम्पत्ति नियन्त्रण र राज्य विभागका अनुसार यी ४ भारतीय कम्पनीहरूको नाम हो– फ्लक्स मेरिटाइम एलएलपी (नवी मुम्बई), बीएसएम मरीन एलएलपी (दिल्ली–एनसीआर), अस्टिनशिप म्यानेजमेन्ट प्रालि (दिल्ली–एनसीआर) र कोसमोस लाइन्स इंक (तंजावुर)।

    यी चारमध्ये ३ कम्पनीलाई इरानी तेल र पेट्रोलियम पदार्थको ढुवानीमा संलग्न जहाजको व्यावसायिक तथा प्राविधिक व्यवस्थापनका कारण प्रतिबन्ध लगाइएको जनाइएको छ भने इरानी पेट्रोलियम ढुवानीमा संलग्नताका कारण कस्मोस लाइन्सलाई प्रतिबन्ध लगाइएको हो ।

    प्रतिबन्ध लगाइएको कम्पनी वा देशको प्रतिबन्ध सीमित वा पूर्ण रूपमा समाप्त भएको देशसँगको आर्थिक सम्बन्ध हुन्छ। प्रतिबन्धहरूमा आयात–निर्यात रोक्न, सम्पत्ति फ्रिज (जफत) गर्ने, देश वा देशहरूको संगठनको बैंकिङ प्रणालीमा प्रतिबन्ध लगाउनेजस्ता गतिविधिहरू समावेश हुने गरेको छ ।

    विदेश सम्बन्ध परिषद्का अनुसार प्रतिबन्धको दायरा निकै फराकिलो हुन सक्छ। यसमा प्रतिबन्धित देशसँगको कुनै पनि प्रकारको व्यापारिक गतिविधिमा प्रतिबन्ध लगाउन सकिने छ । यसबाहेक कुनै व्यक्ति वा कम्पनीलाई लक्षित गरेर पनि प्रतिबन्ध लगाउन सकिने प्रचलन रहेको छ ।
     

  • पेरिसको होटलको झ्यालबाट नबजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ

    पेरिसको होटलको झ्यालबाट नबजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ

    पेरिस, १४ फागुन । एक अमेरिकी किशोरीलाई उनको नवजात शिशुलाई होटलको झ्यालबाट बाहिर फालेकी छिन् ।

    नबजात शिशुलाइ होटेलको झ्यालवाट फाल्दा मृत्यु भए पछि हत्याको आरोपमा पक्राउ गरिएको छ ।

    नाम नखुलाइएको ती युवतीले बच्चा जन्माए पछि शल्यक्रिया गर्न अस्पताल लगिएको थियो र त्यसपछि उनलाई प्रहरी हिरासतमा राखिएको पेरिसस्थित अभियोजकको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ ।

    उनले नवजात शिशुलाई सोमबार पेरिसको एन्ड्रोइसमेन्ट होटलको दोस्रो तल्लाको झ्यालबाट फ्याँकेकी थिइन । अभियोजकको कार्यालयले भन्यो, ‘तर, नवजात शिशुलाई आपतकालीन हेरचाहमा लगिए पनि उनी बाँच्न सकेनन ।’ ‘ति आमा, एक अमेरिकी नागरिक हुन्, जोयुरोपमा यात्रा गर्ने युवा वयस्कहरूको समूहको हिस्सा थिइन,’ अभियोजकको कार्यालयले भन्यो, ‘एक नाबालिगको हत्याको अनुसन्धान सुरु भएको छ। 

    एरोन्डिसमेन्टका प्रवक्ताका अनुसार बच्चा होटल नजिकैको रद्दीको टोकरीमा जिउँदै फेला परेको थियो र उनलाई पेरिसको बाल अस्पताल, नेकरमा लगिएको थियो तर अस्पतालमा पुगे पछि शिशुको मृत्यु भयो ।
     

  • दुर्लभ खनिजमा अमेरिकालाइ पहुँच दिन युक्रेन सहमत

    दुर्लभ खनिजमा अमेरिकालाइ पहुँच दिन युक्रेन सहमत

    किभ, १४ फागुन । अमेरिका र युक्रेन प्राकृतिक स्रोत र पुनर्निर्माणका लागि सम्झौता गर्न सहमत भएका छन्।

    स्रोतहरूलाइ उदृत गर्दै यसअघिका केही अस्वीकार्य सबै कुरा हटाइए पछि प्राकृतिक स्रोत र पुनर्निमाणमा युक्रेन र अमेरिका बिच सम्झौता गर्नका लागि सहमत भएको सिएनएनले जनाएको छ।

    ‘यो अब यो सम्झौताले युक्रेनको सुरक्षा र शान्तिमा कसरी योगदान पुर्‍याउँछ भनेर स्पष्ट रूपमा ब्याख्या गर्नेछ’ एक युक्रेनी अधिकारीले भने । तर, अमेरिकाले युक्रेनको सम्झौताका सर्तहरूमा सहमति भएको छ कि छैन भन्ने पुष्टि गरेको छैन।

    यद्यपि, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अब आगामी दिनमा वाशिंगटनको यात्रा गर्ने अपेक्षा गरिएको छ। ‘जेलन्सकी शुक्रबार आउँदैछन् भन्ने सुनिएको छ, पक्कै पनि यो मसँगको सम्बाद ठीक हुनेछ, यदि उनले चाहन्छन भने मसँग हस्ताक्षर गर्न तयार छु, म बुझ्छु यो ठूलो सम्झौता हो, धेरै ठूलो सम्झौता’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ओभल अफिसबाट भने।

    युक्रेनको पुनर्निर्माण कोषमा अमेरिकी संलग्नता रहने र त्यसको बदलामा युक्रेनले दुर्लभ खनिजहरूमा अमेरिकालाइ पहुँच प्रदान गर्ने सम्झौतामा सहमत हुन युक्रेन तयार रहेको बताइएकाे छ । स्रोतले भन्यो कि जेलन्सकीले अमेरिकीकाे मस्यौदामा समावेश गरिएको सुरक्षा ग्यारेन्टीको भने विरोध गरेका थिए।  पछिल्लो मस्यौदामा युक्रेनको सुरक्षा सम्बन्धी केही शब्दहरूमा अस्पष्ट रहेको थियो ।

    वार्तासँग परिचित युक्रेनी स्रोतलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ, ‘सम्झौताको बारेमा केही बुदाँहरू काँटछाँट गरे पछि वार्ता हुनेछ र अमेरिकी र युक्रेनी राष्ट्रपतिहरूले व्यक्तिगत रूपमा सुरक्षा ग्यारेन्टीहरू छलफल गर्न सक्छन्।’

    सम्झौताको पहिलो प्रस्तावमा  ट्रम्प प्रशासनले युक्रेनको दुर्लभ खनिजहरूमा ५०० बिलियन सेयर दिनु पर्ने सर्त राखेको थियो तर सुरूमा जेलेन्स्कीले अस्वीकार गरेका थिए । जेलेन्स्कीले सम्झौताको त्यो संस्करण स्वीकार नगरे पनि अमेरिकाले भने कुनै फरक नपर्ने जवाफ दिएकाे थियो । ‘ यसमा कुनै अमेरिकी बाध्यताहरू थिएनन् जबकि युक्रेनले सबै उपलब्ध गराउने अपेक्षा गरिएको थियो’ स्रोतले भन्यो । तर, त्यस यताको छलफलमा युक्रेन र अमेरिकाका सहमतिको नजिक पुगेको संकेत देखिएको छ ।

    सोमबार ह्वाइट हाउसको भ्रमणको क्रममा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पनि राष्ट्रपति जेलेन्स्कीसँग काम गर्ने ट्रम्पको निर्णयको प्रशंशासमेत गरेका थिए । उनले यो पनि भनेका थिए कि दुर्लभ र महत्वपूर्ण खनिजहरूमा अमेरिका र युक्रेनका लागि धेरै महत्त्वपूर्ण रहेको छ, मलाइ विश्वास छ यस सम्झौतालाई निष्कर्षमा पुर्‍याउनका लागि ट्रम्पले सफलता हासिल गर्नेछन् ।

  • मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि

    मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि

    काठमाडौँ । हिज्बुल्लाह नेता हसन नसरल्लाह र उनका उत्तराधिकारी हाशिम सफिद्दीनलाई बिदाइ गर्न आइतबार हजारौं मानिसहरू बेरुतको स्पोर्ट्स सिटीमा भेला भएका थिए ।

    लेबनानमा इजरायली आक्रमणमा मारिएको लगभग पाँच महिनापछि उनको अन्त्येष्टि गरिँएको हो । करिब पाँच महिनाअघि इजरायली आक्रमणमा हिजबुल्लाहका यी दुई शीर्ष नेता मारिएका थिए ।

    इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले पनि हिज्बुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युमा पाँच दिनको शोकको घोषणा गरेका थिए ।

    इरानका विदेशमन्त्री अब्बास अरघची हसन नसरल्लाह र हाशिम सफिद्दीनको अन्त्येष्टिमा सहभागी भएका छन् ।

  • युक्रेन बिना नै साउदीमा अमेरिका र रुसका विदेश मन्त्री बिच युद्धविरामका बारेमा छलफल

    युक्रेन बिना नै साउदीमा अमेरिका र रुसका विदेश मन्त्री बिच युद्धविरामका बारेमा छलफल

    युक्रेन युद्धको समाधानका लागि साउदी अरबमा रुस र अमेरिकाबिच भएको उच्चस्तरीय बैठक सकिएको छ ।

    उक्त बैठकमा अमेरिकी विदेश मन्त्री मार्को रुबियो र रुसी विदेश मन्त्री सर्गेई लाभरोभ सहभागी रहेका थिए । उनीहरू दुवै सोमबार राजधानी रियाद पुगेका थिए ।

    लाभरोभका साथै  रुसको तर्फबाट पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ पनि उपस्थित थिए भने उता अमेरिकी विदेशी मन्त्री रुबियोका साथै राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज र मध्यपूर्वका लागि वाशिङटनका विशेष दूत स्टिभ विटकफ पनि अमेरिकी प्रतिनिधिमण्डलमा सामेल रहेको जनाइएको छ ।

    यसैबिच क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘आवश्यक परेमा राष्ट्रपति पुटिन युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको बताएका छन्। यद्यपि, प्रश्न यो छ कि जेलेन्स्की साँच्चै युक्रेनको राष्ट्रपति हुन् ?’ उनले जेलेन्स्कीलाई मान्यता नदिने सङ्केत गरेका छन् ।  

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग कुरा गर्दै रुस युक्रेनलाई युरोपेली सङ्घमा सामेल गर्ने पक्षमा नभएको बताए । रुसले यस सङ्गठनलाई आफ्नो सुरक्षाको लागि खतरा मानेको पनि छैन। पेस्कोभले भने,  ‘यो युक्रेनले युरोपेली युनियनमा सामेल हुने वा नपर्ने निर्णय गर्ने हो, यस संस्थाको हिस्सा बन्न पाउनु कुनै पनि देशको ‘सार्वभौम’ अधिकार हो ।’ तर नाटोजस्ता रक्षा सङ्गठनहरूप्रति रुसको फरक धारणा रहेको उनले जनाए ।

    उता, युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई युक्रेन युद्धमा शान्ति वार्तामा निमन्त्रणा भने गरिएको छैन। युक्रेनी सरकारका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बिबिसी न्युजले यो कुरा पुष्टि गरेको छ । यसअघि अमेरिकी विशेष दूत किथ केलोगले युक्रेनको संलग्नताबारे कुरा गरेका थिए ।

    यो बैठकमा युरोपेली देशका नेताहरूलाई समेत निमन्त्रणा गरिएको थिएन । युरोपलाई वार्ताबाट बाहिर राख्ने डरले फ्रान्सेली राष्ट्रपतिले एक दिनअघि नै शिखर सम्मेलन स्थगित गरेका थिए, जहाँ युरोपेली देशका नेताहरूको सहभागिता रहेको थियो ।

    साउदीमा रुस र अमेरिकाका बिचमा उच्चस्तरीय वार्ता हुने अघिल्लो दिन युक्रेनी राष्ट्रपति जेलेन्स्की भने मध्यपूर्वको अर्को देश संयुक्त अरब इमिरेटस पुगेका थिए । तर, उनको भेटवार्ता र छलफलका बारेमा भने कुनै जानकारी दिइएको छैन ।

  • मे ८ मा ट्रम्प मस्को जान सक्ने, दुबै देश जुटे भ्रमणको तयारीमा

    मे ८ मा ट्रम्प मस्को जान सक्ने, दुबै देश जुटे भ्रमणको तयारीमा

    पछिल्लो तीन वर्षदेखि रुस र युक्रेनबीच चलिरहेको युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले व्यस्त रहेका छन् ।

    यसैबीच अब ट्रम्पले मे महिनामा रुसको भ्रमण गरी रुसमा हुने समारोहमा सहभागी हुन सक्ने खुलासा भएको छ । जानकारी अनुसार अमेरिकी राष्ट्रपति ट्रम्प मे ८ र ९ मा रुसको भ्रमण गर्न सक्ने छन्, जुन भ्रमणको तयारी सुरू भएको छ । ट्रम्पले रूसको विजय दिवसको उत्सवमा भाग लिन सक्ने सम्भावना बढेर गएको छ, रूसको विजय दिवस मे ९ मा मनाइन्छ। 

    यसअघि ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग फोनमा कुराकानी गरेका थिए भने सो फोन पछि उनले रूसको प्रतिद्दन्दी मुलुक युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग पनि फोनमा कुराकानी गरेका थिए । त्यस बेला देखि रुस–युक्रेन युद्धको पूर्णविरामको बारेमा अड्कलबाजी सुरु भएको छ । ट्रम्पले दुवै देश युद्द रोक्न सहमत भएको जनाएका थिए ।

    यसअघि पनि रुसी राष्ट्रपति पुटिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विजय दिवसमा सहभागी हुन आमन्त्रण गरेको र उनी त्यसमा सहभागी हुने विचार गरिरहेको खुलासा भएको थियो । क्रेमलिनले पनि ट्रम्पको सम्भावित भ्रमणको तयारी भइरहेको संकेत गरिसकेको छ ।

    रूस–युक्रेन युद्ध अन्त्यका लागि ट्रम्पले रुसका राष्ट्रपति र युक्रेनका राष्ट्रपतिसँग वार्ता गरेर युद्ध अन्त्य गर्नेतर्फ ठूलो कदम चाले पछि पुटिन र ट्रम्पका बिचमा सबन्ध सुधार भइरहेको छ । उनले रुस–युक्रेन युद्धमा हजारौं मानिसको रगत बगोस् भन्ने पनि पुटिन चाहँदैनन्, अब यसलाई अन्त्य गर्नुपर्छ भन्ने सन्देश विश्वलाइ दिइसकेका छन ।

    सो क्रममा उनले विश्वयुद्दः२ मा अमेरिका–रुस गठबन्धनको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य अझ सुदृढ हुने संकेत गरिसकेका थिए । तर, सो अघि भने ट्रम्पले दुवै नेताले एकअर्काको देश भ्रमण गर्ने बताएका थिए । ट्रम्पको भ्रमणपछि रुस–युक्रेन युद्ध अन्त्य हुने र दुई देशबीच सम्झौता हुने अपेक्षा गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

    डोनाल्ड ट्रम्पको यो रुस भ्रमण पछि रुस र अमेरिकाबीचको सम्बन्ध थप मजबुत हुने र एक दशकभन्दा बढी समय पछिको यो कुनै पनि अमेरिकी राष्ट्रपतिको पहिलो रुस भ्रमण हुनेछ । ट्रम्पको भ्रमणले रुसलाई युक्रेनको मुद्दामा अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने अवसर दिनेछ ।

    भने, क्रेमलिनसँग नजिक रहेका द्रिमितिभले रूस र अमेरिका बिच आर्थिक साझेदारीका बारेमा सम्झौताको तयारी भइरहेको यसअघि नै बताइसकेका छन ।