Category: मनोरञ्जन

  • निर्देशक घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

    निर्देशक घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

    काठमाडौँ, २ माघः निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गर्नुभएको छ । आफ्नो लेखन तथा निदेशनमा चलचित्र निर्माण हुने उहाँले बताउनुभयो ।

    चलचित्रमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको बताइएको छ । निर्देशक घिमिरेले अहिलेको समाजको तीतो यथार्थलाई चलचित्रमार्फत दशक समक्ष पुर्याउन लगिएको बताउनुभयो ।
    उहाँले भन्नुभयो, “मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, चलचित्रले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । माघमै हामी छायाङ्कन गर्दैछौँ ।”

    ओजस्वी केसी निर्माता रहनुभएको चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गर्नुहुनेछ । चलचित्रमा विपीन कार्की, अरुण क्षेत्री, पञ्चमी घिमिरे, मदनकृष्ण श्रेष्ठ, सुनिल थापालगायतका कलाकारले अभिनय गर्नुहुनेछ ।

  • नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

    नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

    सन् २०२४ को तथ्याङ्कलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा (थियटर स्क्रीन) रहेको छ । चिनियाँ चलचित्रकर्मीको भनाइलाई आधार मान्ने हो भने चलचित्रको लागि विश्वकै ठूलो बजार चीन हो । त्यहाँ एक वर्षमा विदेशी चलचित्र प्रदर्शन हुन् पाउनेको सङ्ख्या ३४ मात्र रहेको छ । 

    भारतकै सर्वाधिक व्यापार गर्ने चलचित्र ‘दङ्गल’ पनि चीनमा प्रदर्शन भएकै कारण इतिहास रच्न सफल भएको थियो । भारतीय मात्र नभई अमेरिकन (हलिउड) चलचित्र पनि न्यून मात्रमा चीनमा प्रदर्शन हुने गरेको छ । त्यहाँ नेपाली चलचित्र प्रदर्शन गर्न सकिने अवस्था छ त ? नेपालमा पहिलोपटक पुस २५ मा चाइना फिल्म एडमिनिस्ट्रेशन, यहाँस्थित चिनियाँ राजदूतावास, चाइना फिल्म आर्काइभ र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा संयुक्तरूपमा आयोजित एकदिवसीय ‘चीन चलचित्र दिवस’ सहभागी हुन् आउनुभएका वितरक कम्पनी टाइगर पिक्चर्स इन्टरटेनमेन्टका उपप्रमुख (भाइस प्रेसिडेन्ट) ओवेन यङले पछिल्ला केही वर्षमा नेपाली चलचित्रले राम्रो गरिरहेको आफूले थाहा पाएको बताउनुभयो । 

    उहाँले भन्नुभयो, “मैले हङकङ र अमेरिकाको बजारमा नेपाली चलचित्रको बारेमा सुनेको छु । विशेषत द्वन्द्व प्रधान र सामाजिक ‘ड्रामा’ भएका चलचित्रमा स्तरीयता थपिएको मैले महसुश गरें । यसकारण नेपाली चलचित्रको भविष्य निकै राम्रो छ भन्ने मैले महसुश गरेको छु । यस्तै महोत्सवमार्फत हामीले कला र संस्कृतिसँगै एक आपसमा चलचित्र बजार खोज्न सक्छौँ । नेपालीका लागि चीनको बजार नयाँ छ भने हाम्रो लागि नेपालको बजार पनि नयाँ नै छ ।”

    उहाँले चीनका दर्शकले रोमान्टिक, एक्सन र थ्रिलर विधाका चलचित्र रुचाउने जानकारी दिनुभयो । विशेषत आउँदो मार्च महिनामा हङकङ र चीनकै बेइजिङमा हुने चलचित्र महोत्सवमा सहभागी भएर नेपाली चलचित्रको प्रचार गर्नुकासाथै स्थानीय वितरक र प्रदर्शकसँग भेटघाट गर्न सकिने उहाँले बताउनुभयो । 

    “चीनमा प्रदर्शन भएका विदेशी चलचित्रले राम्रो फाइदा लिएका छन् । यसकारण नेपाली चलचित्रकर्मी त्यहाँ पुगेर स्थानीय वितरकसँग सहकार्य गर्न सकेमा नयाँ सम्भावनालाई नकार्न सकिँदैन । विशेषत चलचित्रको छायाङ्कन अगावै त्यहाँ पुगेर स्थानीयलाई भेट्नु उपयुक्त हुन्छ । किनकि स्थानीयको सहभागिताले प्रदर्शनमा सहजता दिनेछ”, उहाँले भन्नुभयो । 

    वितरक यङले निकट भविष्यमा नेपाली चलचित्रकर्मीसँग सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । चाइना चलचित्र प्रसाशन (फिल्म एडमिनिस्ट्रेसन) का अन्तर्राष्ट्रिय विभाग निर्देशक सु याङले गत वर्ष (सन् २०२४)मा नेपालमा ‘पूर्णबहादुरको सारङ्गी’ र ‘१२ गाउँ’जस्ता चलचित्र सफल भएकाले चीनको बजारतर्फ प्रयाश गर्न नेपाली चलचित्रकर्मीलाई आग्रह गर्नुभयो । 

    उहाँले भन्नुभयो, “हाम्रो चिनियाँ चलचित्र उद्योग सबैका लागि खुल्ला छ, हामी सबैलाई अवसर दिने गरेका छौँ । यस्ता महोत्सवले हाम्रो दुई देशको चलचित्रलाई आदानप्रदान गर्ने विश्वाश लिएको छु । नेपाली चलचित्रकर्मीले प्रयाश गर्नुभएमा चीन पनि नेपाली चलचित्रका लागि बजार बन्न सक्नेछ । यसका लागि दुई देशबीच यस्तै महोत्सव हुनु आवश्यक छ ।”

    उहाँले चिनियाँ चलचित्र नेपालमा छायाङ्कनका लागि आउने र नेपालको सुन्दरतालाई विश्वभर प¥ुयाउने गरेको बताउनुभयो । उहाँले चिनियाँ चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्दै आएकोमा जोड दिनुभयो । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा चलचित्र निर्देशक केपी पाठकले नेपाली चलचित्रकर्मीका लागि चीनमा बजार खोज्ने सम्भावनालाई गति दिने काम ‘चीन चलचित्र दिवस’ ले गरेकोमा जोड दिनुभयो । 

    उहाँले भन्नुभयो, “चीनका चलचित्र यहाँ प्रदर्शन भएका थिएनन्, यस किसिमको कार्यक्रम पहिलोपटक भएको छ । यसले दुई देशबीच सामीप्यता बढाउने मात्र नभई चलचित्र आदानप्रदानका लागि संवाद गर्ने अवस्था सिर्जना गरेको छ । हामीले त्यहाँ केही चलचित्रलाई पुर्‍याउन सकेमा हाम्रो चलचित्र उद्योग नयाँ युगमा प्रवेश गर्नेछ । नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ ।”

    एकदिवसीय ‘चीन चलचित्र दिवस’का लागि प्रसिद्ध अभिनेत्री यु हङ, चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभागका उपनिर्देशक झेङ झेङ, निर्देशक जिङ जिआओ, पटकथा लेखक लु वेइ, निर्देशक झाङ गुदोङ, निर्देशक झाङ युडीसहित १४ चिनियाँ चलचित्रकर्मी नेपाल आउनुभएको थिय । 

  • लण्डनमा गुन्जियो कन्दरा

    लण्डनमा गुन्जियो कन्दरा

    बेलायत, २२ पुस : ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली व्याण्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट गरेको छ । शनिबार विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो । कन्दरा ब्याण्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो ।

    कन्दराले ओटु साँझलाई ऐतिहासिक र अविष्मरणीय भनेको छ । नेपालीका कार्यक्रम विरलै हुने सो स्थानमा गायक विवेक श्रेष्ठले नेपालबाटै आएका वाद्यवादकहरुको बेजोड लाइभ सङ्गीतमा झण्डै दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पार्नुभएको थियो । गायक श्रेष्ठले तगारोमा रुमाल राखी, जिन्दगीको यो उत्सव हो बरदान ईश्वरको, विदेशिएर गइन उनी, लेककी हे माया मोहनी सबैलाई लगाउने, हङकङ पोखरा, तिमी हाँसे हासिदिउँला रोए फकाउँला, इलामे चियाले मितेरी लायो, चिसो चिसो हावामा, साङ्ग्रिलाको लेक भरी फुलैफूलको बासना, हे कस्तो ठाउँमा आइयो सोल्टी, फुलचोकीको डाँडैमा, चन्चले कान्छीको, कहाँ हिँडेकी कुन ठाउँ मनकी ए परी, तिमी पारी त्यो गाउँमा, बल्ल तल्ल भेट भकोलगायतका गीत सुनाउनुभयो । उहाँका हरेक गीतमा दर्शकले ‘वान्स मोर’ भनेका थिए ।

    ओटुमा कन्दरा गुन्जिदा झण्डै दुई हजार आठ सय दर्शक साथ रहेको आयोजक मामाघर इन्टरटेन्मेन्टले जनाएको छ । गायक श्रेष्ठले गोपाल योञ्जनको ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई’ गाउँदै बेलायतका नेपालीलाई नेपाल फर्किन अपिल गर्नुभएको थियो । कार्यक्रमको सफलतापछि उत्साहित श्रेष्ठले भन्नुभयो, “विश्व सङ्गीतका लिजेण्डहरुको प्रस्तुती रहिसकेको यो ठाउँमा प्रस्तुती दिनु मेरो सपना थियो, आज यो ऐतिहासिक हलमा नेपाली दाजुभाई, दिदीबहिनी तथा आमाबाबामाँझ गाउन पाउनु मेरो लागि अझै सपना झैँ लागि रहेको छ ।” कन्दराको वर्तमान लाइन अपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् । ड्रम्समा रहनुभएका सुनिल थापा ब्याण्ड स्थापना कालदेखिका सदस्य हुनुहुन्छ ।

    कन्दराले आफ्नो ३२ वर्षे साङ्गीतिक यात्राको उत्सव वर्षको रूपमा सन् २०२४–०२५ लाई’ पहिला घरदेश, अनि परदेश’ को नारा दिएर देशभर र विश्व भ्रमणको तालिका सार्वजनिक गरेको छ । यो कन्सर्ट लगत्तै यही जुनमा दुबई, कतार तथा हङकङमा प्रस्तुती दिने ब्याण्डले, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्यूजील्याण्ड, मे’ मा अमेरिका, जुनमा क्यानडा र जुलाई–अगस्टमा युरोपका विभिन्न देशपछि अगस्ट–सेप्टेम्बरमा जापानमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने जनाएको छ । नेपाली मेलो लोक–पपसँग ३२ वर्षे उमेर पूरा गरेको यस ब्याण्डले नेपाली युवामाझ पप र आधुनिक सङ्गीतको फ्युजन प्रस्तुत गर्दै साङ्गीतिक विरासतलाई निरन्तरता दिने जनाएको हो ।

  • टंक बुढाथोकीको चलचित्रमा अशोक दर्जीसंगै नीता ढुंगाना मुख्य भुमिकामा

    टंक बुढाथोकीको चलचित्रमा अशोक दर्जीसंगै नीता ढुंगाना मुख्य भुमिकामा


    काठमाडौं। गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा अभिनय गर्ने मुख्य कलाकारहरुको लाइन अप सार्वजनिक गरिएको छ।

    आफ्नो हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा बन्ने चलचित्रमा मुख्य पात्र बाल गायक अशोक दर्जी हुनेछन् । चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा लगायतका कलाकारको अभिनय रहनेछ ।

    अन्य केहि प्रमुख कलाकारहरु अझै फाइनल हुन बाँकी रहेको र अब केहि दिनमा नै फाइनल हुने बुढाथोकी बताए। चलचित्रको कथा निर्माता निर्देशक टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । छिट्टै फ्लोरमा जाने चलचित्रलाई सौरभ लामाले छायांकन गर्नेछन् ।

    सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रलाई बैंकटेश इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ। अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । दर्जी हाल काठमाडौंमा कक्षा ८ मा अध्ययनरत छन् ।

    अशोक दर्जीलाई अध्ययनका लागि काठमाडौं ल्याएर अभिभावकत्व समेत दिइरहेका टंक बुढाथोकीले दर्जनौं चलचित्रमा शब्द, संगीत र स्वर दिएका छन्। यस चलचित्रमा पनि टंक बुढाथोकी को संगीत रहनेछ।

  • अल्लु अर्जुन अब हिरासतमा बस्नु नपर्ने

    अल्लु अर्जुन अब हिरासतमा बस्नु नपर्ने

    सन्ध्या थिएटर मामिलामा साउथ सुपरस्टार अल्लु अर्जुनलाई नामपल्ली अदालतले नियमित जमानत दिएको खबर छ ।

    उनलाई अदालतले ५०–५० हजार रुपैयाँको दुईवटा धरौटीमा धरौटीमा रिहा गरेको खबर छ । साथै, अदालतले उनलाई हरेक आइतबार चिक्कडपल्ली प्रहरी चौकीमा हाजिर हुन आदेश दिएको छ । यसअघि उनले तेलंगाना उच्च अदालतबाट अन्तरिम जमानत पाएका थिए । 

    अल्लु अर्जुनको नियमित जमानत याचिकामा डिसेम्बर ३० मा सुनुवाइ भएको थियो तर सो दिन फैसला सुरक्षित राखिएको थियो । तर, ३ जनवरी साँझ अदालतले आफ्नो फैसला सुनाए लगत्तै अल्लु अर्जुनले राहत पाएको खबर बाहिरियो ।

    वास्तवमा ४ डिसेम्बरमा फिल्म ‘पुष्पा २’ को प्रिमियरको क्रममा हैदराबादको सन्ध्या थिएटरमा भागदौड भएको थियो । त्यही क्रममा एक महिलाको मृत्यु भएको थियो । त्यसपछि १३ डिसेम्बरमा अल्लु अर्जुनलाई यस मामिलामा पक्राउ गरिएको थियो । तल्लो अदालतले उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाउने आदेश दिएको थियो।

    तर, सोही दिन उनले तेलंगाना उच्च अदालतबाट अल्लु अर्जुनले अन्तरिम जमानत पाएका थिए । र अहिले भने उनले नियमित जमानत पाएका हुन् ।

    ‘पुष्पा २’ ले रच्यो इतिहास
     

    तर, अल्लु अर्जुनको फिल्मको कुरा गर्ने हो भने हालै ‘पुष्पा २’ ले निकै सफलता हात पारेको छ । यो देशकै दोस्रो धेरै कमाउने फिल्म बनेको छ । यसअघि यो कीर्तिमान प्रभासको  ‘बाहुवली–२’को नाममा थियो तर २८ दिनमा विश्वभर १७९९ करोड कमाएर ‘पुष्पा २’ ले इतिहास रच्दै यो कीर्तिमान कायम गरेको हो ।

    ‘पुष्पा २’ को कमाइको क्रम अझै जारी छ । यो फिल्म ५ ​​डिसेम्बरमा रिलिज भएको थियो । रिलिज भएको करिब एक महिना बितिसक्दा पनि यो चलचित्रका लागि दर्शक हलमा घुमिरहेका छन् । कमाईको मामिलामा अहिले आमिर खानको ‘दंगल’ मात्रै ‘पुष्पा २’ भन्दा अगाडि छ, जसले २०७० करोड कमाएर एेतिहासिक रेकर्ड कायम गरेको थियो ।

  • ‘दिलमायाको चिया दोकान’ गीत युट्युब च्यानलबाट सार्वजनिक

    ‘दिलमायाको चिया दोकान’ गीत युट्युब च्यानलबाट सार्वजनिक


    काठमाडौँ, २० पुस : वरिष्ठ साहित्यकार टङ्क भट्टराईको शब्दमा रहेको ‘दिलमायाको चिया दोकान’ बोलको गीत भावसागर युट्युब च्यानलबाट सार्वजनिक भएको छ । संगीतकार राजनराज सिवाकोटीको संगीत, गायिका मिलन नेवार र वरिष्ठ ईन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वरमा सजिएको गीतलाई ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड तथा किशोर थापाले मिक्स ÷ माष्टर गरेका छन ।

    ताप्लेजुङको फुङलिङ बजारमाअवस्थित यो ‘चिया दोकान’को लोकप्रियता यसको स्वाद र यो गीतसँग जोडिएको छ ।

    गीतको भिडियोमा नव कलाकारहरु नवीन भट्टराई, मारियम सिवा, निर्मला लावुङ (मिरा), दिनेश लिङ्खिम लगायतले अभिनय गरेका छन । गीतको कोरियोग्राफी हिमा बराईली (बि बोइङ डान्स सेन्टर) ले गरेकि छिन । क्यामेरामा भुपेन्द्र योङ्हाङ र फुङ्सो जबेगु, मेकप आर्टिस्ट शान्ति ब्युटी पार्लर फुङलिङ बजार रहेका छन । भिडियोको निर्देशन मिलन बिश्वकर्माले गरेका छन भने प्रोडक्सनको पुर्ण जिम्मेवारी पाथीभरा कृयशन हाउस प्रा. लि.का हर्कराज गुरुङले गरेका छन । बदलिदो समाजलाई हाम्रो मौलिक परिचय ‘चिया दोकान’ ले परिभाषित गर्ने हेतु ताप्लेजुङमा सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका साहित्यकार भट्टराईले जुराउनु भएको नाम ‘दिलमायाको चिया दोकान’ले नेपाली मौलिकता र राजनीति विश्लेषण गर्ने थलोको रुपमा परिभाषित छन ।

    अडियो भिडियोको निर्माणमा प्रजिन हाङबाङ, युवराज गिरी, लोकेश लिवाङ, काजी गुरुङ, हर्क राज पालुङ्वा, डम्बर लङ्वा, युवराज घोर्साईं, राजेन्द्र पन्त, सुनिल रेग्मी, आशिष केदेम, करण गौतम, रमला लिम्बु, सुरेन्द्र कार्की ÷ मनिसा भट्टराई – कालिज कटेज, दिनेश लिङ्खिम, लेखक प्रशान्त, छेतेन शेर्पा
    खगेन्द्र अधिकारी, एलिना दियाली,सन्तोष पुर्कुटी, सेविका (दिलमाया) लगायतको सहभागिता रहेको छ ।

  • कन्दराले ल्यायो ‘हुनेछः द सङ्ग अफ होप’

    कन्दराले ल्यायो ‘हुनेछः द सङ्ग अफ होप’

    काठमाडौँ, १८ पुस : ग्रेगोरियन पात्रोअनुसार बुधबारदेखि सुरु भएको नयाँ वर्ष इस्वी संवत्  २०२५ को उपलक्ष्यमा पोखरेली लोकपप रक साङ्गीतिक समूह ‘कन्दरा ब्यान्ड’ले नयाँ गीत ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गरेको छ । 

    साङ्गीतिक यात्राको ३२औँ वर्षमा रहेको समूहले नयाँ यात्राको सुरुआत गर्दै गीत ल्याएको गायक (भोकलिस्ट) विवेक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले सङ्गीत रुचाउने युवाको समूह स्थापना गरेर गीतसङ्गीतमा रहेको ३२ वर्ष पूरा भइसकेको छ । केही समयको अन्तरालपछि सार्वजनिक गरिएको यो गीतलाई सकारात्मक समाज निर्माण, सम्भावना, समृद्धि र स्थायित्वका विषय समेटेर तयार गरेका छौँ । यो गीत राष्ट्रभक्तहरूका लागि विशेष सान्दर्भिक छ ।” उहाँले गीतले नेपालीलाई आफ्नो दायित्व, जिम्मेवारी र एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा दिने बताउनुभयो । 

    ‘हुनेछः द सङग अफ होप’मा शब्द रचनासँगै सङ्गीत समूहका ‘ड्रम’ वादक सुनिल थापाले दिनुभएको छ । गीतको श्रव्यदृश्यको निर्देशन र कथा केदार भुसालले तयार गर्नुभएको हो । यस समूहमा ‘ड्रम्स’मा सुनील थापा, ‘लिड गितार’मा देव लामा, ‘बास गिटार’मा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा हुनहुन्छ । 

    ‘कन्दरा ब्यान्ड’को ‘लेककी हे माया’, ‘बिदेसिएर गइन् उनी’, ‘चञ्चले कान्छीको’, ‘भेडी गोठैमा’, ‘हङकङ पोखरा’, ‘तगारोमा रूमाल’लगायत गीत नयाँ पुस्तामाझ लोकप्रिय छन् । 

  • चलचित्र ‘कार्साङ’को गीत सार्वजनिक

    चलचित्र ‘कार्साङ’को गीत सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कार्साङ’को गीत सार्वजनिक भएको छ । सिनेमाको रिलिज डेट नजिकिँदै जाँदा निर्माणपक्षले आज ‘सात भन्ज्याङ’ बोलको गीत सार्वजनिक गरेको हो ।

    डीपी खनालको शब्दरचना रहेको गीतमा एसडी योगीको संगीत छ । स्वर एडी योडी र रेश्मा पुन मगरको छ । गीतमा रिकेश गुरुङको एरेन्ज छ ।

    गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्वय दयाहाङ राई र सिर्जना निङलेखुको अभिनय देख्न सकिन्छ ।

    प्रेमिल गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ । प्रेम, त्यसका सम्झना, सँगै जिउने रहर र त्यसका लागि दुई पात्रको योजनामा गीत केन्द्रित छ ।

    टिपिकल शब्द र भेषभुषाले गीतलाई जीवन्त बनाएको छ । पूर्वी नेपालको शेर्पा समुदाय र राई समुदायको कल्चर गीतमा प्रष्ट देखिन्छ । जसले गीतलाई राम्रो बनाउन सहयोग गरेको छ । बिटा लगाउँदै दाइँ गरेको दृश्यले ग्रामीण परिवेश चित्रण गरेको छ । यो गीतले सिनेमाको कथा भन्न सहयोग गर्नेछ ।

    पुस २६ गते रिलिज हुने चलचित्र यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ ।

    चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ ।

    चलचित्रले दर्शकलाई शेर्पा समुदायको कला, संस्कृति र जीवनशैली नजिकबाट अनुभव गराउने अपेक्षा गरिएको छ ।

    यो चलचित्रले दर्शकको मन जित्न सफल हुने विश्वास निर्माण पक्षको छ ।

    चलचित्र ‘कार्साङ’मा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ । सिर्जना निङलेखुको यो डेब्यु चलचित्र हो ।

    यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

  • चलचित्र ‘द्रौपदी’ चैतमा प्रदर्शनमा आउने

    चलचित्र ‘द्रौपदी’ चैतमा प्रदर्शनमा आउने

    केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ ।

    निर्देशक आचार्यले डोल्पाको से फोक्सुन्डोलगायत विभिन्न रमणीयस्थलहरुमा छायाङ्कन गरिएको जानकारी दिए ।

    उनले भने, “यो नाम धार्मिक सुनिए पनि यो महाभारतको पात्र नभई हाम्रो गाउँ र परिवेशकै एक महिला पात्रको कथा हो । यसमा हाम्रो कथासँगै हाम्रै रमणीय र पर्यटकीयस्थललाई देख्न पाउनुहुनेछ ।”

    निर्देशक आचार्यले नेपालीपन भएको आभास गराउने ‘द्रौपदी’ एक पृथक कथा रहेको बताए । यस चलचित्रमा आश्विनी शाही, रवि ओड, जेल्सन अधिकारी, सुजाता तिमल्सिनाका साथमा निर्देशक आचार्यको अभिनय रहेको छ ।

    आरवी मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा सौरभ शर्मा बस्यालले पाश्र्वसङ्गीत, अनिल महर्जनले सम्भायन र मोहनकुमार झिल्लुले छायाङ्कन गरेका छन् ।

  • ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ माघमा

    ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ माघमा

    काठमाडौँ, १२ मङ्सिरः कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा ‘१३औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२५’ आगामी माघको पहिलो साता काठमाडौँमा हुनेभएको छ । मिति घोषणासँगै महोत्सवमा सहभागी हुने चाहने चलचित्रका लागि आवेदन माग गरिएको महोत्सवका निर्देशक डब्बु क्षेत्रीले जानकारी दिनुभयो ।

    “नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो, महोत्सवले हामीलाई अफ्रिकाबारे बुझ्न मद्दत गर्छ । यसपटक हामीले अफ्रिकासँगै अन्य देशका चलचित्र सहभागी गराउन अन्तर्राष्ट्रिय विधा थप गरेका छौँ । महोत्सवमा नेपाली चलचित्र, लघु चलचित्र, वृत्तचित्र पनि प्रदर्शन हुनेछ”, निर्देशक क्षेत्रीले भन्नुभयो । 

    उहाँले माघ पहिलोसाताको मिति छिट्टै घोषणा गरिने जानकारी दिँदै नेपाली चलचित्रकर्मीलाई दर्ताका लागि आह्वान गरिएको बताउनुभयो । यस अगाडि महोत्सवमा नेपालीसँगै अन्तर्राष्ट्रिय चलचित्रको रुपमा अफ्रिकी चलचित्रलाई मात्र समावेश गर्ने गरिन्थ्यो । यसपटक भने अफ्रिका बाहेकका चलचित्र महोत्सवमा अन्तर्राष्ट्रिय विधाअन्तर्गत सहभागी हुनेछन् ।

    आगामी पुस १६ गतेसम्म चलचित्र दर्ता गर्न पाउने महोत्सवमा चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायत विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ ।