काठमाडौं महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव ५ प्रतिशत रहेको जनाएको छ।
कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या ८ लाख ६२ हजार ४ सय रहेको बताएको छ।
आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्यांकन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिइन्।
गत आवमा २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्र खर्च भएको छ।
नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले ३१ भदाैदेखि दिपल एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ ।
काठमाडौंको गैरीधारास्थित सिल्भरओकमा सञ्चालन हुने मेलामा कुनै पनि ब्रान्डका पुरानो गाडीसँग नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम-इन’ नेपाल ‘फिचर–लोडेड’ दिपलका ईभी साट्न सकिने कम्पनीले जानकारी दिएको छ ।
दिपल एक्सचेन्ज मेलामा ग्राहकले प्रि-बजेट मूल्यमै अर्थात ७१ लाख ९९ हजार रुपैयाँमा दिपलको प्रिमियम ईभी एस ०७ खरिद गर्न सकिने छ ।
ग्राहकले नेपालकै टप ६ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउने कम्पनीले जनाएको छ । साथै ग्राहकले थप एक्सचेन्ज बोनस समेत पाउने छन् ।
यसबाहेक एक्सचेन्ज मेलामा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एसेसोरिजका साथै ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर पाउनेछन् ।
राष्ट्रिय बाल दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो। सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको हो।
२०२१ सालदेखि तत्कालीन रानी रत्नको जन्मदिन भदौ ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालिएको हो।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो। पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो।
संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वांगीण विकासको प्रत्याभूत गरेको छ। संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरूप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ।
सरकारले धरहरालाई असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको सुन्धारास्थित नवनिर्मित धरहरालाई आगामी असोज ३ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए ।
२०७२ को भूकम्पले भत्किएपछि धरहराको पुनर्निर्माण गरिएको हो ।
काठमाडौं । नेपालमा उत्पादन गरिएको तरकारी बिहीबारबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ ।
चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिए ।
उनका अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेको हो ।
त्यस्तै, कृषि विभागका महानिर्देशक डा.नरहरिप्रसाद घिमिरेले नेपालबाट कतारका लागि तरकारी निर्यात हुनु निकै खुसीको कुरा भएको बताए ।
ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत दक्षिणकालीमा तरकारीखेती गरिएको थियो । त्यहाँका किसानले उत्पादन गरेका तरकारी निर्यातसँगै यसले मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने र किसानलाई प्रोत्साहन हुने विश्वास लिइएको छ ।
‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ लगाउँदा घाटा भएको दाबीसहितको हिसाबकिताब सार्वजनिक गरिएको छ ।
आयोजक कृष्णमूर्तिले बिहीबार पत्रकार सम्मेलन गर्दै कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको जानकारी दिए ।
यस्तै, कोटिहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए । यस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमुर्तिले दावी गरे । महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ उठ्न बाँकी रहेको समेत उनले बताए ।
‘एक युगमा एक पटक इतिहासमै पहिलो पटक’ भन्ने नाराका साथ पशुपतिको (वनकाली) हंस मण्डपमा साउन १ गतेदेखि महिनाभर कोटिहोम भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल भएको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच भेटवार्ता र छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार उहाँहरुबिच संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
बुधबार साँझका लागि राखिएको बैठक परिषद्को बैठक स्थगन भएको थियो ।
सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका ट्रक यातायात क्षेत्रका विभिन्न विषयमा भएको मन्त्रीपरिषद्को निर्णयहरूलाई बदर गरेको छ ।
नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले २०७५ श्रावण १ गते दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले महासङ्घको कानुनी स्थिति र यातायात क्षेत्रमा भएका मन्त्रीपरिषद्को निर्णयहरूलाई बदर गरेको हो ।
सर्वोच्च अदालतले नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ तथा अन्य सङ्घ संस्थाको दर्ता प्रमाणपत्र नवीकरण नगर्ने, दर्ता खारेज गर्ने, र सम्पत्ति जफत गर्ने नेपाल सरकारका निर्णयहरूलाई असंवैधानिक ठहर गरेको छ।