काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिककालदेखि नै नेपाली जनताको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग सामिप्य रहँदै आइरहेको नेपाल संवत् हाम्रो देश नेपालको राष्ट्रिय र मौलिक संवत् भएको बताउनुभएको छ ।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा शंखधर साख्वाः लाई राष्ट्रिय विभूति घोषणा गरिएको रजत बर्षको अवसरमा आयोजित कार्यक्रममा उहाँले आफ्नै देशको नामबाट स्थापित विश्वको एउटै मात्र संवत् भएकाले नेपाल संवत् सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा पनि भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले भने–‘बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक नेपालको सांस्कृतिक विविधतालाई एकताको सूत्रमा अक्षुण्णपूर्वक आवद्ध राख्न नेपाल संवत्को भूमिका महत्वपूर्ण रहेको छ भन्ने मलाई लाग्दछ ।’
राष्ट्रपति पौडेलले शंखधर साख्वाःले आफूले आर्जन गरेको निजी सम्पत्तिलाई समाजका गरिब एवं उत्पीडित समुदायको हितमा प्रयोग गर्नु विश्वकै लागि पनि एक उदाहरणीय कार्य भएको बताउँदै उक्त लोककल्याणकारी कार्य तत्कालीन नेपाली समाजका लागि आफैमा एक क्रान्तिकारी कदम भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो –‘उहाँको उक्त ऐतिहासिक कार्य लोककल्याणकारी समाज निर्माणको दिशामा अघि बढ्नका लागि आजका दिन पनि हामी सबैका लागि प्रेरणादायी रहँदै आएको छ । राष्ट्रपति पौडेलले मुलुकको पहिचान र राष्ट्रिय जनजीवनसँग यति लामो समय समीप रहँदै आएको नेपाल संवत्को आरम्भ गर्नुहुने व्यक्तित्व श्री शंखधर साख्वाः लोककल्याण एवं परोपकारी भावनाका एक शिखर पुरुष हुनुहुन्छ । नेपाल संवत् स्थापनाको ऐतिहासिक सन्दर्भसँग सम्बन्धित उहाँको कर्मगाथा आफैमा गरिमामयी रहेको पाइन्छ ।’
बागमति प्रदेशका पर्यटन संस्कृति मन्त्री बिमल ठकुरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बागमति प्रदेश प्रमुख दिपकप्रसाद देवकाेटा, मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेश सरकारका मन्त्रीहरूकाे उपस्थिति रहेकाे थियाे ।साे अवसरमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र मध्यपुर ठिमी नगरपालिकालाई सम्मान गरिएकाे थियाे ।
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
आर्यघाटमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुंगानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो । ढुंगानाको पार्थिव शरीरमा उहाँका छोराहरूले दागबत्ती दिनुभयो ।
पूर्वसभामुख ढुंगानाको सम्मानमा १७ तोपको सलामी समेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको आइतबार ८३ वर्षको उमेरमा उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो ।
काठमाडौँ, २७ कात्तिकः हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दशदिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।
तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद् ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।
तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोना, डेङ्गुजस्ता रोगबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेलले बताउनुभयो ।
कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । गरूड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।
आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा ‘गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी ११ वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।
किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।
कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।
विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी, पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।
आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।
वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसैगरी बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला लाग्ने जनाइएको मेलाको सबै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको अध्यक्ष प्रा डा श्रीराम अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । परिषद्को सोमबार वैदिक अनुसन्धान गुठी गौरीघाटमा बसेको बैठकले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
नवगठित कार्यसमितिमा सावित्री टण्डन, अर्जुन पाण्डेय, श्रीराम तिमल्सिना, फणीन्द्रप्रसाद पौडेल क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष हुनुहुन्छ । यसैगरी परिषद्को सदस्यमा शान्ता भट्टराई, अग्नि उपाध्याय, देवराज उपाध्याय, तेजकुमार भट्टराई रहनुभएको छ । पुनःगठित समितिलाई एक हजार आठ स्वामी डा केशवानन्द गिरी र एक हजार आठ स्वामी निश्शेषानन्दज्यूले रुद्राक्ष माला लगाएर सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
परिषद्को स्थापना विसं २०६२ मा देवघाटमा सम्पन्न संस्कृत गुरुकुल विद्यालयका प्रतिनिधि र संस्कृतानुरागी अन्य महानुभावहरूबाट सुरु भएको परिषद् गठन गर्ने अवधारणामा आधारित भई पुनःगठित गरिएको हो ।
कार्यक्रममा स्वामी जगन्नाथाचार्य, संस्थापक अध्यक्ष प्रा डा गुरुप्रसाद सुवेदी र मेचीदेखि महाकालीसम्मका ३० भन्दाबढी गुरुकुलका प्रतिनिधिको विशेष सहभागितामा भेला आयोजना गरिएको हो ।
स्वामी केशवानन्द गिरिले गुरुकुललाई प्रविधिसँग जोडिन आग्रह गर्दै आफ्नो संस्थाले पनि प्रविधिसँग जोडिएर विभिन्न काम गरेको बताउनुभयो । श्री एक हजार आठ स्वामी निश्शेषानन्दले शुभकामना मन्तव्य राख्दै गर्दा विद्यार्थी धेरैलाई संस्कृत पढाएको भन्दै तीमध्ये निकै कममात्र संस्कृतका क्षेत्रमा लागेको पाइएकाले सबैलाई दक्ष विद्यार्थी उत्पादन गर्न र संस्कृत क्षेत्रमा निःस्वार्थ काम गर्न प्रेरणा दिनुपर्नेमा उहाँले जोड दिनुभयो । परिषद्ले शिक्षा मन्त्रालयअन्तर्गत रही देशभर फैलिएका गुरुकुललाई सहयोग गर्दै आएको छ ।
तुलसीपुर, २७ कात्तिकः लुम्बिनी प्रदेशमा विभिन्न विपद्बाट रु पाँच करोड ५० लाखभन्दा बढी क्षति भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेयका अनुसार विपद्का कारण चालु आर्थिक वर्षको कात्तिकसम्म रु पाँच करोड ५८ लाख ५२ हजार बराबरको क्षति भएको हो ।
सबैभन्दा बढी रोल्पामा रु एक करोड ७१ लाख ४९ हजार र सबैभन्दा कम रुकुमपूर्व र गुल्मीमा शून्य क्षति भएको उहाँले जानकारी दिनुभयो । लुम्बिनीमा चार सय ५२ घटना भएकामा एक सय १४ जनाको मृत्यु भएको छ, भने दुई सय २९ घाइते भएका छन् ।
विपद्बाट १० जना बेपत्ता भएका छन् भने एक सय १५ संरचना पूर्ण रूपमा क्षति भएका सूचना अधिकारी पाण्डेयले बताउनुभयो । उहाँका अनुसार तीन सय २३ संरचनामा आंशिक क्षति भएको छ । लुम्बिनीमा बाढी, पहिरो, डुबानबाट उक्त क्षति भएको हो । पहाडी क्षेत्रमा पहिरो तथा तराईमा बाढी र डुबानले बढी क्षति भएको पाण्डेयले उल्लेख गनुभयो ।
काठमाडौँ, २७ कात्तिकः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ५५ र बिक्रीदर एक सय ७४ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ छ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिद दर आठ रुपैयाँ ७७ पैसा र बिक्रीदर आठ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ तीन पैसा, कतार रियाल एकको खरिद दर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९२ पैसा र बिक्रीदर तीन रुपैयाँ ९३ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५० पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ नौ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
मधेस प्रदेसका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपालमा हरितपथ विकासका लागि वैदेशिक लगानी आउनु सकारात्मक पक्ष भएको बताउनुभएको छ ।
बेलायत सरकारको वातावरण मैत्री आर्थिक वृद्धि कार्यक्रमका टोली नेतासहितका अधिकारीहरूसँग जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको भेटमा मुख्यमन्त्री सिंहले मधेस प्रदेशसहित देशले जलवायु परिवर्तनका कारण पर्यावरणीय सङ्कट भोगिरहेको भन्दै यसको समाधानका लागि बेलायतसहित विश्व समुदाय एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री सिंहले नेपालको समग्र विकासमा बेलायती सरकारले गरेको सहयोगको सराहना गर्नुभएको थियो । उहाँले बेलायत सरकारले नेपाललाई निरन्तर र उपलब्धिमूलक सहयोग गरिरहेको बताउँदै पछिल्लो समय यहाँको आवश्यकता अनुसार सहयोग परियोजना सञ्चालन गरेकामा सो प्रयास प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री सिंहले देशले कम कार्बन उत्सर्जन गरे पनि त्यसबापत पाउनुपर्ने क्षतिपूर्तिका विषयमा अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुुनुपर्नेमा जोड दिँदै सङ्घीय सरकारले यस विषयमा अन्र्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै आएको चर्चा गर्नुभयो ।
उहाँले जलवायु परिवर्तनका कारण मधेस प्रदेशसहित मुलुकले बाढीपहिरो, खेतीयोग्य जग्गाको कटान, पटान र भसान, खानेपानी तथा सिँचाइको सङ्कट, हिमपहिरोलगायत समस्या भोगिरहेको उल्लेख गर्नुभयो ।
“गर्मीयाममा सुक्खा हुन्छ । जाडोयाम जाने बेलामा कठ्याङ्ग्रिने चिसो हुन्छ । अहिले जाडो हुने समयमा पसिनाले निथ्रुक्क भिजाउँछ । यो सबै जलवायु परिवर्तनले निम्ताएको सङ्कट हो”, मुख्यमन्त्री सिंहले भन्नुभयो ।
चुरे संरक्षणका लागि पुनर्जलीयकरण र जलपुनर्भरण गरी भूमिगत जलको सतह वृद्धि गर्ने, मधेस प्रदेशको पूर्वदेखि पश्चिमसम्म नदी जोड्ने योजनाबाट पानी व्यवस्थापन गर्ने, बगरलाई पुनःकृषि भूमिमा परिणत गर्ने, बाढी व्यवस्थापन गरी सिँचाइको उपलब्धता बढाउने योजनामा प्रदेश सरकारले काम गरिरहेको भन्दै ती योजनामा बेलायती सरकारसँग आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री सिंहले प्रदेशको आवश्यकताअनुसार आफ्नो आग्रहमा बेलायत सरकारले फोहरमैला व्यवस्थापन, पर्यटन विकासलगायत परियाजनाबारे अध्ययन गरिरहेकामा सोको उच्च प्रशंसा गर्दै इनोभेसन सेन्टर, शिक्षकका लागि एड्भान्स तालिम केन्द्रलगायत क्षेत्रमा सहयोग गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रीन ग्रोथ नेपाल बेलायत सरकारको नयाँ कार्यक्रम हो । सन् २०२४ देखि २०३१ सम्म सञ्चालन हुने यो कार्यक्रमले नेपालमा हरित, दिगो र समावेशी विकासलाई जोड दिनेछ ।”
कार्यक्रमले स्थायी आर्थिक नीतिलाई मजबुत गर्दै हरित र जलवायुमैत्री आधारभूत संरचना, हरित उद्योग र सेवामा लगानी विस्तार गर्ने मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो । यसले नेपालको विकासलाई रेखाङ्कीत गर्दै पर्यावरण र प्राकृतिक सम्पदाको संरक्षण गर्दैै समृद्धिमा मद्दत गर्नेछ । कार्यक्रमले हरित, जलवायुमैत्री र कम कार्बन उत्सर्जन हुने सहरीकरणलगायत पूर्वाधार विकासमा जोड दिने उहाँले बताउनुभयो ।
तुलसीपुर, २६ कात्तिक : यहाँको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोट विश्वमै लोपन्मुख भनिएको सुगन्धकोकिला (मल्लागिरी) उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँ पाइने सुगन्धकोकिलाको बीउ हालसम्म बिक्री गरी २६ जिल्ला पठाइ सकिएको स्थानीय प्रविर पुनले जानकारी दिनुभयो ।
“विश्वमै लोपोन्मुख यसको बिरुवा छिल्लीकोटमा पाइन्छ भनेपछि धेरै जनाले बीउ लिएर जाने गर्नुभएको छ”, उहाँले भन्नुभयो । सुगन्धकोकिला प्रतिकिलो रु सात सय ५० सम्ममा बिक्री हुने गरेको छ । “विगतमा हामीले किलोको पाँच सयसम्ममा बिक्री गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर, अहिले मूल्य वृद्धि भएको छ ।”
यहाँका १० गाउँका एक सय पाँच घरले नै सुगन्धकोकिलाबाट आम्दानी लिने गरेका छन् । यहाँ वार्षिक एक सय ५० क्वीन्टल सुगन्धकोकिला उत्पादन हुने गर्छ । सुगन्धकोकिला विदेश निर्यात गरिन्छ । यहाँबाट सुगन्धकोकिलाको कच्चा पदार्थ लगेपछि के बन्छ, भन्ने कुरा गाउँलेलाई थाहा नभएको स्थानीयवासी जीवराज रेउलेले बताउनुभयो । “यहाँबाट हामी कच्चापदार्थ बेच्छौँ, त्यसबाट उच्चस्तरको अत्तर, अगरबत्ती बनाउन प्रयोग हुन्छ, भन्ने सुनेका हाँै”, उहाँले भन्नुभयो, “तर, अरु केमा प्रयोग हुन्छ, भन्ने त्यति जानकारी छैन ।”
एउटा रुखमा एकपटकमा दुई सय किलोसम्म सुगन्धकोकिला उत्पादन हुने गर्छ । हिजोआज सुगन्धकोकिला भित्र्याउने बेला हो । यस वनस्पतिलाई सरकारले संरक्षण गर्नुपर्ने स्थानीयको माग छ । “पहिले–पहिलेका रुख सुक्दै जान थालिसकेका छन्, हामीले संरक्षणका लागि केही बिरुवा त रोपेका छौैँ”, रेउलेले भन्नुभयो, “सरकारले संरक्षणका लागि पहल गरिदिएमा यहाँका बासिन्दाको आम्दानीको स्रोत बढ्ने र रुख संरक्षण हुने थिए ।”
पछिल्लो समय वन कार्यालयले केही रुख रोपे पनि संरक्षण तर्फ कुनै चासो नदेखाएको स्थानीयवासीको भनाइ छ । सुगन्धकोकिला पवित्र हुने भएकाले धार्मिक कार्यमा प्रयोग गरिनुका साथै यसको पातबाट तेलसमेत निकाल्न सकिने र पिपलपछि दोस्रो बढी अक्सिजन दिने रुखका रुपमा लिइने अर्का स्थानीयवासी पूर्ण पुनले बताउनुभयो ।
सुगन्धकोकिला समुद्र सतहदेखि आठ सयदेखि दुई हजार मिटरको उचाइमा फस्टाउने गर्छ । बिरुवा रोपेको चार वर्षदेखि यसले उत्पादन दिने र यसलाई व्यवस्थित गर्न सकिए देशलाई आर्थिक टेवा पुग्ने स्थानीय बताउँछन् । यहाँ उत्पादित सुगन्धकोकिलाले बेलाबेलामा बजार नपाउने समस्या भएकाले त्यसका लागि चिस्यान केन्द्र स्थापना गरिनुपर्ने माग स्थानीयको छ ।
जनकपुरधाम, २६ कात्तिकः यस वर्षको बडादसैँ, तिहार तथा छठ पर्वमा जनकपुरलगायतका मधेसका बजार क्षेत्रमा रु पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ । गत वर्षको सोही अवधिमा करिब रु तीन करोड ५० लाख मूल्यबराबरको फूल किनबेच भएको थियो ।
पोहोरको तुलनामा यस वर्ष फूलको कारोबार वृद्धि भएको फूलको थोक व्यापारी जेके फ्लावर एन्ड गिफ्ट हाउस जनकपुरका सञ्चालक जितेन्द्रकुमार भण्डारीले बताउनुभयो ।
उक्त परिमाणमा फूल किनबेच जनकपुर, जलेश्वर, लहान, राजविराज, लालबन्दी, मलङ्गवा, हरिऔन, चन्द्रनिगाहपुर तथा गौरको आसपासका बजारमा भएको हो । भण्डारीका अनुसार यस वर्ष बजार मागको ९५ प्रतिशतभन्दा बढी फूलमाला आन्तरिक उत्पादन र पाँच प्रतिशतभन्दा कम भारतबाट आयात भएको थियो ।
विगतमा भारतको पटना तथा कलकताबाट फूल तथो माला आयात हुने गथ्र्यो । यस वर्ष सरकारले आयातमा कडाइ गरेपछि आन्तरिक उत्पादनका फूलमाला बिक्री भएको उहाँको भनाइ छ ।
जनकपुर बजार क्षेत्रमा फूल व्यापारी २० जना छन्भने करिब दुई सय किसान फूल खेतीमा लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ । धनुषामा करिब ५० बिघा क्षेत्रफलमा गोदावरी फूलको व्यावसायिक खेती हुने गरेको छ । देपुरा, रुपैठा, फूलगामा, परवाहा, ढल्केबर लगायतका ग्रामीण व्यावसायिक फूल खेती हुने गरेको छ ।
कहिलेकाहीँ प्रतिकूल मौसमका कारण फूल बिग्रिने गरेको जनकपुर घर भई काठमाडौँ गौशालामा थोक व्यापार गर्दै आउनुभएका ७० वर्षीय रामदयाल माली भण्डारीले बताउनुभयो । स्थानीय खुद्रा व्यवसायी रामजीवन भण्डारीले यस वर्ष रु २० लाखको फूल बिक्री गरेको जानकारी दिनुभयो ।
नेपालमा खासगरी पाँच प्रजातिको सयपत्री फूल पाउने भए पनि कलकतिया तथा पटनिया प्रजातिका सयपत्रीफूल अत्यधिक बिक्री हुने व्यापारी तथा किसानहरु बताउँछन् । फूल खेतीका लागि प्रचुर सम्भावना भएकाले स्थानीय सरकारले यसको विकासमा जोड दिनुपर्ने फूल व्यवसायीको भनाइ छ ।
काठमाडौँ, २६ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ४५ रुपैयाँ ३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ९ र बिक्री दर एक सय ७४ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ८५ पैसा र बिक्री दर एक सय ५४ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६८ पैसा र बिक्री दर ८९ रुपैयाँ ७ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८५ पैसा र बिक्री दर ९७ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय २ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिद दर आठ रुपैयाँ ८३ पैसा र बिक्रीदर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्री दर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर तीन रुपैयाँ ९४ पैसा र बिक्री दर तीन रुपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ६८ पैसा र बिक्री दर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ ७४ पैसा र बिक्री दर ३० रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ ४५ पैसा र बिक्री दर १२ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ३६ पैसा र बिक्री दर १९ रुपैयाँ ४५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्री दर १७ रुपैयाँ ४० पैसा, कुबेती दिनार एकको खरिद दर चार सय ३९ रुपैयाँ ३० पैसा र बिक्री दर चार सय ४१ रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिद दर तीन सय ५७ रुपैयाँ ३२ पैसा र बिक्री दर तीन सय ५८ रुपैयाँ ९१ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र बिक्री दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।