
नेपाल विविधतामा एकता भएको देश हो जहाँ १० भन्दा बढी धर्म मान्य ब्यक्तिहरु, १२३ भाषा बोल्ने ब्यक्तिहरु, १२६ जाति र ५९ जनजातिहरु बसोबास गर्दै आएको बिभिन्न अध्ययन अनुुसन्धानले देखाउँछ । यी सबै जातजाति, भाषा भाषि , धर्म संस्कृतिका मानिसहरु मिलेर बस्ने वातावरण सिर्जना गरी देशमा शान्ति र एकता कायमा गर्न निकै सङ्घर्ष गर्नुपरेको कुरा इतिहासमा उल्लेख गरिएको छ । एकता कायमा र आधुनिक राष्ट्र निर्माणको पछाडि शसक्त राष्ट्रवादीहरुको सङ्घर्ष जोडिएको छ । देशलाइ समृद्ध बनाउनको लागि राष्ट्रिय एकता कायम हुनु आवश्यक छ ।
हाम्रो देशमा राष्ट्रिय एकता कायम गर्न शसक्त भूमिका निर्वाह गर्ने महान राजा हुन् पृथ्वीनारायण शाह । आजभन्दा ३०० बर्ष अघि नेपाल २२ से र २४ से राज्यको रुपमा विभाजित थियो । गोर्खामा रहेको एक राज्यमा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीकोे प्रथम पुत्रको रुपमा जन्म लिएका पृथ्वीनारायण शाहले साना राज्यहरुमा बाँडिएका २२ से र २४ से राज्यहरुलाई एकिकृत गरी सिङ्गो राज्यको सिर्जना गरेका हुन् । पृथ्वीनारायण शाहले भिरकोट, कास्की, लमजुङ, र गोर्खामा बसोबास गर्ने शाहवंशलाई नेपाल राजवंशमा रुपान्तरण गर्दै नेपालको जग बसालेका हुन् । देशमा युद्ध चलिरहदा युद्धको क्रममा नेपाल एकिकरणको महायात्रा सुरु गरी छापामार शैलि र अनेक रणनितीहरु लगाएर काठमान्डौं, ललितपुर, भक्तपुर, किर्तिपुर, आदि भूभागहरु जितेका हुन् ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको कसरतमा सफलता हासिल गरेकै कारण आज नेपाल स्वतन्त्र अनि सर्वभौम भएको हो । पृथ्वीनारायण शाह आधुनिक नेपालको संरचना विर गोर्खाली अनि सपना सारोक्ति सिद्धान्तका प्रतिपादक राष्ट्र निर्माता भनि प्रसिद्ध छन् । उनले आधुनिक नेपालको खाका कोरी ४ जात ३६ वर्णको साझा फूलबारीको सृष्टि गरेका हुन् । उनका सालिकहरु नेपालका अधिकांश सहरहरुमा देख्न सकिन्छ । चोर औंला उठाएर उभिएका स्वरुपमा देखिने उनका सालिकले हामी सबै नेपाली एक हौं भन्ने संकेत गर्छ । पृथ्वीनारायण शाहले गरेका सङ्घर्ष र कसरतले आम नेपालीहरुमा एकता र मेलमिलापको मिश्रीत अमर भावको बिकास भएको हो तसर्थ हरेक बर्ष पुस २७ गते पृथ्वीनारायण शाहको सम्झनामा हर्षोल्लासका साथ पृथ्वी जन्म जयन्ती तथा राष्ट्रिय एकता दिबस मनाइन्छ ।





















